दिपेन्द्र राइ

” संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। “

एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।
उठाउछु।
  ‘ कता हो ?’
`नमस्ते किसन दाई´
`नमस्ते !´
`किन र दाई ?´
“लु एउटा चित्र कोर्नु परयो।”

आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्यो चित्र कसैको नभएर तत्कालीन जिवित हाल स्वर्गीय  किसन राईको थियो । निश्चित  समयसिमाभित्र सकेर दिनुपर्ने त्यो पारिवारिक चित्र कोर्दाकोर्दै हुनुहुनामी भयो । अब बाकी चित्र पुरा गर्ने आँट आएन।  चित्र कोर्न हातै लागेन  ।

वास्तवमा  मैले  धेरै श्रद्धाञ्जली मुहार चित्रहरु कोरिसकेको छु तर मलाई यति गाह्रो कहिले पनि भएको थिएन । चित्रमा भएको एउटा चिरपरिचित  मानिसको श्रद्धाञ्जली तस्वीर बनाउनु निकै पिडादायक हुँदोरहेछ । अरु भन्दा पनि चित्रमा भाव उतार्नु निकै कठिन हुदोरहेछ । मैले कोरेको अधुरो चित्र अब कसरी पूरा गर्ने ? उत्तर मसंग छैन।

पारिवारिक चित्रबाट निकालिएको राइको श्रद्धाञ्जली चित्र

बिगतको पाना पल्टाउदा सन २००९ मा मेरो  पहिलो भेट किसन राइसंग भएको थियो । त्यसपछि वहाँको एभरेष्ट कर्यालयमा चित्रकला सम्बन्धिको काममा मेरो संलग्नता भैरहन्थ्यो ।


मेरो परिचय झल्कने एउटा सानो लेख एभरेष्ट  पत्रिकामा राखिदिनु  भएको थियो । त्यसबेला म हङकङको प्रख्यात ठाउँ  स्टार फेरि (Star Ferry) मा लाइभ पोट्रेट चित्र (Live Portrait ) बनाउने गर्थें । हङकङ सरकारबाट १ वर्षसम्म त्यो खुला प्रांगणमा चित्र कोर्न पाउने अनुमति पत्र लिएर काम गरिरहेको थिएँ त्यसबेला । हङकङको स्टार फेरीमा पहिलो नेपाली चित्रकारको रूपमा काम गर्ने कलाकार भनेर   मलाई भेटन आउनु भएको हिजो जस्तै लाग्छ । स्टार फेरि( Star Ferry ) मा मैले  दुई किसिमको चित्र उतार्थें –  हुबहु (Realistic)  र  व्यंग चित्र  (Caricature) । मैले त्यहिबेला किसन राईको व्यंग्य चित्र (Caricature) अन द स्पोट कोरेर हस्तान्तरण गरेको  थिएँ ।

किसन राइको व्यंग चित्र

पत्रकारिताका अलावा  वहाँ धेरै संघसंस्थामा आबद्ध  हुनुहुन्थ्यो। त्यसैले संघसंस्थाको कार्यक्रममा चित्रको खाँचो परेमा मलाई कोर्नु लगाई हाल्नु हुन्थ्यो । समयमै चित्र उपलब्ध गराउन सकियोस भन्ने सोचेर म पनि कोर्न शुरु गरि हाल्थेँ। कुनैबेला मैले एकै दिनमा पनि चित्र बनाई दिएको छु ।

बास्तवमा किसन राई समय भन्दा छिटो हिडने  व्यक्ति हुनुहुन्थ्यो । एक पटक किरात राई यायोख्खा हङकङको मुखपत्र  यलम्बरको कभर फोटोमा मेरो कभर आर्ट राखिएको थियो । त्यस कभर आर्टमा राईको ढोलको बनावटबारे हामी दुई बीच विवाद पनि परेका थियो । मैले त्यो छलफलबाट चित्र कोर्नु अघि संबंधित विषयमा अध्ययन गर्नु जरुरी रहेछ भन्ने ज्ञान बटुलेँ।

हङकङ नेप्लिज  फाउण्डेसन(Hong Kong Nepaleses Foundation) भन्ने  संस्थाको सदस्य म  भएपछि यस संस्थाको लोगो कोर्ने मौका पनि  मलाई नै दिएका थिए किसन राइले। वहाँले हामी जस्ता विभिन्न क्षेत्रमा रहेका प्रतिभालाई खोजेर अवसर र प्रोत्साहन दिनु हुन्थ्यो । त्यही समयबाट हामीले ” बाङदेल / भूपि जयन्ती ” मनाउन शुरु गरेका थियौं । मेरा कला सम्बन्धि लेखहरुलाई पनि एभरेष्ट पत्रिकामा स्थान दिनु भएको थियो । जेहोस हङकङेली नेपाली समाजमा पत्रिका मार्फत  “चित्रकला” सम्बन्धि सुचना छरपस्ट पार्नु भएको थियो ।

भुपी र वाङदेलको पोट्रेट

हङकङको नेपाली समुदायले हङकङको काउलुन पार्कमा आयोजना गरेको संभवत अहिले सम्म कै सबैभन्दा भव्य तिज कार्यक्रमको व्यानरमा मेरो चित्रकलालाई ठुलो बनाएर सजाइएको थियो । किसन राईको आग्रहमा मैले कोरेको मेरो अहिले सम्मकै सबै भन्दा ठुलो तस्बिर थियो त्यो ।

बेलाबखत बाटोतिर हाम्रो जंकाभेट भैरहन्थ्यो। तर जहिले भेटदा पनि अलिक बिजि मुडमा देखिन्थे ऊनी । कुनै पनि कुरा छनौट गर्दा धेरै किसिमको हेर्ने बानी थियो उनको । एक पटक “पुर्खा दिवस”को लागि मेरो डिजाइनमा खुकुरी र गोर्खे टोपी बनाउने भैइयो। झरीमा   भिज्दै प्लाईउड खोज्न त्यसबेला धेरै हिडेका थियौं ।

कला,भाषा र संस्कृतिका लागि भनेपछि हरबखत समय मिलाएर तुरुन्तै लागिपर्ने खालका मानिस थिए ऊनी । पछिल्लो समय “लखन थापा” कार्यक्रममा चित्रकलाबारे कुरा हुँदाहुँदै कोरोनाले छोपेपछी कार्यक्रम नै स्थगीत गरिएको थियो ।

लखन थापा

भानु जयन्तीको लागि भानुभक्तको चित्र बनाई माग्नु भएको थियो तर मैले बनाएको चित्र भानुभक्त नभएर मोतीराम भट्ट जस्तै देखिएपछि कार्यक्रममा निकै हाँसो चलेको थियो ।

धेरै संघसंस्थामा आबद्ध भएकोले धेरै कार्यक्रममा जानुपर्ने चटारोले होला कुनै पनि कुरा  छिटै सकाउन तीर लागेको देखिन्थे ।

उनको सरल व्यवहार र बोलीले गर्दा प्राय मलाई वहाँ आफ्नै दाई जस्तो लाग्थ्यो । कहिलेकाहिँ जिस्काई पनि हाल्थेँ ,तर रिसाउनु हुदैन थियो ।
नेपालबाट ल्याउने कलाकार, साहित्यकार, राजनीतिज्ञ वा समाजसेवी सबैको प्रिय हुनुहुन्थ्यो वहाँ ।
त्यसै सिलसिलसमा मैले ठट्टा गर्दै  भन्थेँ- ” किसन दाई अब त नेपालबाट कुनै स्रष्टा आउना साथ एयरपोर्टमा तपाईलाई नै खोज्छन होला है ।”
मुसुमुसु हास्नु मात्रै हुन्थ्यो ।

हङकङ सहित्यिक साझा श्रृंखलाको “कवि बिमला तुम्खेवाको एकल कविता वाचन ” कार्यक्रम गर्दा म सह संयोजक थिएँ । लेखक क्रान्ति सुब्बा र मेरो संचालनमा रहेको भब्य कार्यक्रमको रुपरेखा नै किसन राईले तयार पार्नु भएको  थियो ।
हाम्रो अन्तिम भेट कवि सुनिता गिरीको दोस्रो संस्करण “माइत जाने बाटो” पुस्तक बिमोचनमा भएको थियो । कार्यक्रम हुनु अघि किसन दाई प्रमुख अतिथि भएर पनि  आफै दु:ख गरेर ब्यानर टाँग्नु सघाउनु भएको थियो । त्यहि बेला “लडिन्छ है बरिष्ठ दाई” भनेको थिएँ । साच्चै !  नेपाल भ्रमणमा रहेको बेला त्यस्तै ठुलो दुर्घटनाबाट वहाँले ज्यान गुमाउनु परयो  ।

दायाँबाट चित्रकार दिपेन्द्र राई , किसन राई,सुनिता गिरि,विमला तुम्खेवा,क्रान्ति सुब्बा

आज आएर सोँच्छु – किसन राईले समाजप्रति गरेको योगदान स्वार्थपुर्ण थियो की निस्वार्थ ?  एउटै मानिस त्यतिका धेरै संघसंस्थामा लाग्नु  उचित थियो त ?  अथवा समाजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने चिन्ताले वहाँलाई औधी सताएको थियो ?  खैर ! यो प्रश्न सोध्न नपाई सदाको लागि जानु भयो।

चित्रकलामा सेतो रङ्ग सबैसंग मिसाईन्छ वा चाहिन्छ भने जस्तै हङकङेली समाजमा सबैतीर बाँचीन्जेल अहम भूमिका निभाउनु भयो । प्राय सबैले चिन्ने व्यक्ति,सबैलाई चाहिने मानिस तर कहिलेकाहिँ निडर र खरो स्वाभावका कारण विवादमा पनि पर्नु हुन्थ्यो । हङकङका धेरै नेपालीलाई  किसन राईको मृत्यु पत्याउन र स्विकार्न निकै गाह्रो भएको थियो ।
मृत्यु सत्य छ तर कसरी यस्तो भयो भन्ने प्रश्न  मात्र हो..?

                भावपूर्ण श्रद्धाञ्जली

तपाईको प्रतिक्रिया