अबि चन्द्र इङनाम
परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु ।
देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको । तर मलाई के थाहा कसैको आत्मा भित्रको ब्यथा कथा। हामीले नचाहेर पनि बाध्यताले खिन्न आत्मानुभूतिका साथ बिदेश गमन स्विकार्नै परेको छ । मनमनै गम्छु ! बिदेश आवास गृह भएका (प्रबासी) लाई यस्तो खिन्न अनुभूति हुन्छ भने झन आफना सपरिवार नेपालमा छाडेर श्रमको लागि मात्र प्रस्थान गर्नेहरूको पीडा कस्तो होला?
हुन पनि काठमाण्डौं बिमानस्थलको बिशेष कक्षबाट बिशेष भ्रमणमा जाने बाहेकको दृश्य नियाल्दा दैनिक हजारौं युवाहरू बिदेशी भुमिमा मात्र श्रमको लागि प्रस्थान गरि रहेको दृश्यले मनमा बेचैन, खिन्नता एवं पीडा बोध भई रहेको हुन्छ । लाग्छ यस्तो पीडाबोध नहुने नेपाली सायदै होलान । मनन गर्छु ! के यो हाम्रो नियति नै हो त ? अनि धिक्कार्न मन लाग्छ हाम्रो देशको राजनिति, हाम्रो नेता, हाम्रो सरकार तथा तिनै सचेत भनिने पार्टी र नेताको अन्धभक्त कार्यकर्ता र भोट बैक हामी जनतालाई । खोई यहाँ बिधि, पद्धति र नीतिनियम ? जनताको स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चित कहिले हुने ? यो स्थितिको सुधार कसले, कहिले, कसरी गर्ने र हुने ? हाम्रो देशमा सुख सुबिधा सुशासन कहिले आउला ? के हामीले जहिले बिदेशिनु मात्र पर्ने? अन्तराष्ट्रमा हामी नेपाली हौं भनी गौरब गर्ने दिन कहिले आउला ? भन्ने चिन्तनका साथ पाईला अघि सार्दै गर्दा यात्रा त कतिखेर नील गगन तर्फ अघि बढी सकेछ ।
पीडाबोध र यात्रा सफलताको कामनाका साथ मातृभूमिलाई नियाल्दा नियाल्दै क्षणघडीमा आँखाबाट विलीन भईन । अब बादल माथि निलो आकाशमा जहाज सवार भएको छ । द्रुत गतिको बिमानमा मन्द निन्द्रा संगै यात्रा अघि बढि रहन्छ थाहै नपाई ।
यस पटकको यात्रामा भने नया अनुभव संगाल्ने अवसर भनौं या बाध्यता थियो मलाई । हुन त अरू कतिपयको हकमा पनि यस्तै भएको होला सायद । त्यो अनुभव थियो २१ दिन लामो होटेल क्वारेन्टाइन र यात्रा सम्बन्धि कागजातको तयारी । यसमा पहिलो थियो कोभिड -१९ को पुर्ण मात्रा खोप लगाएको हुनु पर्ने । त्यसपछि भ्याक्सिन प्रमाणपत्र , पिसिआर र रयापिड टेस्ट रिपोर्ट, होटेल बुकिङ , क्युआर कोड आदि यावत कागजातहरू तयार भएपछि मात्र यात्रामा भागीदार हुने अनुमति पाइने। आवस्यक मापदण्ड पुरा गरि यात्राको तयारी गरियो ।
अक्टोबर २६ तारीख २०२१ को दिन नेपाली समय १२:१० मा आरए ४०९ को वाइड बडी जहाज २५० जना यात्रु सहित हङकङ प्रस्थान भयो । हङकङको स्थानीय समय १८ः२० बजे सफलपुर्वक हङकङको विमानस्थलमा अवतरण भयो । तत्पश्चात आगमन सम्बन्धी (जाचबुझ) क्यु आर कोड स्क्यान गर्दै सिमाहरू पार गर्दै पिसिआर टेस्ट गर्ने स्थानमा पुगिन्छ । स्वदेश छाडनुको पिडा त छाती भित्र छदै थियो । तथापि हङकङ विमानस्थलको सेवासुबिधा, सुरक्षा, सरसफाई , कर्मचारीहरूको कर्तव्यनिष्ट शिष्ट व्यवहार , सुशील बचन, समयनिष्ठता र निष्पक्षता देख्दा अहा ! यस्तो पो देश त। गौरव र सान युक्त । हाम्रो देश पनि यस्तो भईदिए !
त्यहाँ हामी मात्र होईन बिभिन्न देशका यात्रु लगायत चालक दल समेत पिसिआरको लागि लाइनमा थिए । हरेक व्यक्तिलाई दुरी मिलाएर बस्ने , खाना, खाजा र तातो पानी, जाडो भए ओढने र विसन्चो भए औषधि उपचार आदिको व्यवस्था थियो । यी सबै बन्दोबस्त देख्दा भित्री आत्माबाट अब म सुरक्षित छु भन्ने आवाज आउँछ। एउटा छुट्टै प्रकारको आनन्द महसुस भएर आएता पनि यो मन चाहिँ किन हो मातृभूमि तिरै भएको पाउछु ।
मनमनै गम्छु “पिआर (पर्मानेन्ट रेसिडेन्ट) नै भएपनि आखिर हामी तेश्रो दर्जाको श्रमजीवी नागरिक नै हो यहाँ ।” कहाँको हामी गौरवशाली राजवंशको सन्तान (खाम्बोङबा लुङबोङबा सा:) ! यस्ता सुख सुबिधा संग तुलना गर्नै मिल्दैन । यस्तै आत्मसंबाद गर्दै बसिरहेको अबस्थामा लगभग २ बजे राती पिसिआर टेस्टको रिपोर्ट आउछ ।
त्यसपछि लगेज संकलन गर्दै करिब बिहान ५/६ बजे तिर अध्यागमन कर्मचारीले होटेलमा पुरयाइदिन्छ। र सुरू हुन्छ होटेलको बन्द कोठामा बसाई, हरेक दुई दिनमा पिसिआर टेस्ट गर्ने सिलसिला ।
परिक्षण गर्न आउने स्वास्थकर्मीहरू एउटा हावा तान्ने मेसिन सहित पिपिइ (ppe) लुगामा आउँछन। त्यो मेसिनको काम हामीले फेरेको सास स्वास्थ्यकर्मीतिर नगई तानेर त्यहि मेसन भित्र लाउने हो । आफु ठिक्क ढोकामा उभिनु पर्छ र उसले हाम्रो नाक मुखबाट नमुना संकलन गर्छ। त्यसपछि आफुले ढोका बन्द गरि हाल्नु पर्छ । यसरी नमूना (सेम्पल) लिएर गएपछि यता आफुले भगवानको प्रार्थना गर्न सुरू गर्नु परो कि हे भगवान रिपोर्ट नेगेटिभ भई दियोस है । कथम दुर्भाग्यले पोजेटिभ भई दिएमा एम्बुलेन्स साईरन बजाउदै आएर आइसोलेसन( isolation ) को लागि कुन दुलोमा पुराउने हो थाहा पत्तो हुदैन । कस्तो मानसिक तनाब (डर त्रास) सरि बस्नु पर्छ क्वारेन्टाइन ।
उता खानाको लागि भने होटेलले उपलब्ध गराएको खाना तथा आफन्तले ल्याएको खाना ठिक आफनो ढोका अगाडि राखेर काउन्टरबाट फोन मार्फत सुचना गर्छ। अनि टाउको बाहिर ननिकालि आफनो खाना टपक्क टिपेर ल्याउने र खाने । अलिक लामो समय ढोका खुल्ला भएमा अलार्म बज्न सुरू हुन्छ । ढोका बाहिर निस्किने त सवाल नै छैन । यत्र तत्र सिसि क्यामेरा जडान छ। य्सो बाहिर निस्किएमा क्वारेन्टाइन नियम उल्लङघन गरयो भनेर पुलिस नबोलाउला भन्न सकिन्न । यस्तै छ सकस पुर्ण सधैं ढोका बन्द नियन्त्रित बसाई ।
होटेलको सेवा सुबिधा अब्बल लाग्छ। ईन्डियन फिलिप्स जस्तै तर मेड-ईन नेपाल ब्यट्रिवाल एउटा रेडियो मेरो साथी छ। ब्याट्रीको सहज आपुर्ति हुने भएपछि ब्याट्री लाउनै परो, नत्र त्यसको के काम ? तर सानो तार गडबड जस्तो घरि चाईनिज, अङग्रेजी, जापान, घरि फ्रान्स एउटा मिटरमा लगायो अर्कै स्टेसन टिप्छ, कुन मिटरमा के भाषा टिप्छ थाहै नहुने ।
नेपाल तिर खेतबारीमा काम गर्दै सुन्दा चाहि सारै काम लाग्ने तर क्वारेन्टाइनमा चाहिँ बेगम र रियासाले गाह्रो छ हौ भने जस्तै हुने। जेहोस मजाले घन्किने तर बेला बेला ध्वनी नियन्त्रण हुनै गाह्रो, होटेल नै थर्काउने गरि गुन्जायमान हुने । सुबिधायुक्त भएपनि लामो र नियन्त्रीत बसाई घरीघरी अस्पट लाग्दो हुने रहेछ। यस्तो असहज अवस्थालाई सहज बनाउन आफन्त जनको सहयोगि भूमिका बिर्सि नसक्नुको भएको महसुस गर्दैछु।
हरेक दिन त्यहि कोठाको भित्ता, आफनै लगेज, तिनै खाट, टेवल, भित्ताको टिभी , त्यहि रेडियो अनि ऐनामा आफ्नै प्रतिरूप एउटा पट्यार लाग्दो क्वारेन्टाइन बसाई । यस्तो नियन्त्रीत बसाई लाई सहज बनाउन आवस्यक बस्तुको आपुर्ति अनि हरेक दिन बिभिन्न परिकारको नयाँ स्वाद रस पान गराउन सुबिधा र सेवा गर्नु हुने नाती श्याम ईङनाम बुहारी हेमकला, किशोर ईङनाम ,बुहारी पुष्पा, बिष्णु ईङनाम, छोरी साबित्रा, भान्जी चन्चला, बुहारी तारा लगायत….आफन्त जनहरूमा आभार प्रकट गर्दछु ।
अमेरिकाबाट साहित्य र बिभिन्न लेख रचना मेसेन्जर,इमेल भाइवर आदिद्वारा सम्प्रेसण र फोन वार्ता गरि मनोरन्जन दिनुहुने खानिगाउ कान्छा भाई, राम कुमार बिमली तथा बैनी मेनुका (पोर्चुगल) लगायत सबैलाई मुरीमुरी धन्यबाद नदिई रहन सकिन्न ।
म्यानेजरले बिहानै फोन गरेर ००.०१ एएममा छुटकारा पाउछस भन्ने सूचना दिएको छ । आज अन्तिम दिन हरपल घडि हेरि रहेको छु । कतिबेला घडिको सुई तोकिएको बिन्दुमा पुग्ला र यो ढोका खोलौं । त्यतिकैमा झट्ट एउटा पुरानो कुराको स्मरण हुन्छ जुन हाईस्कुल पढदाको ति दिन र तिनै साथीहरूसंगको हो । जब करिब समय ३ः४५ बजेको हुन्थ्यो तव हामी सबै बिध्यार्थी बेन्चबाट बिचलित हुन्थ्यौं र को अगाडि जाने भनेर ढोकाको अगाडि तछाड मछाड गर्दै धुर्ब दाईको टङटङ घण्टीको अवाजको प्रतिक्षा गरि रहन्थ्यौं। त्यस्तै आज पनि कतिबेला यो घडिको सुईले धुर्ब दाईले जस्तै टङटङ घण्टी लाईदिएला भन्ने ब्यग्र प्रतिक्षामा म त्यस्तै ढोका अगाडि छु ।
बन्द पिंजडाको सुगाले एकदिन छुटकारा पाएर प्रफुल्ल मुद्रामा हरियाली बन पाखामा घुम्न खेल्न पाए झैं आज तिन हप्ते लामो क्वारेन्टाइन पुरा गरेर खुल्ला हावायुक्त सुन्दर सहरमा निस्कनु पाउने अनुमतिले औधी आनन्द मिलेकोछ । खुल्ला र प्रफुल्ल मुद्रामा साथीभाई, आफन्त संग भेटघाट गर्न पाउँदाको आत्मा सन्तुष्टिको मजा नै बेग्लै छ । अन्त्यमा फेरि एक पटक यो बसाईलाई सहज बनाईदिन सहयोग गर्नुहुने सम्पुर्ण मित्र एवं आफन्त जनमा यहाँहरुको आगामी दिनहरू सुखमय रहोस भन्ने शुभकामना सहित आभार ब्यक्त गर्दछु ।
नोट: यस्तो लामो २१ दिने निषेधावधि सुर्यको किरण र खुल्ला हावाको अभावले स्वास्थ्यको लागि उपयोगी देखिएन । १४ दिन काटेपछि अति कष्ट । दिर्घ रोगि, बृद्ध, बालक आदिको लागि त झनै कष्टकर । यस्तो यात्रा नगरे कै बेस ।