बालिका बान्तावा

“बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।” पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे।

हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत  २००० सालमा म हङ्गकङ्ग आएँ। नया ठाउँ , नया परिवेश तुरून्त सबै नेपाली साथीभाइ नेपाली समाजसंग घुलमिल हुने कुरै भएन । त्यति बेलाकाे मेराे साथी भन्नू नै नेपाली पसलमा पाईने पत्रपत्रिकाहरू थिए , जस मध्ये  एभरेष्ट साप्ताहिक पनि पर्थ्याे ।
    म बहिरहने हावाकाे बेगलाई टक्क राेकेर लेख्न सक्ने साहित्यकार त हैन तर कहिलेकाहीँ आँखा अगाडि घटेका , आफ्नै जिवनसंग मेल खाने केही कथा कविताहरू हङ्गकङ्गबाट प्रकाशित पत्रिकाहरूमा लेख्थेँ। एभरेष्टमा पनि केही रचना  छापिएका थिए ।

  बिस्तारै समय बित्दै जादा नेपाली साथीभाई आफन्तहरूसंग घुलमिल हुँदै नेपाली कार्यक्रमहरूमा एभरेष्ट साप्ताहिकका सम्पादक , प्रकाशक किसन राई दाजुससंग प्रत्यक्ष बाक्लै भेट हुन थाल्याे।

पछी मैले ईलामकाे दाजु वसन्त राईसंग पार्टनरसिपमा बि एण्ड बि रेष्टुरेन्ट  सात बर्ष सञ्चालन गरेँ। यस अवधिमा प्राय हरेक दिन किसन दाजुसंग भेट हुने गर्थ्यो ।

“बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आईपुग्छु ।” पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे।

मेराे बितेकाे जिवनसंग उहाँ परिचित हुनुहुन्थ्याे र  भन्नु हुन्थ्याे “बालिका तिमी बिहे गर्छु मात्र भन हङ्गकङ्ग यायाेख्खाले तिम्राे  जिम्मा लिनेछ।” उहाँकाे याे अभिभावकत्व देख्दा  झन उहाँ प्रति प्रेम जागेर आउँथ्यो।

बालिका र जुनुको साथमा किसन राइ

एकदिन अल्फा ट्राभल्स एण्ड टुरका ईन्दर पुन भाईले फाेन गरेर भन्नू भयाे “दिदी हामी जस्ट ट्रायलकाे लागि मात्र केही साथीहरू एडभेन्चर एबसेलिङ  (adventure abseiling ) जादैछाैं। हजुर पनि जाउँ है?”  यसाे साेचेँ ! अरूले सक्ने काम म किन सक्दिन र?  म पनि त  उस्तै मान्छे हो नि ।
अनि २०२० काे नाेभेम्बर १४ मा लाग्याैं गन्तव्यतिर । हामी महिलामा जुनु दिब्य राना , म र तीन जना फिलिपिना साथीहरू र माईतीहरूमा  किसन राई , ईन्दर पुन , कृष्ण लावती,  ईन्द्र लक्सम दाजुहरू र अन्य ।

सबैकाे पालाे आएपछि जानै परयो। नजिक पुगेपछी डर डर लागे पनि  केही हैन भनेर सजिलै ओर्लियाैं।  तर किसन दाजुकाे पालामा खुट्टाकाे ब्यालेन्स नमिलेर उहाँ त काेक्राेकाे नानि जस्तै हुनुभयाे । सेफ्टी सिस्टम राम्रो भएकोले  हुन त केही हुन्न थियाे। सबै सावधानी अपनाईएकै थियाे । तर पनि हामी तल बस्ने र माथि बस्ने सबै  एकछिन आतियाैं। किसन दाजु तल झरिसक्दा अलिकति हात पनि पिल्सिएछ । अनि त जुनु बहिनी र मैले काम त पाएकाे , निहुँ त पाएकाे , उहाँकाे हरेक स्टाटसमा , उहाँकाे हरेक कमेन्टमा जुनु सिस र म घुसेर अघि जिस्काउन थालिहाल्ने गर्न थाल्यौं ।

उहाँ नेपाल गएकाे केहि दिन मै एउटा पुलमा बन्जी जम्पकाे कुरा लेख्दै  अक्टुबर १० मा जुनु सिस र मलाई मेनशन गरेर फेसबुकमा स्टाटस लेख्नु भएछ , हामीले त्यहाँ पनि जिस्कायाैं ।
अक्टुबर २५ मा बिहानै ७ बजे एक जना भाउजूले मेराे हाेटल क्वारेन्टाईन कसरी चलिरहेछ, सन्चाे बिसन्चाे साेध्नु भयाे र अन्त्यमा भन्नू भयाे “एउटा दुखद खबर छ, तर पुष्टि भईसकेकाे छैन कसैलाई नभन्नुस है बहिनी।”

मलाई  बिहान नै छाङ्गाबाट खसे झैं भयो । हात खुट्टा काम्न थाले । दिमागले  काम गर्नै छोड्यो । फेसबुक हेर्छु। सबैले दुखद खबर मात्र भन्छन । हन म सपनामा छु कि बिपनामा छु आफैलाई थाहा हुन छाड्याे । मन मस्तिष्क भरि दाजुकाे अनुहार मात्र देख्छु।

लेखिका

हामीलाई त यस्ताे हुन्छ भने उहाँकाे परिवारमा के बितिरहेकाे हाेला?

म सम्झी रहेछु ती आमालाई जसले आफू भन्दा पहिला आफ्नाे सन्तानलाई बिदाई गर्नु परयो। म सम्झिरहेछु साेभा भाउजुलाई  सुख दुख संगै बिताउला भन्ने  जीवन साथीले बीच  बाटाे मै छाडेर जानू भयाे । म सम्झिरहेछु ती दुई भदैलाई ,जसलाई दुखकाे अलिकति पनि छायाँ पर्न नदिएकाे बाबाले सम्पुर्ण अभिभारा उनिहरूकाे काँधमा छाडेर गए। बाबाकाे मायाबाट बञ्चित भए ।

हङ्गकङ्गमा विभिन्न कार्यभार सम्हालीरहनु भएका एभरेष्ट साप्ताहिकका सम्पादक , प्रकाशक। जनजाति महासंघका अध्यक्ष। हङ्गकङ्ग पत्रकारसंघका अध्यक्ष।हङ्गकङ्ग एन आर एनका उपाध्यक्ष।
किरात हङ्गकङ्ग यायाेख्खा संरक्षक, पर्वअध्यक्ष एवं किराया  प्रज्ञाप्रतिष्ठानका निवर्तमान उपकुलपति
किसन राई दाजु हङ्गकङ्ग नेपाली समाजकाे एउटा दह्रो  खम्बा कहिले नउठने गरि ढलेकाेछ ,उहाँकाे अभाब अब हामीमा नराम्राेसंग खटकिनेछ।

हामी जन्मिदा रित्तै जन्मन्छाै। मरेर जाँदा पनि रित्तै जान्छाैं। मरेर लानु केही छैन । मृत्यु सत्य हाे। एकदिन सबै त्यहि बाटाे जानेछाैं। तर हामीले बाँचुन्जेल कमाउने भनेकाे मर्दाकाे मलामी हाे । मलामी कमाउनु नै जीवनकाे सार्थकता हाे ।
किसन दाजु ! हजुर हामी माझ त रहन हुन्न तर हजुरकाे बिदाईमा उपस्थित मलामीहरूले बताउँछ हजुर का असल कामहरू ।

एउटा राज परिवार झैं हजुरकाे बिदाई भयाे। हामी दुखमा डुबेर पनि हजुरबाट खुशी छाैं। नेपाली समाज खुशी छ। यो नै हजुरले छाडेर जानू भएकाे याेगदानकाे कदर हाे।

हामी हङकङेली नेपाली समाज माझ हजुर सदैव  जिवितै रहनु हुनेछ ।

हजुरकाे पार्थिव शरिरलाई मात्र हार्दिक श्रदाञ्जली!!!

आफ्नै कुलमा बास हाेस किसन दाजु।

तपाईको प्रतिक्रिया