किन्दर राइ
“समय लेखिनु पर्छ एउटा मान्यतामा ।
सहमति विमति आ-आफ्नै ठाउँहरूमा ।
एक प्रयास अनी घच-घच्याइ ।
समय कहाँ कहाँ बगीरहेछ उडीरहेछ, छाल हानेर ।
तरङ्गीत भइरहेछ अपराजित भएर ।
कतै अनगिन्ती प्वाँख हालेर
निश्चित अनिश्चित यात्राहरूमा वेग मारेर ।”
मैले यो कुनै कविता भनी रहेको छैन । आजको मुख्य कर्म साहित्यकार दाजु गुरुङ ज्युको “लाई-सी”को लोकार्पण भएकोले यही कथा संग्रहमा भएका केही हरफलाई साभार गरेको मात्र हुँ ।
हो, समयलाई लेखिनु पर्छ । हामी जन्मेपछि समयलाई भोग्दै आएका हुन्छौं । बिहानैपिच्छे चियाको चुस्की जस्तै पिइरहेका हुन्छौं र रित्याइ रहेका हुन्छौं । जीवन रक्सीको प्याला सरी रित्तीए पनि हरेक व्यक्तिको कथा त कोरिएकै हुन्छ फरक फरक फर्मेटमा । स्मृति र बिस्मृतिमा रहेका आफ्ना कथाहरू बेलाबेलामा दोहोर्याई तेहेर्याई आफै पल्टाउँछौं, पढछौं, सुनाउँछौं अरूलाई, सुन्छौं अरूको । रुन्छौं आफै, रूवाउँछौं अरूलाई । हाँस्छौं र हसाउँछौं पनि । आज फेरि यही हामीले सुनेका, देखेका र भोगेका कथाहरूलाइ लिपिवद्व गरी हाम्रो सामु ल्याइदिनु भएकोछ कथाकार दाजु गुरूङले ।
कथा संग्रहको नाम “लाई-सी” राख्नु भएकोछ । हामी हङकङमा रहेका नेपालीहरूको लागि चिरपरिचित शब्द हो “लाई-सी” । चिनिया नयाँबर्ष लगायत शुभकार्यहरूमा आफन्त मान्यजनहरूबाट कुनै पनि ब्यक्तीलाई वा कम्पनीका मालीकहरूबाट कामदारहरूलाई रातो खाममा दिइने दक्षिणा नै “लाई-सी” हो । यस रातो खाममा दीइने दक्षिणालाई उपहार पनी मान्न सकिन्छ भन्ने अर्थमा कथाकार ज्युले लिनु भएकोछ ।
र, यो कथा संग्रह समग्र नेपालीहरूको लागि एउटा उपहार त हुँदै हो । यस अर्थमा कथाकार ज्युले यो कथा संग्रहको नाम नै “लाई-सी” राख्नु भएको कुरा यो कथा संग्रहमा उहाँको “आफ्नो कुरा”मा लेख्नु भएकोछ । त्यसकारण यस कथा संग्रह भित्र “लाई-सी” नामको कुनै पनि कथा पाईदैन र कुनै पनि कथाभित्र “लाईसी”को प्रशंग पनि आउँदैन । किनभने माथि नै भनियो की यो समग्र कृती नै लाई-सी हो। तसर्थ यो कथा संग्रहको नाम राख्ने तरिका परम्परागत तरिका भन्दा फरक छ ।
कथा संग्रहको आवरण चीनीया दक्षिणा “लाईसी”को रातो खामको प्रतिविम्ब झल्कने किसिमले डीजाइन गरीएको छ । पुस्तक हेर्ना साथ रातो खाम सहितको “लाई-सी” को आभास दिन्छ । सांग्रिला बुक्सले प्रकाशन गरेको यो संग्रहमा प्राध्यापक डा. गोबिन्दराज भट्टराईले समिक्षात्मक टिप्पणी गर्नु भएको छ । कथा संग्रहमा जम्मा १८ वटा कथाहरू रहेकाछन । औसत भन्दा सानो अक्षरमा रहेका कथाको मुल अंश २२३ पेजको रहेकोछ ।
एउटा कथा १० देखी १६ पेजसम्मको रहेकोछ । पहिलो कथा संग्रह “टाँकीका फुलहरू”को तुलनामा यो कथा संग्रह नरम र सेतो कागजमा छापीएका छन । अक्षरहरू पहिलेको तुलनामा साना छन ।
कथाकालः
गत कथासंग्रह “टाँकीका फुलहरू” मा जस्तो यस कथा संग्रहका कथाहरूको रचनाकाल लेखिएको छैन । तर कथाभित्रका घटनाहरूलाई अध्ययन गर्दा कथाहरू बिगत पाँच/छ बर्षभित्रका परिवेशको हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यसो त कथाका पात्रहरू नेपालको जनयुद्ध कालका पनि छन । तर ती पात्रको कथा भने कोभिड -१९ को माहामारी फैलन थालेपछी २०१९/२० साल तिर बुनीएका छन । संग्रहमा रहेको सबैभन्दा लामो समयकाल बोकेको त्यस कथाको नाम हो कामरेड ।
राजनीतीक सुझबुझ बिनै अन्जान वा बाध्यतावस जनयुद्धमा होमीएका छन कामरेड महेश । शान्ति सम्झौतापछि स्वतन्त्र जीवन ब्यतीत गरि रहेका महेशको भेट हङकङबाट नेपाल घुम्न गएका अर्का पात्रसँग भेट हुन्छ । उनीहरु बीचको कुराकनीमा कथाका कैरनहरु आउछन । हङकङ बाहिरको परिवेशमा जन्मेको कथा यही एउटा मात्र देखिन्छ ।
त्यसो त संग्रहका धेरैजसो कथाहरू यस्तै कुनै एउटा कथाको पात्रले वर्णन गरेको पुरानो अनुभवलाई समेटेर कथिएका छन । जस्तै, बेखुसी, कानुनले नचीनेको मान्छे , रिफ्युजी आदी ।
हामीलाई थाहा छ हाम्रो हङकङ्गे नेपालीहरूको खेल त्यसमा पनि भलीबल खेल संस्कृती । आफ्नो टिमलाई जसरी पनि जीताउनु पर्ने मान्यता अनुसार नेपालबाट झिकाइन्छ एउटा राम्रो खेलाडी, सुनील । हङकङ आएपछि आफ्नो पहिचानको कागजात लुकाएर बस्छ रेफ्युजी जस्तो भएर । एउटी आईडी होल्डरसँग कागजी बिबाह गरेर बस्छ पनि। तर उनै स्पोन्सरले ऊसलाई पुरूष बेस्या बन्न बाध्य बनाउँछ ।
कथा “कानुनले नचिनेको मान्छे” का यी पात्र रिफ्युजी जस्तो भएर बसेको बेला त कानुनले चिन्दैनथे तर ऊसको पछिल्लो समयको पहीचानलाई पनि कानुनले नचिन्ने अवस्था छ ।
यस्तै अलि लामो कथाकाल समेटिएको अर्को कथा हो, बेखुसी । कथाका मुख्य पात्र हुन साइमन र दोस्रो छन लेखक पात्र । करीब २० बर्ष अगाडि साइमन र लेखक एकैसाथ एउटा टनेलमा काम गरेका छन । टनेलमा काम गर्दाका समयमा दुर्घटना हुँदा सँगैका साथीहरूको मृत्यु भएको दर्दनाक तस्वीर छ साइमन र लेखकको मानसपटलमा । साइमनका अनेक निम्ताहरूमा लेखक जान भ्याउँदैनन । यसकारण साइमन बेखुसी छ लेखकसँग । अधिकांस कथाहरू हङकङमा भएका बिरोध प्रदर्शन र कोभिड-१९ को महामारीको समयकालको सेरोफेरोमा रचना भएका छन ।
भाषाशैली:
सम्पुर्ण कथाहरू आत्मा परक शैलिमा बुनिएका छन । त्यसैले यहाँ एउटा पात्र सधैं भरी म सर्वनाम लिएर खडा भएको छ । यसरी म सर्वनाम केन्द्रबिन्दुमा रहेर रचना भएका कथा तथा आख्यानहरू पढन धेरै सजीलो हुन्छ । अधिकांस कथाको एउटा मुल पात्र स्वयं कथाकार नै हो कि भन्ने आभाष पनि मिल्दछ । कतिपय कथाहरूमा एउटा मुल पात्रको नाम दाजु, वा गुरुङ नै राखिएकोछ ।
चिनिया युवती समेटिएको कथा “कान्छी” र “निर्गन्ध रहर”मा म सर्वनाम लिएर खडा हुने पात्रलाई दाजु वा दाजु दाइ भनिएको छ । त्यसैगरी “रोजा”, “गुडबाई मोनिका” र “चिसो हावाले” मा अर्का मुल पात्रको नाम गुरुङ भनेर बोलाईन्छ ।
संग्रहका सबै जसो कथाको ढाँचा हेर्दा दुई प्रकारको पात्रहरूलाई खडा गरेको पाईन्छ । पहिलो पात्र जो तिनिहरूले कथाको मुल घटनालाई बोकेका छन । दोश्रो पात्र, जो म सर्बनामबाट चिनिएको छ । यहाँ पात्र “म” चाहिँ कथाको साक्षी बनेर उभिएको छ । वास्तवमा ऊ नै कथालाई पटाक्षेप गर्ने कारक पात्र हुन, साक्षी-पात्र हुन । कथाको घटना बोक्ने पात्रलाई साक्षी-पात्रले सँधै फलो गरीरहेको हुन्छ, भेटी रहेको हुन्छ, सम्वाद गरिरहेको हुन्छ । कथामा यी मुख्य दुईपात्रहरू बाहेक अन्य पात्रहरू पनि हुन्छन तर उनिहरूको भुमिका गौण छ ।
जस्तै “कान्छी” जोर्डनको एउटा सब्जी मार्केटमा सब्जी बेच्ने चिनियाँ युवतिको कथा हो । कथामा त्यस युवतिको नेपाली ब्वाईफ्रेण्ड हुन्छ, ऊसैबाट नेपाली बोल्न सिक्छ, छोरीले बिहे गरोस भन्ने चाहना हुन्छ उनको आमाको, एकल महिला आमा पनि धेरै मिहिनेती हुन्छे । पसल बढाएर आमालाई पनि आईतबारको दिन त्यही आफ्नो पसलमा काम गर्न ल्याउँछे । तर उनको ब्वाईफ्रेण्ड एकदिन सम्पर्क बिहिन भएर हराउँछ । कान्छी निरस हुन्छे । दाजु उनको पसलको सब्जी किन्ने नियमित ग्राहक हुन । एकप्रकार म सर्वनाम लिएर उभिएको साक्षी पात्र हुन दाजु ।
कामरेड, अर्को धरातल, बेअर्थ, सेतोखाम, बाईबाई मोनिका, कानुनले नचिनेको मान्छे” यस्तै प्रकृतिका अन्य कथाहरू हुन ।
“बाईबाई मोनिका” चाहिँ पहिलो कथा संग्रहको “मोनिका” को पुरक कथा हो । पहिलो संग्रहको कथामा गोर्खा बृटिस आर्मीसँगको सम्बन्धबाट एउटी छोरी जन्मीएको छ । यस कथामा चाही त्यो छोरीले आफ्नो बाबुको पहिचान खोज्छ । सामाजिक संजालबाट बाबुलाई भेटेपछि आमालाई छोडेर बाबुको साथमा छोरी जान्छिन। यसपछि मोनिकालाई जीवन देखि नै एक प्रकारले बितृष्णा लाग्छ । त्यसपछि उनले हङकङलाई सदाका लागि छोडेर जान्छिन।
“सेतोखाम” एउटी सानी नेपाली छोरीको कथा हो । उनले आफ्नो आमाको बारेमा डायरी लेखेकी छिन । यहाँ साक्षी-पात्रले त्यस डायरी पढेर कथालाई पटाक्षेप गरेका छन ।
कथाकार दाजु दाईले पुस्तक थमाई दिएपछि मैले भने “यति सानो अक्षरमा १५/१६ पेजको पनि कथाहरू रहेछन हगि !”
मलाई कथाहरू अलि लामो हो जस्तो लागेर भनेको थिएँ । तर लामै भए पनि पाठकको मनलाई एकोहोरो बनाएर तान्ने क्षमता छ हरेक कथाहरूमा । घटनाको उत्सुकताले भन्दा पनि कथाकारको लेखन शैलिको कारणले पाठकलाई एउटा लाईनदेखि अर्को लाईन, एउटा परिच्छेद देखि अर्को परिच्छेद हुँदै एउटा कथा देखि अर्को कथामा प्रवेश गर्न उत्प्रेरित गरिरहेको हुन्छ ।
कथाकारले चालीस तले घरमाथी चढाउनु पर्नेछ , हेर्दा कठिन होला जस्तो लाग्छ । तर, चढन थालेपछि भर्याङ, बार्दली, झ्याल, भित्ता र बाहिरका दृष्यहरू सबैसँग संवाद गराउँदै, फकाउँदै उकालोमा हिडाउने शिल्प छ कथाकारमा ।
समुन्द्र ,पहाड, नदिनाला जस्ता प्राकृतिक सुन्दरताको वर्णन गर्नमा खप्पिस हुनुहुन्छ कथाकार । कथा पढिरहेको बेला पाठकलाई म आफू पनि त्यही छु जस्तो लाग्दछ । त्यसैले त कथा पढन शुरु गरेपछी सिध्याउनै पर्ने अवस्थामा पाठक वर्ग पुग्छन।
मानव अनुभुतिलाई प्रकृतिको बिम्बमा उतार्नु उहाँ धेरै सिपालु हुनुहुन्छ । “चिसो हावाले” कथामा फेसबुक मार्फत एउटी महिलासँग म पात्रको चिनजान हुन्छ । दिनानुदिन अन्तरंग कुराकानी हुँदाहुदै अनेकौं कल्पनामा डुबिरहेको बेला एउटी युवतिले फोटो खिची माग्छिन । फोटो खिच्न तयार भएको बेला भिक्टोरिया हार्वरको “चिसो हावाले” बाधा पुर्याउँछ र कथा टुङ्गिन्छ ।
कथाका हरफहरू अनुप्रासयुक्त हुनु अर्को विशेषता हो । जस्तो:
“भाईको विवाहको बहानामा हिडेकाछन आमाछोरी दुईबर्षको अन्तरालमा।
कहाँ कहाँ घुम्ने डुल्ने योजना बनाएका छन रे, बल्ल बल्ल उम्किन पाएको अवसरमा ।
अनि केहि दिनका लागि बिर्सिदिने रहर छ रे, सँधैको ब्यस्ततामा ।
धेरै बस्ने होइन फुच्चिको पढाइ छुटला भन्ने गर्छु छोरिको यादमा ।”
(निर्गन्ध रहरहरूः पेज२३)
“हो, छन, हुन्छन, थियो, भयो” जस्ता शब्दहरू सामान्यतया वाक्यको अन्त्यमा राखिने चलन हुन्छ । तर कथाकारले यी शब्दहरूलाई मिलेसम्म वाक्यको बीच बीचमा राख्ने गर्नु भएकोछ । त्यसैले पनि वाक्य अनुप्रासयुक्त बनेकाछन ।
समग्र कथा संग्रह आख्यानको शैलीमा रचीएका छन । हुन त कथा स्वयं आख्यान कै सानो रुप हो तर यहाँ भने एउटा कथा पढी सकेपछी यसैको अर्को खण्ड आउँदै होला जस्तो आभास हुन्छ । कथा लामो भए पनि ढुक्कले पढन मन लाग्नु आख्यानको विषेशता हो, यसको स्वाद यहाँका कथाहरूमा भरपुर पाईन्छ ।
कथाको बिषयवस्तु र पात्र प्रवृति :
अधिकांश कथाहरू हङकङमा रहेका नेपालीको जिवनशैलीमा आधारित छन । त्यसैले हङकङका पाठकहरूको लागि आफैले देखेको, सुनेको वा आफैले भोगेका कथा जस्तो लाग्दछ । हङकङमा भविस्य खोज्दै अबैध रुपमा आईपुगेका रिफ्युजिको कथा पनि छ ।
टनेलभित्र काम गरेका आईडि होल्डर साईमनदेखि जक्कि क्लबको नशामा डुबेका मुन्ना भाई र भट्टिपसलमा रमाउने सतासी मामालाई भेटाउन सकिन्छ । साइबरको जमाना छ । अनेकौं सामाजिक संजालहरू छन । संसारलाई साँगुरो बनाई दिएकोछ । स्थानीय होस वा दुरदेशको महिला र पुरुषहरू सामाजिक संजाल मार्फत सम्पर्कमा आएर अल्मलिएका कथाहरू पनि छन ।
कथा संग्रहको पहिलो कथा “चिसो हावाले” र अन्तिमकथा “लालिगुराँस डटकम” यहि प्रकृतिको कथाहरू हुन ।
कथाहरू “अस्वीकृत सम्झौता” र “बिस्मृतिको डिलमा” चाहिँ हङकङमा स्थाई रुपमा बसोवास गर्ने नेपालीहरूको साझा अँध्यारो पाटो हो । हङकङको बसाईसँगै राजिखुसी अदालती बिवाह हुन्छ र जायजन्म पनि हुन्छ तर आफ्नो जातिय संस्कार बमोजिम रितपुर्वक बिबाह गर्न नपाउँदा भएको बितृष्णाको चित्रण हो कथा “अस्वीकृत सम्झौता” । यहाँ बिबाहको कर्मकाण्ड पूरा नभएकोमा असन्तुष्ट र अपुर्णता भाव मात्र देखिन्छ। त्यसैले शिर्षक “अस्वीकृत सम्बन्ध” अलि अस्वभाविक हो कि जस्तो लाग्छ ।
कथा “बिस्मृतिको डिलमा” चाहिँ बिदेशमा रहेका नेपालीहरूको नोस्टाल्जिया र रित्तो गाउँघरको प्रतिनिधि कथा हो ।
यहाँ अबैधरुपमा खुलेका साना-साना रातोभाले रेस्टुरेन्टका कथाहरू छन । रिफ्युजी भएर लुकिलुकी अवौध रुपमा काम गर्दै जवानीहरू रित्याउँदै गरेका यौवनाहरूको कथा छ । समग्रमा यहाँ पनि सानो नेपालको बिम्ब छ ।
नारीप्रधान कथाहरु:
कथा संग्रहमा समेटिएका अधिकांश कथाहरूमा प्रमुख पात्रको रुपमा नारीहरू रहेकाछन । अस्वीकृत सम्झौता, चिसो हावाले, निर्गन्ध रहरहरू, गुडबाइ मोनिका, रिफ्युजी, रोजा, पानीका धर्साहरू र सेतोखाम नारी प्रधान कथाहरू हुन । कुनै महिला बालबिबाहको चपेटामा परेकाछन , कुनै महिला सौताको मारमा परेकाछन भने कुनै महिला धोकेबाजको फन्दामा परेका छन ।
अधिकांस महिला पात्रहरू प्राय: पिडित नै छन । यस कथा “रोजा” र “गुडबाई मोनिका” फिलिपिना महिलाको कथा हो भने “कान्छि” एक मात्र स्थानीय चिनियाँ युवतीको कथा हो । त्यसपछी बाँकि सबै नेपाली महिलाका कथाहरू हुन ।
कमी कमजोरी:
यहाँ म आफुलाइ यस कृतीमा भएका कमजोरी देखाउन सक्ने हैसियतको ठान्दिन । भाषिक वा अन्य त्रुटिलाई त मैले नजर अन्दाज गर्दा पनि हुन्छ । तर केही कथाहरू जस्तो कामरेड(पेज ११५) र बेखुसी(पेज१२७) पढदै जाँदा उनी र उनको जस्ता सर्वनाम पढन पुगिन्छ । मलाई भने यसबेलासम्म यो पात्र पक्कै महिला नै हुनुपर्छ जस्तो लाग्दै गयो । तर सोही पात्रलाई ऊसको पनि प्रयोग भएसँगै पुरुष पात्र भएको पाउँदा यसमा त्रुटि भएको हो कि भन्ने चाहिँ लागेको छ ।
कतिपय अनुवाद गर्ने एप्समा अंग्रेजीमा अनुवाद गर्दा पनि “उनको” लाई her र “ऊसको” लाई his भनेर ट्रान्सलेट हुने गर्दछ । त्यसै गरि पुस्तकको अन्तिम पेजमा सङलो र याक्खाको पनि हिज्जे अन्यथा हुन गएको हो भन्ने मेरो ठम्याईमा छ । स्थानीय क्याण्टोनिज भाषा पनि यहाँ धेरै ठाउँमा प्रयोग भएको छ । धेरै शुद्धसँग प्रस्तुत भएको छ । तथापी पेज नम्बर १७ मा चाहिँ “सिन-साङ” हुनुपर्नेमा सिन-सान” हुन पुगेको छ । यतिको त्रुटिलाई हाम्रो नेपाली जिब्रो र कानले पचाउन सक्दछ ।
दाजु गुरूङ ज्युको यो दोश्रो कृती “लाई-सी” माथी साहित्यीक र समालोचनात्क स्तरबाट हैन, एउटा सोझासिधा पाठकको नाताले हार्दीक बधाईकासाथ यो पाठक प्रतिक्रियालाई यहीँ अन्त गर्दछु ।
(हङकङमा भएको लाई- सी कथा संग्रहको लोकार्पणको अवसरमा यो लिखित समिक्षा किन्दर राइले प्रस्तुत गरेका थिए – संपादक)
आइतबार १७, अक्टोबर २०२१, बगैंचा रेस्टुरेन्ट , हङकङ