धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ” मेरो देश नेपाल’को भिडियो सार्वजनिक गरिएको छ ।
सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको हो।
भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए ।
कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गर्दै सबैलाई भिडियो हेरेर शेयर गरेर सहयोग गर्न अनुरोध गरिन । कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र आफ्नो पुरानो गीत ‘चेलीको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिईन । २०४३/०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षु राईले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीत मार्फत खबरदारी गर्ने गर्थिन । २०४७ सालताका पूर्वका गाउँ गाउँमा ‘चेलीको सिउँदो पुछियो….’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’, ‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन ।
पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनि पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन । २०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्बम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्बम ‘प्रिति’ बजारमा ल्याइसकेकी छिन । लामो समय धरान उप- महानगरपालिकाको जागिरे जीवनबाट केहि बर्ष अघि मात्र अवकाश लिएकी गायिका हर्षु राईले लामो अन्तरालमा नयाँ गीत “मेरो देश नेपाल ” राष्ट्रिय भावनामा समर्पित रहेर म्यजिक भिडियो सहित ल्याएकी हुन। “मेरो देश नेपाल ” गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ।
भिडियो सार्वजनिक कार्यक्रममा गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गायक/ संगीतकार नवराम राई लगायत बिभिन्न संगीतकर्मीहरु बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिईन् ।
म्युजिक भिडियो लिङ्क :