देश बाहिर बसेर शसक्तरुपमा कलम चलाइरहेका युवा कविहरु मध्ये दिपा मेवाहाङ राई शक्तीशाली कवि हुन । उनले आफ्ना कविताहरुमा मान्छेका मनोबिज्ञानलाई यति गम्भीररुपमा व्यक्त गरेकी हुन्छीन् की कुनै कुनै हरफहरुले तपाईलाई सोच्न बाध्य बनाउछ । कहि खोला जस्तै बग्नु कहि पहाडझैँ आफ्ना अभिव्यक्तिमा अडिग रहनु उनको लेखनको बिशेषता हो प्रस्तुत छ साताको तीन कविता ।
आधा आकृती
भर्खरै मृत्यु भएको
पेन्टरको क्यानभासमा
उत्रीन्दै गरेको आधा आकृती
जसको पुर्णता कहिले हुने छैन
वा यता उता सधैं
भौतारी रहने बतासको झोका
कहिले यता बहन्छ
कहिले उता बहन्छ
जसको कुनै स्थिर गन्तब्य छैन
वा आकाशमा देखिने जून
जो आधा महिना टहलिरहन्छ
आधा महिना कता भाग्छ ?
जसको निश्चित स्थान छैन
मान म त्यही आधा आकृती हुँ
मान म त्यही बतासको झोका हुँ
मान म त्यही जून हुँ
जो सधै आधा आधा बाँच्ने
म त्यही क्यानभासको
आधा आकृती हुँ
जसलाई आधा मै
सन्तुष्ट रहने बानी परेको छ
म त्यही बतासको झोका हुँ
जसलाई कहिले यता बहन मन पर्छ
कहिले उता बहन मन पर्छ
र तिमी त्यो समुद्र हौ
जसको अङ्गालोमा म हुने छैन
तर पनि अङ्गालोमा भएको आभास हुनेछ।
सडकहरु प्रति
एक दिन तिमी
मघुमास बोकेर आयौ
तिमी आउनुमा मेरो मन
हर्षले नाच्नु पर्ने थियो तर नाचेनन
तिमी आएपछी न कहिले उत्सब मनाए
तिमी रहँदा
म कति सार्थक थिएँ भनेर सोच्नु
म आफैलाई धोका दिनु हो
तिमी रहँदा
म कति सार्थक थिएँ भनेर नसोच्नु
मैले तिमी माथी अन्याय गर्नु हो
बाटोहरु जसरी
आउने- जाने हुन्छन
यात्राहरु सधैँ सहज र सिधा मात्र हुन्छ भन्ने पनि छैन
समय अन्जान मोडिन सक्छ घुम्तीहरू जिन्दगीको
छुटेर रहन्छन केही मोडहरु
अदृश्य पर उता हुँदै जानेछन
सहर्ष हाँसोले स्वागत गर्नै पर्छ,
आशाको धमिल सलेदो
भरोसामा कस्सेर मुठीहरू
बर्तमानलाई सपनामा बदल्नु छ
पदचापमा बिजेका काँडा उपर
ओठका मायावी मुस्कान छरेर
मनहरू फाटदा पनि मुटुले जोडेर
धर्ति र छितिज बन्नु छ
तर
आज तिमी त्यही घुम्ती मोडिएर जादैछौ
तिम्रो बिदाईमा यसरी उभिएको छु
जसरी हावाको चापले आकासिएको
बेलुन आयु नापेर नाची रहेछ
लाभाहरुको उत्तेजित यौवनाहरु
हुर्किएर पुतलीमा परिणत भएको जस्तै
र ,आज सोचमग्न छु म
मस्तिष्क व्याकुल भएको छ
मुटु बेकसुर बेहद छ
आँखाहरू ओसिलो बनी सान्त्वनामा बग्छ
आखिर मुटुहरु किन एमरोज सडकमा
आन्दोलन गर्न निस्किन्दैनन?
अनुरोध
हामीले हिडेका आधा बाटो
हामीले शितल तापेका वर पिपल
देउरालीमा रोपेका केही बचनहरु
साँझको सम्झनामा बहिरहने त्यो बतास
भञ्ज्याङ्गमा बिसाएको केही सुस्केरा
सबै सबै तिम्रै नाममा छोडेर जादैछु
बग्न सक्छन कयौं थोपा आँखाबाट
पग्लि जाने हिउँहरु
भौतारिन सक्छन अनकन्टार दिशा तिर
यादका केही टुक्राहरु
हराउन सक्छन आफू स्वयंबाटै
आफ्नै जिन्दागीको हिस्साहरु
मुर्झाउन सक्छन मुस्कानको कलेटी
ओठको कुना कन्दराबाटै
त्यति बेला आफुले आफैलाई
यादहरुको भङ्गालोबाट बचाउनु
जुनलाई हेरेर सिक्नु
-मुस्कुराउन
बगरलाई छोएर महसुस गर्नु
-एक्लोपन
झरेका फूल हेरेर गाउनु केही हरफ जिन्दगीको
-आलाप
जाँदा जाँदै तिमिलाई यति अनुरोध छ
तिम्रा आँखाहरुले बाँध नछुटाउन
तिम्रा मुटुले चाल नबढाउन
बाँध छुट्यो भने
मुटुको चाल बढ्यो भने
रोकिन सक्छ मेरा पाइला भन्दा अघि
जो पहिलै तिम्रो बसमा परिसकेको मुटुको गति
मैले समयलाई टिप्दै टिप्दै
धेरै पर पर पुग्नुछ
छितिजको लालीमा हाम्रो प्रेमको एउटा अभीष्ट
स्केच कोर्नुछ
जहाँ दुनियाले हेरेर यो भन्न सकुन
साचो प्रेमको प्रतीक त यस्तो होस।