बर्तमान पुस्तामा लेखीरहेका कविहरु बीच रिमा के सी एक शसक्त हस्ताक्षर हो । आफ्ना कविताहरुमा शालीन र शान्त उनका कविताहरु यो समयको शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता ।

जीवन गीत

कुन शोकमा छ प्रकृति
आकाश रोइरहेछ ।

एकालापमा छ्न बाटा
मृत्यु र जीवन, दुवैको खबर बोकेर
हावा बेतमास बहिरहेछ

बजाउँदै कहिले साइरन झस्काउँछ हुरी
समय पनि कति निर्मम, निष्ठुरी
बेचैनीले घेरिएछन मन
झ्यालका चेपचेपमा आँखाहरु चेपिएछन

यो रङ्गिन सहर हो कि मसानघाट
धुँवामा उडिरहेछन लासैलास
रोदन र क्रन्दनमा अभीशप्त छन विश्वास

त्यै पनि ठेलेर विरुवाको टुसाले
ढुंगालाई पल्टाऊँ भन्छ
त्यै पनि छरेर उज्यालो उषाले
अझै जीवन बाँकी छ भन्छ
झरीमा झरिदिएर असरल्ल
शिरिषका फूलले
सारा दुःखलाई फिका बनाइरहेछ ।

मसँग सोध कहाँ दुख्छ घाउ

उसले नछुनु भने देखि पाखा लागेकी हुँ म
उसले छुन चाहना गुरुन्जेल
छोयो , प्रेमको खोल ओढेर , मेरो पवित्र हृदयमा
कोतारी रह्यो मेरा कोमल अङ्गमा नङ्ग्रा गाढेर
मेरा पवित्र सपनासँग ताण्डव नृत्य नाच्यो
अबोध खुसीहरुको हत्या गर्‍यो

जब अघायो जुठो लाग्यो तिनै निर्दोष अंग
अनि अपवित्र भएँ म
डस्टविनमा मिल्काएको फोहोर बनेँ म

जब भोको थियो
जुठो लागेन मेरो अधर
अछुत लागेन स्तनपान
छोइएन सहवास हुँदासम्म

मेरो प्रेम त निश्चल थियो
मेरा आँसु जल भन्दा पवित्र थियो
मेरो शरीर शुद्ध थियो
तर मलाई अपवित्र बनायो कसले ?
म सोध्न चाहन्छु
अशुद्ध ऊ थियो कि म ?

महासय !
मेरै बाले सिलाएर ढाकेका हुन
तिम्रो आङको लाज
ढाकेको हो तिम्रो नंग्न अंग !

काकाले आफ्नै भाग्यलाई भुङ्रोमा डढाएर
बनाएको हो तिम्रो औजार
जसलाई तिमी आजभोलि मेरो खुसी काटन प्रयोग गर्छौ
मेरै बाजेको कलाले शृङ्गारिएको तिम्रो चेलिबेटीको गहना

अब पराकाष्ठाको कालो बादल लाग्ने दिन आउँदैछ
मेरो बाले सिलाएको रातो वस्त्रले टाउको बाँधेर
काकाले बनाएको औजार हातमा भिरेर
तिम्रो अन्याय विरुद्धको अन्तिम लडाइँ लड्न आउदैछु ।

कलियुगकी द्रौपदी

महाभारत युग चलिरहेछ निरन्तर
युधिष्ठरको पासामा दाउ थापिएकी छे
आदिमकाल देखि एकल द्रौपदी
र पनि सत्यवादीको पगरी भिरिरहेकैछन आधुनिक युधिष्ठिरहरु

शकुनि पासामा अकण्टक गोटी बनाउँदै आइरहेछ्न हमेशा नारीदेह
कथित वीरताको आवरणमा
अझै पनि अपहरित भइरहेछन अम्बा र अम्बालिकाहरु

युग परिवर्तन भयो समय गुज्रियो
तर अझै बान्ता गरिरहेछन अहंकारको भडास
पाण्डव कौरव र शकुनीका नवसंस्करणहरू

चुसिरहेका छ्न नारीअस्मिता र आत्मस्वाभिमानलाई
पितृसत्ताको बधशालामा लुछिरहेछन नारीत्व
पासा बजारमा निशुल्क
आँसुको लाचारीमाथी आगो साटिरहेछ्न निरन्तर

यहाँ
असत्य साबित भै सक्यो युधिष्ठिरको सत्य
कायर भै सक्यो भिमको भिमकाय शक्ति
अर्जुनका अस्त्रहरु निर्बल र भुत्ते भै सके
धृतराष्टहरुका आँखा मात्र होइन
हृदयमा तमसको साम्राज्य छ
भारीभरकम सभाका तमासे अब नामर्द भै सके सबै

पाण्डवहरुले द्रौपदीलाई खेलौना बनाउँदा
सीताहरुले अग्निपरीक्षामा होमिनुपर्छ अझै
खुशी र न्याय भन्दा अगाडि
कर्तव्यको पाठ घोक्नु सक्नु पर्छ यहाँ
दु:शासनहरुको अपमानको विष पिउनुपर्छ
आदर्शको मुकुण्डो इमानको पाखण्ड भजाइरहेछ युग
तर तिमीले क्रुर उत्पीडनको जञ्जीरमा बेरिएर पनि
सहनशीलताको मुस्कान मुस्कुराउनुपर्छ
किनकि तिमी आजको कलियुगकी द्रौपदी हौ !

तपाईको प्रतिक्रिया