नेपाली साहित्यमा पहिचानको आन्दोलनलाई ससक्तरुपमा अगाडी बढाईरहेका पछिल्ला पुस्ताहरुमध्ये मधुराज केरुङ एक स्थापित नाम हो । राज्यका हरेक साँस्कृतिक अतिक्रमणहरुको बिरोधमा सधैँ खबरदारी गर्ने केरुङ लिम्बु समुदायमा साँस्कृतिक अभियान र संरक्षणको निम्ति राज्यलाई खबरखारी गर्ने एक दरिलो आवाज हो । हाल संस्कृत विश्वबिधालयमा पि एच डी गर्दै गरेका केरुङको प्रकाशित कृतिहरु फक्ताङ्लुङ्को फेदिबाट गजल संग्रह (२०६७ )साम्याङ्फुङ लिम्बू गजल संग्रह (२०७५ )मारोतिका थुङ्गाहरु संयुक्त कविता संग्रहको संकलन सम्पादन अजम्मरी अक्षरहरु संयुक्त कविता संग्रह प्रकाशित छन। पेशाले पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा कार्यरत हाल संघीय लेखक मञ्च संस्थापक अध्यक्ष र नेपाल आदिबासी जनजाति साहित्यकार लेखक महासंघ लिम्बुवान प्रदेश अध्यक्ष साथै साँस्कृतिक पुनर्जागरण अभियान संयोजकको रुपमा कार्यरत छन। दर्जनौं लिम्बु चलचित्रहरुमा नायकको भुमीका निभाईसकेका छन। प्रस्तुत छ उहाँसंग बर्तमान समयमा नेपाली साहित्यमा पहिचानको बिषय कसरी उठान भैरहेको छ, यसका चुनौतीहरु के के छन लगायतको बिषयमाथि केन्द्रीत रहेर गरिएको कुराकानी ।
नेपाली साहित्यमा विभिन्न किसिमका आन्दोलन र बिचारहरु आइरहेका छन । यसलाई कसरी हेरिरहनुभएको छ ?
नेपाल देश आफैमा बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसाँस्कृतिक बिबिधताले युक्त मुलुक हो । यहाँ विभिन्न सभ्यताबाट फरक- फरक अस्तित्वमा आएका जातजातिहरु बसोबास गर्छन । तर राज्यले यस किसिमको बहुलतालाई खासै स्वीकार गरेको छैन । अन्ततः स्रस्टाहरुले न्यायको खातिर साहित्यिक आन्दोलन गर्नु परेको छ । उनीहरू साहित्य र कलाक्षेत्रबाट आफ्नो आवाजहरु बुलन्द गरिरहेका छन । बिशेश गरेर तेस्रो आयाम, सिर्जनशील अराजकता, उत्तरवर्ति सोच, रंगबाद, कुकुर कविता र फरक आयामले आफ्नो मुद्दाहरु दरोखरो गरि उठाएका छन । यी आन्दोलनहरु आफ्नो, अस्तित्व र पहिचानसंग सम्बद्ध छन । सामाजिक न्यायको लागि कलम उठाइरहेका छन । यस किसिमको मुद्दाहरुमा राज्य गम्भीर हुनुपर्छ ।
साहित्यको समग्र बिधामै आदिवासी लेखकहरुको उपस्थिति दरिलो देखिन्छ तर फेरि पनि साहित्यमा उनिहरु सिमान्तकृत नै छन यसको मुल कारण के हो ?
मुलतः आदिबासी जनजातिहरु जन्मजात रूपमा साहित्यकार हुन । उनिहरुलाई गर्भमा नै तागेरा निङवाभु माङले साहित्यिक शक्ति दिएर पठाएका हुन्छन । र ती साहित्यहरु अलिखित रूपमा नै श्रुतिपरम्परामा बाँचेक छन । समयक्रममा मात्र लेख्य रुप ग्रहण गर्न पुगेका हुन । उनिहरु साहित्य, कला र संगीतको क्षेत्रमा अब्बल देखिए पनि राजनैतिक रूपमा आफ्नो उपस्थिति एकदम कमजोर छ । नीति निर्माण गर्ने भनेको राजनितिज्ञहरुले हो तर त्यहाँ आदिबासी जनजातिहरुको उपस्थिति प्राय शुन्य छ । औंलामा गन्न सकिनेहरु पनि अर्कै बिचारधाराबाट आएका पानीमरुवा मात्र छन । खास आदिबासी सीमान्तकृत समुदायको मुद्दा बोकेका पार्टीहरु सत्ताभन्दा धेरै टाढा छन । राजनैतिक क्षेत्रमा कमजोर भएपछि अन्य क्षेत्र स्वत कमजोर हुन्छ ।
तपाई बिशेषगरि आदिवासी भाषा , साहित्य कला संस्कृति बचाउ आन्दोलनको एक अभियन्ता नै हुनुहुन्छ राज्यसँग यति बिद्रोह गर्नुपर्ने कारण के हो र बिमतिको कारणहरु के के हुन ?
म बाल्यकालदेखि नै निरन्तर आन्दोलनरत छु । यो मेरो रहर होइन बाध्यता हो । हाम्रो मागहरु त्यति ठूलो छैन । सबै जात, जाति, धर्म, बर्ग, क्षेत्र, लिंगकाहरुलाई समान व्यबहार गर । उनीहरुको अधिकार नखोस । उनीहरुको पहिचान मेटाउने कुचेष्टा नगर । उनीहरुलाई दमनमा नपार, नहेप र न्याय देउ, मात्र भनेका हौं । देश पेवा नबनाउ । वनाउनु हुँदैन मात्र भनेका हौं । जनतालाई जबसम्म अधिकार समपन्न बनाउन सक्दैनौं उतिबेलासम्म मुलुक बलियो हुँदैन भनेका हौं
नेपाल लामो सामाजिक राजनीतिक आन्दोलन पछि आजको ठाउँमा उभिएको छ, जसले गर्दा हामीसंग एक लोकतान्त्रिक संबिधान छ, तर के यहाँका आदिवासी, दलित, महिला, पिछडिएका बर्ग र सिमान्तकृत समुदायको भावनालाई यो संविधानले समेटेको छ ?
छैन, बन्दै सम्बोधन गरेको छैन । संविधान जारि भएकै दिन जलाउनु परेको छ । यो संविधान सिमित जातिहरुको मेनिफेस्टो मात्र भयो । सबै समुदायको हक हितका कुराहरु लेखिएका छैनन । पृथ्वीनारायण शाहको दिव्य उपदेशको नयाँ संस्मरण जस्तो भएको हुँदा यो संविधान सबै नेपालीहरुको हुन सकेन । सबैको भावनाहरु समेटिएको भए आज सडक-सडकमा आगो बल्ने नै थिएन ।
संसारभरि नै आदिवासी साहित्य एकातिर राज्य अर्कोतिर छ। तपाईं आदिवासी र साँस्कृतिक अभियन्ताको रुपमा पनि परिचित हुनुहुन्छ पछिल्लोपटक खुवालुङ र सुकेटार बचाउ अभियानमा सकृय देखिनुभयो अबको दिनमा के कस्ता योजनाहरु छन ?
हामी निरन्तर आफ्नो साँस्कृतिक मुन्धुमिस्थलहरुको संरक्षण गर्दै आइरहेका छौँ । राज्य कथित बिकासको नाममा विध्वंस मच्चाइरहेको छ । थुप्रै मुन्धुमी स्थल, माङगेना यक र समाधिस्थलहरुमा डोजर चलाइरहेको छ । हामी बिकास बिरोधि होइनौं तर बिकासको नाममा सबै सम्पदाहरु समाप्त पारिनु हुन्न भनेका हौं । जसरी आदिबासी रैथाने नामहरु सबै हिन्दुकृत गरिदैछ । यसको ज्वलन्त उदाहरणको रुपमा मुक्कुमलुङ, तिम्बुङवरक, मिलुङ र खुवालुङलाई लिन सकिन्छ । अब साँस्कृतिक पुनर्जागरण आन्दोलन गाउँ – गाउँमा पुग्छ । घर-घरमा पुग्छ । यो चेतनाको राँको निभ्दैन ।
नेपाली समाजले देख्दा बर्गको संघर्ष जस्तो देखिए पनि जातिय बिभेदमाथीको संर्घष गर्नु पर्ने अवस्थाको यात्रा निकै लामो छ। लिम्बुवानकै कुरा गर्दा पनि यो समुदाय पछिल्लो समयमा आफ्नो भाषा धर्म र सँस्कृति बचाउनु पर्छ भन्ने बिषयमा स्पष्ट छ ।तर देशमा संघीय गणतन्त्र आईसक्दा पनि कुनै तामाङ अथवा लिम्बूले गाई काटेर खाएकै निहुँमा जेल हालिन्छ तर खुलेआम बलात्कारी हिडीरहेको अवस्था छ के छ तपाईंको प्रतिक्रिया ?
नेपालमा बर्गीय समस्या मात्र होइन । जातीय, लिंगीय र क्षेत्रीय समस्याहरु पनि छन । एक हिसाबले भन्ने हो भने ब्राह्मणवादीहरु आफू इतरका समुदायहरुलाई मान्छे नै गन्दैनन । उनीहरुलाई अधिकार दिन कन्जुस्याइँ गरिरहेका छन । आफ्नो साँस्कृतिक सत्ता जबर्जस्त लादिरहेका छन । अहिले गाई काण्ड त धेरै ठाउँमा उठिरहेको छ । हिन्दुहरुले गाईलाई संविधानमा राष्ट्रिय जनावर बनाएपछि आदिबासीहरुको संस्कृति जेनोसाइडमा परेको हो । आफै लडेर मरेको गाईको छालाबाट आदिबासीहरुले च्याब्रुङ बनाउँदा जेल जान्छन तर दिनदहाडै बलात्कार र हत्या गर्दा पनि अपराधीहरु सडकमा खुलेआम हिंडिरहेका हुन्छन । किनभने यो मुलुक हिन्दु राज्य बनाएका छन नि त ।
पछिल्लो युवापुस्ताहरुमा लेखनमा राज्यसंग ठूलो बिमति देखिन्छ यसलाई के भन्नुहुन्छ ?
हिजोको दिनदेखि नै राज्यसंग स्रस्टाहरुको बिमति रहदै आएको छ । यो स्वभाबिक छ । स्रस्टाहरुले कलमबाट राज्यलाई निरन्तर खबरदारी गरिरहनु परेको छ तर अहिलेको युवाहरुको आवाज समयको दर्बिलो आवाज हो ।
अन्तमा साहित्य लेखनमा महिला लेखक र उनिहरुको लेखनले बोकेको बैचारिक उपस्थितिको स्तर के कस्तो छ अन्तरास्ट्रिय स्तरमा ?
अन्तर्राष्ट्रिय स्तरमा नेपाली नारी स्रस्टाहरुको स्तर कमजोर छैन । तर धेरै नारीहरुको लेखनको कन्टेन्ट धेरै पुरानो छ । पुरानो मिथक र बिचारहरुले नेपाली साहित्यको बिकासमा सोचेजस्तो उपलब्धि हासिल गर्न कठिन पर्छ ।