विशेषत नेपाली चित्रकला र कला समीक्षाको क्षेत्रमा स्थापीत र सक्रिय भएता पनि साढे तीन दशकभन्दा लामो समयदेखि चित्रकलासँगै कविता लेखीरहेका तिर्थ निरौला नेपाली कला क्षेत्रमा पनि एक स्थापीत नाम हो प्रस्तुत छ साताको तीन कविता
धरान
के पर्खेका हुन तिनले
कालखण्ड तर्दै-तर्दै
के हेरेका हुन तिनले
कालखण्ड भोग्दै-भोग्दै ।
लमतन्न नसाको झ्वाँकमा
बजारिँदै आएका खोस्टा विचारहरु
बेतुकका गडगडाहट
पिच्च थुकिएका पानका त्यान्द्रा
अनि विध्वंस दम्भ; कालो बंगुरे फाक्सा र ओदानीमा मुर्छित काला खरानी ।
के पर्खेका हुन तिनले
कालखण्ड चिर्दै-चिर्दै
के हेरेका हुन तिनले कालखण्डहरु भोग्दै-भोग्दै ।
बुढासुब्बामा सिउरे रातो भाले बासेको–बास्यै छन
दन्तकाली र पिण्डेश्वरका घण्टा बजेका–बज्यै छन
कलकल बग्ने सर्दु सेउती बलात्कृत भएकी पनि वर्षौं भइसक्यो
दाँत झरिसकेको घोप्टे चिउरी डाँडो पनि स्वेत फुलिसक्यो
अझै के पर्खेका हुन कसको आगमन पर्खेका हुन ?
कुनै सङलो बेलामा तिनी थपक्क बसेका थिए रे !
आज नाङ्गो नाच भोगिरहेका छन
रङ्गीविरङ्गी अनुहार घोचिरहेछन
धुलोधुँवा र दुर्गन्ध पोलिरहेछन
कोलाहलको भुमरीमा रुझ्दै
अझै कसलाई पर्खेका हुन
अझै कसको प्रतीक्षामा बसेका हुन
कालखण्ड चिर्दै–चिर्दै
मर्दै बाँच्दै ।
थाहा छ ? तिनी अधिनायकवादले थिचिएका छन
थाहा छ? तिनी कित्ता–कित्ताबाट भोग्य बनाइएका छन
दैनदिनका रक्तिम छिद्राछिद्रा बनाइएका तिनका यौनाङ्गमाथि मजा गोडनेहरु
सम्पन्न बन्नेहरु
सम्पन्नताको काँचुली फेर्नेहरु
नयाँ राजाहरु, दिन प्रतिदिन
रफ्फु चक्कर हुँदा छन
निरन्तर-निरन्तर ।
त्यैपनि एकै आसनमा बसेका बस्यै छन तिनी
सम्पत्तिको नाममा हातमा एउटा पुस्तक च्यापेर
कालखण्ड तर्दै-तर्दै
आसाका सपनाहरु तुन्दै-बुन्दै ।
के हेरेका हुन तिनले
कालखण्ड तर्दै-तर्दै
के हेरेका हुन तिनले
कालखण्ड भोग्दै-भोग्दै ।
माटोको स्वाधीनता
तिमीले बुझेको अग्रगमनको मिथ
थाहै नपाई नेपालमा गाउने
एउटा रटाने गीत भएपछि
तिमीले देखेको अग्रगमनको दम्भ
थाहै नपाई आत्मारतीको
बाँदर नाच भएपछी
अग्रगमन माथी प्रश्न उठने गर्छ मनभरी
के हो अग्रगमन?
म त भन्छु सुकरात र गेलिलियोलाई गएर सोध्दा हुन्छ
चेतको राग बुद्ध र कार्ल मार्कसंग बुझ्दा पुग्छ
क्रमभंगको शब्द फलाक्दै हिडनेहरु हो!
अब्राहम लिङकन र नेल्सन मण्डेलालाई
पढे के बिग्रीन्छ ?
अब च्याति देउ तिम्रा चिट चोरिएका भ्रामक दस्ताबेजहरु
भ्रष्टताको धमिराले खाएको
खोक्रीएका ती नग्न अनुहारहरु
भाँचिदेउ निरीहका ढाडमाथि कुल्चने तिम्रा हात्तिपाईले पाउहरु
कुप्रीएका रक्तिम काँडे हातहरु
म त भनिरहेछु;
कुटिलताको खियाले भुत्ते भएका
तिम्रा खोपडीको अब औचित्य छैन
किनकी-
जनताले गोडेको उर्वर मैदान अब त कहिल्यै फूल नफुल्ने बगर बनाई सक्यौ
बिदेशीको पाउमा चढाई सक्यौ
माटोको स्वाधीनता ।
अचानो
हिजो उसले
टाउको काट्यो
आज उसको टाउको काटियो
कस्तो नबुझेको !?
प्राकृतिक कानुनको सिद्धांतमा
काटने र काटिनेको निरन्तरता !
तयार छौ
अचानोमा
काटिन ?
अब पालो
तिम्रो !