हाल भारतको गान्तोकमा बसोबास गर्ने कवि रवि रोदन नेपाली र हिन्दी दुबै भाषामा कविता लेख्न सक्ने स्थापीत कवि मध्ये एक हुन् । कविताको अतिरिक्त आख्यानमा पनि उत्तिकै शक्तीशाली रुपमा कलम चलाउछन् । शिक्षण पेशासँग सलग्न रोदनको समय स्ट्रोक कविताकृति प्रकाशित छ प्रस्तुत छ साताको तीन कविता ।
चप्पल लाएर सडकमा जीवन थीङहरु !
हिजसम्म बग्दै गरेको टिस्टामा
तिमीले देखेको आकास
नाचिरहेको बादल
तिमीले देखेको धुप्पीका रुखहरु
निश्चल कञ्चनजङ्गा
र हुस्से पहाडहरु
हाम्रा आँखाहरुले देख्दैनन्
तिमीले भने जस्तो
हामी हिप्पोपोटामस भयौं कि…..???
निर्धो भएर बाँचिरहेको युगको खास्टो च्यातेर
हामी माटोको गन्ध खोजीरहेका छौं
तिमीलाई जस्तै हामीलाई पनि
हाम्रो स्वतन्त्रता छोप्ने कुइरोलाई जित्नु छ
र लेख्नु छ एउटा बतासको ।
हामी पत्याउँछौं
कञ्चनजङ्गासित
आफ्नै माटो गुमाएको
एउटा सग्लो कथा छ
हामी पत्याउँछौं
कञ्चनजङ्गासित आफ्नै छातीमा
आगो सल्काएर बैंसालु सपना गुमाएको कथा छ।
खोसिएको गीतको लय
खोज्दैछौं हामी
तिर्खा लागेको छ हामीलाई पनि
हाम्रै अस्तित्वको
हाम्रो शहरै उजाड पार्ने त्यो हुरीको बिम्बहरु
च्यात्नु छ र भन्नू छ – जीवन थीङहरु चप्पल लाएर हिड्दैछन सडकभरि।
साङ्गलीभत्र बाँधिएका
घोडाका टापहरु सुनिन्दैन
बाँधिएका साङ्गलीहरु तोडेर हर्कुलस बनेका छन्
जिवन थिङहरु
जीवन थीङहरु चप्पल लाएर हिड्दैछन् सडकभरि।
मृत्युसित नडराउने
निडर जीवन थिङहरु
स्वाभिमानी भएर त्यो दुखेको अतितको घाव सम्झन्छन
सम्झन्छन् हात चुडालेर दिइसकेपछिको इतिहास
देश गुमाएको एउटा नमिठो याद।
आफ्नै अनुहार च्यातिएर
निष्कासित सपनाहरुको ब्लुप्रिन्ट बोकेर
हामी हिडिरहेको पाइतालाको कथाहरुले
आत्महत्या गरेको
सुनाखरीको देशमा
जीवन थीङहरु बरबराउँदै हिड्न थालेका छन्
जीवन थीङहरु चप्पल लाएर हिड्दैछन् सडकभरि ।
आफ्नै अनुहार खोज्नु
स्वअस्तित्व खोज्नु
एउटा शक्तिशाली निर्णय
जो साँच्चै खतरनाक छ जोखिमपुर्ण छ
जीवन थीङहरु सडक कुल्चेर अन्याय विरुद्ध बोल्दैछन्
जीवित मान्छेको मुर्दा शहरमा
आगाका लप्काहरु जुलुस भएर उठ्छन्
उन्मुक्तिका कुराहरु गर्छन्
फोसिल्स भइ सकेका विचारको कुइरो सलबलाइ रहेछ
जीवन थीङहरु चप्पल लाएर हिड्दैछन् सडकभरि।
हिजआज निकै चर्को घाम लाग्न थालेको छ
लाग्छ हाम्रा रगतका ढिकाहरु
शरीरमा तातो पानी भएर कुदिहिड्छन्
कञ्चनजङ्गाले नुनिलो पोखरी बनाएको छ कतै
त्यही पोखरीको आँसु पिएर
जीवन थीङहरु चप्पल लाएर हिड्दैछन् सडकभरि
हिड्दैछन् सडकभरि ….
……………….
हामी हिप्पोपोटामस होइनौं ! ! !
मायाको इन्द्रेणी कहिले बेरङ हुँदैन !
तिमी नहुँदा
मनको आकाश बेरङ छ
मनको बात उदास छ
हामी सँगै छँदा स्यारेका
वरिपरिका फल-फूलहरु उदास छ
हावा उदास छ
सबथोक उदास छ।
सुदुरमा छौँ
झ्यालहरुबाट बाहिर हेर्दा
तिमीलाई विरक्त लाग्दो हो
जब हामी यादहरुको थुम्का भएर
तिमीसित हर साँझ र बिहान ठोकिन्छौँ।
हामी हर साँझ कौसीबाट
गोलो जून हेर्छौँ
तिमीले भनेका थियौ नि
साँझमा सुदुरबाट हामी सँगै जून हेरौँ
हामी आकाश हेरौँ
तिमी नभएर पनि मसित छौ
त्यो मायाको बाटोहुँदि सँगै हिडेको सम्झन्छु
तिता मिठा यादहरुको पुलिन्दा
पिरतीको छाल बनेर आउँछ
मेरो मनको ढोकासम्म ।
तिमी हामीसित छौ
पिरतीको रुमानी हावाका छालले
बिताएका ती पलहरु
अहिले हिरा भन्दा कम छैन
तिमी नहुनुको आभाषले चसक्क घोच्छ
तर फेरि हामी भेट्नु त छ
गर्नु छ तमाम माया पिरतीका बातहरु
प्रेमिल हावाका झोकाहरुसित।
तिमीले छोडेर गएका
थप दुई मुटुहरुको हिफाजतमा छु
तिम्रो मायाको तृष्णा
म बाबुले के मेट्न सक्थे र !
तर दुख्दै भए पनि म हरबखत तिमीले जस्तै माया गर्ने अभ्यास गर्दैछु…… ! !
प्रिये !
हामी बइमान हावासित
जुझी रहेका छौँ ? लडी रहेका छौँ
लेबनानको रुखहरुबाट तिमीले हेरेको युद्धभन्दा कुरुप छ
यता हामीले लडीरहेको युद्ध
महिनौदेखि कैद भएर कोठामा छौ
तर विस्वास छ
त्यो यरिहोको पर्खाल ढले झै
यो समस्याको पहाड पनि ढल्ने छ
बाटो खुल्ने छ
त्यो समय चाँडै आउँछ
जब हामी भेट्ने छौँ
मनाउनेछौँ जीवन उत्सव
तिम्रो जन्मदिनमा
बिहान बिहानै यस्तै लेखेँ
कविताको नाममा केही हरफहरु
पढ्नु अनि विस्वास राख्नु
मायाको इन्द्रेणी कहिले बेरङ हुँदैन।
सबया अनटोल्ड स्टोरी
जजर्र युद्धको
फुटेको पाइताला
र त्यही युद्धको हजार झ्यालबाट
काला आकृतिहरु !
हेर्दा मान्छेहरु जस्तै देखिने
त्यो कुरुप मुखौटा लाएकाहरु
रातो लबेदो बेह्रेरेर
सबया भन्दै चिच्याउँछन
मेरो अघि
जहिलेतहिले
सपनामा अनि विपनामा
सानो कोठा छ
जहाँ मलाई आफ्नै कोखबाट जन्माउने
मेरी आमा
अनि मलाई माया गर्ने मेरी प्यारी बहिनीको
फोटो फ्रेम झुन्डाएकी छु
मलाई थाहा छ
यी दुवै मेरो कोठमा आउँदैनन्
मेरा आँखाभित्र बनेको पोखरी
आँखाहरुको डिलमा आएर भत्कन्छ
र सम्झन्छ त्यो क्रुर्र समयको क्यान्भास।
मेरा छ भाईहरुलाई
अलिक परतिर लगेर गोली ठोकियो
बन्दुकबाट रुमलिएको
बारुदको गन्ध र आकाशभरि
चराहरु हच्किएको मात्र थाहा छ।
ती नामर्द लडाकुहरुले
आमाको काँधबाट
मलाई घिसार्दै अरु कतै लाँदै गर्दा
आमाले भनेको शब्दहरु
कुनै बारुदको विस्फोट जस्तै
अझ पनि मेरो कानमा थुरिन्छ
र त्यसैले प्रत्येक दिन म मृत्युको गीत गाइरहन्छु
थाहा छ त्यो शब्द के थियो –
…….छोरी म छिटै मर्दैछु….
नादिया म छिटै मर्दैछु……
आईमाई भएर जन्मनु
दुख्नु सिवाय केही होइन रहेछ
इराकको बञ्जर भुमिमा
हाम्रो पाइतालाले संघर्ष नगरि केही पाउँदैनन्
पुरुषहरुको हैकमबाद छ यहाँ
आईमाई भएर जन्मनु नाजायज हो
इराकमा।
धर्मको ठेका लिएर
युद्धको जर्जर कथा
यहाँ दिनहुँ लेखिन्छ
ञसबयाझको अर्थ नबुझी थिएँ
ती काला पोसाकधारी मध्ये
एउटाले आफ्नो हात
मेरो काँधबाट
मेरो स्तनमा पुरायो
म आगोको भुङ्रोमाथि उभिएको थिएँ
केहि सहास जुटाएर विरोध नि गरे
अनि त्यसपछि मैले आफुलाई
मर्दै गरेको महशुस गर्न लागे
मान्छे एकपल्ट मर्छ
म तिलतिल बेहिसाब मर्न लागेँ
जेहादी यौनकृडाको म सामान बनेँ
एउटा कोठादेखि अर्को कोठा
………….अर्को कोठा
अर्को कोठा………..
……….अर्को कोठा……….
बेहिसाब कोठाहरुमा
बन्धकी बनाएर लुटियो
बलेको चुरोटको डामहरुले
शरीरभरि
ज्वालामुखीको शहर बनेको छ
उसको श्रीमतिको फोन
आउँदा मात्र उ थामिन्थ्यो
अस्मिता लुटने ब्वाँसाहरुको
ठूलो बगाल बीच थिएँ म
एक साहुदेखि अर्को साहु बीच
मेरो शरीरको लिलामी खुल्मखुल्ला गरिन्थ्यो
म भाग्ने झ्यालमा दैत्यहरु
दाव मारेर बसेका हुन्थे
भाग्ने हुँदा पक्रा परेँ
अनि फेरि सामुहिक बलात्कार एउटा कोठामा
दिनरात पिट्थे मलाई अनि थाकेर चुर भएपछि
गुडिया जस्तै मेरो शरीरिसित खेलिन्थ्यो ।
म जस्ता हजार नादियाहरु
त्यहाँ कैद छन्
प्रत्येक दिन लुटिन्छन।
यो देशमा पुरुष जस्तै
आईमाई लडाकुहरु पनि छन्
आफुलाई फेमेनिस्ट भन्छन्
योद्धा भन्छन
तर आईमाई बेचिएको
रमिता केहि नभए जस्तो गरि हेर्छन्
यी फेमेनिस्टहरुलाई कुनै असर नहुँदो रहेछ
मेरी आमा हुनु हो भने
आइमाईको लिलामी गर्न दिने थिइन न !
सम्झनामा
आमाको अनुहार नाची रह्यो
भाईहरुको अनुहार नाची रह्यो
मलाई गुहार कतैबाट थिएन।
तपाईं विस्वास गर्नुहुन्छ
तीन महीना भोक भोकै
कुटाई थुकाई सहँदै म
सामुहिक बलात्कार भई रहें
एउटी आईमाईले भोगेको
यो तीतो कथाको अन्त कहाँ गएर टुङिने हो
साँच्चै थाहा थिएन मलाई
लाग्थ्यो ईश्वर पनि कतै कुनै गलछेडीमा
म जस्तै लिलाम भयो होला।
अनि एक दिन सहास गरेँ
अनि
बलत्कारीहरुको क्याम्पबाट
भाग्नलाई मैले खुट्टा उचालेँ
म लिलाम हुँदा
शायद
मेरो ईश्वर रोएको थियो
त्यसदिन मेरो ईश्वर रमायो
खुब रमायो……..
अनि ती अर्थहीन युद्धले जन्माएको
अर्को युद्ध गर्न म उभिएँ
यौन हिंसा र आतंकवाद विरुद्ध
मैले नी हतियार उठाएँ
म त चाहान्छु अब यजिदी स्त्रीहरु
सहासी बनुन् र लडुन् आफ्नो
हक र अधिकारको निम्ति
योद्धाको एउटा शहर खडा गर्नु छ
बलात्कार नभएको
नादिया मुरादहरुको शहर……… ! !