काठमाण्डौं ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याउनुभएको छ । आज नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताउनुभयो । आफूले यस विषयमा योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउनसक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताउनुभयो ।
नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने वचन दिनुभयो ।
यस्तै अर्थविद डा भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारीलयतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिनुभयो । उहाँहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो समेत गर्नुभयो ।