नेपाली साहित्यसँग जोडीएको बिभिन्न आन्दोलनहरु मध्ये झर्रोवाद नेपाली साहित्यसँग गासिएको महत्वपुर्ण आन्दोलन मध्ये एक हो । सुरुवाती समयमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि, तारानाथ शर्मा र चुडामणी रेग्मीले यो वादलाई साहित्यको केन्द्रमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेका थिए भने तीमध्ये रेग्मी निरन्तर यो बहसलाई लिएर हिडीरहनुभएको छ । १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा पीताम्बर रेग्मी र खिलेश्वरीदेवीको १३ औँ सन्तानमध्ये कान्छा छोराको रुपमा जन्मीएका उहाँले ३४ बर्षसम्म मेची क्याम्पसमा प्राध्यापन गर्नुभयो । उहाँ २०१३ सालमा बनारसबाट प्रकाशित छात्रदुत पत्रिकाको सम्पादनबाट साहित्यमा आएको देखिन्छ भने झर्रोवादको सुरुवात २०१३मा प्रकाशित नौलो पाइलोबाट ससक्तरुपमा अगाडी आएको देखिन्छ जसलाई रेग्मीले सम्पादन गर्नुभएको थियो । त्यसपछिको दिनहरुमा २०२२ सालमा पहिलो यात्रा कथा संग्रह प्रकाशन भएको देखिन्छ भने रेग्मीको हालसम्म यही आन्दोलनमा आधारित २७ पुस्तक प्रकाशित छन । साहित्यमा सधैं काठमाण्डौवादलाई एक्लै चुनौती दिदै बाँचीरहेका उहाँ नेपाली साहित्यको एक शक्तीशाली र वजनदार व्यक्तीत्व हो । दर्जनौं सम्मान र अभिनन्दनहरुले सम्मानित रेग्मीको धेरै बिशेषताहरु मध्ये एक प्रमुख बिशेषता युवापुस्तालाई सधैं हौसला प्रदान गर्नु साथै र सल्लाह दिनु र साझाली साहित्यीक गतिबिधीको हरेक मोडहरुमा सधैं साथ रहनु हो भने बिगत, बर्तमान र भविष्यको एक दह्रो खम्बा पनि हुन । प्रस्तुत छ साहित्य र झर्रोवादमा केन्द्रीत रहेर साहित्यकार चुडामणी रेग्मीसँग गरिएको कुराकानी ।
नोट : यो अन्तर्वातामा कतिपय शब्दहरु झर्रोवादको सिद्धान्त अनुरुप राखिएको छ ।
नेपाली भाषा संरक्षणको निम्ति एक्लो योद्वा जस्तो निरन्तर एक्लै हिडिरहनु भएको छ तपाईसगैँ झर्रो नेपाली भाषा संरक्षण र प्रयोगको आन्दोलनमा हिंड्नु भएका बालकृष्ण पोखरेल,कोषराज रेग्मी, बल्लभ मणि दाहालले चालिसको दशकपछि यो आन्दोलन छोडे ,तर तपाई निरन्तर हिडिरहनु भएको छ । यो आन्दोलनको विषयमा विस्तारमा बताइदिनुहोस ?
तपाईंले सङ्केत गर्नु भएको कुरामा माथि उल्लिखित नामहरु मध्ये झर्रोवादी नायकमा तारानाथ शर्मा पनि हुनुहुन्छ । म घरको पनि कान्छो, झर्रोवादी ४ नायक पछिको अलिक दरो हो कि जस्तो ५ औं अनुयायी मात्र । यो कुरा एउटा चित्रले प्रमाणित गर्दछ। एक्लो भन्नु भयो । हो, म एक प्रकार एक्लो । प्राडा अथवा शक्तिशाली थिइन । म अध्ययन गर्ने र अध्यापन गर्ने क्याम्पसको सहप्राध्यापक सम्म मरेर वा चिट्ठा परेर भएको मान्छे ।
तर झर्रोका निम्ति मरि मेटेर जुधेको सही हो । हाम्रा अग्रजमा कोषराज रेग्मी महत्वपूर्ण योगदान दिना साथ विरामी हुनु भयो र वाद विवादमा नजाक्की झर्रो विचारमा रहनु भई बित्नु भयो । वल्लभ मणि दाहाल झर्रोवादी झर्रोवादी विच झगडा भन्दा केही विशेष पछिल्लो योगदान दिनु भएर बित्नु भयो । नञा वर्ण विन्यासको लागि पछिल्लो योगदान भाषाविद प्राडा बल्लभको नै ठुलो भूमिका रहेको हेर्न सक्नु पर्छ । २०५० पछि सारै अलोकप्रिय भई मैले नञा वर्ण विन्यासमा समय बिताउँदा मलाई काठमाडौं प्यारो हुने अनुकूल नै भएन । काठमाडौंमा वसेर विद्वान हुने निकै ठुलो नामका नेपाली विद्वान् हुनु हुन्छ ,ती मध्ये घटीमा १० नाम छन् । यहाँ प्रतिक्रियावादीको विटो छ देशमा, भाषामा पनि छ, ।
नञा वर्ण विन्यासको शिखर चढेर ,नञा वर्ण विन्यासलाई पनि शिखरमा चढाएर त्यसरी हामी झारियौं जसरी नेपाली राजनीतिमा पनि केही झारिएका छन। हाम्रा दुई झर्रोवादी भाषाविदले जे विशेष विशेषता देखाएको थियो ,त्यसलाई आफैंले उठ्न दिनु भएन । सायद तपाईले मलाई एक्लो भनी भन्नु भएको यही हो ।अरु कुरा पनि छन् झर्रोलाई केही व्यक्ति र क्षेत्रमा छेकारामा छेकेको ।
अव पूर्वको मात्र होइन झर्रो पस्चिमको पनि हो । वाहुन छेत्रीको अथवा खसको मात्र होइन झर्रो, सवै जात र क्षेत्रको नेपालीको साझा हो । झर्रो शैलीका लेखक र वक्ताको साझा शैली हो झर्रो। सम्छेपमा, झर्रो नेपाली आन्दोलन २०१३को विषयमा विस्तारमा भन्ने ठाउँ यो होइन ,त्यो लामो छ। केही व्यक्ति र क्षेत्रमा छेकेर पाता कसेर इतिहास लेख्ने लेख्न लगाउने सत्ता हडप्ने विचारबाट हामी सावधान रहौं ।
तपाईंको लेखनले यौन मनोविज्ञानलाई अत्यन्तै सशक्त रूपमा मुखरित गरिरहेको हुन्छ । नेपाली साहित्यको केन्द्रमा प्रयोग भएको यौन मनोविज्ञान कथा लेखनको शैली कसरी आइरहेछ ?
(क) पहिले मैले वनारसमा पढ्न वस्दा यशपाल आदि कथाकारका प्रभावमा ,आफ्नै समाजका केही घटनाका आधारमा लेखेका कथा मध्ये केही मात्र यौन कथा छन् । केही त निकै दरो खाले सामाजिक कथा पनि छन् । (हेर्नु चूडामणि रेग्मी ग्रन्थावली भाग १ र २ ।
(ख)असङ्ख्य यौन कथा नेपाली कथा साहित्यमा लेखिएको हुनाले यति सानो ठाउँमा तिनको समालोचना गर्न म असमर्थ छु तापनि उद्देश्य हीन यौन कथा नलेखिएको जाती ठान्छु। मेरा कथा पनि अश्लील भनी कमरेड मनमोहन अधिकारीलाई उजुर गरियो बनारसमा । उहाँले सामाजिक स्थिति दर्साउन अश्लील जस्ता लाग्ने कथा लेख्ने चलन छ भनी मुद्दा छिनाइदिनु भएको हुनाले म सामाजिक कथाकार नै ठहर गरिएँ र मेरा यौन कथा सामाजिक मानिए भन्ने मानेको छु ।
२०१३ सालदेखि निरन्तर एक्लै झर्रो लेखन अभियान लिएर एक हिसाबले आन्दोलनमा हिडिरहनु भएको छ । अहिले आएर यो आन्दोलन कहाँ पुग्यो जस्तो लाग्छ ?
देश कहाँ पुग्यो ? त्यहीं पुग्छन् हाम्रा आन्दोलन । उहिलेका ,जीवित सहिद पनि कति अहिले नै बिग्रिए भने खुम्चिएका कैंयौं शिखर चढे । एक दिन हाँसौंला !
हो आत्मविश्वास । आन्दोलन घिस्रिए पनि आन्दोलन आन्दोलन हो । विगतका कैंयौं आन्दोलन कर्ता नेता, प्राज्ञ आदि भएका छन् । मलाई छ्याङ्ग थाहा छ मेरा कैंयौं छात्र छात्रा पहिले कस्तो स्थितिका थिए, अहिले कस्ता भए कति सुखद कुरा ।
नौलो पाइलो पत्रिका र जुही अनि चूडा मणि रेग्मी साहित्य लेखनको सुरुवाती समयको संस्मरण के कस्ता छन् ?
तेस्रो आयाम , नौलो पाइलो जस्ता पत्रिका थोरै निस्किएर पनि नामुद्दार भए। युगज्ञान साप्ताहिक, जुही साहित्यिक त्रैमासिक, यथार्थ कुरा ( पाक्षिक) जस्ता धेरै अङ्क छापिएका पत्रिका प्रकाशित गर्ने मैले धेरै हन्डर खेपेर केही नाम कमाएँ। केही प्रतिभा निस्किए। खुसी लाग्छ । मधु पोखरेल जस्ता प्रतिभाको विगत पढ्दा म रोमान्चित हुन्छु। कसरी मैले प्रकाशित गरेका पत्रिकामा उनका गहकिला रचना प्रकाशित भएका थिए भनेर । म यो कुरामा धेरै समय दिन्न ,किन भने आत्मस्लाघाले मान्छे बिगार्छ भन्नेतिर पनि म सावधान छु।
२०२१ सालदेखि निरन्तर झापाली साहित्यसंग सम्लग्न रहनु भएको छ। हिजो र आजको अवस्थालाई हेर्दा के कस्तो अन्तर आएका छन् ?
आकाश पाताल त होइन, तर धेरै कुरामा फरक भने आएको देखिन्छ । मोटर साइकल चढ्ने बढे भने कार चढ्ने पनि बढे । फाइँफुट्टी बढे भने पुस्तक नछापीकन पनि म ठुलो लेखक ठान्ने प्रवृत्ति पाइन्छ। अझै नेपाली भाषा साहित्यको इतिहास पढिदैन । समालोचना शास्त्र नपढी समालोचना गरिन्छ । छन्द पनि वढेको छ ,स्तरीय थोरै र लेखन धेरै भएको पाइन्छ । केही भने त्यो भन्दाभन्दै माथिल्लो साहित्यकार भए भने केही विते र अैतिहासिक भए। साहित्यबारे ,भाषा वारे युगीन आँखा उघार्नेको सङ्ख्या पटक्कै वढेनन् भन्दा हुन्छ । छैनन् ।नञा नञा छापाखाना, कम्प्युटर प्रविधि ,रेडियो टिवीआदिमा ठुलो प्रगति छ । नवीनता र साहित्यमा त्यस्तो स्तर नवढेको देखिए पनि कता कता सङ्ख्या, प्रकाशन त बढेको नै देखिन्छ ।
धेरै साहित्यकारहरु काठमाडौं आएपछि साहित्यकार भएका छन् ,तर तपाईं एक्लैले काठमाडौलाई चुनौती दिइरहनु भयो। यो आफैंमा गम्भीर र शोचनीय पक्ष हो अथवा लोभलाग्दो पाटो हो । काठमाडौंले किन कहिले पनि प्रभाव पारेन तपाईंलाई ?
बाहिर बाहिर हेर्दा यस्तो छ भने भित्र हेर्दा बाठा र टाठाको कुरा छ यहाँ । राजनीतिमा मात्र होइन , साहित्यमा पनि स्वार्थ साधना गर्नेको हुल नै छ भन्ने देखिन्छ। अङ्गुर अमिलो छ ! भने जस्तो हुन्छ। नत्र राजधानी वस्ने बाठा त छन् नै , तर लाटा पनि मनग्गे छन् । र पनि केन्द्र केन्द्रै हो । केन्द्रको रजाइँ घट्ने होइन,तापनि केन्द्रको रजाइँ को मनग्गे विरोध गरियो । साहित्यिक सद्भाव यात्रा पनि गरियो ।
उमेरको उपल्लो समयमा हिंडिरहँदा पनि हजुरको जोश र जाँगरमा कुनै कमी आएको छैन । यसको प्रमुख राज के हो ?
म वेपारी लेखक भइन सधै अध्ययनशील नै थिएँ र शोध खोज, पत्रकारिता, सृजना, धेरै तिर लागें । यता वाहेक उता कहिले नै थिएन मेरो । पढ्नु पढाउनु ,सिक्नु सिकाउनु ,खोजखवर गर्नु गराउनु र नवप्रतिभा उफार्नु यस्तो वानी वस्यो। संयमित ,सात्विक भोजन, साहित्यिक गतिविधि तिर दौडनु यिनै वानीले गर्दा म साहित्यतिर कुधुरी खेल्न जाँगर चलाउँछु कारण यही हो की ।
भनिन्छ लेखकलाई साँच्चिकै लेखक बनाउन पारिवारिक सहयोग र सपोर्ट चाहिन्छ तपाईंलाई पारिवारिक सहयोग के कस्तो छ ?
चाहिन्छ भन्नु भयो, सहयोग त दिएन चाहिन्छ ,नदिए नि ? प्रश्न छ । यस विषयमा दिने नदिने दुवै छन् । मेरो कुरा गर्दा असहयोग भने छैन ।
युवा पुस्ताका लेखकहरुलाई के कस्तो सल्लाह दिनुहुन्छ ?
युवा पुस्ताले लेखक हुन खोज्दा नेपाली व्याकरण र नेपाली साहित्यको इतिहासको ज्ञान हुनु आवश्यक छ ।
अन्तिममा केही भन्नहुन्छ कि ?
(क) यो देशमा आस्थावान हुनु र भए पनि टिक्न गाहारो छ । नञा पुस्ताले आस्थावान हुँ भनेर भन्न पुर्याउन गाहारो छ, किन भन्नु होला भने कति जीवित सहिदले पनि लत्तो छोडिसके । (ख ) लेखक सफल हुन मन गर्छ भने उसले आफैंलाई आफैंले दरो पार्न प्रयत्न गर्नु पर्छ । साइकल सरसफाई (वाइलिङ) गरे पछि फिरिरी दुगुर्छ । यस्तै हो कवि लेखक । उसले आफुले आफु भित्रको मैलो धैलो पखाल्न सकेन भने अघि वढ्दैन ।