नेपाली साहित्यमा बीसको दशकमा उदाएकी साहित्यकार कुन्ता शर्मा मार्क्सवादी दर्शनसँग नजीक रहेकी प्रगतिशील धारको लेखक हुनुहुन्छ । साहित्यले बिचार बोक्नुपर्छ भन्ने स्पष्ट मान्याता राख्ने शर्माको २०४२ सालमा प्रकाशित “पाथी बास्नु हुदैन ” शिर्षकको कविता वैचारिकरुपमा कालजयी कविता हो । “म उभिएको ठाँउ ” उहाँको प्रकाशित कृति मध्ये चर्चीत हो । साहित्यको सबै बिधामा कलम चलाउदै आएकी शर्मालाई अखबारी लेखनमा पनि त्यतिकै प्रखररुपमा आफनो विचार राख्न सक्ने लेखक मध्ये चिनिन्छ । झापा बिद्रोहपछि राजनितिमा संलग्न र लामो समयसम्म शिक्षण पेशासँग संलग्न रहनुको साथै २०५६ को संविधानसभाको निर्वाचनबाट नेकपा एमाले तर्फको संसद हुनुभएको थियो । शर्माको पछिल्लो समय “मेरो मान्छे ” कविताकृति भर्खरै बजारमा आएको छ । लेखनको माध्यमबाट महिलामाथिको बिभेदलाई चर्कोरुपमा बिरोध गर्दै आएकी शर्मा एक प्रतिनिधी व्यक्तित्व हुन। उहाँ केवलपुरे प्रतिभा पुरस्कार , व्यथित काव्य पुरस्कार ,लोकेन्द्र स्मृति पुरस्कार, पारिजात सम्मान पुरस्कार ,साहित्य सन्ध्या पुरस्कार ,प्रेस काउन्सील पत्रकारिता पुरस्कार ,हरिहर शास्त्री पुरस्कार,रुपा क्षेत्र पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ । प्रस्तुत छ उहाँसग गरिएको कुराकानी :
सन्चै हुनुहुन्छ , नयाँ के लेख्दै हुनुहुन्छ ?
सञ्चै छु । नयाँ कविता संग्रहको तयारीमा छु ।
तपाईको लेखन र सुरुवाती दिनहरुको केही स्मृतिहरु सुनाई दिनुहोस न ?
सुरु सुरुमा त लहडमै लेखियो । प्रकृतिसंग निकटता भएका कविताहरु खुबै लेखियो । पछि भने लेखन उद्देश्यमूलक हुनुपर्छ भन्ने तिर लागियो । नयाँ लेखक त्यो पनि मोफसलमा बसेर आफनो परिचय बनाउनु निकै कठीन काम थियो ।
बिशेषगरि तपाईको लेखनले सामाजिक न्यायलाई जोड दिदै महिला समानताको वकलत गरिरहेको पाईन्छ नि ?
लेखक चिन्तनशील मात्र होइन चेतनाको बाहक पनि हुन्छ । मानिस रित्तै आउँछ र जान्छ पनि रित्तै । जीवन छोटो छ । यति छोटो जीवनमा कडा श्रमको बाबजुद पनि ठूलो प्रतिशत मानिसहरु आफनो आधारभूत आवश्यकता समेत पुरा गर्न सकिरहेका हुदैनन। अभाव र गरीबीमा निस्सासिएर बाँच्न बाध्य हुन्छन। त्यसकारण श्रमको उचित मूल्य र सम्मान पाउनु पर्छ भन्ने विषय हुन्छ मेरो । अथवा मलाई लाग्छ एउटा बर्गविहीन समाज निर्माण पछि मात्र यो समाज सबैको निम्ति सुन्दर र सुखद हुन्छ ।
जहाँसम्म महिला समानताको वकालतको कुरा छ त्यो अहिलेको आवश्यकता हो । नगन्य प्रतिशतलाई छाडेर बाकी महिलाहरुको जीवन हरेक हिसाबले कष्टकर छ । आर्थिक, सामाजिक, राजनैतिक सबै हिसाबले उनीहरु पछाडी पारिएका छन । सामाजिक सुरक्षाको हिसाबले महिला र पुरुषबीच गहिरो खाडल छ । महिलाहरु चरम उत्पीडनको सिकार भएका छन ।
लेखकीय धर्मको हिसाबले पनि उत्पीडितहरुको पक्षधरता राख्न पर्छ । त्यो पात्र पुरुष या महिला जो सुकै पनि हुन सक्छ । त्यस माथि आफै पनि महिला भएको कारणले महिलाहरुको भुक्तमान नजीकबाट देखेको मात्र होइन भोगेको पनि हुनाले महिलाहरुको बारेमा वकालत गर्नु वा भनौ लेख्नु मेरो निम्ति स्वावाभिकै हो ।
नेपाली महिला लेखकहरुको उपस्थिति बिश्व साहित्य लेखनबीच कहाँ पाउनु हुन्छ?
अहिलेको समयमा महिला लेखकहरुले हरेक बिधामा कलम चलाएका छन । अचम्मलाग्दो गरी महिला लेखकहरुको संख्या बढेको छ । केही दशक पहिले र अहिलेको स्थितिमा व्यापक परिर्वतन छ । महिला लेखकहरुको उपस्थिति लोभलाग्दो र स्तरियताका साथ आईरहेको छ ।
नेपाली महिला लेखकहरुले आफ्नो लेखनमा छुटाईरहेको महत्वपुर्ण बिषय के हो जस्तो लाग्छ ? हामीकहाँ पुरुष लेखकहरुले लेखेको साहित्यमा महिलाको बुद्धिको भन्दा शरिरको व्याख्या बढि गरेर साहित्य लेखीरहेको देखिन्छ तपाईको धारणा के छ?
महिलाहरुको लेखनमा स्तरियता भएपनि राष्ट्रिय तथा विश्वस्तरीय मञ्चमा उनीहरु कहाँ छन भन्ने कुराको समीक्षा भएको थाहा छैन मलाई । महिलाहरुको लेखनको बारेमा समालोचकहरुले खासै चासो देखाएको पाइदैन । शायद उनीहरुको क्षमता र प्रतिभा माथि विश्वास नभएर नै होला जस्तो लाग्छ । देशमै यो स्थिति छ भने विश्व साहित्यमा महिलाहरुको पहुच भनौ उपस्थितिको त कल्पना गर्न पनि सक्तिन ।
आजको समयमा नेपाली साहित्य जुन किसिमको अभिव्यक्ति र बिषयहरुलाई केन्द्रीत गरेर लेखिएको छ के यस किसिमको साहित्य लेखनले वास्ताबिक बिषयलाई समेट्न सकेको छ त?
चरित्र निर्माण प्रमुख विषय हो जस्तो लाग्छ मलाई । पुरुष लेखकहरुको त कुरै छाडौ उनीहरु महिलाासंग भएको शक्ति र सौर्न्दर्यको बारेमा पुराका पुरा नकारात्मक छन । धेरै जसो पुरुष लेखकहरु महिलालाई कमजोर ठान्छन, खेलौना अझ भनौं भोगबिलासको साधनको रुपमा हेर्छन र त्यही अनुसारको महिला पात्र निर्माण गर्छन ।
पुरुष मात्र होइन अहिले समकालिन महिला लेखकहरु कै कृतिहरु अध्ययन गर्ने हो भने पनि उनीहरुका धेरै जसो पात्रहरु रुन्चे, पिलन्धरे, कमजोर, इष्र्यालु, स्वार्थी र अकर्मण्य पाइन्छन । मलाई दिक्क लाग्छ । यो सब चतनाको कमी हो, लेखकीय इमान्दारीता र साहसको कमी हो । साँचो कुरा बोल्न नसक्नेहरुले कलम थन्काए हुन्छ । अब कमजोर लेखक र पात्रहरुको कुनै काम छैन ।
नेपाली साहित्यमा पछिल्लो समय सिमान्तकृत स्वरहरु शक्तीशाली रुपमा आईरहेको छ तपाईको यसप्रति के दुष्टिकोण छ ?
अहिलेको समय अचम्मलाग्दो छ । लेखकहरु दिशाबोधहीन भए जस्तो लाग्छ । उदेश्य भनौं वा मूल बिषय हराएको छ भनौं छायामा परेको छ । तत्काल लाभको पछि मानिसहरु अन्धाधुन्ध कुदिरहेकाछन । लेखकहरु त्यसरी कुद्न मिल्दैन । साहित्य गहन विषय हो । तपस्या हो । सत्यको उत्खनन गर्नु र निर्भिकतासाथ प्रस्तुत गर्नु त्यति सजिलो छैन ।
महिलाहरुलाई लेखनमा अझै पनि स्थापित हुन सामाजिक आर्थिक मनोबैज्ञानिक रुपमै धेरै चुनौती रहेको छ यसप्रति अब आउने पुस्तालाई के भन्न चाहानुहुन्छ ?
शरीर स्वास्थ, सुन्दर र उर्जावान हुन शरीरका समग्र अंगहरु समान रुपले विकसित भएको हुनुपर्छ । एकाउन्न प्रतिशत महिलाहरुको अबस्था कति दयनीय छ । एकदम सानो संख्या बाहेकका महिलाहरु नारकीय जीवन बिताइरहेका छन् बलात्कार, घरेलु हिंसा , बैबाहिक बलात्कार जस्ता उत्पीडन सहनु परेको छ । त्यस्तै अवस्था छ विभिन्न जाति जनजातीहरुको पनि । विभिन्न कारण (कति आफ्नै तथाकथित सामाजिक कारण) ले पछि परेका मानिसहरुको स्वर मुखरित हुनु सुन्दर र सकारात्मक कुरा हो । यसले लुकेका प्रतिभाहरुलाई अगाडि ल्याउने काम गरेको छ , राम्रा रचनाहरुको सृजना भएको छ ।
बैचारिक , शिल्प बिषयबस्तु सबै हिसाबले समान रुपमा लेखनमा उपस्थिति छ तर पनि अवसरहरुमा महिला लेखकहरुमाथि बिभेदपुर्ण व्यवहार गरिन्छ यसप्रति तपाईको दृष्टिकोण के छ?
यसको प्रमुख कारण सामाजिक पछौटेपन हो । महिलाहरुको नेतृत्व अस्विकार गर्ने प्रवृत्ति र परम्परा पनि हो । महिलाहरु आफै पनि सजिलो बाटो खोज्ने गर्छन । म लेखिरहेका र लेख्न चाहने लेखक चाहे महिला हुन या पुरष साहसपूर्वक लेखकीय इमान्दारितालाई अंगिकार गर्ने सल्लाह दिन चाहन्छु तर अब कसैले गतिलो भाग देला, खाउला भन्नु भन्दा पनि यो सडे गलेको मात्र नभएर धोद्रीसकेको रुख जस्तो सामन्ती समाजलाई ढाल्नु बाहेकको कुनै विकल्प छैन ।
साहित्यले बिचार बोक्नु पर्छ कि पर्दैन ? यसरी हेर्दा आफ्नो कथा र कथाको पात्रहरुलाई कहाँ देख्नुहुन्छ ?
हुन त आफनो -आफनो कित्ता हुन्छ । कसको सेवा गर्ने भन्ने कुराको रोजाइ पनि आफनै हुन्छ । मेरो हिसाबले भन्ने हो भने कविता, कथा, गीत, निबन्ध र उपन्यास आदि सबै बिधाले बिचार बोकेको हुनुपर्छ । विचारबिहीन रचनाहरु जति सुकै सुन्दर भए पनि ती प्राण विनाका सुन्दर शरीर जस्ता हुन्छन। त्यसकारण विचार र कलाको समन्वयले मात्र सुन्दर, जीवनोपयोगी र कालजयी रचनाको सृजना सम्भव हुन्छ। साहित्य भन्नु नै लेखक र उसको विचार हो । मेरो विचारले रचना र रचनाकारलाई बेग्लै राख्न मिल्दैन । यो मेरो नीजि विचार हो । कुनै अनैतिक लेखकले नैतिकवान रचना प्रस्तुत गर्नु भनेको सडकको छेउमा बसेको बुढो जर्जर सिंहले दान गर्न लागेको सुनको चुरा जस्तो मात्र हो । मेरो आशय बुझनु भयो नि ?
तपाई त पारिजातसँग पनि संगत गरेको लेखक उहाँलाई व्यक्तिगत र लेखनको हिसाबले तपाई कसरी कसरी चिन्नु हुन्छ?
पारिजात दिदीको लामै संगत गरें मैले । दिदी लेखन र व्यक्तिगत जीवनमा उस्तै हुनुहुन्थ्यो । सुरुसुरुका दिनहरुमा मलाई पारिजातको प्रतिद्धन्द्धी बनाउन मंजुलबाट निकै प्रयास गरियो । मलाई कविता विधाबाट कथा तर्फ सक्रिय बनाउने प्रयास गरियो तर म धेरै महत्वाकांक्षी नभएको कारणले उसको भनाइमा लागिन र पनि म दिदीप्रति केही उदासिन थिए । तर पछिल्ला दिनहरुमा मंजुल जहाँजहाँ मेरो पत्ता साफ गर्न खोज्थ्यो दिदी मेरो पक्षमा दह्रो भएर उभिनु भयो र मंजुलसंग प्रतिबाद पनि गर्नुभयो । दिदी बिशाल हृदय र सकारात्मक सोचको मानिस हुनुहुन्थ्यो ।
अन्तमा केही भन्नु छ?
भन्नु पर्ने कुराहरु त सकिए तर लेखकहरुलाई मपाईले बिगार्छ । सिक्ने, अनुसन्धान गर्ने, सामाजिक समस्याहरु उत्खनन गर्ने अनि आफुलाई कुन बिधा सजिलो लाग्छ त्यही बिधामा रचनाहरु निर्भीकतापूर्वक पस्कने । कसैसंग अस्वस्थ प्रतिस्पर्धा नगर्ने मेरो मूलमन्त्र त यही नै हो । धन्यबाद ।