नेपाली साहित्यमा करिब अढाइ दशक यता शक्तिशाली रुपमा दार्शनिक चेत र समाजवादी धारबाट लेखिरहेका युवा कवि उपन्यासकार धर्मेन्द्र नेम्बाङद्वारा लेखिएको “एउटा घामट कागको जीवनी” उपन्यास अन्तिम तयारीमा छ । अंग्रेजी साहित्यमा पनि गहिरो दखल राख्ने नेम्बाङका हालसम्म “मैले बोल्दा देशको नक्शा हल्लिन्छ” कविता संग्रह, “रातो बाघ” उपन्यास, “युवा विचार युवा नेपाल राजनीति सिद्वान्त”, “सामान्य बहुल रंगवाद एउटा ट्रावेलीङ्ग फेलोसोफीको परिकल्पना”साहित्य सिद्दान्त कृतिहरू प्रकाशित छन् ।
प्रस्तुत छ उहाँसँग समकालीन नेपाली साहिल्य लेखन र यो समयमा साहित्यले बोकेको वैचारिक चेत र उहाँको हाल आउँदै गरेको कृतिको सेरोफेरोमा रहेर पछिल्लो समयको चर्चित कवि छम गुरुङले गरेको कुराकानी ।
१ हाल तपाईं केमा व्यस्त हुनुहुन्छ ? यो कोभिडकालीन समय कसरी बितिरहेछ ?
कोभिड १९ले विश्व अर्थतन्त्रलाई ध्वंस गर्दै, मानव जातिलाई क्षति गर्ने क्रममा म आफैँ पनि यसबाट पीडित भएँ । असोज ८ गते कोरोना पोजिटिभ देखियो । यसबेला अत्यन्तै पिडादायी अवस्थाबाट यसलाई जितेँ । मुख्यगरी मानसिक रुपमा निकै हल्लायो । कोरोनाको गन्तिमा परिएला कि भन्ने पीरले निकै सतायो । अन्ततः म सकुशल भएँ । खासमा बिमारी र त्रास दुवैले पिरोल्यो मलाई । यसलाई खास प्रचारमा ल्याइनँ । शताब्दी न्युज अनलाइनले तेसैबेला मेरो कार्यक्रम राखेको थियो । कवि अन्वेष थुलुङ्ग र सुमन लिङ्गदेन भाइलाई म कोरोनाले सिकिस्त भएकोले कार्यक्रम क्यान्सिल गराँ भने । किन भने ब्यानर प्रकाशित गरिसकेका थिए । उहाँ भाइहरूबाट बाहिर गएछ अलिलि गर्दै त्यसपछि धेरै फोनहरू आए ।
२. हाल के लेख्दै हुनुहुन्छ र ?
हालसाल एक उपन्यास लेख्तैछु । यो चराचुरुङ्गी, वनजंगल, मानव जाति यी तीनका त्रिकोणात्मक अन्तरसम्बन्ध बारे लेख्तैछु । सम्भवतः यो उपन्यास यसै वर्षभित्र बजारमा आउनेछ । यो सानो आकारको हुनेछ । नोभेल्ला जस्तो । नाम हो “एउटा घामट कागको जीवनी” ।
३ नेपाली साहित्यमा पछिल्लो समय चर्कोगरी उठिरहेको विधिवतायुक्त स्वरहरूलाई कसरी लिइरहनु भएको छ ?
नेपाली साहित्यको पछिल्लो स्वर भनेर पहिचानवादी लेखन–क्रिया नामकलाई बताउनु भएको होला । यो एउटा समयको स्वर हो । लोकतन्त्रलाई दर्बिलो बनाउने आयाम हो । लोकतन्त्र र पहिचान संगसंगै या एकसाथ जान्छ भन्ने कुरामा मेरो पूर्ण विश्वास छ । यो एक आपसमा छुटियो भने अपुर्ण हुन्छ भने पहिचान मनपरि हुन्छ ।
४। दर्शनमा पनि गहिरो अध्ययन छ तपाईको । एक जिम्मेवार लेखकको नाताले लेखक र सत्ताको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
लेखक र सत्ताका सम्बन्ध बिपरित हुन्छ । लेखक आगामी समाजको निर्माणमा लेखनप्रक्रिया मार्फत क्रियाशिल हुन्छ । तर सत्ता भन्नुस या सबैखाले सत्ता परम्परागत हुन्छ । परम्परागत सत्ताको बिघटनमा कवि साहित्यकारहरु लाग्ने नै भए भने अनी बचावका लागि सत्तावालाहरु लाग्ने नै भए ।
५ लेखनमा सत्ता र सही तथ्यको उजागर कतिको महत्व राख्छ ?
लेखनमा सहि तथ्यको उजागर भनेको सुचना हो । सहि सुचनामा टेकेर विश्लेषण गरिने हो । सुचना भनेको सिद्धान्त बिचार निर्माणको मैदान पनि हो ।
६ न्यायिक र प्रगतिशील समाज निर्माणको निम्ति जिम्मेवार लेखकको भूमिका के हुन सक्छ ?
न्यायिक र प्रगतिशिल समाज भनेको समतामुलक समाज हो भने यसको प्रथम निर्माणकर्ताहरु अथवा अभियन्ताहरु नै लेखक साहित्यकारहरु हुन ।
७ इमान्दार लेखकले लेखनमा छोड्नै नहुने मूख्य कुरा के हो ?
लेखनमा छाड्नै नहुने मूख्य विषयमा सबैको आ–आफ्नै मत होला । म चाहिँ लोकतन्त्र भन्छु र आफुलाई पनि एक लोकतन्त्रवादी लेखक (खेलक ) ठान्छु । मेरो लेखनले लोकतन्त्रको मूल्य बोक्यो बोकेन भन्ने कुरामा म सधैँ सचेत हुन्छु । अब लोकतन्त्रको मूल्यमा धैरै कुराहरू आउने नै भए । लेखकको सत्य बहुल हुन्छ । आफुलाई परीक्षण गर्ने र आत्मालोचना गर्ने, आलोचनात्मक चेत राख्ने काम लेखकमा हुन्छ । त्यस कारण निरीक्षण, परीक्षण, अवलोकन गर्ने काम लेखकमा चलिरहन्छ । तर राज्य–सत्ताको सत्यचाहिँ कज्याउनु भन्ने हुन्छ । सम्पूर्ण शक्ति, बल लगाएर वैधानिक रुपमा निरंकुश बन्नु । अधिनायक चलाउनु । यो एक जड समाज चिन्तनको रक्षकको रुपमा उभिनु भन्ने हुन्छ । जस्तो अहिलेको हाम्रो देशलाई हेरौँ न । केही जमात संविधानको पक्षमा छन्, यसमा सरकारवादीलाई मानौं। केही जमात संविधानभन्दा पछिल्तिर छन् यसमा राजावादी धर्मभिरुवादी लाई मानौँ । केही जमात संविधानभन्दा अघिल्तिर बढिसके तिनीहरू कवि लेखक हुन् आगामी समाज निर्माणको निम्ति ।
८ नयाँ पुस्तालाई के भन्न चाहनु हुन्छ ?
कवि साहित्यकारहरूको भूमिका सदैव सिर्जनशील हुनुपर्छ । रचनात्मक प्रतिपक्षको जिम्मेवारी बहन गर्नुपर्छ भन्ने लाग्छ । नेपाली साहित्यलाई थप नयाँ उचाइमा पु¥याउन नयाँ पुस्ताको खाँचो छ भन्ने लाग्छ ।