पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्मराइरहेको केपी शर्मा ओलीको सरकार अन्ततः अदालतको फैसलाबाट ढलेको छ । प्रधानमन्त्रीको कुर्सीमा साढे तीन वर्ष व्यतित गरेका ओली बालुवाटारबाट आज विदा हुँदैछन् ।
हिजो प्रधानमन्त्रीको रुपमा अन्तिम सम्वोधन गरिरहँदा ओलीको अनुहारमा विरक्ति भाव थिएन । न त अभिव्यक्तिमा नै कुनै फरकपना । ओलीको स्वभावगत विशेषता यो हो कि उनी हम्मेसी हिम्मत हार्दैनन् । चाहे निजी जीवनमा होस या राजनीतिमा, हमेशा आत्मविश्वासी देखिन्छन् ।
तथापि, ओलीको यो बहिर्गमन अनिच्छित नै हो । उनी आफ्नो सरकारलाई निरन्तरता दिन चाहन्थे । सत्ता स्वार्थका कारण मात्रै होइन, प्रधानमन्त्रीका रुपमा सम्भवतः आफ्नो अन्तिम कार्यकाल सफलता सहित टुंग्याउनका लागि उनलाई अझै केही समय आवश्यक थियो ।
कोरोना विरुद्धको लडाईं जिति सकेर, केही ठूला पूर्वाधारहरुलाई टुंगोमा पुर्याएर अनि नयाँ जनादेश मार्फत देशको विश्रृंखल राजनीतिलाई निकास दिएर विदा लिने उनको ध्येय थियो । जुन पूरा हुन सकेन । तथापि, उनले आफ्नो कार्यकालमा केही स्मरणीय उपलब्धीहरु भने हासिल गरेका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेका ओलीले देशलाई त्यस दिशामा डोर्याउनका निम्ति केही इमान्दार प्रयासहरु गरेकै हुन । कतिमा सफल भए, कतिमा भएनन, त्यो अलग्गै विश्लेषणको पाटो हो ।
उपलब्धिहरुको कुरा गर्दा भूकम्पपछिको पुनर्निमाणलाई ओलीले लगभग पूर्णतामा पुर्याएका छन । जनताको आवास मात्र होइन, सम्पदाहरुको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ । धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता सम्पदाहरु पुरानो भन्दा पनि अब्बल स्वरुपमा फर्केका छन र यसले देशमा सकारात्मक भाइब्रेसन पैदा गरेको छ ।
ओलीले राष्ट्रिय महत्वका ठूला आयोजनाहरुमा निरन्तर नजर राखे । अनेक व्यवधान खेपेर लामो समयदेखि अल्झिरहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भयो । यसले काकाकुल काठमाडौंलाई त्राण मिलेको छ । अर्को महत्वपूर्ण आयोजना तामाकोशी जलविद्युत पनि सम्पन्नताको चरणमा छ । नेपाल अब विजुली किन्नेबाट बेच्ने स्थितिमा पुग्नु महत्वपूर्ण उपलब्धी हो ।
विकासको सन्देश दिनका लागि ओलीले विभिन्न उपायहरु लगाए । उनको कार्यकालमा शिलान्यास–उद्घाटनको लहर नै आयो । एकैपटक सात प्रदेशमा तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गराउनेदेखि लिएर देशभर पाँचवटा औद्योगिक क्षेत्र निर्माणको पहल उनले अघि बढाए । विगतका प्रधानमन्त्रीहरु भन्दा फरक, उनी आफ्ना प्रत्येक भाषणमा विकास–निर्माण कुरा गर्थे । जनतालाई ठूला सपना देखाउँथे ।
ओलीको कार्यकालमा कोरोनाको विश्वव्यापी संकट उत्पन्न भयो, जसले सरकारको गतिमा ठूलो रोकावट पैदा गर्यो । कोरोनाविरुद्धको लडाईंमा अन्य राष्ट्रहरुको दाँजोमा नेपाल अपेक्षित सफल छ । अहिलेसम्म पचासौं हजार नेपालीले कोरोनाको निशुल्क उपचार पाएका छन । यसैगरि, १ करोड ३१ लाख खोपको आपूर्ति सुनिश्चत भएको छ, जुन आफैंमा उत्साहजनक परिमाण हो । सरकारले जनताबाट एक पैसा पनि नलिइकन कोरोनाविरुद्धको खोप लगाएर समाजवादी राज्यको आभास गराएको छ ।
ओलीको कार्यकालमा नेपालको नक्शा नै बदलियो । भारतको अधिनमा रहेको लिम्पियाधुरा(कालापानी)लिपुलेकलाई नेपालको नक्शामा समावेश गरेर ओलीले अन्तर्राष्ट्रिय जगतमै भारतले नेपालको भूमि हडपेको सन्देश प्रवाह गर्न सफल भए । नेपालको सो साहसिक कदमले भारतलाई निकै सकसमा पारेको थियो । यद्यपि, नक्शामा समावेश गरिएका भूमिलाई भारतको कब्जाबाट खोस्ने कार्य निकै जटिल र दुरुह छ । यसमा ओली सरकारले ठोस पहल गर्न सकेन ।
अन्तर्राष्ट्रिय सम्वन्धहरुलाई पुनःव्यवस्थित गर्ने तथा विश्व मानचित्रमा नेपालको उपस्थितिलाई दरिलो बनाउने प्रयास ओलीले गरे । चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निम्त्याउने सफलता पाएका ओली भारतसित पनि सम्वन्ध सुधार्न सफल भए । दुई छिमेकी देशहरुसँगको सम्वन्धलाई उनले धेरै हदसम्म सन्तुलनमा ल्याएका छन ।
देश र जनताका लागि टाउको दुखाइ बन्दै गएको सिके राउतको विखण्डनकारी अभियानलाई ठेगान लगाउनु पनि ओलीको एउटा महत्वपूर्ण सफलता हो । साथसाथै, विप्लव समूहलाई पनि उनले हिंसात्मक बाटाबाट मूलधारमा तानेका छन।
प्रधानमन्त्री पदमा रहिरहँदा कमजोर स्वास्थ्यका बाबजुद ओलीले आराम गरेनन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा उनी ६ महिना वा एक वर्षसम्म बेड रेस्टमा रहन सक्ने चर्चा थियो । तर, आश्चर्यजनकरुपमा ओली प्रत्यारोपण गरेको एक महिनाभित्रै आफ्नो काममा फर्किसकेका थिए । उनको उच्च मनोबल धेरै बिरामीका निम्ति प्रेरणादायी छ ।
लोकप्रियताको अस्थिर ग्राफ :
लोकप्रियताको हिसाबले ओलीको ग्राफ साढे तीन वर्षसम्म नेप्से परिसूचकजस्तै उकालो ओरालो भइरह्यो । कहिले उनी चौतर्फी प्रसंशित बने त कहिले तीव्र आलोचित । उनका कैयन भाषणहरु देशभित्र मात्रै होइन, देशबाहिर समेत चर्चित बने । सम्भवतः नेपालका प्रधानमन्त्रीहरुमध्ये अन्तर्राष्ट्रिय समुदायले सबैभन्दा बढी चिन्ने र सम्झिने नाम ओली नै हुन ।
साढे तीन वर्षमा ओली अनेकन विवादमा घेरिए । देशको मुलधारे मिडिया र बौद्धिक जमातको एउटा ठूलो हिस्सा उनीप्रति सदैव अत्यधिक नकारात्मक रहिरह्यो । प्रतिपक्षी दलभन्दा मुलधारे मिडिया ओलीप्रति बढी आलोचक देखियो । ओलीको कसले बढी निन्दा र भत्सर्ना गर्ने भन्ने अघोषित प्रतिस्पर्धा नै सञ्चारमाध्यममा चल्यो । ओलीले पनि पटक पटक आफ्ना भाषणहरुमा मिडियाप्रति आक्रोश पोखे । ‘सत्य देख्ने र लेख्ने मुटु भएका सम्पादक देशमा नभएको’ उनको टिप्पणी निकै चर्चित बन्यो ।
सामाजिक सञ्जालको जनमत भने उतारचढाव यूक्त रह्यो । खासगरी, राजनीतिप्रति धेरै चासो नभएको तटस्थ जनमतले ओलीको विस्थापनको पक्षमा आफूलाई कहिल्यै उभ्याएका थिएनन । अनेकन विवादमा ओली घेरिँदा पनि ‘अरु भन्दा ओली नै ठिक’ भन्ने भाष्य यो तप्कामा स्थापित छ । ओलीको स्थानमा देउवा आउँदा आमजनतामा खुशी छाउनुपर्ने कुनै कारण पनि छैन ।
प्रधानमन्त्रीका रुपमा ओलीको यो दोस्रो कार्यकाल थियो । भारतले नेपालमा नाकाबन्दी लगाएको संकटपूर्ण समयमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसबेला ओलीको लोकप्रियताको ग्राफ निकै उचाइमा थियो । भारतले नेपालमाथि अवाञ्छित हस्तक्षेप गर्न खोज्दा ओलीले हुत्याइदिएका थिए । त्यसबेला राष्ट्रियताको पक्षमा देखाएको अडानलाई लिएर कतिपयले ओलीलाई महेन्द्रपछिको महान राष्ट्रवादी नेताको संज्ञा समेत दिए ।
दोस्रो कार्यकालमा भने ओलीले राष्ट्रियतासँग जोडिएका केही विवादस्पद कामहरु गरेका छन। कुटनीतिक प्रोटोकल तोडेर भारतीय जासुसी संस्थाका रअका प्रमूखलाई बालुवाटारमा प्रवेश दिँदादेखि नागरिकताको विषयमा अनुचित सम्झौता गर्दै जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा उनको चर्को आलोचना भयो । यी दुई प्रकरणले ओलीको राष्ट्रवादी छवि केही धुमिल बन्न पुग्यो ।
भारतसँगको नाकाबन्दीको डटेर सामना गरेका ओलीले नाकाबन्दीका बेला भारतीय सीमामा बसेर नेपालतिर ढुंगा हान्नेहरुलाई रातो कार्पेट विछ्याएर सरकारमा भित्र्याएको जनताले रुचाएनन। यसले ओलीको लोकप्रियतालाई निकै क्षति पुर्यायो ।
कहाँ चुके ओली ?
दुई तिहाई सांसदको समर्थनसहित ओली पछिल्लो कालखण्ड कै शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका थिए । देशले सजिलै नहल्लिने बलियो सरकार पाएको थियो र जनताले पाँच वर्ष राजनीतिक स्थिरता एवं विकासको आशा राखेका थिए ।
तर, बहुमतको सरकारबाट मात्रै राजनीतिक स्थायित्वको ग्यारेन्टी हुँदोरहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले दुई वर्ष काट्दा नकाट्दै पार्टीभित्रैबाट अवरोधहरु सुरु भए । जनतालाई विरक्त पार्ने गरी सत्तारुढ नेकपाभित्र सत्तासंघर्ष चर्कियो । र, अन्ततः ओलीले उत्तेजनामा आएर प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको घोषणा गरिदिए ।
ओलीले पहिलोपटक गरेको संसद विघटनको कुनै संवैधानिक धरातल थिएन । अदालतबाट त्यो बदर हुनु नै थियो र भयो । त्यसले ओलीको अहममा ठेस लाग्योे । सर्वोच्चबाट संसद पुनर्स्थापनापछि ओलीको राजनीति गम्भीर संकटमा फसेको थियो । तर, त्यही सर्वोच्चले एमाले र माओवादी पार्टी ब्यूँताइदिएर ओलीलाई ‘रेस्क्यू’ गर्यो ।
नेकपाको आधिकारिकताका लागि लडिरहेका ओलीले एमाले पार्टी फिर्ता पाए, वोनसका रुपमा केही पूर्वमाओवादी नेताहरुसहित । तर, यो अनुकुलतालाई सदुपयोग गर्नका लागि सही रणनीतिहरु उनले अबलम्बन गर्न सकेनन् । प्रचण्डको शिविरबाट निस्केर विरही गीत गाउँदै एमाले फर्केका नेताहरुप्रति ओली असहिष्णु बने । उनीहरुलाई तत्काल पार्टीभित्र न्यानो स्वागत गरेर एमालेलाई एकतावद्ध बनाउनेभन्दा एकपछि अर्को एकपक्षीय कदमहरु चाल्नतिर लागे, जुन अन्ततः ओलीका निम्ति प्रत्यूत्पादक बन्यो । नेकपामा जस्तै एमालेमा पनि भाँडभैलो सुरु भयो । जतिबेला ओली लचक बने, त्यसबेलासम्म एमालेलाई धेरै क्षति पुगिसकेको थियो ।
देशमा राजनीतिक स्थायित्वको लागि नेकपाको विभाजन कम्तिमा पाँच वर्ष रोक्न सक्नुपर्थ्यो ओलीले, व्यक्तिगतरुपमा केही त्याग गरेर भए पनि । उनले समयमै बुद्धिमत्तापूर्वक निर्णय लिएको भए न पार्टी फुट्थ्यो न सरकार ढल्थ्यो । सरकार अल्पायूमा ढल्नुको सबैभन्दा ठूलो दोष उनले आफैंलाई दिनुपर्छ । हो, माधव नेपाल समूहले आफ्नै पार्टीको सरकार गिराइ जितको उत्सव मनाउनु अत्यन्तै लज्जास्पद छ । तर, ओली मुलतः आफ्नै खुट्टामा अल्झेर लडेका हुन।
-नेपाल प्रेसबाट