हिजो आज लिम्बूहरू बीच धर्म, संस्कृति, संस्कार र इतिहासबारे बहस, छलफल र वादविवाद भईरहेको छ । नेपाली समाजमा कहावत छ ‘जति मोही मथ्यो त्यति नै बढी र शुद्ध घिउ निस्कन्छ’ । वाद सम्वाद हुनु राम्रो हो । यसले असली कुरा निकाल्न मद्दत गर्दछ । तर यस्तो वाद सम्वाद निर्माणउन्मुख (Constructive) हुनुपर्छ ध्वस्तउन्मुख (Destructive) हुनु हुदैन । यसबारेमा विभिन्न संस्था तथा व्यक्तिहरूको भिन्न भिन्न मतहरू र दृष्टिकोणहरू रहन सक्छन् । म चाहीँ विज्ञान पढेको व्यक्ति भएकोले मुन्धुम, धर्म, संस्कृति, संस्कार र ईतिहासलाई वैज्ञानिक कसिको आधारमा पनि हेर्ने गर्छु । आध्यात्मीक विश्वासको आधारमा मात्र हेर्दिन । यसर्थ, मैले लेख्ने लेख र प्रस्तुत गर्ने विचारहरू विज्ञानको कसिमा जच्ने र प्रशस्त आधार तथा तर्कहरूले पुष्टी हुने गरी लेख तथा विचार प्रस्तुत गर्ने कोसिस गर्दछु । विज्ञानले जवाफ दिन नसकेको कुरामा मात्र म आध्यात्मीक कुरातिर हेर्छु । तर म विज्ञानमा नजच्ने कुरालाई आध्यात्मीक आधारमा मात्र लिढे ढिपी कस्दिन । कसैले यस्तो वालहठ कस्छ भने त्यसमा असहमति जाहेर गर्दै त्यसको आलोचना गर्दछु । आलोचना तथा विरोध त आ–आफ्नै विश्वास र दृष्टिकोणबाट गर्न सकिन्छ तर कुनै पनि विषयलाई एउटै विश्वास र दृष्टिकोणबाट मात्र हेरिए एकांकी हुन्छ । यसैले कुनै पनि विषयलाई विभिन्न दृष्टिकोणबाट हेर्न सक्नु पर्दछ ।
मानव सृष्टि सम्बन्धमा
विज्ञानले मानव सृष्टि कुनै देवता या परम शक्तिले गरेको हो भन्ने कुरालाई मान्दैन । यसले राजा जनकले बारी जोत्दा सिता जमिनबाट निस्के जस्तो कुनै पनि महिलाले हावाबाट गर्भाधान हुने अवैज्ञानिक कुरालाई पनि मान्दैन । विज्ञानले मानिसको सृष्टि प्राकृतिक वातावरणको अनुकुलताको आधारमा वनस्पती र प्राणी (जीव) को विकास (सृष्टि)भयो भन्ने मान्दछ । यहि अनुकूल वातावरणको कारण पानीमा एक कोषिय जीवको विकास भयो र लामो लामो कालखण्डको अन्तरालमा त्यहि जीवबाट क्रमशः विभिन्न प्राणीहरूको विकास हुँदै मानिसको विकास भएको हो भनेर विज्ञानले भन्दछ ।
लिम्बू ( याक्थुङ )जातिको मुन्धुममा तागेरा निङवाफुको आदेशमा पोरोक्मी याम्फामी माङले खरानी, पानी र लेउ वा सुलीबाट बोल्न सक्ने मानिस बनाएको आख्यान आउँछ । प्रायः सबै आध्यात्मीक विश्वास तथा धर्म दर्शनमा अदृश्य शक्ति या सर्वशक्तिमान शक्ति या देवताले जीव प्राणी तथा पहाड पर्वतको सृष्टि गरेको कथा आउँछ । लिम्बू मुन्धुममा आउने तागेरा निङवाफुलाई ब्रह्माण्ड शक्ति र पोरोक्मी याम्फामीलाई पृथ्वी प्राकृतिक वातावरण शक्ति मानेमा बैज्ञानिक मतसंग मिलान गर्न सकिन्छ । पोरोक्मी याम्फामी भनेको प्राकृतिक वातावरण अनुकूलता र त्यसबाट विभिन्न जीव, प्राणी, वनस्पती, भूगोल, ढुंगा माटो, हावा, पानी आदी बन्ने अवस्था हो । त्यो भनेको प्राकृतिक प्रकृया हो, कुनै देवदेवीबाट निर्माण तथा सिर्जना भएको होईन । न त खरानी, पानी र लेउ वा सुलीबाट सग्लो मानिस बनेको हो, बनाईएको हो । यस्तो प्रकृया हजारौ, लाखौ–करोडौ बर्ष चलेर क्रमिक विकासको प्रकृयाबाट अहिलेको अवस्थामा आई पुगेको हो ।
लिम्बू बंशावलीका बंश पुस्ता सम्बन्धमा
सामान्य प्रकृयाबाट एकबाट सरदर १.५ वृद्धिका दरले जनसंख्या वृद्धिमा हरेक ३ पुस्तापछि अघिल्लो एक पुस्ता मर्छन भन्ने हिसावबाट ३४ पुस्ता पुगेको बंशको जनसंख्या करिव १ लाख २० हजारको आसपास पुग्दछ । त्यसमा पनि ४० प्रतिशत जनसंख्या विभिन्न समयको माहामारी तथा प्राकृतिक विपत्तिका कारणले मरे भनेर अनुमान गर्दा पनि ३४ पुस्ता पुगेको बंशको जम्मा जनसंख्या लगभग ७४–७५ हजार हुनु पर्ने देखिन्छ । जनसाँख्यिक हिसावले त्यति जनसंख्या हुन्छ नै भन्ने नभए पनि त्यसको आधा या आधा भन्दा बढी हुनु पर्ने हो । तर लिम्बू बंश भित्रका केही थरगत या समूह जसको ६७ पुस्ता पुगेको, ६२ पुस्ता पुगेका अनि ५४ पुस्ता पुगेका बंशको हालको जनसंख्या १५–२० हजार पनि पुग्दैन । पुस्ता संख्याको आधारमा जनसंख्या पनि हुनु पर्यो ।
यसैले, जसले मुन्धुमलाई साक्षी राखेर धेरै पुस्ता दावी गरेका छन् र जनसंख्या चाही आकाश जमिन फरक छ भने त्यो दावी बैज्ञानिक छैन । विज्ञानलाई नमान्ने हो भने त त्यस्ता दावीहरू मानिसहरूले सही पनि मानि दिन्छन । लिम्बू भित्रका कुनै पनि बंशको जम्मा बंश पुस्ता धेरैमा ३८–३९ पुस्ता भन्दा माथी जादैन । त्यो भन्दा पर जानको लागी अन्तै पुग्नु या जोडिनु पर्ने हुन्छ । यसलाई आधार मानियो भने बसोबास, बसाई सराई, भाषा, संस्कार संस्कृति, सभ्यता, मुन्धुम निर्माण, राज्य निर्माण लगायतका धेरै कुरा अनुमानित भए पनि नजिकको सत्य टुंगो लाग्न सक्छ । यसको खिलापमा आध्यात्मीक विश्वास र दर्शनको आधारमा मात्र हेर्ने र बुझ्ने कार्यले यी कुराहरूको सहि ढंगले टुंगो लगाउन सकिन्न ।
कतिपय लिम्बू बंशको बंशावलीमा अर्को एउटा अनौठो प्रस्तुति पनि पाईन्छ । तिनीहरूका अनुसार लाहादोङना र सुहाम्फेबाको पुस्तासहित जम्मा पुस्ता २६,२७ पुस्ता पुगेको देखिन्छ । अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसार मानव बंशको प्रति पुस्ता आयु २५ देखि ३० बर्ष हुन्छ । यस अनुसार लाहाङदोङना र सुहाम्फेबाको समय करिब आजभन्दा ७८० बर्ष पहिले हुन जान्छ । त्यो भनेको ईस्वीको १२४१ तिर हो । यस्तो प्रस्तुतिलाई पत्याउने कि नपत्याउने ? लाहाङदोङना र सुहाम्फेबासंग बंशावली जोड्ने तमोर खोला तिरका लिम्बू (याक्थुङ) बंशका अधिकांश बंशको बंशावली र प्रस्तुतीले लाहाङदोङना र सुहाम्फेबाको समय त्यो भन्दा अगाडी लैजादैन । यसबाट हिसाव गर्दा मेन्छाम याप्मी अर्थात मुजिङ्ना खियोङ्ना बनेको पनि मुन्धुम अनुसार त्यो भन्दा करिव ४-५ पुस्ता अघि मात्र देखिन आउछ । यस हिसावले त पहिलो मानिस अर्थात मेन्छाम याप्मीको समय ईस्वीको करिव ११ औ शताव्दी मात्र हुन जान्छ । त्यसरी हेर्दा त विभिन्न माङहरू, पृथ्वी सृष्टी, पोरोक्मी यम्फामी र तागेरा निङवाफुको समय पनि ईस्वीको ४-५ शताव्दी भन्दा अगाडी नजाने भयो । यो भन्दा हास उठ्दो कुरा अरु केही होला ? यसैले, मुन्धुमको आधार मात्र लिएर हुन्न । त्यसलाई वैज्ञानिक आधारमा र विज्ञानको कसीमा पनि हेरिनु र जाँचिनु पर्दछ ।
लिम्बू (याक्थुङ) सभ्यता सम्बन्धमा
सभ्यता भनेको समकालिन समयमा आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक तथा राजनीतिकरुपले विकासको अलि उन्नत अवस्था हो । यसर्थमा लिम्बू सभ्यताको आफ्नै विशेषता छ । यसले आफ्नै फरक भाषा विकास गरेको छ । यस सभ्यताले आफ्नै फरक संस्कार, संस्कृति, जीवन पद्धति, जीवन शैली, भेषभुषा, रहन सहन, मुल्य र मान्यताहरू विकास गरेको छ । यसको साथै फरक आर्थिक तथा राजनीतिक प्रणालीको अभ्यासका साथ फरक प्रकारको आर्थिक तथा राजनीतिक जीवन सम्बन्ध विकास गरेको छ । यो सभ्यताको विकास र उद्गमस्थल भनेको मुन्धुममा वर्णन गरिएको मनातेम्बे हो । मनातेम्बे भनेको येलो रिभर भ्याली सभ्यताको कुनै भागको एक अंशमा रहेको मानव सभ्यता हो, जहाँ प्राचिन मानवको अवशेष र उनिहरूले प्रयोग गरेका प्राचिन वस्तुहरू पाईएका छन् । यो पाकिस्तानको बलुचिस्तानदेखि भारतको गुजरात, पन्जाव, हर्याना र उत्तर प्रदेशसम्म फैलिएको सिन्धुघाटी सभ्यता भने जस्तै हो । येलो रिभर भ्याली सभ्यता पनि ह्वाङगो–याङटेज मैदानदेखि तिव्वत र चीनको सिमा जोडिएको विशाल भूक्षेत्र देखि तिव्वतसम्म फैलिएको सभ्यता हो । प्राचिनकालीन युद्ध तथा प्राकृतिक विपत्तिका कारण ति सभ्यताहरू नष्ट भए भने ति सभ्यता क्षेत्रका कतिपय मानव समूहहरू अन्यत्र बसाई सराई गरे ।
बंशाणु विज्ञानले पनि यहि कुरालाई पुष्टी गर्दछ । बंशाणु विज्ञान अनुसार मानव समूहमा पाईने बंशाणु हाप्लोग्रुप C ,D र O एशियाको हिमालयदेखि पुर्वी एशिया बीचको क्षेत्रमा बंशाणु परिवर्तन (Genetic mutation ) भएर विकास भयो, जुन बंशाणु हाप्लोग्रुप लिम्बू, तामाङ, लेप्चा, राई, बहुमत नेवार, थारु, गुरुङ, मगर, नागा, बर्मी समुह लगायत चिनीया, कोरियन, मंगोलियन र तिव्वतियन जनसमुदायमा पाईन्छ तर यूरोप, अफ्रिका तथा दक्षिण भारतका जनसमुदायमा पाईन्न । यूरोप र दक्षिण भारतमा पाईए पनि एकदमै कम पाईन्छ ।
येलो रिभर भ्याली सभ्यता क्षेत्रमा पाईएका मानव अवशेष र प्राचीन वस्तुहरूको अध्ययनबाट विज्ञानले उक्त सभ्यता ईसा पुर्व १६ देखि २२ शताव्दीको हो भनेर टुंगो लगाएको छ । यहि सभ्यताका मानव समूहहरू विभिन्न समयमा हाल लिम्बूवान भनिएको भूमीमा कोही उत्तर, कोही पुर्व, दक्षिण र कोही पश्चिम दिशाबाट आएर सबैले मिलेर विकास गरेको लिम्बू (याक्थुङ) सभ्यता हो ।
कतिपय मुन्धुमविद हौं भन्ने मानिसहरूले फक्ताङलुङ आसपास नै मनातेम्बे हो भन्ने मत जाहेर गर्दछन् जुन वैज्ञानिक प्रमाण बीनाको गफ मात्र हो । यस्तो दाबी विज्ञान सम्मत छैन । अहिलेको बैज्ञानिक युगमा विज्ञान सम्मत नहुने कुराहरू पत्याउनु भनेको मुर्ख बन्नु मात्र हो । यस्तो चाही सम्भव हुन सक्छ कि मनातेम्बेबाट बसाई सराई गर्दै लामो समयको कालखण्डमा एउटा सानो मानव समूह हिमाल वारी इम्बिरी याङधाङवाको मुरिङला खारिङला, लुङथुङ, लेलेपमा आएर बसोबास गर्यो । त्यहिंबाट तिनको कथा तथा बंश इतिहास शुरु भयो । ति मानव समूहको माङ्गेन्ना मुन्धुमले यही कुरा भन्छ ।
यसरी नै त्यहि मनातेम्बे सभ्यताका मानव समूह बसाई सराई गर्दै लामो कालखण्डमा आसामको रुट भई गंगा–ब्रम्हापुत्र मैदानमा (तेमेन) आई त्यहाबाट लेक्वादो सुम्मादो (त्रिबेणी बराह क्षेत्र) सांगुरी क्षेत्रबाट उत्तरतिर फैलिए र तिनको कथा तथा बंश इतिहास त्यहिंबाट शुरु भयो । प्राचीन नेपालमा राज्य शासन गर्ने कथित किरात मानव समूह जो येलो रिभर भ्याली सभ्यताकै मानव समूह थिए र तेमेनबाट नेपाल खाल्डोमा गई शासन गरेका थिए अनि शासन भंग भएपछि तिनीहरू मध्येकै एक हाँगा पुर्वतिर लाग्यो । त्यहि पुर्व लागेको मानव समूह लेगुवा नाकाबाट लिम्बूवान भूमी मै पुग्यो । तिनको कथा तथा बंश इतिहास त्यहिबाट शुरु भयो । यी मानव समुहहरूको माङ्गेन्ना मुन्धुमले त्यहि कुरा भन्छ ।
तमरखोला (ईम्बिरीयाङधाङवा)सभ्यताको सम्बन्धमा
कतिपय मानिसहरू लिम्बू (याक्थुङ) को सन्दर्भमा इम्बिरीयाङधाङवा लेलेपदेखि हाङतरङ अर्थात मेवा खोलासम्मको क्षेत्र लाई तमोरखोला सभ्यताको रुपमा व्याख्या गर्ने गर्दछन् । तमोर खोलालाई लेलेपदेखि हाङतरङसम्म तमोर खोलालाई मुन्धुममा इम्बिरी याङधाङवा भनेको देखिन्छ भने आठराईदेखि मेवा, मैवा खोलासम्म तमोर खोलालाई मुन्धुममा तेम्तेम्वा भनेको देखिन्छ । अझ यो भन्दा तल गएर त्यसलाई ताम्यावा र बराहक्षेत्र त्रिवेणीदेखि केही माथीसम्म राई समूहको मुन्धुममा तमोर खोलालाई थावा भनेको देखिन्छ । एउटा कुरा के सत्य हो भने लिम्बू (याक्थुङ) समुदायको कतिपय मुन्धुमले तमोर खोला क्षेत्रमा रहेका ठाउँ गाउँहरूको वर्णनका साथै कतिपय संस्कारहरूको वर्णन गर्दछ । यसको अर्थ कतिपय मुन्धुमहरू पछिल्लो समयमा तमोर खोला क्षेत्रमा निर्माण भएको हो कि भन्ने अनुमान हुन्छ । यस अर्थमा सो क्षेत्रको सभ्यतालाई इम्विरी याङधाङवा सभ्यता भन्न सकिन्छ तर त्यसलाई समग्र लिम्बू (याक्थुङ) समुदायको सभ्यता हो भनेर गलत अर्थ लगाउनु हुदैन ।
लिम्बू (याक्थुङ) को सभ्यता भनेको सिन्युक मुदेनसा, खाम्बोङसा लुम्बोङसा र तेमेनसाहरूको संयुक्त रुपको सभ्यता, जसलाई समग्रतामा सावायेत्हाङसा भनिन्छ तिनैको सभ्यता हो । यस भित्र इम्बिरी याङधाङवा सभ्यता, तेम्तेम्वा सभ्यता, थावा सभ्यता, मेवा मैवा सभ्यता, फावा, काङवा, हेङवा, खरङवा, सावा, नावालगायतका सभ्यताहरू समेटिन्छन् । यी सबै मिलेर नै दश लिम्बूवान (थिबोङ याक्थुङ) लाजे बनेको हो र संघीय स्वरुपको राज्य शासन चलाएको हो । यसले लिम्बू (याक्थुङ) सभ्यताको परिचय दिन्छ ।
सावायेत्हाङसाको कुरा गर्दा मुन्धुममा चर्चा हुने सावायुक्पुङगेम्बाको तेस्रो श्रीमति मुगुप्लुङमाबाट जन्मेकी छोरी लाहादोङना र सावायुक्पुङगेम्बाको पहिलो श्रीमति फियालुङमाबाट जन्मेको छोरा सुहाम्फेबा यी दुई लाहादोङना र सुहाम्फेबा हाडनाता सम्बन्धबाट जन्मेका ८ सन्तानहरूलाई येत्हाङसा भनेको देखिन्छ । मुन्धुममा शुरुमा अस्तित्व भएका खाम्बोङसा लुम्बोङसाको चर्चा संगै सावाला येत्हाङसाको वर्णन आएको देखिन्छ । त्यसपछि मुन्धुममा खाम्बोङसा लुम्बोङसा, सावाला येत्हाङसा, तेमेनसा, सिन्युक मुदेनसा सबैलाई समग्रमा मुन्धुममा सावायेतहाङसा भनिएको देखिन्छ । त्यसपछि, याक्थुङ पाङफेका याक्थुङहाङलाई समेटेर सावायेत्हाङसा याक्थुङहाङ भन्न थालिएको मुन्धुममा संकेत मिल्दछ ।
वास्तवमा सावायेत्हाङसा भनेका लाहादोङना र सुहाम्फेवाका ८ सन्तानहरूलाई मात्र जनाएको हो भन्ने स्पष्ट छ । यसबाट मुन्धुममा अरु मानव समूहहरूलाई समेट्दै र स्विकार्यता बढाउदै लगेको र पछिल्लो समयमा सावायेत्हाङसा याक्थुङहाङ भन्ने शब्दको स्विकार्यतालाई बढाएको देखिन्छ । पछिल्लो समयमा यो दश लिम्बू अर्थात दश लिम्बूवान (थिबोङ याक्थुङ) को शासन प्रभावबाट लिम्बू (याक्थुङ)बोली प्रचलनमा रह्यो भने सिन्युक मुदेनसा, तेमेनसा, खाम्बोङसा लुम्बोङसा र सावायेत्हाङसा चाही मुन्धुममा मात्र सिमित भएको देखिन्छ । लाहादोङना र सुहाम्फेवाका १७ सन्तान मध्ये एक सन्तान बीचमा परे पनि अरु ८ सन्तानहरूको स्पष्ट वर्णन आएको देखिन्न । पेली फाङसाम भनेर थोरै वर्णन आए पनि अरु वर्णन आएको देखिन्न । त्यसैगरि, साङदाङखेवा र लिङदाङखेवाका सन्तानहरूको पनि बर्णन आएको पाईन्न । यी कुराहरूले धेरै प्रश्नहरू जन्माउछ । अहिले ति प्रश्नहरूबारे चर्चा नगरौं । कुनै समयमा चर्चा गर्न सकिन्छ ।
किरात सभ्यता सम्बन्धमा
किरात भनेको आर्यनहरूले भारतीय उपमहाद्धिपमा जम्काभेट गरेका आफु भन्दा फरक तर मंगोलोईड मानव समूहलाई भनेका हुन् । यसले एउटा बृहत मानव समूहलाई समेट्छ । भारतीय उपमहाद्धिपमा किरातको छुट्टै इतिहास छ र किरातको इतिहास बिना भारतीय र नेपाली इतिहास अपुरो मात्र हुदैन, एउटा सभ्यताको पाना हराउँछ ।
नेपालमा किरात सभ्यताको महत्व, अर्थ र परिचय प्राचीन नेपालमा शासन गर्ने ३२ देखि ३४ पुस्ता राज्य गर्ने किरात मानव समूहले दिन्छ । यीनीहरूको सभ्यता बिना लिच्छवीहरूको सभ्यता अधुरो हुन्छ । लिच्छवी सभ्यताको जग भनेकै किरात सभ्यता हो । लिच्छवीकालमा प्रयोगमा आएका विभिन्न विषयका सरकारी कार्यालयहरू जस्तै कुथेर, माप्चोक, लिङवल आदी सबै किरात कालकै प्रयोग थिए ।
लिच्छवीकालका ३०० भन्दा बढी अभिलेखहरूमा उल्लेख भएका ठाउँ गाउँ, खोला, भिर, डाडा, खेती भूमी लगायतका नामहरू किरातकाल र किरातीहरूले प्रयोग गर्ने भाषाबाट नै रहेका थिए जो आज पनि अपभ्रंससहित प्रचलनमा छन् ।
अहिलेको नेपाल उपत्यका भित्रका कतिपय शहरहरू, बाटो घाटो, गाउँ आदिको निर्माण किरातकालमै भएका थिए । प्राचीन किरातकालीन नेपाल देश तिव्वत–नेपाल–ल्हासा व्यापार हुने केन्द्र थियो । किरातकालीन प्राचीन नेपालको जनसंख्या अहिलेको ५-७ वटा गाउँ जत्रो मात्र थियो भनेर अनुमान गर्न सकिन्छ । सायद किरातकालको जनसँख्या हजार पन्ध्र सय देखि दुई हजार भन्दा बढी थिएन होला ।
प्राचीन नेपाल उपत्यकामा किरातकालमा नै धेरै गाउँ (प्रिङ)हरू विकास भए । त्यसैले, लिच्छवी अभिलेखहरूमा अनगिन्ती प्रिङहरूको नाम उल्लेख भएको भेटिन्छ । समाज तथा राज्य व्यवस्थालाई व्यवस्थीत गर्ने माप्चोक, कुथेर, लिङवल जस्ता कार्यालयहरू रहेको देखिन्छ । सायद किरातकालको पछिल्लो समयमा केही गाउँहरूले शहरको रुप लिए भन्न सकिन्छ जुन प्राचीन नेपालको इतिहासमा क्वने, खने, खोपो, येलुङ, यम्बु आदी नाम पढ्न पाईन्छ ।
एक ठाउँको सभ्यताको नक्कल या प्रभाव अर्को ठाउँमा पर्ने या फैलिने सामान्य प्रकृया हो । इतिहासमा के पनि देखिएको छ भने विभिन्न कारणले एउटा सभ्यता हराउँछ र त्यसैको जगमा अर्को सभ्यता शुरू हुन्छ । उक्त सभ्यताका मानिसहरू अन्यत्रतिर विस्थापन हुन्छन र उनिहरूको दिमागले बोकेर र कथामा लगेको सभ्यता विस्थापित भएर उनिहरू गएको ठाउँमा अलि अलग ढंगले सभ्यता विकास भएको देखिएको छ ।
सिन्धुघाँटी सभ्यताको प्रभाव या विस्तार या सह-उत्पादन स्वरुप मध्य तथा दक्षिण भारतका साथै गंगा मैदानका व्यवस्थित शहर, संस्कृति, आर्थिक–सामाजिक सम्बन्धहरूको विकास भए जसमाथी अन्य धेरै नयाँ कुराहरू पनि थप भए । आफुलाई शत्रुबाट सुरक्षित राख्न किल्ला तथा यक निर्माण संस्कृति परिमार्जितरुपको विस्तार त्यहि सिन्धुघाँटी सभ्यताको देन हो ।
नेवार आदिवासीमा खास ठाउँको ढुंगालाई देवता मानी पुजा गर्ने चलन किरातकालीन एनेमिजम विश्वास प्रणालीको प्रभाव हो । लिम्बू (याक्थुङ) समुदायमा रहेको भाषा तथा सांस्कृतिक सभ्यता मनातेम्बे सभ्यताको निरन्तरता हो । कतिपय आध्यात्मीक विश्वास, संस्कार संस्कृतिहरू हाल लिम्बूवान भनिएको भूमीमा आएपछि विकास भए ।
त्यसैगरि, मानिस मरेपछि जमिनमा गाड्ने चलन नियान्डरथल युगको नियान्डरथल मानव समूहको देन हो । लिम्बू समुदायमा मानिस मरेपछि चिहान वनाएर गाड्ने प्रचलन येलो रिभर भ्याली सभ्यताबाट आयो वा सिन्धुघाँटीबाट आयो, त्यो चाही यकिन गर्न सकिदैन । धान खेती गर्ने र सुन चाँदीको गरगहना प्रयोगमा ल्याउने चलन येलो रिभर भ्याली सभ्यताका मानिसहरूको देन हो । सिल्कको आविष्कार र प्रचलन प्राचीन चिनीया सभ्यताको देन हो ।
लिम्बूमा मानिस मरे पछि बनाईने चिहानमाथी लामो ढुंगा (सुत्लुङ)राख्ने चलन प्राचीन किरात भनिएको मानव समूहको देन हो । हाँडीगाउँमा भेटिएको जय बर्माको सम्बत १०७ अंकित सानो आकारको ढुंगे अभिलेख किरातकालीन चिहानमाथी राखिने सुत्लुङको प्रभाव हो । यद्यपी यस्तो चिहानमाथी ढुंगा गाड्ने चलन पश्चिमा इसाई धर्म समुदायमा पनि पाईन्छ । सायद यो प्राचिन एनिमिजम–बोन फैलिने क्रममा नेपाल दक्षिणमा विकास भएको वौद्व धर्ममा प्रभाव परे जस्तै पश्चिमतिर पुगी ईसाई धर्मलाई पनि प्रभाव पारेको हुन सक्छ ।
एनिमिजम–बोन अर्थात सामानिजमको विकास आजभन्दा २०–३० हजार बर्ष पहिले पुरानो ढुंगे युगमा नै भएको र ईसाई धर्म आजभन्दा दुई हजार-एक्काईस सय वर्ष पहिले विकास भएकोले प्रभाव परेको हो भन्ने कुरा समयले पनि साथ दिन्छ । एनिमिजम–बोन अर्थात सामानिजमको प्रभाव विश्वका सबै विश्वास प्रणाली तथा धर्महरूमा परेको छ ।
किरातकाल पछि सुत्लुङमा यस्तो अभिलेख संस्कृत भाषामा लेख्न थालियो । तर किरातकालका सुत्लुङहरूमा भने अभिलेख नराखिने भएकोले फगत ढुंगा मात्र भए । ति उत्खनन गर्दा भेटिए पनि अर्थ भएन । भेटिएका हड्डी खुड्डीहरू त जनवारका हड्डी खुड्डीकोरुपमा लिईयो । यसैगरि लिम्बू मानव समूहमा हाडनाता विहेवारी गर्न नहुने र ५–७ पुस्ता साईनो सम्बन्धमा विहावारी नगर्ने प्रचलन प्राचिन किरात भनिएका मानव समूहको देन हो । उक्त विचार तथा चलन प्राचिन किरात भनिएको मानव समूहबाट आएको हो । नत्र मुन्धुममा आउने लाहादोङना र सुहाम्फेबा अनि साङदाङखेवा र लिङदाङखेवा लगायतको जस्तो हाडनाता विहेबारी चलिरहन्थ्यो । जस्तो कि आदिवासी तामाङ, मगर, गुरुङ, थकालीमा फुपु चेला र मामा चेली विवाह हुने प्रचलन लिम्बूमा पनि चल्न सक्ने थियो, चलिरहेको हुन्थ्यो । यस्तो चलन कम्तीमा एक समूहका लिम्बूहरूमा चलिरहेको हुन्थ्यो । जेनेटिक विज्ञानका अनुसार तामाङ, मगर, गुरुङ, थकाली, राई र लिम्बूमा C, D र O र हाप्लो ग्रुपको परिवर्तित (Muted variant) पाईन्छ । यसले तिनीहरूको रुट या बोट एउटै हो भन्ने देखाउछ ।
लिम्बू (याक्थुङ) मानव समुहको दर्शन सम्बन्धमा
लिम्बू (याक्थुङ) मानव समूहको सामाजिक–सांस्कृतिक तथा आध्यात्मीक दर्शन भनेको मुन्धुम नै हो । यद्यपी मुन्धुमका कतिपय कुराहरू विज्ञान सम्मत पनि छन् । यसको ब्रह्माण्ड सृष्टि मुन्धुमले बैज्ञानिक मत जस्तै अन्धकार खाली ठाउँमा प्रकाश तथा आँधीवेहरीबाट पृथ्वीको सृष्टि भएको मत व्यक्त गर्दछ । मानिसको संख्या धेरै बढेर परस्पर लफडा तथा लडाई भई मनातेम्बेबाट विभिन्न दिशामा मुन्धुमी मानव समूह बसाई सराई गरेको कुरासंग जेनेटिक विज्ञान अनुसारको जेनेटिक परिवर्तन (Genetic mutation) भएर C, D र O हाफ्लो ग्रुप विकास भई सो जेनेटिक ग्रुपका मानव समुह पुर्वी एशिया, दक्षिण पुर्व एशिया, तिव्वत, मंगोलिया र म्यानमार, थाईल्याण्ड, भारत र नेपालमा फैलिएको कुरा झण्डै झण्डै मिल्न जान्छ ।
मुन्धुम र मुन्धुमको बिस्तृत बर्णन सम्बन्धमा
मुन्धुमका विभिन्न खण्डहरू भएता पनि तिनीहरूले वर्णन गर्ने क्षेत्र भनेको सिन्युक, मुदेन र तेमेन वरङ नै हो । त्यसपछि यसले गर्ने बर्णन भनेको फक्ताङलुङ पेम्बेलुङ, सेवालुङ, वदिङलुङ, मुक्कुमलुङ, मुगुप्लुङ, फियालुङ, योसुलुङ, थोसुलुङ, खाम्पुरादेन, मिक्फुरादेन, सोधुङगेन वरक, ईम्बिरी याङधाङवा वरपरका डाडा काडा, ठाउ गाउ देखि लिएर मेवा मैवा, फावा, काङवा, तेम्तेम्वा, यासोक, आठराई ,निग्रादेन, होडा, ईवा हेङवा, नावा, सावा, थावा हुदै लेक्वादोभा सुम्वादोभा सम्मका गाउँ ठाउँ पाखा पर्वत, विभिन्न माङहरू, मरेपछिको आत्मा स्थल तथा वृतान्त, सावायेत्हाङसा, सिन्युक मुदेनसा, खाम्बोङवासा लुङबोङबासा र तेमेन वरङसाहरूको वर्णन नै हो ।
लिम्बू (याक्थुङ) का बिभिन्न बंशको माङ्गेन्ना गर्दा आउने मुन्धुमले खरानी, सुली या लेउ र पानीबाट बोल्ने मेन्छाम याप्मी (मान्छे) बने पछि पोरोक्मी यम्फामीको सुन तथा चाँदीको बनाउँदा नबोल्ने भनि श्राप (थुईक्क) दिएकोले सो श्रापबाट शिर उठाउन माङ्गेन्ना गरिने भएकोले त्यहाँदेखि उक्त बंश कता कता हुदै हाल बसोबास भएको मांगेन्ना यकमा आई पुग्यो भन्ने बेली बिस्तार आउनु पर्दछ । तर यो कसैकोमा पनि जोडिएर आएको देखिन्न । टुक्रे मांगेन्ना मुन्धुम मात्र फेदाङवा तथा मुन्धुमविद हौं भन्नेहरूले ल्याएको देखिन्छ या यो त्यति टुक्रे नै हो त्यो थाहा भएन ।
एउटा कुरा ठाउँको नाम, संस्कार विधी, कतिपय आख्यानहरूमा ठाउँ ठाउँका येवा, साम्बा र फेदाङवा पिच्छे फरक फरक मुन्धुम तथा कुरा आउँछ । कथित पाथीभारा कै उदाहरण दिने हो भने पनि ठाउँ पिच्छेका फेदाङवा, येवा र साम्बाहरूले फरक फरक नाम बताउछन् । गन्दै जाँदा ६–७ वटा नाम हुन्छ । यस्ता आपुङ्गी येवा, साम्बा र फेदाङवाहरूको परस्परकै कुरा मिल्दैन । अनि यीनैको श्रोतको आधारमा जान्ने सुन्ने हौँ भन्ने लिम्बू र मुन्धुमविद हौँ भन्नेहरू आपुङ्गी तरिकाले तर्क सार्छन र लड्छन् । यसैको आधारमा समग्र लिम्बू (याक्थुङ) समुदायलाई विभाजन गर्दछन् ।
यी सबैमा वैज्ञानिक आधारमा खोजौँ, बुझौँ र व्याख्या विश्लेषण गरौं र एउटा टुंगोमा पुगौं भन्ने सोच तथा तरिका अपनाएको देखिदैन । मैले बुझेको र जानेको नै ठिक हो भन्ने जुन सोच, विचार तथा स्वभाव छ त्यसले लिम्बू समुदायलाई कहिल्यै कहिँ पुर्याउदैन ।
कन्दङवा, थेगिम समूह, थिन्दोलुङ खोक्याहाङ, पापो, सातरेनुहाङ, सम्यक, पाहिम, लिङदेन सहितको सेनिहाङ समुह आदी लिम्बू (याक्थुङ) बंशको माङगेन्ना मुन्धुम काशी तथा तेमेनबाट र खेवा समूह सहित कतिपय लिम्बू बंशको माङ्गेन्ना मुन्धुम पश्चिम काठमाण्डौतिरबाट आउँछ र पछिल्लो बसोबास भएको माङगेन्ना यकमा ल्याएर बिसाउने काम हुन्छ । यसको अर्थ प्राचीन किरात मानव समूहका शाखा सन्तानहरू नै मुन्धुममा आउने तेमेनसाहरू हुन भन्ने देखिन्छ । फेरी विभिन्न मुन्धुमहरूमा ‘सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे र याक्थुङहाङ सावायेहाङसा’ भनेर आउने हुदा लिलिमहाङ भनेका प्राचीन नेपालबाट विस्थापन भएर पुर्व लागेका किरात समूहका पछिल्लो पुस्ताका राजा हुन् । यिनै किरातहरू रहेको बसेको पाङफेको नाम याक्थुङ पाङफे भई तीनैलाई मुन्धुममा सावायेहाङसा याक्थुङहाङ भनेको देखिन्छ । तिनैलाई पछिल्लो समयमा सावायेतहाङसा याक्थुङहाङ भनेर जोडेको स्पष्ट देख्न सकिन्छ । सावायेत्हाङसा याक्थुङहाङ भनेर दुई शव्दलाई जोडेर यूमा मुन्धुम लगायत पछिल्ला मुन्धुममा आएको पाईन्छ । मुन्धुममा यूमाको महिमा कपडा बुन्ने तानसंग जोडिएर आउँछ ।
कपडा र तानको इतिहास धेरै प्राचीन छैन । यो क्षेत्रमा कपडा बुन्ने तानको प्रचलन तथा विकास इस्वीको ७ औं शताब्दी देखि ११ औं शताब्दी बीच या त्यसपछि भएको मानिन्छ । त्यो समय भन्दा अघि कपडा बनाउने तान प्रचलनमा थियो भन्ने देखिन्दैन । यसैले, तानसंग जोडिएको यूमा मुन्धुमको निर्मांण ईस्वीको ११ औं शताब्दी पछि कै होला भन्ने निश्कर्ष निस्कन्छ ।
मुन्धुमको अध्ययन नपुगेर हो कि मुन्धुममा सिन्युक मुदेनसा, खाम्बोङवासा लुम्बोङवासा, तेमेनसा र सबैलाई मिलाएर मानव समूहकोरुपमा सावायेहाङसा भने जस्तो ठ्याक्कै मानव समूहको रुपमा याक्थुङ तथा याक्थुङसा भन्ने शब्द मैले आएको देखिरहेको छैन । शायद तिनै याक्थुङ पाङ्फेमा रहेका मानिसहरूलाई याक्थुङहाङ भनि नाम दिएको देखिन्छ । यसले प्राचीन किरात र लिम्बू (याक्थुङ) को सम्बन्ध देखाउँछ ।