पछिल्लो पुस्तामाझ आफ्नो कविताहरुमा जब्बर रुपमा असमानता अन्याय र अत्याचाको बिरोधमा कविता लेखीरहेकी कवि प्रेमीला राई आफ्नो पुस्ताबीच आशालाग्दो कवि हुन प्रस्तुत छ साताको तीन कविता

सुनसान छ गाउँ

झुरुप्प कमलकोठी खेल्ने केटाकेटीहरु
वनै तरङ्गित सुसेल्ने गोठालेहरु
आजकल कता हराए होलान ?
बूढो भए होलान
घरबारे भए कि
अर्थात कुन देशको दासी बनिरहेका छन ?

ठिक उसै गरी हवै वन उकालो
काफल पाक्यो चरी किन बोल्दैन ?
कुक्कुसँग जिस्कने दौँतरीहरु कता होलान ?
आजकल उसैगरी कुक्कु किन कराउँदैन ?
किन जिस्काउदैनन नानीहरु कुक्कुलाई ?
कि केटाकेटी बिहिन भए मेरो गाउँ ?
वास्तवमा सुनसान छ गाउँ ।

दाउरा र स्याउलाको भारी लहरै बिसाउने एक्लेवर
अझै पनि एक्लै छ
हो त नितान्त एक्लो
जहाँ बिसाइन्न दाउरा र स्याउलाको भारी
खेलिन्न गट्टा र कमलकोठी
किनकी
यो बाटो पुरानो भयो
चौतारी पुरानो भयो
वर बूढो छ, एक्लै छ
विरक्तै छ
खासमा यो ठाउँ बिरानो भयो ।

गाउँको मध्य भागमा
गाउँ नै छोप्ने धुलो उडाउदै
राजाको चालमा आउँछ ट्याक्टर
छोडी जान्छ आधुनिकता
खासमा बिरानो भएको छ गाउँ ।

डोको बोक्दैनन गाउँलेहरु
अहँ बोक्नु पर्दैन दाउराको भारी
थुपार्नु पर्दैन खलियो
बनाउनु पर्दैन आधुनिक चुलो
अत्याधुनिक नेपाल ग्यास भित्रिएको छ
लगाउनु पर्दैन खेती
घरैमा आउँछ मसिना चामल
अर्कै भएको छ गाउँ ।

तब न एक्लेवर बिरानो किन नहुन्थ्यो ?
कमलकोठी खेल्ने नानीहरु
टेलिभिजन र ट्याबबाट फुर्सद छैनन
गोठ नै रित्तो छ
तब किन सुसेल्थे गोठालेहरु ?
आगनमा यति यति पानी गंगे रानी
भित्ते, खुट्टे खेल्ने नानीहरु
आफैमा आधुनिकताको आइसोलेसनमा छन
चुपचाप छ आगन
खासमा रित्तै छ गाउँ ।

अहँ असारको हतार छैन गाउँमा
न लगाउनु छ न टिप्नु छ
उसो त कसरी बजोस सुरिलो असारे धुन
मेलापात, अर्म पर्मै नचलेपछी
कसले गाउँछ असारे र अन्ताक्षरी ?
गाउँलेहरु फेसबुक र टिकटकमा व्यस्त छन
आधुनिकताको पर्दाभित्र गुमनाम छ गाउँ
खासमा सुनसान छ गाउँ ।

गाउँमा बज्दैन माल्सिरी धुन
गाइन्न जुहारी
बजाइन्न मादल, नाचिन्न मारुनी
बज्दैन ढोल झ्याम्टा
नाचिन्न साकेला
खेलिन्न देउसी
बज्छ त भिटेनको गीत प्रत्येकको इअरफोनमा
नाच्छ त सिर्फ टिकटकमा
आधुनिकताको मीठो सिकार हो गाउँ
साच्चै उराठ छ गाउँ
साच्चै सुनसान छ गाउँ ।

जुवाडेहरू तास खेलिरहेछन्

भर्खरै तासघरमा तास बाँडिएको छ
सबैका हातमा छन तासका पत्तीहरू
दाउमा आमालाई राखिएको छ
सबैको तास राम्रा हुन सक्छन
नराम्रा पनि हुन सक्छन

कहिलेकाहीँ एक्का आएर पनि हार्न सक्छन
कहिलेकाहीँ दुवाले पनि खेल जित्न सक्छन
रङ आएर हार्नेहरू पनि यहीँ छन
रन आएर हार्नेहरू पनि यहीँ छन
कहिलेकाही गुलाम बडीले जित्नेहरू पनि यहीँ छन
जे होस तासघरमा जुवाडेहरू तास खेलिरहेछन

जुवाडेहरू खतरनाक हुन्छन
त्यो भन्दा खतरनाक त छेवैमा च्याँखे थाप्नेहरू हुन्छन
ऊ भर्खरै नाङ्गिएर बाहिरिन नि सक्छ
ऊ अरुलाई नङ्ग्याएर भित्रिन नि सक्छ
जो बिनासित्ती जितिदिन सक्छ
बिनासित्ती हारिदिन नि सक्छ

जुवाडेहरू सबैभन्दा बेइमान हुन्छन
जुवाडेहरू फटाहा हुन्छ्न
जतिसुकैबेला छेवैमा तास साट्न नि सक्छन
तास चोर्न नि सक्छन
तासघरमा बडो सचेत हुनुपर्छ

देशमा संविधान भए जस्तै
तासको पनि आफ्नै नियम हुन्छ
देशमा कानुन भए जस्तै
तासमा पनि आफ्नै विधि हुन्छ
देशमा नजानेरै सही संविधान मिचेझैँ
देशमा जानाजान सही संविधान कुल्चिएझैँ
यहाँ पनि नियम तोड्न सक्छ
यहाँ पनि विधि तोड्न सक्छ
तासघरमा बडो होसियार हुनुपर्छ

जुवाडेहरू मस्तसँग तास खेलिरहेछन
भर्खरै जुवामा हारेर छोरालाई
खाडीमा हुत्याएका छन
भर्खरै बाजि हारेर कुमारी छोरीलाई
कोठीमा सुम्पेका छन
भर्खरै जुवामा हारेर स्वास्नीलाई
ठेकेदारको हातमा थम्याएका छन
भर्खरै तासमा हारेर बेघरबार भएसी
निर्दोष नानीहरू बगरमा छोडिएका छन
तै पनि जुवाडेहरू तास खेलिरहेछन

तासको बाजि बडो खतरनाक हुन्छ
खेल उल्टिन पनि सक्छ
खेल सुल्टिन पनि सक्छ
भर्खरै तासघरमा तास बाँडिएको छ
सबैका हातमा तासका पत्तीहरू छन
बाजि जो कसैले नि जित्न सक्छ

जुवाडेहरू मक्ख छन
जुवाडेहरू बाजी जित्ने दाउमा छन
जुवाडेहरू हातमा तास लिइरहेहेका छन
दाउमा आमालाई थापेर
जुवाडेहरू तास खेलिरहेछन

महामहिमलाई दु:ख छ

ओ महामहिम
हजुरलाई त निकै पो गाह्रो छ हौ

हामी नाथे त हजुरको पैतालाको धुलो
किनाराको बगर
भत्किएको चौतारो न हौँ ।

हामीलाई खै के दु:ख छ र ?
धेरै भए भोक लाग्ला
धेरै भए हिँड्दा हिँड्दै कतै ढलिएला
हदै भए अस्पतालको आगन नटेकी मरिएला

हेर्नुस न हामी कति साँघुरो छौँ
सिर्फ आफ्नो जीवनको लागि अल्मलिरहेछौँ
सिर्फ आफ्नो पेटको लागि भौँतारिरहेछौँ
त्यसैलाई दु:ख भनेर बर्बराइरहेछौँ

हामीलाई खै के दु:ख छ र ?
दु:ख त यहाँ हजुरलाई छ नि
हामी नाथे जीवन चलाउने मान्छे
हजुर देश चलाउने शासक
यति ठुलो देशको सबै हिसाब किताब मिलाउनु
हजुरले पर्छ
रात विरात निवास निवास धाउनु
हजुरले पर्छ

हामी नाथे त हदै भए
भोलिको छाकको पिर गरौँला
पिर त हजुरलाई छ
हजुरले सोच्नुपर्छ
यो सत्तामा कसरी घुमिरहने ?
हजुरले सोच्नुपर्छ
हामीलाई कसरी घुमाइरहने ?

हामीलाई हदै भए मरिन्छ कि भन्ने पिर होला
हजुरलाई त कत्रो कत्रो चिन्ताले थिचिरहेछ

महामहिम ?
हजुर कति महान हुनुहुन्छ
कति उदार हुनुन्छ
कति समर्पित हुनुहुन्छ
जीवन नबाँचेर के भो त
यहाँ लास जलाउने घाट
हजुरले नै खोज्नुपर्छ
यहाँ लास डढाउने दाउरा
हजुरले नै जुटाउनुपर्छ
यहाँ लास ओसार्ने साधन
हजुरले नै जोड्नुपर्छ
साच्चै महामहिम
हजुरलाई चिन्ताको विशाल पहाडले थिचेको छ

महामहिम हजुरलाई हतार छ
हामी नाथे त पाइहाले श्रम गर्ने न हो
पसिना पोख्ने न हो
पाखुरा खियाउने न हो
हजुर त यो देशको ठेकेदार
भत्काएर यो देशको छाती
हजुरले नै टाल्नुपर्छ
फोरेर यो देशको खप्पर
हजुरले नै जोड्नुपर्छ
च्यातेर यो देशको मुटु
हजुरले नै सिउनुपर्छ

हजुरलाई खुप रमाइलो लाग्छ
खप्परमा ब्लास्टिङ हान्न
हजुरलाई खुप आनन्द आउँछ
करङको खुड्किला उक्लिन
हजुर औधी खुसाउनु हुन्छ
देश नाङ्गिएर भौँतारिदा
जे होस हजुर यो देशको मालिक
हजुर सोचिरहनु हुन्छ देश ।

हामी नाथे त झरेको पात न हौँ
हजुर त हावाको झोक्का हो
हामी फलामको ढिक्का न हौँ
हजुर त आरनको आगो हो
हामी नाथे त हजुरले उडाए
बत्तिदै कतै माथिसम्म उडेर खस्छौँ
हजुरले ताप दिए
रन्केर पग्लन्छौँ
हामी नाथेलाई के छ र ?
सबैभन्दा दु:ख त महामहिमलाई छ ।

तपाईको प्रतिक्रिया