हाल दक्षिण एशियाका पत्रकार महिलाको सञ्जाल (स्वाम)को अध्यक्षको रुपमा कार्यरत निर्मला शर्मा नेपाली पत्रकारिताको क्षेत्रमा अग्रस्थानमा आउने नाम मध्ये एक हो । साढे दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय शर्मासँग छापा, टेलिभिजन, अनलाइन, रेडियो सबै क्षेत्रको अनुभव छ । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समूह नेपालको सफल नेतृत्व गरिसकेकी शर्मा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार पनि हुनुहुन्थ्थो । प्रस्तुत छ, हङकङ खबरले उहासँग पत्रकारिता क्षेत्रमा रहेका चुनौती, अवसर र आफ्ना नीजि स्मृतिहरुसँग केन्द्रीत रहेर गरेको कुराकानीका केही अंश :
सन्चै हुनुहुन्छ, आजभोली केमा व्यस्त हुनुहुन्छ ?
सन्चै छु, कोभिडको त्रास छ । सुरक्षित रहेर काम गर्नु परिरहेको छ । भर्खरै सकिएको पत्रकार महासंघको निर्वाचनको बेला दौडधुप धेरै गरिएछ, थकाइ बल्ल मेटियो । अहिले ठिक छुु । पत्रकारितामा लागेको करिब २६ वर्ष भयो । यति धेरै समय घर बसेको पहिलोपटक हो । लकडाउनलाई सदुपयोग गर्न पढ्ने अवसर मिलेको छ । यस अघि पढ्न नपाएका केही किताव पढ्ने मौका मिलेको छ । मेरो धेरै समय पत्रकार र पत्रकारिता सम्बन्धी तालिम र छलफलमै बित्छ । यस्ता कार्यक्रम अहिले जुम मार्फत हुन्छन् । देशभरिका पत्रकारका कुरा सुन्न पाउने अवसर भएकोले समय मिलेसम्म यस्ता कार्यक्रममा सहभागी हुन्छु । दक्षिण एशियाका पत्रकार महिलाको सञ्जाल (स्वाम) को अध्यक्ष छु । त्यसका लागि पनि केही समय दिनुपर्छ । कोभिडको समयमा पत्रकारहरूले भोग्नु परेका समस्याका विषयमा छलफल गरिरहेका छौँ । सँगै पत्रकार महिलाले के समस्या भोगेका छन् भनेर सर्भे गर्ने काम पनि गरिरहेका छौँ ।
तपाई पत्रकारितामा कहिले प्रवेश गर्नुभयो । सुरुआती चरणका केही स्मृतिहरू भनिदिनु न ?
मैले २०५२ सालदेखि पत्रकारितालाई पेसा बनाएँ । तर म २०४९ सालदेखि नै लेख्ने काममा संलग्न थिएँ । पत्रकारिताको सुरुआतताका म राजनीतिक बिटमा समाचार लेख्थेँ । त्यसबेला मेरो जिम्मेवारी संसद रिर्पोटिङ् थियो । मलाई यो विषयमा रुचि थियो । त्यसैले सामान्यतया कुनै पनि संसदका बैठक र गतिविधि ‘कभर’ गर्न छोडिनँ । संसदमा त्यतिबेला धेरै पत्रकार पुरुष साथीहरू हुनुहुन्थ्यो । नियमित रुपमा संसदमा रिपोर्टिङ्मा जाने म एक जना मात्रै महिला थिएँ । कहिलेकाहीँ रमा पराजुली आउनुहुथ्यो । त्यतिबेला उहाँ कान्तिपुर दैनिकमा हुनुहुन्थ्यो, म सगरमाथा राष्ट्रिय दैनिकमा काम गर्थेँ । त्यस बेलाका संसदीय रिपोर्टरहरूमा नारायण वाग्ले, गुणराज लुइटेल, हरिबहादुर थापा, चिरिन्जीवी ढुगांना, शिव गाउँले, किरण पोखरेल, बिष्णु सुवेदीलगायतका साथीहरू हुनुहुन्थ्यो, जो अहिले धेरै जना सम्पादकीय नेतृत्वमा हुनुहुन्छ ।
हामी संसदमा नियमित रिपोर्टिङ् जान्थ्यौँ । कस्तोसम्म हुन्थ्यो भने म कुनै दिन रिपोर्टिङ्मा नगएमा धेरै सांसदहरूले आज महिला पत्रकार कहाँ जानुभयो भनेर सोध्नु हुन्थ्यो रे । कतिपय पत्रकार साथीहरू ‘हामी नआउँदा कसैले सोधखोज गर्दैनन्, तपाईंको कत्रो भाऊ’ भनेर रमाइलो गर्नुहुन्थ्यो । अर्को रमाइलो कुरा त त्यतिबेला मोबाइल थिएन । अनौपचारिक समाचार खोज्न सुलसुले जस्तै गरेर संसद भित्रका समितिहरू र शाखा महाशाखामा पस्नुपर्थ्यो । कुुनै समाचारको ‘क्लु’ थाहा भयो भने पुरुष पत्रकारहरू एकाएक गायब हुनुहुन्थ्यो । मलाई किन नबोलाएको भनेर रिसाउँथेँ । महिलालाई बोलाउने आँट कसरी गर्नु, अरुले जिस्काइ हाल्छन् भन्नुहुन्थ्यो । एकदिन उहाँहरू कहाँ जानुभएको हो भनेर नसोधी पछिपछि गएको त ट्वाइलेट पो गएका रहेछन् । अरुले समाचार ब्रेक गर्ला र म पछि परुला भन्ने ठूलो पिर हुन्थ्यो मलाई । सुरुका केही समय बाहेक ब्रेकिङ, बिश्लेषण र समाचार टिप्पणीमा म खासै पछि परिनँ । पछिपछि त माननीयहरूले मलाई समाचार टिपाउने हुनाले कतिपय समाचार त म पहिले ब्रेक गर्थेँ । अहिले जस्तो प्रतिस्पर्धा थिएन, राम्रो समाचार लेख्नेले तुरुन्तै चर्चा पाउँथ्यो ।
सानो छँदा तपाईलाई के बन्छु भन्ने थियो ? पत्रकारितामा कसरी आउनुभयो ?
म के बन्छु भनेर सोच्ने अवसर नै मैले पाइनँ । एसएलसी पास गर्नेबित्तिकै विवाह भयो । विवाह गरेपछि पनि पढाई निरन्तर हुनुपर्छ भन्ने शर्त थियो । त्यही भएर पढाइको मात्रै चिन्ता गरे कि जस्तो लाग्छ । यो बिचमा दुई छोरी पनि जन्मिए । पढाइलाई पनि निरन्तरता दिएँ । एमए दोस्रो वर्षको अन्तिम परीक्षा दिएपछि मात्र म पत्रकारितामा आएँ । मेरो घरको वातावरण पत्रकारिता त्यसमा पनि साहित्यिक पत्रकारितामा थियो । त्यसले मलाई कता कता पत्रकारिता गर्न प्रेरित गर्यो होला जस्तो लाग्छ ।
तपाईले पत्रकारिता सुरु गर्दा पत्रकार महिलाको उपस्थिति कस्तो थियो ? घर र समाजले कसरी हेर्थ्यो ?
पत्रकार महिलाको संख्या एकदमै थोरै थियो । सरकारी सञ्चार माध्यम रेडियो र टेलिभिजनमा काम गर्ने केही पत्रकार महिला भए पनि प्राइभेट मिडियामा काम गर्ने महिला त एकदमै थोरै थिए । पत्रकार महिलाको संख्या औलामा गन्न सकिने भएर होला यो पेसाभित्र लगभग सबैले चिन्थे ।
नेपाली पत्रकारितामा अहिले पनि पत्रकारले काम अनुसार तलव नपाएको अवस्था छ । त्यसमा पनि महिला पत्रकारको अवस्था त झनै नाजुक छ ।
तपाईले पत्रकारिता सुरु गर्दा कति थियो तलब , भन्न मिल्छ ?
मैले जतिबेला पत्रकारिता सुरु गरेर यसलाई पेसाको रुपमा अपनाएँ । त्यसयता मैले कहिल्यै पनि बिना पारिश्रमिक काम गरेको छैन । मेरो पहिलो महिनाको तलब ३,५०० थियो । यो २६ वर्ष अगाडिको कुरा हो । अहिले पनि पत्रकारले बिना पारिश्रमीक काम गरेको अध्ययनहरूले देखाएको छ । यस्तो अवस्था हुनु दुःखको कुरा हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक पत्रकारहरूले पाउनै पर्छ भन्नेमा मेरो जोड छ ।
तपाईको पहिलो समाचार कुन थियो ? पहिलो बाईलाइन याद छ ?
याद छ । बाटोमा मकै पोलेर बेच्ने श्रमिकहरूको दिन चर्या बारे थियो । एउटा वाइलाइन रिपोर्टिङ् छापिएपछि अलि बढी नै हंगामा भयो । शिर्षक थियो ‘बहुविवाह सम्बन्धी कानुन : कानुन बनाउनेहरूबाटै उल्लंघन ।’ यो समाचार छापिएपछि मलाई धेरै तत्कालीन मन्त्री, सांसद र वरिष्ठ अधिवक्ता लगायतका व्यक्तिबाट फोन आयो । पूर्व प्रधानमन्त्री, एकजना मन्त्री, एकजना वरिष्ठ वकिल र थुप्रै नेता र सभासदहरू बहुविवाहवाला थिए । धेरैजसोले यसलाई गुपचुप राख्न चाहन्थे । पछि त बहुविवाह सम्बन्धी कानुन पनि संशोधन भयो र यसलाई गैर कानुनी र दण्डनीय बनाइयो ।
पत्रकारको निम्ति पेसागत सुरक्षाका चुनौतिहरू के के हुन् ?
पत्रकारको लागि पेसागत सुरक्षा नै प्रमुख चुनौति हो । पत्रकारितामा ‘ग्लामर’ भए पनि राम्रो तलब सुविधा छैन । त्यसैले धेरै पत्रकारले बाइलाइनबाट आफूलाई चिनाए पनि आर्थिक रुपमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । भौतिकरुपमा असुरक्षीत पनि छन् ।
पत्रकारिता पेसामा पत्रकार महिलालाई टिकिरहन अहिले पनि गाहो छ । पारिवारिक हिसाबले तपाईले कस्तो सहयोग पाउनुभयो ?
पहिलो त पेसाप्रति मेरो प्रतिबद्धता नै हो । मैले लगातार काम गरिरहेँ । त्यसपछि परिवारको सहयोग भन्दा पनि असहयोग भएन, जसले गर्दा मलाई काम गर्न अवरोध भएन । मुख्य कुरा केही गरेर देखाउनु पर्छ भन्ने इगोले मलाई पत्रकार बनायो । पत्रकारितामार्फत समाजमा रहेका विभेदविरुद्ध निरन्तर आवाज बुलन्द गर्नुपर्छ भन्ने सोच थियो र अहिले पनि छ । दैनिक १५,१६ घण्टा काम गर्ने जाँगरले यहाँसम्म ल्याई पुर्यायो ।
लामो समय सञ्चारिका समूहको नेतृत्वमा धेरै पत्रकार महिलालाई तालिम दिएर पत्रकार उत्पादन गर्नुभएको छ । पत्रकार महिलाका अवसर र चुनौति के हुन् जस्तो लाग्छ ?
देशभर पत्रकारहरूका लागि तालिम सञ्चालन गरियो । करिब दुई हजार भन्दा बढी पत्रकार महिलालाई आधारभूत पत्रकारिता तालिम दिएर पत्रकारितामा ल्याउनका लागि निरन्तर लागेँ र सफल पनि भएका छौँ जस्तो लाग्छ । धेरै पत्रकार महिलाहरू अहिले मुलधारे पत्रकारितामा मजाले जम्नुभएको छ । उहाँहरूका बाइलाइन पढ्दा, कार्यक्रम सुन्दा र हेर्दा आनन्द आउँछ । अहिले हिजो भन्दा पत्रकारितामा अवसर राम्रो छ । त्यसैगरी काम गरेर देखाउँछु भन्ने महिलाका लागि पनि अवसर छन् । तुलनात्मक रुपमा हिजो भन्दा त सहज पनि छ । तर यस क्षेत्रमा महिलाका लागि चुनौती पनि उत्तिकै छन् । काममा चुनौती छ । काम गर्ने वातावरण पनि सहज छैन । पाइला पाइलामा असजिलो भोग्नु पर्छ । पारिश्रमिक ठिकै छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष हर क्षण संघर्ष गर्नुपर्छ । त्यो चुनौती सामना गर्ने आँट भएका महिला पत्रकारका लागि अहिले पत्रकारितामा मौका छ ।
तपाईसँग पत्रकारिताको सबैजसो विधा (छापा, रेडियो, टि.भी.र अनलाइन) मा काम गरेको अनुभव छ । काम गर्दा सबभन्दा बढी आनन्द केमा आउँदो रहेछ ?
हिजो मलाई मन पर्ने विधा छापा थियो । पछिल्लो समय अनलाइन र टि.भीमा काम गरेकोले होला अहिले अनलाइन र टेलिभिजन विधा मन पर्छ । म सञ्चारिका समूहको अध्यक्ष भएपछि हाम्रा आवाज सुनिने र पढिने ल्याउनु पर्छ भनेर मैले महिला खबर अनलाइनको शुभारम्भ गरेँ । अबको मिडिया अनलाइन नै हो भन्ने कुरा मलाई ८ वर्ष अघि नै लागेको रहेछ ।
पछिल्लो समय त तपार्ईं समकोण टि.भी. कार्यक्रममार्फत टेलिभिजनमा पनि छाउनुभयो । आम नेपाली महिलाका लागि त सेलिब्रेटी नै बन्नुभयो हैन त ?
मैले यसअघि छापा, रेडियो र अनलाइनमा काम गरिसकेकी थिएँ । पछिल्लो ७ वर्ष यता मैले टि.भी. कार्यक्रम ‘समकोण’ साप्ताहिक रुपमा उल्पादन र सञ्चालन पनि गरेँ । सामाजिक विषयलाई टेलिभिजनको प्राइम टाइममा हेरिने र सुनिने मुद्दा बनाइनु पर्छ भन्ने सोचले नै यो कार्यक्रमको परिकल्पना मैले गरेर सुरु गरिएको थियो । हामीले ६० भन्दा बढी जिल्लामा पुगेर करिब ३ सय वटा एपिसोड उत्पादन गरियो र प्रत्येक हप्ता एक घन्टा कान्तिपुर टि.भी.मा प्रशारण पनि भयो ।
त्यसैले होला हामी धेरै नागरिकको मन मुटुमा बस्न सफल भयौँ यो कार्यक्रम मार्फत । एउटा पत्रकारका लागि आफूले सञ्चालन गर्ने कार्यक्रम वा समाचारले सानो ठूलो प्रभाव पार्यो भने पत्रकारका लागि खुशी लाग्ने कुरा नै त्यही हो ।
यतिबेला मिडियाले उठाएका कन्टेन्ट कस्ता छन् ?
खोजी रिपोर्टिङ कम छन् । सामाजिक विषय भन्दा राजनीतिक समाचार, त्यसमा पनि दलभित्रका गुटगत रिपोर्टिङ् बढी छन् । दलभित्रका नेताका आपसी झगडालाई राजनीतिक समाचारको नाम दिइन्छ । ती समाचार पढे पनि हुन्छ । एक वर्षसम्म कुनै राजनीतिक समाचार नपढ्नुस् तपाँइले केही छुटाउनु भएको हुन्न । भनेपछि हामी कस्ता समाचार छापिरहेका छौँ, पढिरहेका छौँ ?
तपाई यसपटक नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा चुनाव लड्नुभएको थियो । धेरैले तपाईंको जित सुनिश्चित छ भन्ने अनुमान गरेका पनि थिए । तर…
मलाई पनि जित्छु जस्तै लागेको थियो । दलीय राजनीतिको प्रभाव पत्रकार महासंघमा अलि धेरै नै पर्यो । तर पत्रकारहरूले सम्मानजनक भोट दिनु भएको छ । यसलाई हार मानेको छैन । पत्रकारहरूको मात्र चुनाव भएको भए मैले जित्थेँ । दलहरूले पत्रकार महासंघको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाए । जुन हुन नहुने विषय थियो ।
अन्त्यमा पत्रकारितामा आउन चाहने र यो पेसामा संघर्ष गरिरहेका पत्रकार महिलालाई के भन्न चाहानुहुन्छ ?
यो सञ्चारको युग हो र डिजिटल युग हो । यसमा पढेलेखेका व्यक्ति नै आउने हो । पत्रकारिता व्यवसायिक भयो भने लोकतन्त्र बलियो हुन्छ । यो पेसामा आत्म सन्तुष्टि छ, मेहनत गर्न सक्यो भने काम र दाम दुवै छ । तर लगातारको खटाइ त चाहिन्छ नै । मुलुकको परिवर्तन चाहने युवाहरूको आर्कषण बन्न सक्नुपर्छ –पत्रकारिता ।