हाल हङकङमा बसेर कलम चलाउदै आएका कवि रोशन याक्सो सचेत तर चुपचाप लेखीरहने कवि हुन् । आफ्ना लेखनमा सिमान्तकृत आवाज दह्रोगरि ल्याउनु अथवा आउनु उनको कविताको प्रमुख विशेषता हो साथै मान्छेका मनोदशा पनि उनको कविताले शसक्तरुपमा बोकेको हुन्छ प्रस्तुत छ साताको तीन कविता
बिर्सीएका धुनहरु
अरुले झै उनिहरुले पनि गाएका भए
माया प्रेमका अनि सस्ता बजारु गीत
चल्तिको हिरोइनका लागि आइटम नम्बर
उनिहरुलाई भेट्न देख्न सकिन्थ्यो
महोत्सवहरुमा स्टेज तताउँदै गरेको
तारे होटलका ककटेल पार्टीहरुमा जम्दै गरेको
वा माननीय भएर संसदमा विराजमान भएको ।
तर त्यसो गरेनन् उनिहरुले
बरु हार्मोनियमका रिडमा औला नचाएर
विद्रोहको ज्यूदो जाग्दो धुन निकाले
गितारको स्ट्रीङ घोटदै रगत उमाल्ने गीतहरु गाए
मादल-ढोल-झ्याम्टा बजाउँदै पहाड पर्वत ब्युझाए
जनताका घर आँगनमा जनता कै गीत गाए
बरु गाए अन्याय र असमानता विरुद्वका गीत
र त यतिबेला उनिहरु गुमनाम छन् ।
उनिहरुले गाएनन् राजा महाराजहरुको जय गान
बरु गाए स्वेच्छाचारी शासक विरुद्धका गीत
बरु तयार भए प्रतिबन्ध झेल्न
तयार भए जेल नेल भोग्न
तर गाउन छाडेनन् गाउँ बस्ती ब्यूझाउँने गीतहरु ।
सडकबाट सत्तामा छलाङ मार्नेहरुलाई
अझै याद होला कि नहोला ?
जिन्दगीका कुनै मोडहरुमा उनिहरुको पाइला रोकिदा
पाइतालामा उर्जा भरि दिने
दुश्मनका किल्ला कब्जा गर्ने आँट
राता मान्छेहरुको छातीमा जगाइ दिने
नैराश्यताका बादलले ढाकेर घोर अन्धकार हुदा
आशाका उज्याला गीत गाइदिने
गाउँ गाउँमा जनताका गीत गाएर
बस्ती बस्तिमा मुक्तिका गीत गाएर
देशै जुरुक जुरुक उचाल्नेहरु
तिनै त थिए जो अहिले गुमनाम छन् ।
उनिहरुले पनि गाएका भए
केही थान ‘डान्सिङ नम्बर’ र ‘ट्रेण्डिङवाला’ गीतहरु
उनिहरुलाई नि भ्याइनभ्याइ हुन्थ्यो होला
चल्तिका रेडियो-टिभी वा यूट्युब च्यानलमा अन्तर्वार्ता दिन
तर उनिहरुले गाए शोषण दमन विरुद्धका गीत
जागरणका गीत / चेतनाका गीत
गाए जनताका मुक्तिका गीत
र त उनिहरु गुमनाम छन् ।
यतिबेला माइला लामाहरु प्रतिबन्धित छन्
बिद्रोही/मोहित, किशोर, झन्कारहरु गुमनाम छन्
गुमनाम छन निर्मला-सारदा- प्रगती-केशरी-सिताहरु
तर कुनै दिन
देशले गुनगुनाउनु पर्यो भने परिवर्तनका भाका
जनताले गाउनु पर्यो भने आफ्नो पिर मार्का
सबै भन्दा पहिले खोजिने छ उनिहरुकै आवाज ।
शीतलहर
हरेक वर्ष यहाँ मधेसमा
हिउँद शीतलहर बनेर आउँछ
चाहार्छ बस्ती बस्ती
डुल्छ शहर-देहात
छिर्छ गरिबको छाप्रो भित्र
र टपक्क टिपेर लान्छ निमुखाको प्राण ।
बिडम्बना……
आज सम्म कुनै प्रमिथस आएन
उनिहरुका लागि आगो बोकेर
नत्र उनिहरुले नि बडो जतनका साथ
जोगाएर राख्नेथे अगेनामा आगोको बिउँ
हुर्काउथे त्यसलाई अनि ताप्थे न्यानो चाहिएको बेला ।
त्यसो त यतिका वर्ष बर्षातमा
भेल बाढी घरका चोटा कोठा
खेत खलियानमा मनमौजी रुपमा पसेर
सपनाहरु सिनित्तै बगाइ लादा पनि
कोहि आएका होइनन् उनिहरु सम्म लेप्मुहाङ बनेर ।
डिपार्चर
जसरी न्यानोको खोजिमा हरेक हिउँद
बसाइँ सरि जान्छन चराहरु…..
ठिक त्यसै गरि
हरेक दिन सुखको खोजिमा
यहाँबाट प्रस्थान गर्छन देशका हजारौं नौजवानरु
कोहि मलाया अनि कोही अरबको खाडीमा ।
जहाँबाट ल्याउनु छ उनिहरुले –
आफ्नो लागी थोरै खुशी……..
परिवारका लागी थोरै हासो…….
आफन्तका लागी थोरै मुस्कान ।
यहिबाट प्रस्थान गरेर
रेगिस्तानी भूमिमा पसिनाको मुल फुटाएर
पराइका लागि जिवनका हरियाली उमार्नेहरु…
भर्भराउँदो जवानीको महत्वपूर्ण समय खर्चेर
अरुकै लागि सम्मृद्विको बुर्ज खलिफा ठड्याउँनेहरु…
अनि शान्त विहानिको भूमीमा
यन्त्रमानव झै दिनरात नभनी खटिनेहरु…..
आफुले खाएको कसमको जालोमा जेलिएर
उपनिवेशवादको विजय झण्डा फहराउँन
फकल्याण्डमा धावा बोल्न लामबद्व हुनेहरु….
सम्राज्यवादको दादागिरी बरकरार राख्न
इराक अफगानिस्तानमा बम-बारुद बिच परेड खेल्नेहरु….
आफ्नो जिन्दगी नै दाउँमा राखेर
सपना खरिद गर्न निस्केका सपनाका सौदागरहरु…
फर्केलान् त साथमा लिएर –
बूढी आमाको लागि फन्के साडी ?
बूढो बाउको लागि हातको घडी ?
छोराका लागि एक थान नयाँ मोबाइल ?
छोरीको लागि ऊ जस्तै पुतली खेलौना ?
श्रीमतिका लागि केही थान गहना ?
अनि छातीको देब्रे पाटोमा सकुसल चल्दै गरेको
देशको माया बोकि हिड्ने आफ्नो ढुकढुकी ?
कि सबै सबैलाइ रुवाएर
फर्केलान् काठको बाकसमा आफै प्याक भएर ?
जनावर झै आफ्नो नागरिक बेचेर
रेमिट्यानसमा रमाउने सरकारलाई केही नसोध्नु
किन कि यतिबेला ऊ
‘सम्मृद्व नेपाल- सुखी नेपाली’को मन्त्र जप्न व्यस्त छ ।
नोट लेप्मुहाङ – मुन्धुम अनुसार पृथ्वीमा (जल)प्रलय आउँदा लेप्मुहाङले आफ्नो डुङ्गामा राखेर जिवजन्तु / मानवहरुको उद्दार गरेका थिए ।