श्याम साह नेपाली आख्यानमा सशक्त र हस्तक्षेपकारी उपस्थिति जनाएका लेखक हुन् । सिराहामा जन्मे हुर्केका साहको लेखनमा मधेश र त्यसमा पनि सिमान्त मधेशको परिवेश चित्रित छन्। उनका अब्बा (२०७१) र पथेर (२०७७) गरेर दुई कथा सँग्रह प्रकाशित छन् भने उनका कथाहरूले नेपाली राष्ट्रिय दैनिकहरूमा उल्लेखनीय स्थान पाउँछन् । प्रस्तुत छ उनको कृति र लेखन माथि केन्द्रीत रहेर कवि तथा अभियन्ता प्रणिका कोयुले गरेको कुराकानी ।
श्यामजी, अब्बा २०७१ मा प्रकाशित भयो र २०७७ को अन्तिममा पथेर आयो। यो ६ वर्षको अन्तरालमा ११ वटा कथा मात्र लेख्नुभयो त ?
कथा त १२ वटा नै लेखेको हुँ । एउटा भने बालकथा लेखेको थिएँ । प्रभाती किरणले सम्पादन गर्नु भएको सुनगाभा नेपाली शृङ्खला ६ मा छापिएको छ । बाँकी ११ वटा कथा भने यस सँग्रहमा छ ।
जहाँ सम्म मात्रको कुरा छ, म छिटो र धेरै लेख्न सक्दिन । एउटा कथालाई सरदर छ महिना मेरो लागि स्वाभाविक हो । छोटा कथाहरु अलि छिटै पनि सकिन्छ । तर लामा कथाहरु खास गरी चार हजार शब्द देखि माथिका कथाहरु लेख्न मलाई समय नै लाग्छ ।
अघिल्लो कथा सँग्रहमा भएका कथाहरु पनि लगभग त्यति नै अवधिमा लेखिएका कथाहरु थिए । यस बीचमा बरु एउटा कथालाई स्क्रीप्ट बनाउने काम पनि गरियो ।
कथालाई स्क्रिप्ट बनाउने कुरा गर्दा, सम्झें कि तपाईंको अब्बा सँग्रहको ‘लाटीको छोरा’लाई नाटकमा रूपान्तरण गरेर मञ्चन पनि गरियो। यसरी नै अन्य कथाहरूले साहित्यका अन्य विधामा पनि रूपान्तरण हुने संभावना कत्तिको छ ? त्यसो हुँदा तपाईंको लेखनलाई न्याय हुन्छ त ?
त्यो संभावनालाई म नकार्दिनँ । तर रुपान्तरण गर्ने कथाले बोकेको विषयलाई कसरी प्रस्तुत गरेको छ भन्ने कुराले अर्थ भन्ने राख्छ । जहाँ सम्म न्याय गर्छ कि गर्दैन भन्ने प्रश्न छ मैले त्यसलाई सापेक्षता र सान्दर्भिकताको आधारमा हेर्छु ।
अरु विधाका पनि आफ्ना छुट्टै श्रोता हुन्छन् । त्यस हिसाबले यसले नयाँ पाठक पाउँछन् । खास गरी कथालाई दृश्यमा रुपान्तरण गर्नु आफै चुनौतीपूर्ण विषय हो । यदि कसैले त्यस चुनौतीलाई स्विकार गरेर कथाले बोकेको विषयवस्तुलाई नबंग्याई कलात्मक ढंगले प्रस्तुत गर्छ भने दिनु पर्छ जस्तो लाग्छ ।
जहाँ सम्म तपाइँले भन्नु भएको कुरा ठिक हो, कथा पढ्दा एक खालको प्रभाव हुन्छ । पात्र र परिवेशलाई लिएर एक प्रकारको चित्र हामी आफैले निर्माण गरिसकेका हुन्छौ । र ती रुपान्तरणहरुले त्यस कुरालाई न्याय गर्न सकेन भने खल्लो भन्ने हुन्छ । त्यो चुनौती भने सधै रहन्छ ।
तपाईंको दोस्रो कथा सँग्रह पथेर प्रकाशित भएपछी आएका प्रतिक्रियाहरू के के हुन् ? पाठक र समालोचकले गरेका समिक्षामा समानता र भिन्नता के पाउनुहुन्छ ?
प्रतिक्रियाहरु समग्रमा उत्साहप्रद नै छ । खास गरी तराईका भुगोल र त्यहाँका समाजसँग परिचित हुनेहरुले कथामा आफू बसेको समाजको प्रतिविम्व देखेका छन् । खास गरी पात्रहरु दोहरिरहने भएको कारणले मसँग मानिसहरु सिधै ती पात्रका बारेमा कुरा गर्छन् । यद्यपि प्रतिक्रियाहरु सबै एकै खालका हुँदैन ।
पाठकहरुबाट आउने प्रतिक्रिया कथामा भएका घटना र त्यसमा भएका पात्रहरुको नियतिसँग जोडिएर आउँछ । जस्तो, ” टु ट्वान्टी ” कथामा पात्रलाई नमारेर अरु केही गराएको भए हुन्थ्यो । मिनाक्षी कथामा मिनाक्षीले अझै संघर्ष गर्नु पर्थ्यो । यस प्रकारका प्रतिक्रिया एक अर्थमा राम्रै हुन् । किनकी कुनै न कुनै रूपमा प्रभाव परे पछि मात्र यस प्रकारको प्रतिक्रिया आउने गर्छन् ।
समालोचकबाट हुने समिक्षा र पाठकिय समीक्षामा भिन्नता हुन्छ नै । किनकी त्यहाँ समालोचकका दृष्टिकोण, उनको वैचारिकी, जिवनदृष्टि, मूल्य तथा मान्यताहरु सबैले असर गरिरहेका हुन्छन् । जुन सवैमा एकै प्रकारको हुँदैन । त्यहाँ पनि फरक फरक हुन्छ । विशेषगरि महिला पात्रहरुलाई प्रस्तुत गर्दा त्यसको एक खालको सत्ताले बनाएको सौन्दर्यचेत हावी हुनु । त्यस प्रकारको समिक्षाले एक प्रकारले फर्केर हेर्न बाध्य पार्छन् नै । साथै सिक्नका लागि पनि मदत गर्छ ।
एउटा कथाकारले आफ्नो रचनाहरूलाई सँग्रहमा राख्ने -नराख्ने आधार के हो ? पथेर र अब्बामा नअटाएका कथाहरू सालाखाला कति जति छन् ? पाठकहरूले तिनलाई पढ्न पाउँछन् कि पाउँदैनन् ?
अब्बा पछि लेखिएका कथाहरु एउटा बालकथा बाहेक सबै नै यस सँग्रहमा सँग्रहित छ । अब्बा निस्कनु भन्दा अगाडिका कथाहरु भने सबै सँग्रहित छैन । र ती कथाहरु सबै नसमेटिनुको त्यस्तो कुनै वैचारिकी वा वैज्ञानिक कारण अथवा कुनै निश्चित तर्क छैन । यस्ता कथा ८ देखि १० वटा छन् । ती कथाहरु कसैलाई देखाएर वा कसैको सल्लाहमा नराखेको होइन । मैले आफैले छनोट नगरेको हो । यसको प्रमुख कारण भनेको ती कथाहरु मेरा प्रारम्भिक सिकाई वेलाका कथाहरु हुन् । जहाँ कोरा भावुकता बढी नै थिए ।
कथा लेखनसँगै त्यस सम्बन्धी अध्ययनको दायरा जति बढ्दै गए ती कथाहरु त्यति हलुका लाग्दै गए । तर यसको अर्थ यो पनि होइन कि ती कथाहरुको सान्दर्भिकता सकेको होस । ती कथाहरु फेरी पुनर्लेखन गर्न सकिन्छ ।तर त्यस भन्दा पनि मेरा अगाडि केही महत्वपूर्ण विषयहरु छन् र मैले ति विषयमा लेख्दैछु।
पहिलो सँग्रहको व्यापक चर्चा र सराहना भएपछी दोस्रो सँग्रह निकाल्दा अलि दबाब हुन्छ भनिन्छ। यस भनाईमा यहाँको अनुभव कस्तो रह्यो ?
दबाबमा म लेख्नै सक्दिनँ । त्यसैले अर्को १२ वटा कथा लेख्न ६ वर्ष लाग्यो । चुनौती भने थियो । किनकी केहि कथाको समिक्षा र चर्चाले आफ्नै प्रकारको उचाइ बनाएको थियो । खासगरी लाटीको छोरो विषयवस्तुसँगै मानवीय संवेदनाको पाटोलाई बढी छुने भएको बढी चर्चा हुनु स्वाभाविक थियो ।
यस कथा सँग्रहमा मैले चुनौती बोध गरेको मूलत ३ वटा कथाहरुलाई लिएर हो । “मिनाक्षी” “नाकाबन्दी” “पथेर” । किनकी बाँकी सबै कथाहरु दैनिक तथा मासिक रुपमा निस्कने पत्रिकाका विशेषांकहरुमा छापिएका थिए । तीन कथा मध्ये ” मिनाक्षी” दिपक सापकोटाले सम्पादन गर्नु भएको प्रेम कथाहरुको संगालो पर्फ्युममा छापिएका थिए । दुई वटा कथाहरु “नाकाबन्दी ” “पथेर” अप्रकाशित थिए ।
यी तीन वटा कथाहरु मूलत दुई वटा कारणहरुले गर्दा चुनौतीपूर्ण थिए । पहिलो कारण कथाको लम्बाई थियो । ८ हजार देखि १३ हजार शब्द सम्मका कथाहरु हुन । त्यस हिसाबले पनि आधा किताब भन्दा बढी स्थान यी तीनवटा कथाले ओगटेका छन् । यस प्रकारको कथाको ठूलो जोखिम पाठकलाई बाँध्न नसक्ने हुन सक्छ । त्यसो भयो भने ती केवल शब्दहरुको थुप्रो मात्र हुने सम्भावना रहन्छ । कसैलाई पढ्न दिदाँ मैले पहिलो जिज्ञासा नै पट्यारलाग्दो त भएन भन्ने नै हुन्थ्यो।
दोश्रो विषय यसले बोक्ने राजनीतिको थियो । खास गरी “नाकाबन्दी” कथामा झन बढी थियो । किनकी यसको पुरै विषय दोश्रो मधेश आन्दोलन र त्यसको विषद अवसानसँग सम्बन्धित थियो । यसको प्रमुख कारण प्रत्यक्ष राज्य सत्ता मात्र थिएन । जनताहरुको विभक्त मानसिकता पनि थियो । त्यस विभक्त मानसिकताको केन्द्रमा राष्ट्रवाद । त्यस राष्ट्रवादलाई पैरवी गर्ने राम्रै पठन सँस्कृति भएका मानिसहरु थिए र छन् पनि । त्यसलाई विषयलाई पनि असर गर्ने भएको कारणले यो चुनौतीपूर्ण विषय थियो ।
अर्को विषय महिला, त्यससँग जोडिने यौनिकता र त्यसको चरित्र चित्रण मेरो लागि सधै चुनौतीको विषय हो । कुनै समय ठूलै विद्रोह गरेकी महिला एक समय कसरी त्यति निरिह हुन सक्छ ? यस विषयमा अलि सोचिएको पनि हो । तर यो हाम्रो समयको खतरनाक सत्य हो ।
अंश र वंशको अधिकार अहिलेको संविधानले पनि पुरुषलाई नै दिएको छ । हामीले गर्ने भनेको त्यसको उजगार हो । त्यस विरुद्धको निरन्तर संघर्ष हो । र यसका पात्रले गर्ने पनि संघर्ष नै हो । तर कथामा आफैले नभएको अधिकार दिइयो भने अतिरंजित हुन्छ ।
अर्को विषय सिमा वारी पारीको सम्वन्ध र असंगठित श्रमसँग जोडिएको थियो । यो आफैमा जटिल विषय थियो । भारतिय सत्ताको अनुहाँर दिमागमा राखेर त्यहि सत्ताबाट पिडित तर यता आएर काम गर्ने आप्रवासीहरु श्रमिक अवस्था चित्रण गर्न सकिदैन । यसका लागि पहिलो सर्त नै दुबै देशमा गएर काम गर्ने आप्रवासी मजदुरहरुको अवस्था र त्यसलाई प्रयोग गर्ने सत्ताको मानसिकता एउटै छ भन्ने बुझ्नु पर्छ भन्ने हो । यसरी विषयवस्तुको हिसाबले कति न्याय गर्न सकिन्छ भन्ने विषय चुनौतिपूर्ण थियो ।
महिला पात्रको चित्रणमा सिमितताको कुरा गर्नुभयो। मलाई लागेको चाहीं के हो भने तपाईंका पुरूष पात्रहरू आफ्नो परिस्थिति जे होस् उनीहरू स्वयँ बोलिराखेका, गरिराखेका छन्। तर महिला पात्रहरूलाई हामी पुरूष पात्रको वा सुत्रधारको बोलीबाट चिन्छौं। यस्तो किन भएको होला ? जस्तै पथेर सँग्रहमा ‘मिनाक्षी’ कि मिनाक्षी, अब्बा सँग्रहको “अब्बा” की रूक्साना। कथा उनीहरूकै हो, तर फेरी उनीहरूको हैन। किन होला ?
त्यो मेरो सिमितताले हो । म पुरुष हुनुको सिमितता । त्यसले मलाई एउटी महिलाको सोच्ने तरिका, अनुभित तथा संवेदना, उनीहरुले आफूलाई व्यक्त गर्ने तरिका र त्यसको भाषा निर्माण स्वाभाविक रुपमा गाह्रो विषय हो । त्यस पछि मैले भर पर्ने भनेको नजिकबाट नियालेको समाज हो । जहाँ विवाह पछि महिलाको नाम समेत लिइदैन ।
र अन्त्यमा आफूले अहिले सम्म गरेको अध्ययनको दायराले हो । धेरै जसो महिलालाई केन्द्रिय पात्र बनाइएका तर पुरुषले लेखेका महान भनिएका आख्यानहरुमा सुत्रधार पुरुष नै छन् । सायद यिनै कुराहरुले प्रभाव पारेको हुन सक्छ । यद्यपि अब्बा कथा सँग्रह मध्येको एउटा कथामा भने प्रमुख पात्र र सुत्रधार महिला नै छन् ।
तपाईं आफैलाई चाहीं तपाईंको रचनाहरू कस्तो लाग्छन् ? पाठक श्याम साह र लेखक श्याम साहको सहमति – असहमति कस्ता छन्?
खास गरी कुनै कथा लेख्दा मैले छान्ने विषय नै हो । ती विषय निकै समान्य पनि हुन सक्छ । र ती विषयलाई प्रस्तुत गर्न आख्यान बुन्ने हो । तर समाजका विषयहरु एकलै हुँदैन । अरु विषयहरुसँग जेलिएका हुन्छन् । जसले गर्दा आफूले छानेका विषयमा मेहनत गर्दा त्यससँगै जोडिएका विषयहरुमा खासै बलियो नभइ दिन सक्छन् ।
केही छोटा कथामा देखिएका कमजोरी यिनै हुन । लेख्नु अगाडि र लेख्ने क्रममा दुबैले एक अर्कालाई राम्रै सघाउने गर्छ । किनकी लेख्दा लेख्दै बीचमा छोडिएका केहि विषयहरु छन् । त्यो पाठक कै सचेतताले होला जस्तो लाग्छ ।
यही सिलसिलामा सोध्न मन लागेको अर्को कुरो चाहीं यहाँका पात्रहरू जुन परिवेशका छन्, त्यो परिवेशले यी कथाहरू पढ्ने मौका पाउँछन् कि पाँउदैनन्, पाएका छन् कि छैनन् ? कसरी बुझेका छन् श्याम साहका कथाहरूलाई? पाएका छैनन् भने किन पाएका छैनन्?
म अरु भूगोलको त भन्न सक्दिनँ । तर मैले मेरो ठाउँमा खासै पढेका छैनन् भन्न सक्छु । मेरा केहि सरहरु हुनुहुन्छ जसले पहिले देखि नै पढ्न रुची राख्नु हुन्थ्यो र वहाँहरु किताब मगाएर पढ्नु हुन्थ्यो ।
पत्रपत्रिकामा आएका कथाहरु समाजिक संजालमा पनि देखिने भएको कारणले केही साथीहरु र चिने जानेकाले पढ्ने हो । तर खास कथामै उल्लेख गरिएका जस्ता पात्रहरु चाहे तिनीहरु जुन सुकै वर्गका हुन्, खासै पढेको र प्रतिक्रिया गरेको मलाई थाह छैन । यसको कारण पठन सँस्कृतिको विकास हुन नसक्नु हो । यसका अन्य थुप्रै कारण हुन सक्छन ।
पहिलो कारण त शिक्षामा पहुँच नहुनु हो । अक्षर नचिने पछि पढ्ने कुरै भएन । दोश्रो कारण त हाम्रो शिक्षा प्रणाली नै हो । अहिलेको शिक्षा प्रणालीले सबै भन्दा बढी जोड दिने नै प्राविधिक ज्ञानमा हो । जुन मूलत लगानी र प्रतिफलसँग जोडिन्छ ।
प्राविधिक ज्ञानसँगै जिवन पद्धति, मूल्य मान्यता तथा जीवन दृष्टिकोण पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा अहिलेको शिक्षा प्रणालीले महत्व दिदैन । जसले गर्दा भाषा, साहित्य, समाज र इतिहास जस्ता विषयहरु मानिसहरुका प्राथमिकतामा खासै पर्दैन । प्राविधिक शिक्षासँगै यी विषयहरु पनि जोडिदै लग्नु पर्थ्यो । तर हाम्रो शिक्षा प्रणालीले त्यसलाई छ्ट्याउँदै लग्यो ।
माथिका विषय समग्रताका विषय भए । मधेशका विषयमा अझ केही थप विषयहरु छन् । पहिलो विषय भाषिक विभेद नै हो । एउटा भाषा एउटै भेष नीतिले सबै भन्दा असर पारेको एउटा समुदाय मधेश हो । आर्थिक विपन्नतासँगै ठूलो सँख्या शिक्षाबाट वञ्चित हुनुको एउटा कारण मातृभाषामा शिक्षा नपाउनु पनि एक हो । अझ साहित्य त मानिसले सबै भन्दा बढी आफ्नो मातृभाषा मै बढी प्रभावकारी ढंगले बुझ्दछ।
जसको प्रमुख उदाहरण रेडियो नेपालमा कुनै बेला प्रसारण हुने ” सरामविलास र धनिया” तथा पछिल्लो समय कान्तिपुर एफ एम बाट प्रसारण हुने ” हेल्लो मिथिला ” को लोकप्रियतालाई लिन सकिन्छ ।
आफूले लेखेकाहरूमध्ये यो चाहीं नपढिदिए हुन्थ्यो भन्ने कथा पनि छ ?
खास कथा लेख्ने नै धेरै भन्दा धेरैले पढुन् भनेर हो । अलि पहिले कुनै घटनासँग सम्बन्धित पात्रले यो कथा पढ्यो भने के भन्लान् भन्ने लाग्थ्यो । तर उनीहरुले कहिल्यै पढेनन् । अहिले त उनीहरुले पढि दिए पनि हुन्थ्यो जस्तो लाग्न थालेको छ ।
तपाईंका दुवै पुस्तक प्रकाशित गर्ने भनेपछी तिनका आवरण चित्र कस्तो राख्ने, के राख्ने सम्बन्धी प्रकाशक र तपाईंबीच कत्तिको छलफल भएको थियो र ति आवरण चित्रले कथाकार, यानी कि तपाईंको लेखनलाई बोक्छ कि बोक्दन ?
ईमान्दारपूर्वक भन्ने हो भने आवरण चित्र कस्तो हुनु पर्छ ? यसको विधी अथवा यसको तर्कबारे न म जानकार हो न त यसका प्रकाशक नै । त्यसैले हामी दुई बीचको छलफलले खासै अर्थ राखेको छैन ।
कुनै पनि किताबको आवरण चित्र के कारणले राम्रो अथवा के कारणले नराम्रो हो यसबारे खासै ज्ञान पनि भएन । त्यस पछि जे चलनचल्तीमा हो त्यसै माथि भर पर्ने हो । र त्यस पछि भर पर्ने भनेको नजिकका चिनजानकाहरुको सल्लाहमा हो । प्राय प्रकाशकहरुका आफ्नै काम गर्ने निश्चित ठाउँहरु हुन्छन् ।
उनीहरुले पनि थप विकल्पहरु सोच्दैनन् । हाम्रो प्राथमिकतामा पनि खासै यो पर्दैन । जसले जे सिमित विकल्पहरु दिइयो त्यसबाट नै छान्ने हो । तसर्थ जति मेहनत र चासो हामी किताब तयार पार्नमा दिन्छौ, त्यति नै चासो आवरणचित्र बनाउनमा वा छान्नमा दिदैनौँ । त्यसैले कथाले बोकेको विषय आवरण चित्रले जस्ताको त्यस्तै नबोक्न सक्छ । अथवा केहि अर्थमा बोके पनि आकर्षक नहुन सक्छ ।
मैले यहाँको लेखनले सत्यलाई काल्पनिकताको लेपनमा प्रस्तुत गर्छ भन्दा “केही गर्न नसक्ने अभिशप्त जीवन बाँच्न विवश छौं” भन्नुभएको थियो। तर के यहाँले त्यही विवशतालाई मात्र लेख्ने हो त ? यहाँको जुन जीवन दृष्टी छ, त्यसले विवशतालाई मात्र देख्छ ?
त्यो विषय मैले अहिलेको समयलाई ईँगित गर्दै भनेको हुँ । नाकाबन्दी कथामा कुशेको हत्या आफैमा एउटा आन्दोलनको हत्या थियो । त्यो पनि वेवास्ताको हतियारले । छ महिना सम्म चलेको आन्दोलन, सयौँको मृत्यु सानो परिघटना थिएन त्यो ।
त्यस्तो परिदृश्यमा आधा जनसंख्याले दिपावली गरेका थिए । सायद जनता विरुद्ध जनता त्यसरी कहिल्यै परिचालित भएको थिएन । आफ्नै अगाडि त्यस आन्दोलनको तेजोवध हुँदै गरेको देख्नु नै हाम्रो विवशता हो । त्यसको प्रतिफल देशले अहिले चुकाउदैछ । तर यसको अर्थ लडाई छोड्नु भनेको होइन ।