कथा
यो पचास वर्षअघिको कथा हो ।
पूर्वी पहाडको एउटा विकट गाउँमा हलेँसी छात्रावास थियो । त्यस छात्रावासमा हामी त्यसै वरिपरि पाँच गाउँका भरखरै व्रतवन्ध भएका तन्नम विद्यार्थी मात्र बस्थ्यौँ । लाउरबाट पैसा कमाएर ल्याएका केही मनकारी सेतामगुरालिले तन्नम क्षेत्री बाहुनका सन्तानका लागि नै यो छात्रावास खोलिदिएका थिए । विद्यालय कै छेउको एउटा अलि हुनखानेको गोठमा यो छात्रावास खोलिएको थियो ।
हाम्रो व्यवस्थापनका लागि हामीसँगै छात्रावासमा एक जना स्कूलकै गुरुजीलाई त्यहाँ राखिएको थियो । पाँचै गाउँका पचास घरको मुष्ठी दानका चामलले हाम्रो छाक चल्थ्यो । तिहुन पनि मुन्टामुन्टी, कतै खनी खोस्री कुनै जुक्तिले हुन्थ्यो । गोठका मालिकको गाई लैनो हुञ्जेल कहिले काहीँ अमिलो मोही पनि हामीले पाउँथ्यौँ । धेरै जसो गुन्द्रुक सिन्कीमा माड हालेकै तिहुन हुन्थ्यो । हरियो खोर्सानी मिचेपछि त्यही अमृत हुन्थ्यो ।
सबै कुरा त ठीकै थियो । विद्यालय विदा नहुँदा त समस्या पनि थिएन । तर शनिवारको दिन र भैपरि आउने विदाका दिन हामी दस जना केटाहरूले त्यस गाउँका बोट विरुवामा फलेका चिचिला पनि भेटेसम्म बाँकी राख्तैनथ्यौँ । त्यसरी स्कूल विदा भएका दिन ‘राम्रोसँग पढेर बसे है’ भन्दै बिहानै गुरुजी पनि आफ्ना घरतिर कुलेलम ठोक्थे । गुरुलाई हवस् भने पनि गुरु हिँड्नासाथ हाम्रो उही चकचके धन्धा शुरु हुन्थ्यो । त्यति बेला हामी वीच जसले धेर बिगार गर्न सक्यो त्यही गतिलो मानिने खेल चल्थ्यो ।
हाम्रो खेलका कारण गाउँलेको सहनशिलताको सिमा भत्क्यो । हाम्रो चर्तिकलाको विवरण प्रथमतः हाम्रो छात्रावासको घरधनीसम्म पुगेको थियो । त्यसपछि हामीले छुट्टिका दिन उधुम मच्चाएको कुरा क्रमिक रुपले विद्यालयका प्रधानाध्यापक र हाम्रा गुरु हुँदै हाम्रा गुरुकै मुखबाट हाम्रा कानसम्म फर्केर आइपुगेको थियो ।
घर परिवारवाला हाम्रा युवा गुरुलाई छुट्टिका दिन घर पुगेर आउँ भन्ने लाग्नु अस्वाभाविक पनि थिएन । तर चकचके विद्यार्थीका कारण आधा बिहानमात्रै पर्तिरको आफ्नो घर पुगेर यसो परिवार भेटेर आइहाल्न पनि गुरुजीलाई कठिन भएको थियो ।
तर जहाँ समस्या त्यहाँ समाधान भने झैँ गुरुले समाधानको उपाय भेटेका थिए ।
कुरा के थियो भने नि, हाम्रो छात्रावासमा झिँगा यति धेरै लाग्थ्यो कि पाक्दा पाक्दैको तिहुनमा झिँगाको तरै लाग्थ्यो । भातमा त सेतो कालोको फरक हुनाले झिँगा मिल्क्याएर खान सकिन्थ्यो तर गुन्द्रुकको तिहुनमा भने झिँगा छुट्याउनै गाह्रो हुन्थ्यो। त्यसैले गुरु र चेला अर्थात् हामी सबै नै झिँगाले हैरान भएका थियौँ ।
गुरुले त्यही हाम्रो झिँगा समस्यालाई नै हामी चकचकेको चकचक समाधानको उपायका रुपमा आविष्कार गरेका थिए । त्यसका लागि गुरुजीले केराको दाम्चा काटेर दस ओटा झिँगा मार्ने फ्याटफ्याटे बनाएका थिए ।
‘तिमीहरू म घर गएपछि गाउँमा बदमासी गर्न जाने होइन । दिनभरि यो फ्याटफ्याटेले झिँगा मारेर बस्नु । म तिमीहरूलाई एउटा झिँगाको एक पैसा दिन्छु ।’
त्यस जमानामा आफूसँग ५ पैसा भयो भने पेटभरि खाजा खान पाइन्थ्यो । हामी दङ्ग परेर पैसा कमाउने दाउमा दिनभरि छात्रावासमै झिँगा मारेर बस्न थाल्यौँ । तर हाम्रो एउटा साथी खजुरप्रसाद भने गुरुजी बाहिर निस्किनासाथ म त नखेली बस्न सक्तिन साथीहरू, तिमीहरू झिँगा मारेर बस्नु भन्दै गाउँ डुल्न हिँडी हाल्थ्यो । हामी दिनभरि झिँगा मारेर बस्यौँ । त्यस दिन भरिमा हामीहरूमध्ये दुईजनाले २० –२० ओटा, तीनजनाले १५– १५ ओटा र चार जनाले १०–१० ओटा झिँगा मारेका थियौँ ।
साँझ परेपछि गुरु भन्दा एकैछिन अघिमात्र भित्र पसेको खजुरप्रसादले त्यसदिन एउटै झिँगा मारेको थिएन । खजुरप्रसाद खोइ तैँले कतिओटा झिँगा मारिस् ?’ हाम्रो झिँगाको हिसाब बुझिसकेपछि गुरुले उसलाई सोधेका थिए ।
‘खोइ गुरु ….’ हात मलेर टाउको हल्लाउँदै हाम्रा हातमा भएको पैसातिर लोभिलो आँखा लाउँदै खजुरप्रसादले जवाफ दिएको थियो ।
‘थुईया बज्या‘ खुब फुईँ लाउँछस् त, एउटा झिँगा पनि मार्न सक्तैनस् । तैँले मन लाएर काम गरे पो मार्छस् त झिँगा । झिँगा मार्न पनि त धैर्य चाहिन्छ । तँ त काल भइस् काल । न त राम्रोसँग पढ्छस् न त भात तिहुनै तेरा मीठा हुन्छन् । खाली बदमासी र छक्कापञ्जा छ तेरो काम । के गरिखालास् बज्या तैँले ! तेरी दुखियारी आमाका आँखाको आँसु सधैँ उत्तिकै हुने भो । तेरी हजुरआमाले जमिन्दारको भात भान्सा गर्दा तीर्थबाट ल्याएको खजुरको पर्साद तँलाई गर्भमा बोकेकी तेरी आमालाई ख्वाएकाले तेरो नाउँ खजुर राखेको भन्थिन् तेरी आमा । तँ भने झिँगा पनि मार्न नसक्ने ? धिक्कार छ तँ बज्यालाई !
केही बोलेन खजुरप्रसाद त्यस दिन । हुन पनि खजुरप्रसादको बोली त खजुरजस्तै मीठो थियो ।
अर्को हप्तामा लगातार दुई दिन विदा परेको थियो । पहिलो दिन पनि अघिल्लो हप्ताकै उपक्रम दोहोरियो । त्यस दिन पनि खजुरप्रसादले हाम्रा हातको पैसामा लोभिलो आँखाले हेरेको थियो । गुरुको गाली, अर्ति, उपदेश सबै सधैँ झै सुन्यो उसले ।
साँझ परिसकेको थियो । गुरुसँग हिसाबकिताब भइसकेपछि हामीले त्यसदिन मारेका १५० जति झिँगा पनि अघिल्लो दिन झैँ तला माथिबाटै तल फाल्न लागेका थियौँ ।
‘तिमीहरूले यसरी यी झिँगा जथाभावी फाल्यौ भने त फेरि यही झिँगा ब्युँतिएर पनि आउँछ र प्रत्येकसँग बदला लिन्छ रे । आमाले भन्नू भाको यस्ता झिँगालाई त पातमा पोको पारेर माटामा गाड्नु पर्छ रे । हिँड त्यसै गरौँ ।’ ऊ अघि लाग्यो र हामी पछिपछि । छात्रावासको पछाडी पुगेर पात उसैले टिप्यो, खाल्डो उसैले खन्यो, हाम्रा हातमा भएका मरेका झिँगा उसैले पातमा हाल्न लगाएर हाम्रै अगाडि पोको पार्यो र उसैले खाल्डो पनि पुर्यो। खजुरप्रसादको सहयोगले हामी सबै नै ढुक्क भएका थियौँ ।
भोलिपल्ट पनि विदै हुनाले, झिँगा मारेर बस है केटा हो भनेर बिहानै गुरुजी आफ्ना घर तिर लागे। त्यस पछि खजुरप्रसाद पनि हिँडि गयो । हामी भने अघिल्ला दिनमा झैँ पैसा कमाउनका लागि झिँगा मै ध्यान लगाएर बस्यौँ ।
त्यसदिन चाहिँ अलि छिटो छात्रावासमा फर्कियो खजुरप्रसाद । फ्याटफ्याटेले केही बेर फ्याट फ्याट पनि पार्यो उसले । साँझ पर्न लागेपछि लघुशङ्काका लागि भनेर छात्रावास पछाडि गयो । त्यसैबेला गुरुजी पनि आइपुगे ।
गुरुजीसमक्ष हामीले झिँगाको दिनभरिको हिसाब बुझाउँदा बुझाउँदै खजुरप्रसाद पनि भित्र पस्यो ।
‘तँ कहाँ गएको थिइस् हँ ? आज पनि झिँगा मार्न सकिनस् बज्या….. ‘ ?
गुरुले सधैँ झैँ उसलाई गाली गर्न खोजे । त्यसै बेला उसले आफ्नो मुट्ठी खोलेर झिँगा देखायो ।
‘गुरुजी आज मलाई गाली नगर्नु !पैसा निकाल्नु , मैले पनि सिकेँ नि झिँगा मार्न । तपाईँले भन्नु भएजस्तै आज मैले दिनभरि मन लगाएर झिँगा मारेँ नि ! उसका कुरा सुनेर गुरु मुसुमुसु हाँसिरहेका थिए । हामी सबै विद्यार्थी छक्क परेर खजुरप्रसादको अनुहार हेर्न खोज्दै थियौँ ।
गुरुको आदेश पछि उसले झिँगा गनेर देखायो १५० ओटा झिँगा थियो उसको मुट्ठीमा ।
गुरुले बोली अनुसार एक रूपैयाँ पचास पैसा उसका हातमा हालिदिए र उसको पीठ पनि थप्थप्याए ।
हिजोसम्म खजुरप्रसादका अघिल्तिर उचालिएको हाम्रो शिर आज उसका सामु नै निउरिएको थियो ।
‘साँझ पर्ने बेलामा एकै छिन त फ्याट फ्याट पनि पारेको थियो खजुरप्रसादले कसरी यसले यत्ति धेरै झिँगा मार्यो हँ ? ‘ हामीले पत्तै लगाउन सकेनौँ ।
‘म गाउँ डुल्न गएको कुरा गुरुजीलाई तिमीहरूले भन्यौ भने तिमीहरूको म जान्दो गर्छु ! भनेर उसले हामीलाई थर्काउँथ्यो पनि । ऊ अलि हुल्याहा खालको हुनाले हामी ऊसँग डराउँथ्यौँ पनि ।
तर त्यसपछि छात्रावासमा झिँगा मार्ने खेलमा त्यस्तै भइरह्यो । अर्थात् एक दिनमात्र विदा हुँदा ऊ झिँगा मार्ने खेलमा सहभागी हुँदैनथ्यो । दुई दिने विदा हुँदा पनि पहिलो दिन ऊ भागै लिँदैनथ्यो र दोस्रो दिन पनि विदा परेको बेलामा मात्र यो खेलमा सहभागी हुने गर्थ्यो । यति चाहिँ हो है, हाम्रा झिँगा यत्तिक्कै फाल्न उसले दिँदैनथ्यो । हामीले मारेका झिँगा पातमा पोको पारेर खाडलमा गाडिदिन चाहिँ ऊ नै अघि सर्थ्यो । अनि उसले विदाको दोस्रो दिनमात्रै झिँगा मार्थ्यो र त्यसदिन उसले हाम्रो भन्दा धेरै झिँगा मारेर हाम्रो भन्दा धेरै पैसा कमाइरह्यो।
हामीलाई उसको गोप्यता भङ्ग नगरे वापतको पुरस्कार भनेर स्कुलमा यसो भुटेका चनाका दुईचार गेडा पनि खजुरप्रसादले हामीलाई खान दिन्थ्यो । हामी त्यसैमा खुसी हुन्थ्यौँ ।
खजुरप्रसाद पढ्न पटक्कै मन गर्दैनथ्यो। उसको त्यतिबेलै देखि खानपिन पनि गतिलो थिएन । ब्राहम्णवादको विरोध गर्नुपर्छ भनेर ऊ स्कूल पढ्दैदेखि अभक्ष्य मासु र मदिराको भरपुर सेवन गर्थ्यो । उसको आचरणका सबै पक्ष कुनै पनि दृष्टिमा ठीक थिएनन् । हामी नौजना सहपाठीलाई अरूले उसका बारेमा सत्यतथ्य भनिदिँदा पनि दुख लाग्थ्यो। हामी सबै उसलाई माया गर्थ्यौँ । आखिर ऊ हामी भन्दा पनि तन्नम परिवारको केटो थियो । उसको भलो होस् । सही आचरणमा रहोस् भनेर हामीले उसलाई कति सम्झायौँ, सम्झायौँ। तर हाम्रा कुरा ऊ हाँसेरै उडाइदिन्थ्यो । आजित भएर पछि पछि त हामीले उसलाई सम्झाउने काम पनि छोडिदिएका थियौँ ।
प्रवेशिका परीक्षामा पनि खोइ कति पटक फेल भयो खजुरप्रसाद । तर हामी नौ जनाले खुब मिहेनत गरेर पढ्यौँ । गतिलोसँग पढेको पुरस्कार स्वरुप नै पनि हामीमध्ये कोही हाकिम भयौँ, कोही डाक्टर, कोही इञ्जिनीयर, कोही हाइस्कूलका मास्टर भयौँ, कोही कलेजमा पढाउने प्रोफेसर पनि भयौँ। कोही न्यायसेवामा लागेर न्यायाधीशै पनि बन्यौँ । त्यसबेला हाम्रो सहपाठी खजुरप्रसाद बाहेक हामी नौजनाले नै समाजमा आ आफ्ना लागि सम्मानित स्थान बनाइसकेका थियौँ । तर हाम्रो साथी खजुरप्रसाद के गर्दैछ ? हामीलाई धेरै समयसम्म पनि केही थाहा थिएन ।
खजुरप्रसाद तत्कालीन पञ्चायती शासनको विरोधी भयो अरे भनेको चाहिँ सुन्यौँ । ‘ ए, ठूला नेताको पछिपछि हिँड्ने नेता पो भयो रे खजुरप्रसाद भनेको पनि सुनियो । ‘ जेल परेको छ रे खजुरप्रसाद त ‘ भनेको पनि सुनियो ।
एकदिन त अचम्मैको समाचार रेडियोबाटै आयो ।
” खजुरप्रसाद राष्ट्रको प्रधानमन्त्री …..”