नेपाली साहित्यमा युवा पुस्तामाझ बिचार र अभिव्यक्तिको दृष्टिबाट लेखनलाई निक्कै शसक्तरुपमा राख्दै आएका युवा कवि मुक्तान थेबा एक बलशाली कवि हुन् । प्रस्तुत छ साताको तीन कविता ।

ठमेल लाइभ

घन्टा सुई
ठिक दशमा अडिएको छ
एक गोप्य नियतकासाथ छिर्दैछौँ ठमेल
साथमा छन् कवि– पुरुषोत्तम ।

झकिझकाउ, झिलिमिली, रमझममा छ ठमेल
भर्खरै पार्लरबाट निस्किएकी
उत्तरआधुनिक सुन्दरी जस्तै छ ठमेल
ठमेल सर्वाङ्ग सजिएको छ ।
मादकता मगमगाउँछ ठमेल
संसारका एकएक पर्यटकहरूको रोजाईमा छ ।
तपाईं ज्याज संगितमा झुम्न पाउनुहुन्छ
तपाईं साल्सा नाच्न सक्नुहुन्छ
तपाईं ज्याक्सनलाइभ कन्सर्टमा चिच्याए पनि हुन्छ
तपाईंलाई डिस्को नाच्न मन छ ?
आउनुस् फायर डिस्को छिरौँ ।

तपाईंलाई एक नर्तकीको निर्वस्त्र नृत्य हेर्न मन छ ?
अघिदेखि डान्सबारको ढोकाबाट तपाईंलाई डाकिरहको छ त्यो बूढो पाले
तपाई खुरुखुरु माथी उक्लिनुस् र उत्तेजित हुनुस् ।
तपाईंलाई घिन्ताङ–घिन्ताङ मादलुमा कम्मर मर्काउनु मन छ ?
आउनुस् नर्सिङ्गचोक
जहाँ यतिबेला तपाईंलाई कुरिरहेको छ नगरकोट दोहोरी साँझ
तपाईं रोधीमा रम्न चाहनुहुन्छ ?
अघिदेखि तपाईंकै प्रतीक्षामा छ गामबेसी रोधिघर ।

यत्तिको रमाइलो, रमझम एकै ठाउँ अन्त सजिलै कहाँ मिल्छ ?
तपाईंले न्युयोर्क सहरको वैभव सुन्नुमात्रै भएको छ तर, पुग्नुभएको छैन
तपाईंले पेरिस सहरको भव्यता सुन्नुमात्रै भएको छ तर, पुग्नु भएको छैन
तपाईंले बेइजिङ सहरको चमत्कार सुन्नुमात्रै भएको छ तर, पुग्नुभएको छैन
तपाईंले थाइल्यान्डको यौन स्वतन्त्रता सुन्नुमात्रै भएको छ तर, पुग्नुभएको छैन
आउनुस् ठमेल
यतिबेला घडीले बाह्र ठोकिसकेको छ
अब तपाईंका निम्ति सबै सम्भावनाका ढोकाहरु खुल्ला भइसकेका छन् ।

उ हेर्नुस् कविजी कवि पुरुषोत्तम संगै हुनुहुन्छ
ट्रम्प महोदयको दुईजोडि नागरिक आलिङ्गनमा बेरिँदै यतै आउँदै हुनुहुन्छ ।”

हो नि कविजी
प्रेम त यसरी पो गर्नुपर्दो रहेछ
तर हामीले त गोठाला जाँदा
सुइया सुइया सुसेली बजाउनमात्रै सिक्यौँ
कान्छी संगै बसेर एकछिन बात मारौँ न भन्नुसम्म सकेनौँ
मेलापात जाँदा अरुको आँखा छलेर
छड्के आँखा जुधाउन मात्रै सक्यौँ छुन त झन् सकेनौँ
प्रेमले भरिएर मन पोखिएलाझैँ हुन्थ्यो तर ओहो
कति गाह्रो थियो हामीलाई प्रेमको अभिव्यक्ति दिन?

नआँत्तिनुस् कविजी
तपाईंले चाहनु मात्रै पर्छ
तपाईंको निम्ति अहिले भर्खरै खोजिदिन्छ ठमेलले उत्तरआधुनिक प्रेमिका
जहाँ तपाईंका सबै आवेगहरुलाई हार्दिक स्वागत गरिनेछ।

हाँस्नुहोला लागेको तर कविजी त गम्भीर भए–
हैन कविजी, म त यो ठमेलको अनुहारमा
देशको अनुहार पो तुर्लुङतुर्लुङ हल्लिरहेको देख्दैछु ।
उ हेर्नुस् त
त्यहाँ केको मोलमोलाइ भइरहेको छ ?
यहाँ कसले कसलाई बेचिरहेको ,किनिरहेको छ ?

उक्लिँदैछौँ “टिफ्फी बार”
जहाँ मेघनाजी ग्राहकको व्यग्र प्रतीक्षामा छिन्
जब छिरे एकहुल तेस्रोलिङ्गि साथीहरू
मेघनाजीको अघिसम्मको बेचयन अनुहार चम्कियो एकाएक
यसरी नै छिरे केही हुल समलिङ्गी तेस्रोलिङ्गी साथीहरू
जतिहुल छिरे सबैले सबैलाई उसैगरी अंकमाल गरे
मानौँ बर्षौँपछि भेट भएकोछ आत्मीय साथी
ट्वरट्वर हुक्काको कर्कस ध्वानिसंगै बटारिँदै यत्रतत्र छरिएको छ धुवाँको मुस्लो

पिंकी कान्छी, तिम्ले कति टिप भ्याएर आयौ बाबै ?
मुस्किलले चार भो डार्लिङ,
तर एउटा रण्डोले त झण्डै मारेको
केटी भनेर झुक्किएछ जाँठो ।

एउटा लामो हाँसोपछि

यस्तै त छ हाम्रो जिन्दगी कान्छी, तर पिर नगर हो
लु बरु यो एक प्याक लागाइहाल् त ?

हामीलाई अनौठो लागिरहेको छ सम्बाद
अनौठो यस मानेमा कि
हामीले उनिहरुलाई कहिल्यै साथी सम्झेनौँ र बनाएनौँ

मात्रै घृणा गरिरह्यौँ
मानौँ कि ती मान्छेनै हैनन् र ती सबै रहरले भइरहेकोछ
उनिहरु बीचको प्रेम, सद्भाव, सम्मान हेरेर
सिक्नु त अब हामीले छ– सहअस्तित्व, सहप्रेम, सद्भाव र सम्मान ।

घन्टाघरको घण्टा सुईले अंक एकमा एक घन्टी बजाइसक्यो
तर, अझै निदाउने सुरसारमा छैन ठमेल

चुरोट, खैनी, लाइटर, उसिनेको केहीगोटा अन्डा,
चिया भरिएको थर्मस र दुधेबालक काखमा च्यापेर
अघिनै सडक छेउ आइसकेका छन् आमाहरू
खल्ती रित्तिएर हुत्तिँदै आउनेहरूको प्रतीक्षामा छन् ।
आमाहरूलाई थाहा छ निन्द्रा किन आउँदैन
आमाहरूलाई थाहा छ कति निर्मम छ भोकको आक्रमण
कति गाह्रो छ स्कुलको फिस, कापी–कलम र केटाकेटीको आङ ?
ठमेल अर्थात् सत्ता
आमाहरूको निन्द्रा लुट्छ र लिलाम गर्छ ।

यतिबेला हामी संचयकोष भवनको ठिक अघिल्तिर छौँ
ओहो ! यहाँ त फुटपाथमा यौनको सेल मेला लागिरहेकोछ
खुल्लमखुल्ला भाउ लागिरहेको, मोलमोलाइ भइरहेको छ ।
तर, मेरो प्रियकवि दृश्य र संवादसंग आश्चर्य चकित र अवाक देखिएका छन्
म पढ्न सक्छु उनको अनुहारको भाव
कविजी बेचैन, छट्पटी, भावसुन्य छन् ।

हेर्दाहेर्दै शैलुङ्गे जात्थरमा पाल्तेन आस्याङले नचाउने घङारुको लौरो नचाउँदै आइपुगे
एक हुल सुरक्षाकर्मी
जवानी किन्ने र बेच्नेहरुका भागदौड
क्षणभरमै सुनसान भो’ मेला ।

कुन्नी कुन पाटो हान्यो कविको मथिङ्गल
कविले यसरी सुरु गरे कविता–
यहाँमात्रै ठमेल देखिरहेको छैन
यहाँ,
देश– एक खेलमैदान
सत्ता–लुटको साम्राज्य
भोक–कंकाल कर्णाली
रोग–अस्पतालको गेटमा लावारिस लडिरहेको बिरामी
पुँजीवाद–नेपाल सरकारको जनमुखी बजेट
उपभोक्तावाद– सुन्दरी प्रतियोगितामा कम्युनिस्ट नेतृकी सुपुत्री
साम्यवाद– सदनमा लम्पसार कम्युनिस्ट घोषणापत्र
भू–मन्डलीकरण– युवाहरूको लिलामी
अर्थनीति– जापानसंग श्रम सम्झौतामा हस्ताक्षर
राजनीति– झुटको खेती
कुटनीति– अनुदानको तुम्बी तुर्लुङ्ग
अदालत– स्थायी ब्यापार
राष्ट्रिय सभा– सपनाको टेन्डर
प्रदेश सभा– ठेकेदार माननीय
संसद भवन– खसीको टाउको
सिंह दरबार– चिडियाखाना
बालुवाटार– वधशाला
प्रधानमन्त्रीज्यूको सम्बोधन– समाजवाद आयो
राष्ट्र प्रमुखज्युको सवारी– राजतन्त्र बाँकी छ ।
यहाँ यस्तै यस्तै……”

मध्यान्तर पछि हामी
होटेल कैलाशको रुम नम्बर २०७ बाट प्रत्यक्ष प्रसारणमा हुनेछौँ ।

सभ्यताको बाह्रखरी

तिमीले मेटाउन नसकेको
बाँकी केही त अवश्य छुटेकै छ मित्र !

खोरको माउ तान्न आउने बाघको गर्दन छप्काउने
बाघसिङ आखेको खुकुरी छ मसँग ।
खुसुखुसु करेसाको पिँडालु चोर्न आउने
वनसुँगुरको भाले ढाल्न
आबाले दर्जन थाप्ने गरेको जोरनाले छ मसँग ।
दिन–दहाडै
जिम्बुवाल काजीको साँढेले छोप्दा
जुरो खसाल्ने
मेरी बज्यैको खुर्पानि छ मसँग ।
रामनवमी मेलामा
प्रधानघरको ब्वाँसाले झम्टिँदा
जाँघमा लात्त हानेर उम्किएकी
आमा सञ्चली डोल्मोको साहस पनि छ मसँग ।

हरपल समयसित सम्वाद गरिरहने
मेरो आँगनको–दर्ज्यु
झन् जोर–जोरले
फिर्लिङ–फिर्लिङ हम्काउँदैछ समय ।

पेङदोर्जेले डम्फु बजाउँदै डाँडापाखा सुनाउँदै हिँडेको
उत्पत्तिको गीत,
आफ्नै पसिनाको राग भरेर
ढाक्रे म्हेमेले
जिन्दगीका चौतारीहरूमा बजाउँदै हिँडेका टुङ्ना,
भोम्बो म्हेमेले बजाउने ढ्याङ्ग्रो
र दुस्मनको प्रहार दुस्मनतिरै फर्काउन
तेर्स्याउँदै आएको थुर्मा
आज पनि त उसैगरी झुन्डिरहेको छ मूलथाममा

हो, यिनै हुन्
मेरो खस हृदयले पहिलोचोटि रमाउँदै चिमोटेको
सभ्यताको बाह्रखरी
जुन, सौन्दर्यका मानक बनेर
मेरा विजातीय मानस्पानामाथि
आज पनि उसैगरी सल्बलाउँछन् ।

मैले ‘मु हुनुको पहिलो अर्थ पनि
त्यहीँनेरबाट टिपेको हुँ
तर अचेल कर्कस ध्वनिमा
एकोहोरो तिमी मलाई म हुनुको अर्थ त्यागेर
साझा हामी हुन उपदेश दिइरहेछौ ।

म प्रेमले भन्न चाहन्छु
मेरो प्रिय शासक मित्र !
कि म
अँध्यारोमा बलिरहेको उज्यालो निभाउँदै हिँड्ने
तिम्रो हामी हुनै सक्दिनँ
बरू
भुलेर पनि मसित कहिल्यै यो नसोध्नु कि
तिमीसँग के छ ?’
म भन्न बाध्य हुनेछु–
तिमीले मेटाउन नसकेको
बाँकी केही त अवश्य छुटेकै छ मित्र !

गाई, गोरु, बहर, बाछा, बाछी

१.
ओ नाना,
ओ.. नाना मैली (माइली) !
ख्याकुले मामा आमालाई बोलाउँदै हुनुहुन्छ ।
तिक्दा……… (किन…….) ??
(अलि झर्को मान्दै)
आमा भकारो सोहोर्दै हुनुहुन्छ ।
तिम्रो यो बहर मलाई देउ त नाना
म लगेर पाल्छु ।
न्हाबारी कि ठ्वाक लसि खु ह्सोबारी ?
(पाल्नलाई कि ठ्वाक पारेर तरकारी बनाउन ?)
होइन है नाना,
पाल्नुकै लागि हो
गोठमा एउटा माउ मात्रै भयो ।
त्यसो भए दिउँसो आएर लैजाउ ।
गोठमा एक हल गोरु
दुहुनो गाई, कोरली बाछी, बहर र बाछो थियो ।
आमाले बहर फुकाएर ख्याकुले आस्याङलाई दिनुभो ।
२.
ल्होछार आयो ।
गाउँमा उल्लास छायो ।
आबाले लुङ्दार राख्नुभो
थापसङ ८ गर्नुभो
मेमेले सबैलाई टीका राखिदिनु भो
घर भरी पाहुना जम्मा भए
कुथोक, आलुम–भल्डु, गोरुको सुकुटीसंगै
कोदोको आइराक (रक्सी) पिउँदै
ताकाधुम… ताकाधुम…ताक धुमधुम…
ताकाधुम… ताकाधुम…ताक धुमधुम…
तामाङ सेलोमा नचिरहेछन् युवायुवतीहरु ।
ल्होसार, एउटा उत्सव हो ।
उत्साह हो । संस्कृति हो । स्वाभिमान हो ।
३.
तिल्गे गोरु, मेरो कान्छा भाइको जोडा हो
गएको आसारमा अट्ठाह्र बाली पकायो उसले
ल्होछारमा उब्रिएको खानेकुरा धेरै भएछ
लगातार पाँच दिन पखालाले सुतायो उसलाई
अब हलो तान्न सक्दैन ऊ ।
४.
ज्योज्यो, ओ.. ज्योज्यो !
आईला तिल्गे भाउ ङादा
(तपाईंको तिल्गे मलाई दिनु )
लगेर मल बनाउँछु म ।
मान्छेको मल कि गोरुको मल ?
हैन है, गोरुकै मल हो ।
आबाले ख्याकुले आस्याङलाई तिल्गे फुकाएर पठाउनुभो ।
५.
नाना, ओ नाना…
तिम्रो यो कोरली देउ त मलाई
म लगेर पाल्छु ।
मेरो हैन यो
कान्छीको पेवा हो ।
ओ कोन्मे(भान्जी)!
आईमी याम्बुरी चिबाका
(तिमी त काठमाडौंमै बस्छौ पो )
ङादा बाउ चु
(मलाई देउ यो)
ङाई म्हार ह्सोसी पिद्खाला लिच्छा
(ब्याएछ भने पछि घ्यु बनाएर पठाइदिन्छु) ।
कान्छी आङाले कोरली फुकाएर पठाइन्।
६.
ख्याकुले मामाको टुकटुके मोबाईलको घण्टी बज्यो
“ओ थिङ सम्धी
धन्साई झर्नु है भोली
यता मगर गाउँमा बुढो गोरु र गाईहरु छन्बेच्ने ।”
पार्स्वमा
स्वाँरर… स्वाँरस्वाँर, स्वाँरर… स्वाँरस्वाँर
कैले कामी दाइको आरानको खंलाती घुमिरहेछ ।
“हुन्छा, बोली ब्यानै
डोफ्ले दाइ र मो आउँछा होई ।”
७.
ख्याकुले आस्याङ, डोफ्ले आपाग्रेन र आस्याङको छोरा पाराङ(माइलो)
सबेरै धनसाई गाउँ झरे
बूढो गोरु, गाईहरु किने ।
फापरबारी बजारका फुयाँल बाजे
आसामी उठाउन
धन्साइ सोराली कान्छाको घर जाँदै थिए–
“ओई थिङ कान्छा यत्रा गाई, गोरु केका लागी किनेको ?
काटेर खाने त होला, हैन ?”
“होइन, होइ बाजे
लगेर पाल्नुलाई ।”
“जाँठा ! भोटेले लगेर पाल्छ होला ।
काटेर खान्छु भन न ।”
“ओइ बाजे
हामीलाई भोटे नभन
हामी भोटे होइन तामाङ हो ।”
आस्याङको छोरो पाराङलाई झोँक चल्यो ।
‘हामीलाई पनि थाहा छ जाँठा हो’
छाताको डन्डी घुमाउँदै
फुयाँल बाजे आफ्नो बाटो लागे ।
८.
च्याङ्बा…., ओ च्याङ्बा ।
ल्हास्सो आनी(फूपू) !
आइदा आस्याङसे खाउ रो
(तिम्लाई आस्याङले आउ रे!)
तिक्दा आनी (किन फूपू) ?
गोरु लिएर
आस्याङ र पराङ सम्धि टोपटोप खोल्सीतिर लागेको छ ।
ओ चाङ (भाउजू), चाङ ओ….
लु जाँड छान्नु त
मेरो घरमा जाँड सकिएछ ।
आङी कान्छी
जाँडको डबका तान्दै हुनुहुन्थ्यो
आले च्याङबा र आले साँजी (साइलो)
डोकोमा बन्चरो र खुकुरी राखेर टोपटोप खोल्सितिर लागे ।
९.
लामो दाह्री पाल्नुहुन्छ हाम्रो आबा ।
ताम्बाकाइतेन लिएर बार्दलीमा आउनुभो ।
पाउरवाल चस्मा लगाएर ताम्बाकाइतेनको पाना पल्टाउँदै हुनुहुन्छ– आबा ।
माछा, मासु, जाँड, रक्सी नखाने
‘शुद्ध’ साकाहारी लामा हो– हाम्रो आबा ।
स्कुलको आँगन टेक्न पाउनुभएन
ठूलो वर्णमालाले अक्षर चिनाएको भन्नुहुन्छ
अचेल त किसानको कविता पो लेख्नुहुन्छ ।
आबा ताम्बाकाइतेनको गीत गाउँदै हुनुहुन्छ ।
आमाइले होइ…..आमाइले……
आमाइले होइ…..आमाइले ……..
दाङ्बो तोङबा राङसिङरी
दोर्जेग्याडम लुङ छ्याजिम
…………………………………….
ओ बाजे, के गीत गाको त्यस्तो ?
तिम्रो हत्यारा छोराहरू खोइ कहाँ छन्?
किल्किलेसम्म आएसकेको गीतको अर्को पङ्ती
झ्याप्प अड्कियो ।
खोइ मलाई त थाहा छैन ।
अझ थाहा छैन भन्छस् बुढा ?
केटा हो पुरै घर खानतलासी गर्।
पुरै घर छापा मारे ।
साब ! यहाँ त केटाहरू कोहि छैनन्।
बरु गोरुको खुट्टा र करङहरु मात्रै छन्।
हवल्दार साब त्यसलाई पोको पारेर बोक्नुस्।
तिम्रो छोराहरूलाई तुरुन्त भोलि थानामा बुझाउने हेर बुढा
नत्र तिमी बुढा नै जाकिनुपर्ला नि ठेङरोमा ।
ख्याकुले आस्यङ, आस्याङको छोरा पारङ
र डोफ्ले ठूलो बुबालाई घिस्याउँदै
चौकी ओर्लिए प्रहरी ।
ड्याम्म ताम्बाकाइतेन पछार्नुभो भुइँमा र,
जुरुक्क उठ्नु भो आबा ।
साइँला ला टुबाग खाइरी मुला ?
(साइलाको भरुवा कहाँ छ ?)
अवाक हुनुभो आमा ।

थापसाङः– चुलाको पूजा । घर पूजा । शान्ती पूजा ।
ताम्बाकाइतेनः– उत्पतीको गीती संग्रह
ताम्बाकाइतेन गिती सङ्ग्रहभित्रको उत्पती सम्बन्धी गीतकोअंश –
तामाङ शब्द
दाङ्बो तोङबा राङसिङरी
दोर्जेग्याडम लुङ छ्याजिम्
लुङला थोरी मे छ्याजिम्
मेला थोरी क्युई छ्यजिम्
क्युइला थोरी सा छ्याजिम्
रिग्याल लोङ्बो गाङ छ्याजिम
लिङसी लिनठान गे छ्याजिम
स्यार लो न्हुपज्याङ छो से री
डुवा रिडुक म्हि छ्याजिम
नेपाली अनुवाद
उहिले अनादी शुन्य अवस्थामा
हावाको बज्र आकार बनेछ
हावामाथि आगो बनेछ
आगोमाथि पानी बनेछ
पानीमाथि पृथ्वी बनेछ
सुमेरु पर्वत बनेछ
चार दिशा चार कोण बनेछ
पुर्व दक्षिण पश्चिम उत्तर दिशामा
प्राणी र मान्छे बनेछ

तपाईको प्रतिक्रिया