लन्डन । बेलायती राजनीतिमा इतिहास रच्दै पहिलो पटक नेपाली मूलका विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन् । बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन् ।
भूतपूर्व गोर्खा सैनिक समेत रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ । उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिललाइ पराजित गरेका थिए । गुरूङ सन् २०१४ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका थिए । एक सालपछि उनले उप मेयरका रूपमा काम गरेका थिए ।
बस चालकका रुपमा समेत काम गरेका गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुन् । उनी च्यारिटी संस्था साफा, देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहिसकेका छन् । उनी सन् २०२१-२२ का लागि मेयरका रूपमा निर्वाचित भएका हुन् । एजेन्सी