बिचार

डाक्टरको उपाधि पाउन कसलाई रुचि नलाग्ला ! डाक्टरको उपाधि पाउन कसलाई रुचि नलाग्ला १ सबैको मन खाने उपाधि हो यो । कोही मानव चिकित्सा अध्ययन गरेर चिकित्सक हुँदा डाक्टर बन्छन् । कोही पशु चिकित्सामा निपुणता हासिल गर्दा डाक्टर बन्छन् त, कोही अध्ययन–खोज–अन्वेषणमा व्याप्त भएर थेसिस लेख्दा डाक्टर अफ फिलोसफी पीएचडी बन्छन् ।

अर्कोतिर, कसैले अत्यन्तै गहकिलो समाजसेवा वा विशेष योगदान दिँदा विश्वविद्यालयहरूले मानार्थ अनरेरी डाक्टरको उपाधि प्रदान गर्छन् । डाक्टर हुनु सहज काम होइन । डाक्टर भएपछि त्यो उपाधि अनुरूप काम गर्नु, सेवा पुर्‍याउनु झनै सहज हुँदैन । कारण, धेरै जनाले डाक्टरको उपाधि नपाईकनै डाक्टरले गर्ने काम गरिरहेका हुन्छन् । अरू धेरैले डाक्टरले भन्दा पनि निकै गहिरो प्रतिबद्धता एवं कटिबद्धताका साथ जनसेवा, राष्ट्ररविश्वको सेवा गरिरहेका हुन्छन् । यस्ता सेवकहरू व्यापार–वाणिज्य, साहित्य–संस्कृति, पत्रकारिता, खेल–संगीत–कला, ओखतीमूलो, सरकारी र निजी क्षेत्र, राजनीति–शिक्षण आदि सबैसबै क्षेत्रमा पर्याप्त संख्यामा पाइन्छन् । कसैकसैले त यति गहकिलो र सबैलाई पुग्ने काम गरिरहेका हुन्छन् कि, उनीहरूलाई ‘जी पाँच’ जस्तै ‘डाक्टर पाँच’ को उपाधि पनि दिनुपर्ने हुन्छ ।

डाक्टर हुने सपनालाई सबैले विपनामा साकार बनाउन सक्तैनन् पनि । अर्कोतिर, आँट, भरोसा, परिष्कृत सोच र लक्ष्यैतिर अघि बढे डाक्टर हुन पनि सकिने रहेछ । घुँडै धस्नुपर्छ डाक्टरको उपाधि पाउनलाई । र नै निचोरिएर निस्किएका डाक्टरहरू खप्पिस समाजसेवक पनि हुन पुग्छन् । कसैको घरमा सबै डाक्टर हुन्छन् । काठमाडौंका प्राध्यापक विद्यावीर सिंह कंसाकार आफूचाहिँ पीएचडी अनि श्रीमती र छोरा–छोरी चिकित्सक । घरभित्रै डाक्टरैडाक्टर १ केवल दोस्रो पिँढीदेखि शिक्षित भएको यस परिवारको समाजमा योगदान प्रशंसनीय छ । अर्कोतिर, देवकोटा–लेखनाथ–बालकृष्ण–पारिजात, नारायण गोपाल–अम्बर गुरुङ, बीपी–कृष्णप्रसाद–मनमोहन, अनुराधा कोइराला आदिले डाक्टर नै नभई थाकथाक, युगयुग पुग्ने गरी मन छुने कार्य गरेका छन् । पत्रकारितामा अप्ठ्यारो–मीठो–फराकिलो स्थितिमा गतिलै योगदान दिएका छन्, बितेर गएका र वर्तमानका कतिपय पत्रकारले पनि । विश्वविद्यालयहरूले यिनीहरूलाई त निम्त्याउँदै, आलिंगन गरेर डाक्टरको उपाधि दिनुपर्ने हो ।

लगभग ३९ वर्षअघि, जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमए सक्नासाथ मलाई दार्जिलिङको प्रसिद्ध सन्त जोसेफ कलेजका प्राचार्यले लेक्चररको नियुक्तिपत्र दिँदै ‘अब तिमीले शिक्षण पेसा सुरु गर’ भनेपछि म हर्षले गदगद हुँदै घर पुगें । अर्थशास्त्रमा लेक्चररको उपाधि, परिवारले गर्व गर्ने भए १ भोलिपल्ट बिहानै पिताजीले आफ्नो हाल्डा टाइपराइटर मेसिनमा टकटक गर्दै टाइप गरेको सुनें । ‘तँ पनि आइज, यो पत्र लिएर कलेजका प्राध्यापकलाई आजै दिइहाल्’ भनेपछि मनमा कताकता चिसो त पस्यो, तैपनि सोचें— सायद प्रथम नोकरी जोइन गर्ने स्वीकृतिपत्र होला । नभन्दै, पत्रमा हस्ताक्षर गर्नुअघि पढेको त लेखिएको रहेछ, ‘अझै अध्ययन गर्नका लागि जेएनयू फर्कंदै छु र लेक्चररको पद सम्हाल्न सक्तिनँ । प्राचार्य फादर पापाडिललाई धेरै धन्यवाद ।’ त्यति नै बेला त झोंक चल्यो ।

अल्लारे–वल्लारे जवान म, केही गर्न नसक्ता पिलपिल गर्दै आँखाबाट आँसु झर्‍यो । अनि त मेरो डाक्टरको यात्रा त्यहीँबाट सुरु भयो । एउटा चिठीले नै मलाई डाक्टर बनायो, भारतको प्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालयबाट । ह्याप्पी भ्याली चिया कमानको विन्डसर लजको त्यो सानो कोठामा पिलपिल झरेको आँसुले विक्षिप्त पारेछ र नै हाम्रो चार जनाको सानो परिवारमा पनि दुवै छोरीहरू, काफल अनि टोटोला, पनि डाक्टर भए । माता–पिता, प्रथम पिँढी, शिक्षा पाएका भाग्यमानी व्यक्तिहरू थिए । आफ्नो भाग्य नै बाँडे उनीहरूले म र अन्यसँग । खाली खुट्टै हरेक दिन पन्ध्र–बीस किलोमिटर उकालो–ओरालो हिँडेर स्कुल गएका माता–पिताले मलाई रेलगाडीमा चढाएर दिल्ली पुर्‍याए र डाक्टर बनाए । र दोस्रो पिँढी पनि शिक्षित भयौं । हामीले छोरीहरूलाई रेलगाडीसँगसँगै हवाईजहाजमा चढाई तेस्रो पिँढी शिक्षित बनाउँदै डाक्टर बनायौं । हामी यसरी तेस्रो पिँढी मात्रै शिक्षित भएका भारतीय गोर्खा नेपालीभाषीहरू बाह्र–पन्ध्र पिँढीदेखि नै शिक्षित भएका बंगाली–तमिल–मराठी–तेलुगु आदिसँग होडबाजी गर्ने भयौं । र विदेशीका पनि त्यति नै पिँढी खाएकाहरूसँग आङमा आङ मिलाएर, आँखै जुधाई टक्कर दिने भयौं । केवल शिक्षा, एउटा पत्रले लगाएको बौद्धिक आगो, एउटा टाइपिङ मेसिनले दिएको सामाजिक सन्देश १ हामी भारतीय गोर्खा र विश्वमा छरिएर बसेका नेपालीहरूलाई डाक्टर बनाउने, पिँढी सपार्ने र हाम्रा नानीहरूलाई होडबाजी–टक्कर दिने बनाउने एउटै मन्त्र हो— शिक्षा र ज्ञान । यसैले कुखुरा–बाख्रा बेचेर हुन्छ कि घर–जमिन बन्धकी राखेर, नानीहरूलाई पढाउनैपर्छ । जुन दिन हामी ज्ञानको खेती गर्छौं, त्यही दिनदेखि हरेक गोर्खा–नेपालीको आङमा घाम लाग्छ ।

चिकित्सक डाक्टरहरू समाज–राष्ट्र–विश्वका मुटु हुन् । बिरामीहरूका निम्ति ईश्वर नै हुन् । मर्न कसैलाई मन पर्छ र, मर्नलाई नै जन्मेको भए पनि १ यो मन नपर्नु र एक दिन मर्न नै पर्नु बीचको दूरीमा चिकित्सक डाक्टर उभिएको हुन्छ । यतापट्टि परिवार अनि अर्कोपट्टि यमराज । डाक्टरको भूमिका अहं तर जटिल । यसैले मानव समाजले डाक्टरहरूको उत्सव मनाउँछ, मनमनै उनीहरूको पूजा पनि गर्छ । बिमार व्यक्ति चिकित्सक डाक्टरहरूको बोली सुन्दै र अनुहार देख्दै ठीक हुन्छ, ओखतीमूलो त पछि आउँछ । कोरोना महामारीमा डाक्टरहरूले प्रस्तुत गरेका अनुकरणीय मानवगुण सबैले टिपेर राखेका छन्, फक्रिएका सुन्दर फूलहरूले देवी–देवताको थान सजाएझैं ।

अभाग्यवश, कतिपय चिकित्सक डाक्टरहरू पनि महाजनजस्तै व्यापार–वाणिज्य गर्ने गर्छन् । शिर दुख्दा पनि शरीरभरिको स्क्यानिङ गर्न लगाउँछन् । औंला मर्किंदा पनि हात र खुट्टा नै काटुँला जस्तो गर्छन् । बिमार व्यक्तिका परिवारलाई भय–त्रासले जानीजानी ग्रसित बनाउँछन् र निम्बु निचोरे जस्तै पैसा माग्छन् । यस्ता अस्पताल र नर्सिङ होम पर्याप्त छन् जसले बिरामीको लाचारी र असहायपनको आत्मामै भाला गाड्छन् अनि आफू चाहिँ पैसाको मालाले घरका स्वर्गीयहरूका तस्बिर सजाउँछन् । यस्ताहरू ठग्नै, लुट्नै जन्मेका हुन्छन् क्यारे १

पीएचडी हासिल गरेका डाक्टरले समाज–राष्ट्र निर्माण गर्ने दायित्व लिएका हुन्छन् । मैले आफ्नै आँखाले देखेको छु, कति समर्पित हुन्छन् यिनीहरू १ विद्यार्थीहरू कक्षाकोठा छोड्न मान्दैनन् यी डाक्टरहरू बोल्न थालेपछि । कोट्याईकोट्याई पढ्छन् यी डाक्टरहरूले लेखेका लेख–अध्याय–पुस्तकहरू । जीवनभरि ऋणी रहन्छन् विद्यार्थीहरू ।

अभाग्यवश, यहाँ पनि पीएचडी गर्ने कतिपय डाक्टरहरू पीएचडी नै विश्वको सबैभन्दा ठूलो उपाधि हो भन्ठानेर एकपल्ट डिग्री हासिल गरेपछि आफूलाई आडम्बर र दम्भको डोकोभित्र हाल्छन् । मैलेजति अरू कसैले जान्दैन भनेर ज्ञान लिन आएकाहरूलाई कुचो–झाडुले बढारिदिन्छन् । कक्षाकोठामा गई विद्यार्थीलाई आडम्बरको पाठ पढाउँछन् । हाम्रै आँखाअगाडि विश्वविद्यालयमा पीएचडीका नाममा यस्तो शिक्षक नियुक्त गरियो, जो कक्षाकोठामा विद्यार्थीहरूमाझ एपोलो सर्कसको जोकर नै भयो । उसलाई नेपाल राष्ट्रको विशेषज्ञका रूपमा नियुक्ति गरियो, जबकि उसले नेपालको मानचित्र पनि ठीकसँग देखेको थिएन । अनि यस्ताले कसरी ओखलढुंगा र सोलुखुम्बु पढाउन सक्छन् १ विशेषज्ञ भएर होइन, उसलाई कुनै अन्य कारणवश नियुक्ति दिइएको थियो ।

पिँढी–दर–पिँढी विद्यार्थीहरूले नेपाल राष्ट्रका बारेमा उल्टापाल्टा–टेढोमेढो, फेसबुक र ट्वीटरले दिने ज्ञान पाउँछन्, गलत पीएचडी पाएका यस्ता डाक्टरहरूबाट । पीएचडी पाउनु भनेको दाल–भात–डुकुको आफ्नो समस्या हल गर्नु होइन । यो समस्या त छिचिमिरा–मालसाँप्रो–भालेमुंग्रोले पनि डाक्टर नभई हल गर्छन् । डाक्टर हुनु भनेको विद्यार्थीहरूलाई ज्ञानले ओतप्रोत पार्नु हो, ठूलो सोच्ने बनाउनु हो र सामाजिक दिशानिर्देश गर्नु होस अरूले लेखेका कुरा पढाए पनि आफूले सोचेका, भोगेका, खोज–अन्वेषण गरेका कुराहरू अघि राखेर विद्यार्थीहरूको कौतूहललाई उचाइमा पुर्‍याउनु होस उनीहरूका ज्ञानको तृष्णा मेटाउन एक गाग्रो धाराको पानी अघि राखिदिनु हो ।

अर्कोतिर, धेरै धनको मालिक तर ज्ञानमा गरिब र निर्धनहरू डाक्टरेट डिग्री पाउन आतुर रहन्छन् । कतिले किन्छन् पनि डिग्री, छिटो–सस्तोमा डिग्री बेच्ने विश्वविद्यालयहरूबाट । उत्तर–पूर्वी राज्य मेघालयको एउटा निजी विश्वविद्यालयले यस्ता डिग्री बेचेको थाहा पाएपछि भारतको विश्वविद्यालय अनुदान आयोगले मलाई जाँच समितिमा पठायो । त्यहाँ मैले डिग्रीको जुन व्यापार देखें, छाँगाबाट खसेजस्तै भएँ । राजनीतिक नेताहरू, विशेषतः अति नै कम पढेकाहरू आफ्नो रूखो र नितान्त कम ज्ञानको भण्डार छिपाउनलाई डाक्टरेट डिग्री माग्ने गर्दा रहेछन् । नदिँदा र कठिन सर्त राख्दा विश्वविद्यालयको बदनाम गरिदिने रहेछन् । विश्वविद्यालयका अधिकारीहरूलाई घिनैलाग्दो झुटो केस पनि लगाइदिने रहेछन् । कतिले आफूलाई डाक्टर भन्दै अहंकारको दुन्दुभि बजाउने रहेछन् । यही कारण डाक्टरजस्ता मानक डिग्रीहरू दिन विश्वविद्यालयले अति नै उच्च मापदण्ड राख्नुपर्छ । वर्षौं दुःख गरेर, पसिना चुहाएर डिग्री आर्जन गर्ने र पैसा खुवाएर, लालच देखाएर, धम्कीले फन्को मारेर मानक पीएचडी डिग्री हत्याउनेहरूबीचको दूरी अति नै लामो बनाउनुपर्छ ।

पशु चिकित्सक डाक्टरहरू प्रकृतिले नै डाक्टर डिग्री दिएका व्यक्ति हुन् । पशुहरूका भाषा, जात, जाति, संस्कृति एवं सृजनाबारे कणकण बुझेका, रौंरौं भिजेका अनि मेटिँदै गएका पाइलाहरू केलाउने यी पशु चिकित्सक डाक्टरहरूको धैर्य, अनुभव र ज्ञान अति नै मर्मस्पर्शी हुन्छ । पशु पीडाले रुँदा आफ्नै छोरी–छोरा–आफन्तको वेदना साँच्ने यी डाक्टरहरू पशु–प्राणी मुस्कुराउँदा आफ्नो आँतबाटै खितखित हाँस्छन् । पशु–प्राणी अब नबाँच्ने रहेछ, किन पीर–पीडामा चोबल्नु भनेपछि यिनै डाक्टरहरूले ‘पुट–टु–स्लिप’ अथवा सधैंभरिका लागि सन्चोले सुत्ने सुई लगाइदिन्छन् । आईसीयू र भेन्टिलेटरमा हत्तपत्त जानै दिँदैनन् । यी डाक्टरहरूलाई हात्ती–घोडा–बाघ–भालु–हाप्सिलो–गाई–कुकुर–बिरालो–साँप सबैले टाढैबाट चिन्छन् र नै छेउमा आई लडीबडी गर्छन् । मानव चिकित्सकभन्दा व्यापक माग भएका यी डाक्टरहरू पर्वत, जंगल, गाउँ, बस्ती, भीर, पखेरा सबैसबै स्थानमा पुगेका हुन्छन् । जात–जाति–रङ–धर्म–भाषा छुट्याउँदैनन् यी डाक्टरहरू ।यी सबैसबै डाक्टरहरूको सदैव जय होस् १ मानव–पशु, ज्ञान–विज्ञान, कला–संस्कृति, खेल–संगीतमा यी डाक्टरहरू सदैव मुस्कुराइरहून् । शीतलता प्रदान गर्दै रहून् । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया