नेपाली साहित्यको बिशेष कविता बिधामा भुपाल राई अब एउटा नमेटिने हस्ताक्षर भैसकेका छन् । कविताको माध्यमबाट पहिचानको आवाजलाई अत्यन्तै शक्तीशाली रुपमा उठाईरहेका उनि चालिसको दशकदेखि निरन्तररुपमा सकृय छन् । उनको लेखनमा एक किसिमको मान्छेलाई आन्दोलित बनाइरहने आग्रह सहितको बिचारको घर्षण हुन्छ खासगरि यो देशका तमाम सीमान्तकृत समुदायको आवाजलाई उनको कविताहरुले चिच्याई चिच्याइ बोलीरहेको हुन्छन । प्रस्तुत छ हङकङ खबरमा साताको तीन कवितामा उनको कविता ।

कमलपित्ते लहरा
कथा त – सप्रसङ्ग त्यसैको हो
तर हमेसा सूरु हुन्छ
सिमालीको झ्याङबाट

सिमालीको झ्याङ त्यसको आकाश हो
त्यसको पुथ्वी
त्यसको सयन कक्ष, भान्साघर
त्यसको शौचालय
बिनापसिना –बिनारगत
सट्टामा एकथोपा इन्धन खर्च नगरी
निशुल्क प्राप्त हुने
त्यसको पहेँलो राज्य

त्यो नापतौल
सिमालीको रैथाने फेद
जराको गहिराइ
केवल नाप्छ पातको क्षेत्रफल र उचाइ
र, टेकेर पहेँलो खुट्टाले
हासन गर्छ हरियो पहिचानमाथि

यहि वापत
प्राप्त छ पहेँलो श्रीपेच त्यसलाई
निशुल्क राजसी भोजनको सुबिधा
र, छ खुल्ला पाइखानाको छुट
त्यो सोच्छ
कि त्यसको अविच्छिन्न राज्यभन्दा पर
जहाँ पुग्दैन त्यसको कमलपित्ते हात
त्यहीँबाट टुक्रिन्छ जङ्गल
टुक्रिन्छ देश

सुत्छ हरियो पलङमाथि
चपाउँछ हरियै भित्रयाँस
र चुस्छ हरियो लाम्टाबाट हरियै दुध
तैपनि सोध्दैन कोही किन पहेँलो छ त्यो ?

सायद कतिलाई लाग्दो हो
“कमलपित्त”रङ्ग हो
तर, त्यसको परजैविक सत्ता
जो फैलिन्छ एकथोपा पहेँलो शुक्रकीटबाट
त्यो केवल एउटा रङ्ग बिरोधी रोग हो
र, हरियो झयाङले अब बुझ्नुपर्छ
कथा आकाशबाट होइन
जराबाट सुरु हुन्छ
कथा अब उसैको बाँकी रहन्छ
जोसँग आफ्नै जरा हुन्छ ।

हरिनन्द र माटो

हरिनन्द
निषेध गर्छ माटोलाई
तर, पुजा गर्छ मालिकलाई
ऊ– बिना हावा
बिना पानी
बिना माटो
फुलाउँछ फुल
माटो नछोई
उमार्छ फसल
र, छुटयाउँछ माटोबाट राजभक्तिको फुल
माटोको बङ्करभित्र
खडा गर्छ माटोकै महल
खान्छ माटै
बिस्टयाउँछ माटै
तैपनि माटोकै विरुद्धमा
तय गर्छ धमिराको भूमिगत यात्रा
हेरक बिकल्प छ माटोको उसँग
त्यसैले द्रोह गर्छ माटोसँग
त्यसैले भेटी चढाउँछ
आफैले शरण लिएको एक मुठी माटो
नुवाकोटको दरबारमा
ऊ– एक द्रोह उर्फ एक दारा
पुरा नाम– हरिनन्द पोखरेल
ठेगाना – खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष– सन् १७७३
दुर्भाग्य
म माटो ढोग्छु
त्यसैले माली छु
ऊ माटो टेक्छ त्यसैले मालिक छ ।

सिकल सेल एनिमिया

के यो भानु र भानुभक्तहरुको सङेक्रामक भाषा हो ?
अथवा राममणि आदिको सजातीय कविता !
या गार्खाली हिन्दुस्थानको राजकिय धर्म ।
अथवा महेन्द्रको लवेदा सुरुवाल !
वा शासकीय नश्लको सफेद अनुहार !
के हो यो
“सिकल सेल एनिमिया ?”
जसले चुसिरहेछ भित्र–भित्रै
निरन्तर एउटै जातिको रगत
भाषा
भारदारी नश्ल
र, मनुस्मृतिको मन्त्र जस्तै
विभेदकारी भएर रोगले पनि सिध्याइरहेछ
केवल “थारु” जातीको अनुवंश
के हुरी चलेकै हो
पश्चिमी तराईको दलदलतिर ?
जसले एकाएक घटाएको छ कुचीकारको कष्ट
बढार्नु पर्ने साढे सत्र लाख “थारु”हरु
बिस्तारै –बिस्तारै
आफै बढारिदै गए भने
अवश्य घट्नेछ केही प्रदुषण
सिथिल बन्ने छ पहिचानको अवाञ्छित हल्ला
र, आफै कम हुनेछ
राज्यको अतिरिक्त बोझ
रह्यो देशको कुरा
देश त एक निरपेक्ष खण्डहर हो
जो बिना “ थारु ” पनि चलिनै रहन्छ चलिरहनेछ ।

तपाईको प्रतिक्रिया