२०२०मा काठमाण्डौंको कलंकी वडा नं १४ खड्कागाउँमा जन्मीनु भएकी गीता खत्री डायस्परीक साहित्यमा सधै चर्चामा रहीरहने नाम हो । पाटन संयुक्त क्याम्पसबाट स्नातक गरेर पेरिसमा एलाएन्स फ्रान्सेबाट फ्रेन्च भाषाको अध्ययन तथा न्यूयोर्कको हण्टर कलेजबाट ओमन लिडरशीप कोर्स पूरा गरेकी केही समय उहाँको संलग्नता शिक्षण पेशामा पनि रहेकोे थियो । त्यसपछि विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यमा सलग्न हुँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरको पहिलो उपाध्यक्ष, त्यसपछि अध्यक्ष, अनेसास केन्द्रीय कार्यसमितिको महासचिब हुँदै पहिलो निर्वाचित महिला अध्यक्ष हुनु भएको हो साहित्यको बिभिन्न बिधामा सकृय कयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र पुुरस्कारबाट सम्मानीत हुनुहुन्छ । प्रस्तुत छ कवि तथा गीतकार दिपा राई पुनले उहाँसग गर्नुभएको संक्षिप्त कुराकानी ।
अहिले कुन किताब पढिरहनुभएको छ ? अक्सर कस्तो कृति पढन रूची राख्नु हुन्छ ?
सांच्चै भन्ने हो भने संस्थागत कामले किताब पढ्नै नभ्याउने । फेरि विश्वव्यापी फैलिएको कोरोना महामारीले सबै साहित्यिक गतिबिधिहरु जुम प्रविधिबाट हुन थाल्यो । बोलाएको ठाउँँमा भाग लिनै पर्यो । आफ्नो रहर र चाहना पनि यही हो । बिशेष किताब केही छैन । समय समयमा मित्रहरुको कृति हात परेपछि सकेसम्म पढि हाल्छु र मनमा लागेको सानोतिनो समिक्षा पनि लेखिहाल्छु । ऐतिहासिक तथा धार्मिक कहानीको फ्युजन भएका कृतिमा मेरो रुचि छ । जस्तै सेतो बाघ, बसन्ती योगमाया आदि ।
डायस्पोरिक साहित्यले उठाउनै पर्ने प्रमुख मुद्दा के के हुन सक्छन् जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन प्रमुख भूमिका खेल्न सकून् ।
केही सिर्जनालाई छोडेर डायस्पोरामा भएका सिर्जनाहरुले अझै नेपाली परिवेश, नेपाली गाउँ समाज तथा रहनसहनलाई साहित्यमा उतार्दै आएको अवस्था छ । त्यसले समाजमा कुनै दूरदृष्टि फ्याक्दैन । त्यसले केवल समाजको वस्तुस्थितिको बोध गराउछ । साहित्यले दूरदृष्टि पनि फ्याक्नु पर्छ भन्ने मेरो सोचाइ छ । डायस्पोरिक सोचाइलाई साहित्यमा प्रवेश दिनु पर्छ अनि मात्र अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य आउन सक्छ । हुन त खलिद हुसेनको द काइट रनरले देशभित्रकै परिवेश र कथा समावेश गरेपनि अन्तर्राष्ट्रिय स्तरमा आउन सफल भयो । तर सबैलाई एउटै सुत्रले समात्न सक्दैन । कम से कम डायस्पोराका लेखकहरुले अलिअलि नोष्टाल्जिक भएर उताको भावना समावेश गरेपनि बाकी कथासार डायस्पोराकै भयो भने यसले यताकै मान्यता पाउन सक्छ भन्ने मेरो सोचाइ छ ।
लेखक भएर जीविकोपार्जन गर्न त्यसमा पनि महिला लेखकले गर्नुपर्ने वाह्य रआन्तरिक संर्घष के कस्ता हुन सक्छन् ?
पहिलो कुरा महिला होस् वा पुरुष, लेखकै भएर घरपरिवारको जीविका चलाउन सकिने अवस्था हाम्रो समाजमा अझै आइसकेको छैन । कसैले आफ्नो रहरले अनि कसैले कुनै संघसंस्थाले यति लेखि दिन पर्यो भनि अनुरोध गरेको अवस्थामा मात्र कृतिहरु लेख्न थाल्छन् । त्यसबाट जे जति मिल्छ, त्यसमै सन्तोष लिनु पर्छ । पाठ्यक्रममा पर्ने लेखकहरुको बेग्लै कुरा हुन सक्छ । मैले चिनेजानेका लेखकहरु जसले राम्रा राम्रा कृतिहरुको जन्म दिनु भएको छ, उहाँहरु पनि प्रकाशकसँग सन्तुष्ट देखिनु हुन्न । रोयल्टीको कुरा कता हो कता । जागीर वा निजी व्यवसाय नभइ पुस्तक लेखेरमात्र जीविका चल्छ जस्तो मलाई लाग्दैन । मेरो सोचाइ गलत पनि हुन सक्छ । कलम चलाउनको लागि राम्रो बाताबरणको आवश्यकता पर्छ । पुरुषलाई लेख्न जति सहज बातावरण मिल्छ महिलालाई पक्कै मिल्दैन । महिलाको दायित्व घरपरिवारमा बढी हुन्छ । जति सजिलो घरपरिवार भएपनि नियमित दायित्वबाट महिला पन्छिन सक्दिनन् । सबै काम तुरेपछि मात्र लेख्न बस्नु पर्छ । राम्रा कुराहरुको स्फुस्ण दिमागमा कतिबेला हुन्छ थाहै हुन्न । त्यो मौका मिस भएपछि अर्को कहिले आउँछ थाहै हुन्न । आमाहरु लेखक नभएर हो वा बुबाको आडमा आफ्नै दाजुभाइले पनि दिदीबहिनीको सिर्जना शक्तिलाई तल्लो दर्जाको दृष्टिले हेर्ने गरेको छन् । घरबाहिरका पुरुष लेखकहरुको कुरै नगरौं । कतिपयले त म सर्बश्रेष्ठ लेखक हुँ । मेरा अगाडि तिमीहरु केही होइन भन्ने समेत गरेको तीतो अनुभव छ । त्यसैले महिलाले भित्र र बाहिर उत्तिकै संर्घष गरिरहनु पर्छ ।
व्यक्तिगत र लैङ्गिक स्वाभिमानसहितको नारी हुनुहुन्छ । आएका सबै चुनौती र बाधा व्यावधानहरूसँग लड्दै हुनुहुन्छ । जीवन के रहेछ त ?
पढाईको निमित्त मैले सानैदेखि संर्घष गर्दै आएकी हुँ। म आफुमात्र स्कूल गइन । मेरा नजिकका बहिनीहरु जो घरमै बसेर काम गरिरहेका थिए उनिहरुलाई पनि स्कूल पठाउन सफल भएकी थिए । नचाहिने कुरामा म कसैको समर्थन गर्दिन । महिलाको लागि आरक्षणको आशा गर्ने मान्छे म होइन । म के चाहन्छु भने महिलालाई घरपरिवारबाटै छोरालाई जतिकै अवसर दिनु पर्छ भन्छु । जसरी हाम्रो परिवारमा छोरालाई योग्य बनाउन आमाबुवा दिनरात खटिइरहन्छन् छोरीलाई पनि त्यही अवसर दिने हो भने उनिहरु पनि योग्य हुन्छन् र कसैको आरक्षण वा संरक्षण चाहिन्न । महिला आफै सफल डाक्टर बन्न सक्छन, सफल इन्जिनियर बन्न सक्छन् सफल कर्मचारी बन्न सक्छन् र सफल व्यापारी बन्न सक्छन् । महिलाको स्वाभिमान आफै आउँछ ।
जीवन एउटा चलिरहने मेशीन हो । सोच बिचार भएको मेशीन हो । जसरी चलाइन्छ त्यसैगरि अगाडि बढ्छ ।
नेपाली साहित्यको बजार कस्तो छ ? अन्तर्राष्ट्रिय बजारमा नेपालीसाहित्यको स्थान कहाँनिर छ ?
तीस—चालिस बर्षमा नेपाली भाषा साहित्यको विकास प्रशस्तै भएतापनि स्तरीय साहित्य सिर्जनामा अझै कमि भएजस्तो मलाई लागिरहेको छ । नेपाली सर्जकहरुको जन्म प्रशस्तै भयो तर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने कृतिहरु जन्माउन सकेनन् । यसका दुई कारण भए जस्तो मलाई लागेको छ । एक, संस्थागत लेखाई भएन । व्यक्तिले आफनो ब्रम्हले जे देख्यो सोही लेख्यो । राम्रो लेखक भएतापनि उसलाई न कसैको सहयोग प्राप्त भयो न अनुसन्धान प्रकाशनका लागि सहयोग । लेखक आफुले जे सक्यो गर्यो । अर्को, अंग्रेजी भाषामा दखल भएका मान्छेहरुको कमी । अंग्रेजी भाषा जानेर र विश्वविद्यालयमा पढाएर मात्रै पनि नेपाली भाषालाई अंग्रेजीमा अनुवाद गर्दा लेखकीय भावलाई अग्रेजीमा उतार्न सक्छन् भन्ने छैन । सोझो अनुबाद त पक्कै हुन्छ । नेपाली लेखकको भावनालाई समेत अंग्रेजीमा अनुवाद भएको हुनुपर्छ । तब मात्र त्यो कृतिले विश्वबजारको मन जित्न सफल हुन्छ । केही लेखकहरु यस दिशामा अग्रसर भइरहेको देखिन्छ । अंग्रेजीमै लेख्ने लेखकहरु तथा अनुवादमा संलग्न विज्ञहरुलाई संस्थागत सहयोग भएको खण्डमा नेपाली भाषासाहित्यको स्थान राम्रो हुने कुरामा म विश्वस्त छु ।
साहित्य महिला लेखक सहभागिताको अवस्था कस्तो छ र अबको केही समयपछि कहाँ पुग्ने देख्नुहुन्छ ?
बिगत दुई दशकको मात्रै कुरा गर्ने हो भने पनि महिला लेखकको उपस्थीति नेपाली साहित्यमा एकदम राम्रो भएको छ भन्नु पर्छ । पहिले औंलामा गन्न सकिने महिला लेखकहरु देखिन्थे भने अहिले अनगिन्ती छन् । त्यसमा पनि कृतिकार नै प्रशस्त भइसकेका छन् । महिला सर्जकहरुलाई उनिहरुको घरपरिवारले साथ र हौसला दिने हो भने अबको केहि दशकपछि भित्र महिला साहित्यकारले नेपालमा मात्र नभएर बिश्वस्तरमा नै आफ्नो उपस्थीति जनाउने छन् ।
हाल लेखिंदै आएको नेपाली साहित्यमा महिला पात्र चरित्रचित्रण र आर्थिक, सामाजिक र राजनीतिक भूमिकाका विषयमा के भन्नुहुन्छ महिलाको उपस्थीतिको अवस्थालाई कसरी बुझ्नु भएको छ ?
अहिलेसम्म लेखिएका कृतिहरुमा फाट्टफुट्ट बाहेक प्रायः सबैमा नारी पात्रलाई दोस्रो दर्जामा राखिएको अथवा भनौं सहायक पात्रको रुपमा लिइएको मैले अनुभव गरेकी छु । समाजका कुरीति, कुसंस्कार तथा दमनका बिरुद्ध महिला चरित्रलाई जिम्मा लगाइएको वा त्यसको समाधान महिला पात्रबाट सफलतापूर्बक सम्पन्न भएको देखाउन सकेका छन् । तर समाज त्यो दिशामा अगाडि बढीरहको छनक पाइएको छ । त्यसैले अबका सिर्जनाहरु महिला सहास र योग्यताका साथ अगाडि बढ्ने छन् भन्ने मलाई लागेको छ ।
साहित्यिक क्षेत्रमा गीता खत्री स्रष्टा र सस्थामा के भिन्नता छ ? संस्था गीता खत्रीले स्रष्टा गीता खत्रीलाई न्याय गर्न सक्छ ?
खासगरी म स्रष्टा नै हुँ। सिर्जनाको लागि माहोलको खाँचो पर्ने रहेछ । धेरै पहिलेदेखि म एउटा माहोलको खोजीमा थिएँ । त्यो माहोलको अभावमा मेरा केही कृतिहरु खेर पनि गए । म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध भइसकेपछि मेरा सिर्जनाहरुले समाजमा देखा पर्ने मौका पाए ।संस्थासंग आवद्ध भइसकेपछि सिर्जनालाई बाधा नपुर्याएको पनि होइन । तर संस्थागत कामको चेपुवा भनौँ वा प्रेसरबाट नै गतिलो सिर्जनाले जन्म लिने रहेछ । त्यसैले अहिले नेपाली साहित्यको फाँटमा मलाई मेरै सिर्जनाले चिनाउन थालेका छन् । अनेसास विश्वव्यापी संगठन भएकोले विगत दुई दशकदेखि निरन्तररुपमा यसमा सँलग्न भइ सँधै नेपाली भाषासाहित्यको विकास र विस्तारमा आफ्नो बुद्धि, विवेक, तथा सक्दो आर्थिक सहयोग गर्दै अगाडि बढाइरहेकी छु । यसमा मेरो व्यक्तिगत स्वार्थभन्दा नयाँ पुस्तालाई नेपाली भाषाप्रति आकर्षित गराउने उद्देश्य लुकेको छ ।
गीता खत्रीका सीमा र शक्ति केके हुन् ? संसारमा एक से एक लेखक, कवि छन् । तपाईँलाई पाठकले किन पढ्ने ?
मलाई कस्तो लाग्छ भने जुनसुकै बस्तुको पनि आफ्नो सिमा र परिधि हुन्छ । त्यो सीमा र परिधिको ज्ञान आफु लाई हुनु जरुरी छ । असीमित इच्छा र आकांक्षाले मान्छेलाई ठूलो खाडलमा पुर्याउछ जहाबाट निस्कन सम्भव हुन्न । म सानो घरपरिवारलाई स्वर्ग बनाउँदै आफ्नो सिर्जनालाई अगाडि बढाउन चाहन्छु । अवसर मिलेमा यस्तै अन्य प्राज्ञिक संस्थामा आवद्ध भएर नेपाली भाषासाहित्यको उन्नयनका लागि सक्दो सहयोग पनि गरिरहनेछु ।
हो नी संसारमा एक से एक लेखकहरु छन् तर हामी आफुलाई मन पर्ने लेखकका कृतिहरु निस्कनासाथ पढ्न आतुर हुन्छौ अरुको वास्तै गर्दैनौ । किनकी यो मानवीय स्वभाव हो । लेखकले आफ्ना पाठक बनाइसकेको हुन्छ । आफ्ना पाठक बनाउनका लागि लेखकले आफु लाई न्यायको तराजुमा राख्नु पर्छ । लेखकीय इमान्दारिता उसका कृतिमा आउनु पर्छ । साथै उसका कृतिहरु स्तरीय हुनु पर्छ । अनि मात्र पाठक उसको फ्यान बन्छ । तपाइले मेरा हरेक कृतिमा मेरो इमान्दारिता पाउनु हुने छ । मेरो पहिलो कृति र आठौं कृति पढ्नु भयो भने तपाईलाई नै थाहा हुने छ तिनिहरुको स्तरीयता । यिनै कारणहरुले गर्दा पाठकले मलाई रुचाउछन् । मेरा कतिपय कथा पढेर मलाई फोन गर्ने र इमेल मार्फत कमेन्ट पठाउने पाठकहरु हुनुहुन्छ । उहाँको मन जित्न सफल भएकोमा म आफैलाई गर्वको अनुभव भइरहेका छ ।
तपाई अनेसास बिओटी संस्थाको अध्यक्ष जस्तो गरिमामय उच्च पदमा हुनुहुन्छ। आफ्नो कार्यकालभरि संस्थालाई संस्थागत गर्न के के योजना बनाउँनुभएको छ? नेपाली साहित्य बिश्व बजारमा पुराउँन संस्थाको पहल कस्तो रहनेछ?
अनेसास, न्यूयोर्क च्याप्टरको स्थापनादेखि यो संस्थामा मेरो संलग्न रहिआएको हो । त्यसैले यसभित्रका कमी—कमजोरीहरुलाई राम्रोसङ्ग नियाल्ने मौका पाए । फलस्वरुप यसमा सुधार गर्ने प्रयासहरु पनि गरिए । संस्थागत कुरा भएकोले सबै साथीभाइहरुको सहयोगले नै यो सम्भव हुने कुरा हो । कतिपय कुराहरुको सुधार गरिए कति हुन बाँकी नै छ । सुधारका लागि विधान संशोधनको अन्तिम तयारी भइरहेको छ । चारवटा कुराहरुमा ध्यान दिने विचार लिएर म बिओटीको अध्यक्षमा आएकी हुँ । पहिलो अनेसासबाट प्रदान गरिने पुरस्कारहरुको राशी थप गर्ने, दोस्रो नेपाली साहित्यका जिउँदा ताराहरुको नाममा पुरस्कारको स्थापना गर्ने, तेस्रो विधानलाई समय सापेक्ष गराउन संशोधन गर्ने र चौथौ अनेसासको आफ्नै भवन खरिद गर्ने वा निर्माण गर्ने । सोही योजना अनुरुप पुरस्कारहरुको राशी बृद्धि भइसकेको छ । शताव्दी पुरुष सत्यमोहन जोशी , राष्ट्रकवि माधव घिमिरे तथा अनेसासका संस्थापक होमनाथ सुवेदीको नाममा नयाँ पुरस्कारहरुको स्थापना भइसकेको छ । बाँकी दुबै काम अन्तिम अवस्थामा पुगेका छन् । नेपाली भाषासाहित्यलाई बिश्व बजारमा पुर्याउने कामको थालनी भइसकेको छ । अनेसासले अंग्रेजी भाषामा पनि कथा र कविताहरुको संङ्गालो निकालि सकेको छ । तर नेपाली भाषाका स्तरीय पुस्तकहरुको अनुवादको काममा ढिलाई भइरहेको छ । भाषाको अनुवाद गर्नेहरु प्रशस्तै भेटिएका छन् तर नेपाली भावलाई समेट्न सक्नेको खोजी भइरहेको छ । छिट्टै यो काम पनि पुरा होला भन्ने मैले आशा लिएकी छु ।
अहिले कृति कम पुस्तक बढी बजारमा बिक्रि भइरहेका छन् । अचेलका स्थापित लेखक कवि साहित्य नलेखी ज्ञान बाँडिरहेका छन् । तपाईं के गर्दैहुनुहुन्छ नयाँ ?
कुरा सही हो । अहिले कृति कम पुस्तक बढी बजारमा आएको देखिन्छ । तर काली गण्डकीमा भेल आएन र लाखौलाख ढुङ्गा बगाएर ल्याएन भने शालिग्राम पाइदैनन् नी । शालिग्राम पाउन तीनै लाखौंलाख ढुङ्गाहरुले बग्नु पर्छ, ठोक्किनु पर्छ, फुट्नु पर्छ । अनि मात्रै शालिग्राम बन्छ र हामीले घरमा ल्याएर पुजा गर्छौं । मलाई उपन्यास लेख्ने रहर थियो । त्यसैले म विगत दुईतीन बर्षदेखि यसैमा लागि रहेको छु । टाउको र पुच्छर जोडने काम बडो कठीन हुने रहेछ । कोरोनाको त्रासले पनि मन बेचैन भइरह्यो । लेख्ने उत्साह र उर्जा जाग्दै जागेन । अझै केही समय लाग्ने अनुमान छ । गीता खत्री सिर्जनामै रमाउने मान्छे हो । यसैमा रमाउंछु । मौकाले साथ दिएर कुनै प्राज्ञिक संस्थामा सेवागर्ने अवसर मिल्यो भने सहयोग गर्न तयार छु । अरु केही बिचार छैन ।