काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय गरेको हो ।
हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले बहिष्कार गरेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय लिएको हो । खनाल र नेपालले फागुन २८ गतेको केन्द्रीय कमिटी विस्तारलगायतका फेरबदल परिमार्जन नगरिएसम्म अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने अडान लिएको छ ।