काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन सकिने बताएको छ । जसपाका नेताहरुसँगको आजको छलफलमा संसदको सबैभन्दा ठूलो दल एमालेले उपसभामुख प्रस्ताव गरेको हो ।
एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितको वार्तामा जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।
उपसभामुख संवैधानिक परिषदको सदस्य पनि भएकाले महत्वपूर्ण पद हो । सभामुख र उपसभामुख एकै दलको हुन नहुने कारण नेकपाले उपसभामुख कसैलाई दिएको थिएन ।
अहिले नेकपा एमाले र माओवादी भइसकेकाले माओवादीका सभामुख भएका बेला एमालेको उपसभामुख अघि सार्न सकिन्थ्यो । तर जसपासँग प्रदेश सरकारदेखि संघीय सरकारसम्म सहकार्य गर्नुपर्ने भएकाले उपसभामुख उसलाई दिन लागिएको एमाले स्रोतले जनाएको छ ।
उपसभामुखमा जसपाबाट चन्दा चौधरीको नाम प्रधानमन्त्रीले नै लिएको चर्चासमेत जसपा वृत्तमा चलेको छ । उनी महन्थ ठाकुर निकट सांसद हुन् ।