रोल्पामा जन्मीएकी कवि संगीत मगर हाल दाङमा बसेर लेखनलाई अगाडी बढाईरहेकी छीन् । यसका साथै फेसन डिजाइन, फिल्म मेकिङ उनको उनको अर्को रुचीको बिषय हो। कवितामा प्रेमलाई बडो शान्तसँग अभिव्यक्त गर्नु उनको लेखनको बिशेषता हो। प्रस्तुत छ उनको तीन कविता ।
तिमी र उज्यालोको कथा
तिमीलाई थाहा छ ?
यो शहर भन्दा टाढाको एक दुनियाँ
जहाँ प्रकृति रंगिन्छ –
सेताम्मे हिउँले गुँरासका रहरलाग्दा थुँगाले ।
दुःख नाचेको भूगोलमा जन्मियौं तिमी र म
फरक फरक आँगनमा
गाउँले जीवन, समयको तेज रफ्तार रफ्तार मै हुर्कियौँ ।
तरेर समयका काठेपुुल हिड्यौं ओकाली ओराली
चिन्यौं रात जस्ता काला खरीपाटीमा
सपना जस्ता उज्याला अक्षरहरु ।
यस्तै यस्तै बितिरह्यो यामका कैयौं उधौली उभौलीे ।
फेरि एक हिउँदमा
शिउरेर पहराको रातो गुराँस मेरो शिरमा
भन्यौं – कि यो हाम्रो प्रेमको उपहार हो ।
म,
गुराँस भन्दा रातो भएथें ।
एक साँझ तिमी हिड्यौं – उज्यालोको खोजीमा
हाम्रो पनि झ्यालैमा आइपुग्ने छ नयाँ विहान
र,
त्यसै समयबाट चल्मलाएथ्यो मेरो पेटमा निशानी चाल ।
तिमी त गयौ,
याङ्कुली फेदबाट नफर्की गयौ।
उक्लेर बुजुघोङ धुरी – आइपुग्छ हरदिन एउटा विहान
र,
चुपचाप फर्कि जान्छ – लिगलिगे आँखामा राखेर
तिम्रो विहान कहिले आउँदैन झ्यालमा ।
तिमी आएनौ
बरु एकदिन खाडरडाँडा चढेरआइपुग्यो
शहिद भइ गएको रापिलो खबर ।
युद्धमय दिन बितेको वर्षौंवर्ष पछि
आज अचानक सोधेकी छ मलाई
आमा बाबा कहाँ हुनुहुन्छ ?
म,
निरुत्तर आकाशको जुन देखाइरहेछु
सुनाइरहेछु छोरीलाई जुन मामाको कथा ।
भिन्नता
एकातिर राखेर सारा यथार्थहरु
कसरी पुग्न सक्छ रुमानी हरफले
तिमी शिरै भरी सिउरी दिन सक्छौ
पहराको रातो गुराँस प्रेमले
तर
तिम्रो नामको सिन्दुरले सजिएको छ
अरु नै कसैको सिउँदो
त्यसक्षण,
गुराँसको रङ फिक्का पर्छ सिन्दुरको रङ को अघि।
चाहे तिमी कविता लेख
तिम्रा हरेक हरफमा मलाई समेट
तर
जब कविता बजारमा आउनेछ
समर्पणमा हुनेछ अरुनै कसैको नाम
मानिलिउँ
देह त्याग गर मेरो नाममा
तर तिम्रो मृत शरिरमा घोप्टिएर रुने अधिकार त अरु सँगै छ ।
त्यसक्षण
भावना र प्रेम कमजोर सावित हुनेछ नियमको अघि ।
जब कतै भेटिनेछौ
साँघुरो गल्ली र बाटो किनार
चुपचाप बाटो छोड्ने त मैले नै हो
तिमी जे सुकै भन।
सारा समाज एकातिर छोडेर
सात जन्मको बाचा एकातिर राखेर
कसरी त्यो दिल मेरो नाम गर्न सक्छौ ?
कसरी बहिरो बन्न सक्छौ अबोध छोरीको चित्कारमा ?
कसरी कुल्चिन सक्छौ आफ्नै जिवन संगिनीको वर्षौको आस्था माथी ?
मान्छु,
प्रेम अन्धो हुन्छ मान्छु जरुर
तर प्रेमी अन्धो बनेको सुहाउदैन
कसरी स्विकार्नु मैले
कोही म जस्तै नारी उसको मान्छेको जिन्दगीमा
मेरो आगमनको कारण सारा जिन्दगी अपुर्ण बाँचेको ।
बतास
सुनसान रातमा
अचानक आँउछ बेठेगान बतास
र,
छोएर जान्छ
म छुट्याउनै सक्दिन
छोएर मलाई त्यो बतास कुन दिशा गयो
या यतै कतै छ।
म बेखबर छु
यत्ति थाहा छ
उसले छोएर गएपछि असामान्य भएको छ रात ।