एक दशकदेखि कविता र समीक्षात्मक लेखनमा सकृय आफ्नो कविता र अभिव्यक्तिहरुमा निरन्तररुपमा सिमान्तकृत समुदायको आवाज उठाउदै आएका कवि बच्चु हिमांशु पछिल्लो समय स्रष्टा आन्दोलन र नागरिक आन्दोलनमा सकृय रुपमा जोडिएका छन् । प्रस्तुत छ उनको तीन कविता ।
गरिबी
ऊ आफ्ना नानीहरु भोकाउँदा
सान्त्वनाको मिठो खोले
आफ्नै विवशताले उमालेर खुवाउँथ्यो
ऊ आफ्नी स्वास्नीको आङमा
उसको यथार्थ जसरी उध्रेको चोली देखेर
सपनाको बहुमूल्य वस्त्राभूषण
आफ्नै कल्पनाले सिएर लगाइदिन्थ्यो
ऊ आफ्नो झुप्रोको छानो चुहिँदा
भरोसाको गोवर्धन पर्वत उठाएर
सन्तानको भविश्य निराशाले नभिजोस् भन्दै
हिम्मतको घुमले तिनको वर्तमानलाई ओत दिन्थ्यो
उसले परिवारको खुशीका लागि
जिन्दगीमा के के पो गरेन होला !
विस्मित त म तब भएँ
जब कठोर यातना बनेर आएको
अवश्यंभावी हिउँदे जाडो छल्नलाई
भएको आफ्नै नलिखुट्टा सल्काएर
उसले सन्तानलाई आगो ताप्न दियो ।
गाउँ
गाउँ त अब
पहिलेको गाउँ जस्तो कहाँ रहेछ र
गाउँमा त अचेल
कि सुन्दर कुरुपहरु बस्दा रहेछन्
कि भत्केका उदास चौताराहरु
गाउँ त खासमा
अहिलेको शहर जस्तो पनि कहाँ रहेछ र
गाउँमा त अचेल कि बुढा शिक्षकहरु बस्दा रहेछन्
कि एकखुट्टा भाँच्चिएका जीर्ण खाटहरु
गाउँ
गाउँ जस्तो नै कहाँ रहेछ र
गाउँमा त अचेल
कि शहरबाट उड्दै आइपुग्ने रौनकको हावामा रेमिट्यान्सका नोटहरु बयेली खेल्दा रहेछन्
कि रत्नौलो र बन्सोहरु बाँझो बारीभरी दिनभर घाम ताप्दा रहेछन् !
संकल्प
बनाउन खोजेको थिएँ
समृद्धिका बुट्टाहरु भरेर देशको एउटा चित्र
तर जतिपटक मुटु निचोरेर रगतले देशको क्यानभासमा
बनाउन खोज्छु मैले देख्ने सपनाको चित्र
कुची समाइरहेको मेरो हात आफैँ लत्पतिएर क्यानभास बिद्रुप बन्छ
चित्रमा देख्छु
नाम्लोसँगै सडकमा लडिरहेको सूर्यबहादुर तामाङको लाश
घोंगी टिप्दै गर्दा पक्राउ परेको आदिवासी थारु
उपचारको अभावमा अन्तिमपटक सास फेरिरहेकी सुत्केरी महिला
भोक चपाइरहेका नानीहरु
मान्छेहरुले मान्छे नठानेको एउटा मान्छे
तुइनमा झुन्डिरहेको देशको प्रतिबिम्ब
न्यायालयको अगाडी न्याय कुरिरहेका अनागरिक आँखाहरु
केके केके उफ्
यसरी कतिन्जेल चल्न दिने हो समयलाई शासकको मुटुको रफ्तारमा ?
अब म उठाउँछु चेतनाको कलम
त्यसको नीबले घोच्छु शासकको मुटुमा
निकालेर रगत तानाशाहको
कोर्छु भुईँमान्छेले गाउने गीतको धुन
यसपटक मेरो हात लर्बराउने छैन
आतुर छन् यात्रामा निस्कन शब्दहरु
म यो युगले गाउने एउटा गीत रच्दैछु !