कथा

मैतिदेवीबाट घट्टेकुलो खसी चोक हुँदै सिंहदरबार वैद्यखाना जाने एउटा सानो सुरुङगजस्तो बाटो थियो । त्यो बाटो वैद्यखाना छेउको ठुलो बाटोमा निस्कनु अगाडि नै एउटा सामान्य चोक आउँथ्यो । खासमा बाटो नै चोक बनेको थियो । कुनै नामकरण गर्न गाह्रो परेको अवस्था थियो त्यो चोकको । त्यसको एकछेउमा विजुलीको पोल थियो । त्यो बिजुलीको पोलमा रातिको सुविधाका लागि विजुली बल्ब राखिएको थियो । तर नगरपालिकाले राखेको बत्ती भनेर केटाहरूले गुलेली ताकेर फुटालेका थिए ।
वरिपरि प्रायः ठुलाठालुहरूका घरमात्र थिए । चोकको दाहिने कुनामा प्राध्यापकको घर थियो । देव्रेतिर थियो इन्जिनियरको घर जो नेपाल टेलिकममा काम गर्थे । मास्तिर एउटा सानो छाप्रो थियो जहाँ काठको काम गर्ने गरिन्थ्यो र कामदारहरू पनि त्यहीँ बस्थे । प्राध्यापकको घरदेखि पश्चिमतिर थियो रिटायर्ड सहसचिवको घर । उनको घर भाडामा लगाइएको थियो । प्राध्यापकले पनि घर भाडामा लगाएका थिए । इन्जिनियरले भाडा लगाएका थिएनन् । सहसचिवको घरमा नेबिसंघका केन्द्रीय उपाध्यक्ष भाडा लिएर बसेका थिए ।
प्राध्यापकको घरको पर्खालमुनि मरेको कुकुर गनाएको उनले बेलुकी आठ बजेतिर मात्र थाहा पाए । त्यसैको बारेमा कुरा भइरहेको थियो ।
‘बाटामा कुकुर मरेर गनाइरहेको छ । कसैलाई वास्ता छैन ।’ उनले आफैंसँग भने ।
हातमा रिमोट कन्ट्रोल बोकेकी छोरी केही पनि बोलिन । ऊ एमटिभीमा आँखा गाडिरहेकी थिई ।
प्राध्यापकले अलिक ठुलो स्वर गरे ,‘मलाई मात्र गनाएको हो कि क्या हो ?.. कहिले मरेछ त्यहाँ त्यो कुकुर, बिहान त गनाएको थिएन जस्तो लाग्छ ।’
छोरी फेरि पनि बोलिन । उसले प्राध्यापक बाबुलाई पूर्णतया सुनेकी थिई तर बेवास्ता गरिरहेकोजस्तो लाग्थ्यो । भान्छाबाट आइपुगेकी श्रीमतीले भनिन्, ‘तपाईँं बिहान हिँडेर राति आउने मान्छेलाई के थाहा । कुकुर मरेको तीन दिन भइसक्यो । आज गनाउँदै छ तपाईँंलाई ?’
‘अचम्म छ । अनि इन्जिनियरसाबले थाहै पाएका छैनन् कि क्या हो । मान्छे बोलाएर फाल्न लगाउनु पर्छ नि ।’
‘खै’ श्रीमती पुनः भान्छातिर लागिन् ।
‘बाटामा हिँड्नेहरू पनि कसरी हिँड्छन् हो । गनाएर नाकै फुट्लाजस्तो भो मलाई त । झन् ओहोरदोहोर गरिरहनेहरूको के हाल होला’ प्राध्यापकले दिक्क मान्दै भने । श्रीमतीले आश्वस्त पार्दै भनिन्, ‘सबै नाक थुनेर हिँडेको मात्र देख्छु म त । कसैले वास्ता गर्दैनन् ।’
भोलिपल्ट शनिबारको दिन थियो । हल्काराले गेटबाट फालिदिएको पत्रिका टिप्न जाँदा प्राध्यापक मास्क लगाएर गए । गेटदेखि अलिक मास्तिर बाटोको भित्तामा मरेको कुकुर लडिरहेको थियो । उनले गेटबाट इन्जिनियरको घरतिर चियाएर हेरे । पूर्वपट्टिको बरन्डामा इन्जिनियर पत्रिकामा आँखा गाडेर कुर्सीमा बसेका रहेछन् ।
प्राध्यापक गेटमाथिबाट हेर्दैै चिच्याए ।
‘हैन तपाईँंलाई गना’को छैन ? मास्क पनि नलाई बस्नु भा’छ त ।’
इन्जिनियरले पत्रिकाबाट आँखा झिके र प्राध्यापकको घरतिर फर्काए । उनी केही पनि बोलेनन् ।
‘सुन्नुभएन ? गनाएको छैन तपाईँँलाई ? के खालको नाक र’छ हौ तपार्इंको त ।’
‘ए, कुकुर मरेको कुरा । किन नगनाउनु नि । यो पूर्व बरन्डामा चाहिं हावा लाग्ने हुँदा अलिक बस्न सकिने भएर मात्र । उता त बस्न पनि सकिंदैन ।’
‘हत्तेरी लौन केही गरौँ । यसले त मार्ने भो ।’ प्राध्यापक निकै चिन्तित सुनिए ।
‘केही न केही त गर्नै प¥यो । महामारी पनि चल्न सक्छ’ यति भन्दै इन्जिनियरले पुनः पत्रिकामा आँखा लगाए ।
प्राध्यापक घरमाथि उक्लिए । सिँढी चढ्दा उसका आँखा पत्रिकामा सरर्र कुदिरहेका थिए । उनको पूर्वतिर बरन्डा थिएन । पश्चिममा भने मुस्किलले दुईजना अट्ने सानो ठाउँ थियो । उनी कुर्सी लिएर त्यहीँ गए । उनी त्यहाँ पुग्दा अवकाश प्राप्त सहसचिव झ्यालबाट वाहिर टाउको निकालेर घुमाउँदै रहेछन् । प्राध्यापकले देखे ।
‘सचिवज्यू तपाइँंलाई गनाएको छैन ? यहाँ बाटामा कुकुर मरेर दुर्गन्धै भइसक्यो,’ पत्रिका हातले चेपिराखेर उनले सचिवलाई सोधे ।
सहसचिवले टोपी फुकालेर आधा फुलेको कपाल भएको टाउको बाहिर निकाले । भने, ‘खै, मलाई त तिन दिनदेखि रुघा लागेर नाकै बन्द भएको छ । केही पनि थाहा पाउँदिनँ । कुकुर मरेर गनाइरहेछ त भन्दैथियो केटो ।’
प्राध्यापकलाई झन्न रिस उठ्यो ।
‘बस्न नसकिने भइसक्यो यहाँ । झ्याल ढोका नथुने त घरभरि जहाँसुकै गनाउँछ । के गर्ने ।’
‘कहाँ मरेछ ? खै ?’ सहसचिवले अल्छी गर्दै प्रश्न गरे ।
‘ऊ त्यहाँ पारिजातको बोट उतापट्टि, बाटातिर’ प्राध्यापकले जवाफ दिए ।
‘ए, तपाईँंको पर्खालनजिक पो रछ त ।’
‘बाटोपट्टि भएपछि सार्वजनिक भैहाल्यो नि । पर्खालभित्र हुन्थ्यो भने पो मेरो पट्टि भन्नु । बाटोमा कसैले मारेर फालिदे’को पनि हुनसक्छ । गनाउने सबैलाई हो ।’
‘हैन, मैले तपार्इंको बाउन्ड्री वालको छेउमा रहेछ पो भन्या त । बाटामा भएपछि सार्वजनिक भैहाल्यो नि ।’ सचिव झ्यालबाट हराए ।
प्राध्यापक बेलाबेला नाक सुम्सुम्याउँथे । एकछिन मास्क पनि लगाउँथे । अनि फेरि खोलेर हातमा राख्थे । पत्रिकाले आँखाले देखिने जति जम्मै बाटो छोपेका थिए उनले ।

श्रीमती चिया लिएर आउँदा दूध र पत्रिका लिएर फर्किने मानिसहरू बाटामा हिँडिरहेका थिए । उनीहरूले पत्रिका र दूधको पोको दाहिने हातले बोकेका थिए । देव्रे हात प्रायः नाक थुन्ने कोसिसमा हुन्थ्यो । जसले गर्दा उनीहरूको अनुहार छुट्याउन मुस्किल पर्दथ्यो ।
‘बाटामा कसरी हिँडेका होलान् मान्छे । डुङ्डुङती मरेको कुकुर गनाइरहेको छ । मान्छे वास्तै नगरी हिँडिरहेका छन् । कसरी सकेका होलान्’ । श्रीमतीले चिया दिइन् । प्राध्यापकले चिया समाते । हिँड्ने बेलामा भनिन्, ‘भरेसम्म यो फाल्न लगाइहाल्नू है । जसरी हुन्छ । तपाईँं त बिहान झिस्मिसै हिँडेर राति अवेर आउनुहुन्छ । यहाँ बस्नेलाई गाह्रो हुन्छ । ’
‘मैले फाल्ने होइन । फोहोर उठाउन कहिले आउँछ ? आज आउँदैन ?’
‘चार दिन भो नआको’ छोरीले भनी ।
प्राध्यापक चियाको सुरूप लिँदै बेलाबेला गनगन पनि गर्दैथिए । उनी कतिखेर पत्रिका गुचुमुचु पारेर राख्थे कतिबेला भने खोलेर पट्याउन खोज्थे ।
रेलिङ्बाट थोरै टाउको झारेर भुइँतिर हेर्दै उनी कराए ।
‘ए भाइ तपाईँंहरूलाई गना’को छैन । केही भएको छैन जस्तो गरेर बस्नु भा’को छ त ।’
घरको तल्लो तलामा सूर्योदय वोर्डिङ स्कुलमा सामाजिक शास्त्र पढाउने शिक्षक र उनकी श्रीमती बस्थे । उनीहरूकी एउटी दुई वर्षकी छोरी थिई ।
ती शिक्षक कोठैबाट कराए ।
‘किन नगनाउनु सर । तीन दिन भैसक्यो । कसैले वास्ता गरेको होइन । हामी अब डेरावाल प¥यौं ।’
‘डेरावाललाई पनि गनाउने कुरा गनाइहाल्छ । तपाईँंहरूकी त सानी छोरी पनि छे । त्यसलाई असर गर्ला है हेल्चेक्रयाइँ नगर्नुस्’ प्राध्यापकले शिक्षकलाई सतर्क गराए । डेरावाल केही पनि वोलेनन् ।
पट्याएको पत्रिका खोल्न लागेका प्राध्यापकले सहसचिवको घरमा डेरा बसेका नेबिसंघका उपाध्यक्षकी बहिनीलाई बाहिर निस्किएको देखे ।
पत्रिका कच्याककुचुक पारेर उनले सोधे । ‘ए नानी तिम्रो दाजु खोइ ? यहाँ कुकुर मरेको थाहा पायौ कि पाएनौ ?’
उनी केही पनि बोलिनन् । अरूबेला प्रायः प्राध्यापक ती केटीसँग बोल्दैनथे । त्यसकारण पनि हुनसक्छ उनले जवाफ फर्काइनन् ।
तुरुन्तै उपाध्यक्ष कोठाबाहिर निस्किए ।
‘जय नेपाल सर’ उनले पहिले अभिवादन गरे ।
‘जय नेपाल,’ प्राध्यापकले सोधे, ‘तपाईँंहरूलाई गनाएको छैन भन्या ?’
‘चिन्ता नगर्नुस् सर भोलि आउँछ फोहोर उठाउने । लगिहाल्छ नि ।’
‘तिन दिनसम्म किन नआएको फोहोर उठाउने ?’
‘होला नि त केही । उसको काम हो । जागिर खाएपछि आइहाल्छ नि । किन चिन्ता गर्ने ।’
‘कसरी बस्न सक्या हुन् यहाँका मान्छे । …भोलि आउँछ फोहोर उठाउने ?’ प्राध्यापकलाई साह्रै गनाएको थियो ।
‘आउला भोलि ।’
उपाध्यक्ष कोठाभित्र छिरे ।
बरन्डाबाट उठ्तै गर्दा प्राध्यापकले देखे – घट्टेकुलो खसी चोकदेखि पिपलबोट जाने बाटोमा घर भएका सर्वाेच्च अदालतमा काम गर्ने अधिकृत रुमालले मुख छोप्तै बाटोमा हिँड्दै थिए । तगत्तै दुईवटी केटीहरू हातले नाक हम्किंदै छिटोछिटो बाटो काटेर अघि गए ।
खाना खाएर प्राध्यापकले सबभन्दा पहिले मास्कले नाकमुख बन्द गरे । आँगनको छेउमा अड्याइराखेको पुरानो राजदूत मोटरसाइकल चढेर उनी बानेश्वरतिर हानिए । उनले त्यो मरेको कुकुर कतातिर थियो त्यो समेत हेर्न भ्याएनन् । खासमा मास्क र हेल्मेटले उनका आँखालाई आधाउधी छोपेका हुनाले निकै अप्ठ्यारो परेको थियो ।
बानेश्वरको वासिङ्गटन डी सी इन्टरनेसनल कलेजका उनी संस्थापक लगानीकर्ता र कार्यक्रम संयोजक पनि थिए । त्यो दिन शनिबार फुर्सद पारेर बैठक डाकिएको थियो ।
प्राध्यापक बैठक कोठामा पस्दा हेल्मेट र मास्क दुवै खोलेका थिएनन् ।
उनका साथीले भने, ‘सर, पहिले हेल्मेट त खोल्नुस् कति व्यस्त हुनुभएको ।’
उनले हेल्मेट खोले र छेवैको टेबलमा राखे ।
‘मास्क पनि खोल्नुस् । हेल्मेट लगाएपछि के मास्क लगाउनुभएको सरले ।’
प्राध्यापकले मास्क खोलेर बस्नका लागि कुर्सी तान्दै भने ‘तपाईँं कुरा गर्नुहुन्छ नि । मेरो घरअगाडि बाटोमा कुकुर मरेर गनाएर बसिसक्नु छैन । घरभित्र पनि मास्क लाएर मात्र वस्नुपर्छ । के गर्ने । यो काठमाडौँ…,’
‘हैन । अस्ति कहिले हो घर छेउमा मुसा मरेर गनाएको भन्नु’भा हैन । तपाईँँको घरमा मात्र के के मर्छन् हौ ।’ छेवैका सरले भने ।
‘त्यो मुसो त कागले च्यापेर लैजाँदा त्यहाँ झरेको र’छ । दुई दिनपछि सुकेर गनाउनै छोड्यो । यो कुकुर त ठुलो जिउ कति दिन गनाउने हो, थाहा छैन’ प्राध्यापकले भने ।
‘कुकुर त सुकेपछि पनि दुईचारदिन गनाइरहन्छ,’ ती सरले फेरि प्राध्यापकलाई सुनाए । प्राध्यापक केही पनि वोलेनन् । उनको अनुहार हिउँदको जंगलजस्तो थियो ।
‘अनि नगरपालिका बोलाउनुभएन ?’
‘तिनदिनदेखि आएको छैन रे । भोलि आउँछ भन्थे । वरिपरि कसैलाई वास्ता छैन । म दिनभरि यतै हुन्छु ,’ उनले निकै जिम्मेवारीपन दर्साउँदै भने ।
‘सर, कुकुर मरेको त साह्रै पो गनाउँछ त ? कसरी बस्नु भएको छ, ’ अर्का सदस्यले थपे ।
‘कम्ता गनाउँछ । नाकै पोल्छ नि ।’ प्राध्यापक स्पष्टिकरण दिएजस्तो गरी बोले ।
‘बरु गुहु त्यति गनाउँदैन । यो कुकुर, मुुसा, बिराला मरेको त्यति धेरै गनाउँछ,’ अर्का सरले थपे ।
‘हो, दिसा पिसाब त वरिपरि मात्र हो गनाउने । यो कुकुर विराला मरे भने त संसारै गनाउँछ ।’
‘लु गनाउने कुरा छोडौँ । आजको एजेन्डातिर लागौँ,’ अर्का सदस्यले भनेपछि उनीहरू सतर्क भए । वैठक सुरु गरियो ।
बेलुकी प्राध्यापक साढे आठ बजेतिर घर फर्किए । चोकको बिजुली वत्ती बिग्रिएर बाटो अँध्यारै थियो । उनले ढोका खोल्ने बेलामा हेर्दा कालो छायामा कुकुर पल्टिरहेको देखे ।
‘अझै कसैले केही गरेको छैन । ..कति गनाएको । छिः छिः’ उनी भ¥याङमाथि उक्लिए । कपडा पनि नखोली हेल्मेट मास्क खोलेर भान्सामा पसे । हात धोएर खाना खान लागे ।
‘भान्सासम्मै गनाउँछ । मिठो खाको र नखाको एकै हुने भो’ श्रीमतीले भनिन् ।
प्राध्यापकले श्रीमतीलाई सोधे, ‘आज दिउँसो कसैले केही गरेनन् ? उता इन्जिनियर, सचिव, मिस्त्री, ।’
‘के को । कोही बाहिर निस्केका होइनन् । बाटोमा हिँड्ने नाक मुख थुन्दै हिँड्ने । अरू वास्तै नगर्ने ।’
‘अनि कसरी हुन्छ …।’
‘आज फेरि दिउँसो कागले ठुँगेर आन्द्रा भूँडी निकालिदिएछन् । त्यसपछि त झन् गनाएर उग्र । कसरी बस्ने हो, ’ श्रीमतीले दिउँसोको कुरा बताइन् ।
‘हरे, काग पनि । केही खान नपाएर मरेको कुकुर खानु पर्ने..छिःछिः ।… भोलि त उठाउला नि ..’ उनले खाना मुखमा कोच्तै भने ।

भोलिपल्ट सोमबार फोहोर उठाउने त आयो तर उसले मरेको कुकुर उठाउन मानेन । जब इन्जिनियरकी श्रीमतीले उसलाई कुकुर उठाउन भनिन् उसले ठुलो स्वरले जवाफ दियो – ‘मेरो काम सिनो ओसार्ने होइन । जसको काम हो उसैलाई भन्नू ।’
उसको कुरा सुनिरहेका सहसचिवले उसलाई सम्झाउँदै भने, ‘ए भाइ नगरपालिकामा भन्दे न त । कसले गर्छ यो काम ।’ उनले रुमालले मुख थुनेका थिए ।
उसले सहसचिवलाई पनि जवाफ दियो, ‘आफैँ भन्नू । त्यो मेरो काम होइन ।’
बेलुका ढोका खोल्दै गर्दा प्राध्यापकको नाक अचानक पोल्यो । अनि प्राध्यापकले थाहा पाए कि कुकुर अझै उठाइएको रहेनछ ।
‘यस्तो अब्यवस्था । चारदिनदेखि काठमाडौँको मुटुमा कुकुर मरेर डुङ्डुङ्ती गनाइरहेछ । न सरकारलाई वास्ता छ न पोलिटिसियनलाई वास्ता छ ।’
उनी सिँढी उक्लिए ।
फोहोर उठाउनेको कुरा सुनेर उनी निकै जङ्गिए । ‘अनि कसले उठाउँछ अरे त, प्राध्यापकले ?’
‘कमिला मार्ने दवाइ छर्दा अलिक कम हुन्छ अरे गनाउन,’ श्रीमतीले उनलाई सम्झाइन् ।
‘कसले हाल्ने । लु म पैसा दिउँला । मान्छे खोज’ तुरुन्तै काम भै’हाल्छको शैलीमा प्राध्यापक उठे । श्रीमतीले उनलाई आश्वास्त पारिन् , ‘हुन्छ म भोलि त्यो काठ मिस्त्रीकोमा काम गर्ने केटाहरूलाई भन्छु ।’
भोलिपल्ट बिहान पौने छ बजे अँध्यारै थियो । जेठको महिना गर्मी पनि निकै थियो । प्राध्यापक मोटरसाइकल लिएर गेटबाहिर निस्किए । बाहिर चोकैमा इन्जिनियर जुत्ता, मोजा, हाफ्पाइन्ट टी सर्ट र मास्क लगाएर मर्निङ वाकमा निस्कन लागेका रहेछन् ।
उनले भने, ‘पाँच दिनदेखि गनाएको गनाइ छ, सर । नगरपालिका पनि आउँदैन । के गर्ने ।’
‘त्यही त । तपाइँकोमा त त्यति नगनाउला । थोरै कोल्टे पर्छ । मेरो त सिधै भान्सामा पुग्छ,’ प्राध्यापक निकै थकित सुनिन्थे ।
‘के को । आजभोलि त मेरोमा पनि उस्तै हो । हरेक कोठामा अमिलो गन्ध आउँछ । कुन दिन देखि उल्टी आउने हो था छैन ।’ इन्जिनियरको कुराले प्राध्यापक अलिक शान्त भए ।
‘पहिले पहिले त ठिकैको गनाएको थियो । नाक थुन्दा थाहा पाइँदैनथ्यो । आजभोलि त नाकै फुट्लाजस्तो हरक आउँछ । ..तर आज मैले मान्छे खोजेर कमिला मार्ने दवाइ छर्न भनेको छु । अलिक कम हुन्छ अरे ।’
‘हो’, इन्जिनियर लम्किए । प्राध्यापकले मोटरबाइक बानेरश्वरतिर हुइँक्याए ।

दिउँसो प्राध्यापककी श्रीमती काठमिस्त्रीकोमा गइन् । मिस्त्रीहरू काम गरिरहेका थिए । उनी पुगेपछि पनि मिस्त्रीहरूले काम रोकेनन् ।
‘हैन । तिमेरूलाई गनाएको छैन मिस्त्री ?’ उनले सोधिन् ।
मूल मिस्त्री काम छोडेर उनलाई हेर्न थाल्यो । अरू काम गरिरहेकै थिए । कोही कोही क्रमशः अडिन थालेका थिए ।
‘तिमेरूलाई कुकुर मरेको गनाएको छैन भन्या ।’
मिस्त्रीले वल्ल कुरा बुझे ।
‘हामी त काम गरेर खान्छु हजुर । कहाँ के के हुन्छ केही पताअता राख्नै भ्याउँदैन ।’
‘ऊ त्यहीँ बाटामा कुकुर मरेर छ दिनदेखि गनाको गनाइ छ । वरिपरि बस्न नसकिने भैसक्यो । तिमेरूलाई केही थाहा छैन ?’ प्राध्यापककी श्रीमती अलिक जोडले बोलिन् ।
‘था’छैन हजुर,’ मिस्त्री काम गर्न थाल्यो ।
‘एउटा दवाइ ल्याइदिएको छु । एकजनाले वरिपरि छर्देऊ त अलिक कम हुन्छ कि गनाउन ।’
‘खै हामी त भ्याउँदैन । सबै काममा छ ।’ मिस्त्रीले काम गर्न छोडेन ।
‘त्यति एकछिन गरिदेऊ न ।’ प्राध्यापककी श्रीमतीले कर गरिन् । तर मिस्त्रीले मान्दै मानेनन्, ‘भ्याउँदैन हामी त ।’
प्राध्यापककी श्रीमती गएकै बाटो फर्किइन् । घर उक्लिइन् । मास्क लगाइन् अनि हातमा पञ्जा घुसारेर बाहिर बाटोमा निस्किइन् । गनगन गर्दै कमिला मार्ने सेतो धुलो औषधि कुकुर मरेको वरिपरि र कुकुरमाथि पनि छर्किएर उनी घरमाथि चढिन् ।
अचानक राति पानी प¥यो । झरी त्यति ठुलो त थिएन तर दुर्गन्ध फैलाउन काफी थियो । पानीले कुकुर वरिपरि छरेको पाउडर बगाएर लग्यो । गनाउन छोडेन ।
प्राध्यापक बिहान सिँढीबाट झर्दादेखि नै नाक पोल्न थालिहाल्यो । उनले अलिक मज्जाले मास्क मिलाए र गेट खोलेर मोटरसाइकल स्टार्ट गरे । ‘गनाओस् .. कतिदिन गनाउने हो …।’
सातभन्दा बढि बजेको थियो । सहसचिवको आवाज सुनेर प्राध्यापककी श्रीमती बरन्डामा निस्किइन् ।
‘खै तपाईँंले कमिला मार्ने औषधि हालेको पनि रातिको पानीले पखाल्दिहाल्यो । गनाउन छोडेको छैन ।’
‘त्यै त पानी पनि आजै चाहिँ आउनुपर्ने । त्यत्रो पैसा खर्च गरेँ । कसैले केही ग¥या होइन आफैंले औषधि छरेँ । पानीले सप्पै…’ प्राध्यापककी श्रीमतीलाई दिक्क लागेको थियो ।
प्राध्यापककी छोरी पनि आमासँगै बाहिर निस्किएकी थिई । उसले नाक थुन्दै भनी, ‘झनै गनाउन थालेको छ । हिजोको भन्दा आज बढि दुर्गन्ध छ । मलाई त अघि उल्टी पनि आयो ।’
छोरीलाई उल्टी आएको कुरा सुनेर आमाले आँखा फारिन् । छोरीको अनुहार उज्यालो थिएन ।
‘त्यो औषधिले हुँदैन । अर्को डीपिटी कि के भन्ने पाइन्छ अरे त्यो हाल्नुपर्छ’ सहसचिवकी श्रीमतीले झ्यालबाट टाउको बाहिर निकाल्दै अर्को उपाय बताइन् । प्राध्यापककी श्रीमतीले उनको कुरालाई बिल्कुल वास्ता गरिनन् ।
त्यहीबिच नेबिसंघका उपाध्यक्ष बाहिर निस्किए ।
उनले भने, ‘कमिला मार्ने औषधिले कहाँ गनाएको हराउँछ र । वीसिजी हाल्नुपर्छ । एकपटक हाल्यो भने कम्तीमा चार दिन चाहिँ गनाउँदैन,’ उनले मुख छोप्तै अर्को औषधि सुझाए ।
प्राध्यापकको घरमा डेरा बस्ने सूर्योदय वोर्डिङ स्कूलमा सामाजिक शास्त्र पढाउने शिक्षकले पनि उनीहरूको कुरा सुनिरहेका थिए ।
झ्यालतिर फर्किएर उनी पनि चिच्याए, ‘औषधि हालेर केही दिनको लागि मात्र हो । खासमा त कुकुर नै हटाउनुर्छ’ उनले भने ।
मर्निङ वाकबाट फर्किएका इन्जिनियर र सर्वोच्चका अधिकृत चोकमा नाक थुन्दै उभिएर कुरा सुनिरहेका थिए । अधिकृतले भने, ‘खासमा कुकुर नै फाल्नतिर लाग्नुस् तपाइँहरू । औषधि हालेर केही पनि हुँदैन ।’
उनीहरू पनि नाक समाउँदै बाटो लागे ।
प्राध्यापककी श्रीमती बरन्डाबाट हराइसकेकी थिइन् । इन्जिनियरको घरको बरन्डामा भने एकदुई मानिसहरू देखिएका थिए ।
पत्रिका, दूध र तरकारी किनेर फर्किने मानिसहरूको एउटा हात चाहिँ नाकमै थियो ।
साता दिनदेखि मरेको कुकुर गनाएको गनाइ थियो ।

तपाईको प्रतिक्रिया