०००
म घरभित्र पस्दा नु भित्री ढोकामै उभिएको थियो । म त्यहाँ पुग्नेबित्तिकै नु ले भन्यो, ‘अइ तोलाई माग्ने मान्ठा आको छ । अब अइको पाक्लेन (बिहे) हुन्छ है ।’ यति भनेर नु रुन थाल्यो । एकछिनका लागि शून्य भएँ । आफ्नै कानले सुनेको कुरामा विश्वास लागेन । अलमल भएर ढोकामै उभिरहेँ ।
आमा लहुक रचोती (एक प्रकारको हिमाली मुला) घोट्दै थिइन् । सायद मःमः बनाउने सुरसारमा थिइन् क्यार । याङ्जी (ठूलो बटुको)मा छ्याङ पनि हाल्दै थिइन् । निभ्न लागेको लोइटो (झरो)मा बजैले अर्काे लोइटो थपिन् । घर उज्यालो भयो । अनि पो देखेँ, मलाई माग्न आएका मान्ठाहरूलाई । च्योक्से (टेबल)मा खाताह (खादा), छ्याङ, आराक (रक्सी) राखेर गाउँकै एकजना मि (बाजे) र मयिक (काकी) बसिरहेका थिए ।
नु झन् डाँको छोडेर रुन थाल्यो । म पनि भित्रभित्रै रोएकी थिएँ । तर, आँखामा आँसु आएको थिएन । अहिले सम्झिँदा लाग्छ, धेरै दुःख लाग्या वेला रुन नसकिँदो रहेछ । के गर्ने, के भन्ने भयो । मोजाको भकुन्डो मेरो हातैमा थियो । मलाई माग्न आउने मि र मयिक(बाजे र काकी)लाई ताकेर हानेँ । लाग्यो कि लागेन हेक्का भएन । त्यसवेला उनीहरूलाई के–के गाली गरेँ त्यो नि सम्झना छैन । आमाको छेउबाट चुलेसी तानेर हान्न खोज्दै थिएँ । आमाले समाइन् । त्यसपछि मलाई अर्को कोठामा थुनिदिइन् । त्यो कोठा निस्पष्ट अँध्यारो थियो । न खपु (झ्याल) थियो र न त्यो कोठामा लोइटो नै ।
पुस–माघको जाडोमा पनि मलाई चिटचिट पसिना आइरहेको थियो । ढोकामा लात्ती हान्दा–हान्दै मेरो खुट्टा दुख्यो । कराउँदा–कराउँदै घाँटी बस्यो । तर, मेरो चिच्याहट कसैले सुनेनन् । रुँदा–रुँदै म त्यहीँ निदाएछु । राति घरभित्र के–के कुरा भयो, थाहा पाइनँ । आमाले छ्याङ, आराक र खाताह स्विकार्याे या स्विकारेनन् थाहा भएन ।
०००
बिहान ब्युझिँदा म आफ्नै ओछ्यानमा थिएँ । हिक्क–हिक्क अझै सकिएको थिएन । हिजो बेलुकी घरमा देखेको दृश्य सपना हो कि वास्तविकता हो, एकछिन् त छुट्याउनै गाह्रो भयो । पूरै शरीर दुखेको थियो । अघिल्लो दिन बेलुकीको वास्तविक घटनाका दृश्य फेरि आँखामा ताजा भयो । आवाज निकालेर फेरि रोएँ । आफ्नै घर–घरजस्तो लागेन त्यसबेला । अरू वेला आमा घरमा नहुँदा घर घरजस्तो लाग्दैनथ्यो । त्यस दिन आमा घरमा हुँदा पनि घर घरजस्तो लागेन । उनी मेरी प्रिय आमा होइन, कुनै दुश्मन हुन जस्तो लाग्न थाल्यो ।
लामो कपाल काटेर फालिदिएँ । कपाल काटेपछि बल्ल हल्का महसुस भयो । गोठबाट निस्कँदा अझै आँसु आइरहेको थियो । बाहुलाले आँसु पुछेँ । खपुमा राखेको ऐनामा आफूलाई नियालेँ । निकै दिन थला परेको बिरामीजस्तो देखिएकी थिएँ । एकदमै माया लाग्दो । चिम्सो आँखा सुन्निएर झन् चिम्सो भएको थियो । टाल्दा–टाल्दै टाटेपाटे भएको टालोजस्तो भएको थियो टाउको । तर, खुसी लाग्यो । कपाल काटेपछि अब मलाई माग्न आउँदैनन जस्तो लाग्यो । किनकि बिहे गरेको सबै केटीहरूको कपाल लामा देखेको थिएँ । मलाई लाग्थ्यो लामो कपाल भएका केटीहरूले मात्र बिहे गर्छन् । सोचेँ, कपालै लामो नभएपछि मेरो बिहे गरिदिँदैनन् ।
०००
कतिपटक खाह (हिउँ) प-यो । बिलायो । नांगा रूखमा नयाँ जीवन पलायो । उजाड डाँडापाखा हरियाली भयो । फागुन महिना आयो । तर, नयाँ किताब हेर्ने मेरो उत्साह हिउँसँगै बिलाएर गयो । धेरै कुरा बदलिएको थियो । म बिहे गरेर नगए पनि गाउँका मानिसले मलाई जिस्क्याउने मसला पाएका थिए । खेल्न जाँदा साथीहरू कोही भाउजू, कोही माइजू अनेक साइनोले जिस्काउँथे ।
नरमाइलो लाग्थ्यो । कसलाई के भन्नू ? म चुपचाप घर फर्किन्थेँ । स्कुल जान थालेपछि बाटोमा भेटिने मान्ठाहरू मलाई हेरेर भन्थेँ, ‘अब अर्का घर जानेले के पढिराख्या होला ।’ त्यो अँध्यारो कोठामा थुनिँदाको जस्तो निसासिन्थेँ । दुःख लाग्थ्यो । तर, दुखेसो कसलाई सुनाउनू । आफ्नो घर नै घर वैरी बनेको थियो । मलाई कोही पनि आफ्नो लाग्दैनथ्यो । कसैले नसुन्ने गरी कसैले नदेख्ने गरी रुन्थेँ । किनै पछिसम्म त्यो एक्लोपनले लेखेटिरह्यो ।
०००
एकदमै चकचके थिएँ म । एकाएक शान्त भएँ । पहिले धेरै बोलेकोमा गाली खानु पर्थ्यो । पछि घरमा बोल्नै छाडेँ । बोल्नै परेका वेला मात्रै बोल्थेँ । बिस्तारै खेल्न जान छाडेँ । त्यही साँझको घटनाले मेरो मनस्थितिमा ठूलो असर प-यो । मेरो व्यवहार फेरियो । मेरो स्वभाव फेरियो । बाल्यकाल नसकिँदै प्रौढकाल सुरु भयो ।
त्यस दिनदेखि धेरै वर्ष हिउँ प-यो, बिलायो । तर, मेरो मनमा कहिल्यै उत्साह फर्किएन । मेरा तमाम उत्साह–उमंग सधैँका लागि बिलाइसकेको थियो । स्कुल जाने, नयाँ किताब पढ्ने, सर तथा म्याडमसँग नेपाली भाषा फरर्र बोल्ने उत्साह अब ममा थिएन । धारा, स्कुलतिर जाँदा मेराबारे अनेक कुरा गर्थे । पछि–पछि त कोही मतिर हेरेर बोलेको देख्दा नि मेरै कुरा काट्याजस्तो लाग्थ्यो । मेराबारे हुँदै नभएको अनेक कुरा सुन्न थालेँ । दिक्क लाग्न थाल्यो । त्यसपछि स्कुल जानै छाडिदिएँ । आमाले थाहा पाएपछि जबर्जस्ती फेरि स्कुल पठाइन् ।
पाँच कक्षा पास भएर ६ कक्षा पढ्न सिमकोट पुगेपछि केही राहत मिल्यो । साथीहरू गाउँ गएको देख्दा घरको याद आउँथ्यो । गाउँ जान मन लाग्थ्यो । तर, डरले अचानक लखेट्न थाल्थ्यो । कतै गाउँ गएका वेला तानेर लग्यो भने ! झस्किन्थेँ वेला–वेला ।
०००
त्यो घटना भएको आज दुई दशक बितिसक्यो । आज म गाउँभन्दा टाढा राजधानीमा छु । शिक्षाका केही खुड्किलो चढ्ने कोसिसमा छु । आज पनि वेला–वेला बाल्यकालीन त्यही घटना आँखामा आउँछ । त्यसवेला आमाले जबर्जस्ती स्कुल नपठाउनुभएको भए ! यतिवेला म कहाँ हुन्थेँ ? आफैँलाई प्रश्न सोधेर झस्किन्छु । अहिलेसम्म पढ्न पाउनुको श्रेय आमालाई जान्छ । तर, कहिलेकाहीँ एक्लै निस्पट्ट अँध्यारो ठाउँमा बस्दा डर लाग्छ । थाहा छैन किन निसासिन्छु ।
ReplyForward |