नेपाली कविता क्षेत्रमा बर्तमान समयमा लेखीरहेका युवापुस्ताहरु बीच चुपचाप लेख्न रुचाउने , खोटाङका कवि अनिल बान्तावा आफ्ना समकालिनहरुमाझ शक्तीशाली कवि मध्ये एक हुन् । बिषयबस्तुलाई शुक्ष्मरुपमा कवितामा राख्न सक्ने उनका कविताहरुले जीवन जगतको गहिरो संवेदनाहरुलाई बडो गज्जवले अभिव्यक्त गरेको हुन्छ प्रस्तुत छ उनको तीन कविता ।
गाउँ
हृदयको गल्ली नसमाई
गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ |
लाग्ने छैन, जाँतोमा च्यापिएको त्यो रातो रुमाल
युद्धमा छाडिएको हो |
देखिने छैनन्, ती अग्ला अग्ला उभिएका पहाडहरू
निश्चय नै भोकका हुन् |
बुझिने छैनन्, ती नदीका लामा सर्पहरू
गाउँबाट बगिरहेको आँसु हो |
बाँकी धेरै कुरा गाउँमा, अर्ग्यानिक फल्छन्
जस्तो, मुस्कान |
जुन कुनै टुथपेष्ट
वा धर्म गुरुले दिएको टिप्सको चमत्कार होइन |
धोका
धोका त मलाई त्यसबेला लाग्छ
जब आफ्नैं आँखाले
नकाबको ऎनामा आफैंलाई सुन्दर देख्छ |
आफ्नैं एक पाउ मैलो विचारले
आफ्नैं आयुलाई रक्ताम्य पार्दै घिसार्छ |
खास धोका त आफ्नैं श्वाससंग लाग्छ
यसले एक दिन
माटोमा मलाई दफन गरिदिन्छ |
कप
तिमीले मलाई छाडेपछि
बाँकी रह्यो यौटै चिज- यो सफेद कप |
बजारमा थुप्रै चिजहरू थिए दिनलाई
सोच्छु- यही सफेद रंगको कप किन दियौ ?
प्रेमलाई सुहाउने रंग त, तिम्रै ओठले बयान गर्थ्यो
लाग्छ- तिमीले यो सफेद कप नदिनु थियो
यसमा अन्जानबस् पनि, दाग लाग्न सक्थ्यो
तिमीले छाडेपछि
चिनी कम र चियापती कडा हालेर
कालो इगो उमाल्न थालेको छु
अब त बेसरम आदतै बन्यो
मेरो फुटेको ओठलाई यो सफेद कप |