नेपाली साहित्यको स्थापित नाम कवि कथाकार निबन्धकार मुनराज शेर्माले अहिलेको समयका शक्तीशाली कवि प्रकाश थाम्सुहाङ्गसँग बिषेशगरि नेपाली कविता लेखन र त्यसका अन्तरबिषयमाथी केन्द्रीत रहेर गरेको कुराकानी थाम्सुहाङ्ग करिब दुई दशकदेखी निरन्तर लेखनमा सक्रिय छन् ।
१. मानिसहरु कवि हुनु र कविता रचना गर्नुको अन्तरशक्ति के होला ?
– सन २००६ को नोवल पुरस्कार विजेता टर्किश लेखक ओराम पामुक भन्छन् – ‘कविता ईश्वरको बोलि हो । जुन बोलि कवि माध्यमबाट अभिव्यक्त हुन्छ ।’ पामुकको यो भनाई मलाई घच्चीको लाग्छ ।
जस्तोकि, सदियौँदेखि हाम्रो लिम्बू समुदायमा मौखिक पुस्तान्तरण हुँदै आएको थुतुरीवेद छ मुन्धुम, यो पनि एक काव्य हो । ईश्वरको बोलि नै हो । यो बोलि हजारौँ बर्षदेखि साम्बा,फेदाङ्बाहरुको माध्यमबाट अभिव्यक्त हुँदै आएको छ ।
कुनै गुरु नथापेका, अध्यन नगरेका भुइँफुट्टा साम्बा,फेदाङबाहरुले अजस्र काव्यको स्रोत मुन्धुम फलाक्नु उनीहरुको आङमा माङ ( ईश्वर ) चढ्नु नै हो ।
मलाई लाग्छ, साम्बा, फेदाङबाहरु हम्रो समाजका महाकविहरु हुन। उत्कृष्ट कविता लेख्नु कविको आङमा माङ चढ्नै पर्छ ।
विश्वमा लेखिएका तमाम कालजयी उत्कृष्ट कविताहरु यिनै प्रक्रियाबाट गुज्रिएको हुनुपर्छ ।
एउटा कविता लेख्यो तर केही कारणबश त्यो मेटियो भने पहिलेकै जस्तो कविता कविले लेख्न फिटिक्कै सक्दैन ।
यी यस्ता कारणहरुले कवितालाई अलौकिक र अदभुत बनाएको छ । यद्यपि, यो विश्वमा कविहरु नै धेरै नास्तिक छन ( केही अपवाद देवकोटाले अन्तिम समयमा आखिर श्रीकृष्ण रहेछन एक स्वीकार्नु र भर्खरै प्रगतिशील भारतीय कवि उदयप्रकाशले राम मन्दिरको लागि चन्दा दिनू बाहेक), ईश्वरको अस्तित्वमाथि प्रश्न ज्यादा कविले नै गरेका छन ।
त्यसकारण कवि हुनु र कविता रच्नुको अलि वैज्ञानिक अन्तरशक्ति संबेदना, कल्पनाशीलता,समय–सौन्दर्यचेत, अभिव्यक्ति कला आदि हुन ।
२. नेपाली साहित्यमा कविता बिधाले दिएको महत्वपुर्ण योगदान के होला ?
– विश्वमै कविता ज्यादा लेखिने, पढिने बिधा हो । नेपालमा पनि कविता बिधा लोकप्रीय छ । अन्य बिधा भन्दा कविता वाचनको सहजताले यो आम पाठकमा तीव्र प्रसार हुन्छ ।
अनुवाद सहजताले पनि कविता अन्य भाषाका पाठकसम्म पुग्छ । नेपाल बहुभाषा भएको देश हो । तसर्थ, यहाँ बहुभाषी कविहरु छन। उनीहरुको भाषिक बिबिधताले भरिएको कृति छ ।
वहुसंस्कृति, सौन्दर्यचेत र मिथकहरु निरन्तर लेखिदै आएको छ । यसो हुनु नेपाली साहित्यकै श्रीवृद्घिको लागि महत्वपूर्ण कार्य हो ।
केही अघि कवि भुपिनको हिन्दी अनुवाद भारतका चर्चित अभिनेताले युट्युबमा वाचन गरेको हेरेको थिएँ । यसो हुनु नेपाली साहित्य अन्य राष्ट्रमा प्रसार हुनु हो ।
साहित्य प्रसार हुनु भनेको समाज प्रसार हुनु हो । इतिहास प्रसार हुनु हो । हाम्रो वैचारिक दृष्टिकोण प्रसार हुनु हो ।
सबै भन्दा महत्वपूर्ण कुरा कविताले नेपाली साहित्यलाई गतिशील बनाएको छ । जडता र आत्ममुग्धताबाट मुक्त गराएको छ ।
३. कविता बिधा यहाँसम्म आइपुग्नु भावना र कला भन्दा ज्यादा वैचारिकी हो भनिन्छ, के भन्नुहुन्छ ?
– भनिन्छ कविता जीवन भन्दा ज्यादा परिभाषित भएको छ । आइन्सटाइनको सम्पूर्णताको सिद्घान्त सम्भव छ भन्छन ! कविता ठ्याक्कै यो हो भन्ने बोध भएको खण्ड कविताको मृत्यु होला ।
खैर , विश्वमा ‘कला कलाको लागि’ आन्दोलनहरु भए । विचारलाई महत्वदिने आन्दोलनहरु पनि खुबै भए । हाम्रोतिर पनि कवितामाथि निकै लामो बहस र विमर्शहरु भएका छन। तपाइँको प्रश्नमा त्यसको प्रभाव देख्छु म । यहाँ सबै आआफनै विश्वासमा अडिग छन । तर हामीले बोध गर्ने सत्यको नजिकलाई हो ।
मलाई लाग्छ, जबसम्म हाम्रो समाजमा अनेकौँ विभेदहरु यथावत रहन्छन तब सम्मन ‘कला कलाको लागि’ विचार असान्दर्भिक हुन्छ । कविता समयको दस्तावेज पनि हो । नेपालको राजनैतिक, सामाजिक घटनाक्रमहरुले कविता लेखनमा प्रभाव पारेको हामी कहाँ इतिहास छ ।
कवि गोपालप्रसाद रिमालदेखि कवि चन्द्रवीर तुम्वापो सम्म आइपुग्दा कवितामा विचारपक्ष हावी भएको सत्य हो । यस्तो लोकतन्त्र र सामाजिक न्यायको खातिर कविहरुले लडनुपरेको कारण भएको हो ।
नेपाली कविताको इतिहासमा विचारपक्षलाई महत्व दिएर लेखिएको कविता नै कालजयी र मानक भएका छन । किनकी ती कविताहरुले आम मानिसका संवेदना,पीडा र चासोलाई सम्बोधन गरेका छन । ती कविताहरु आत्मरतिमा नभइ आम मानिसका हितका खातिर लेखिएका छन ।
४ नेपाली कविता भन्नु नै वादहरुको अनवरत प्रयोगको श्रृङ्खला हो कसरी ?
– नेपाली कवितामा वादको प्रयोगमा भारतीय प्रभाव देखिन्छ । भारतमा चाहिँ पश्चिमा प्रभाव देखिन्छ । पश्चिमाहरुको रोमान्टीसिज्म पछि भारतमा छाँयावाद आयो । उताको छाँयावाद नेपालमा स्वछन्दवाद भयो । भारतमा चलेको ‘ नयाँ कविताको आन्दोलन ’ को प्रभाव हुनुपर्छ ‘तेस्रो आयाम’ ।
कवि भुपि शेरचनवाद र तेस्रो आयामसँग बेखुश देखिएपनि उनको कविताले मानवतावादको वकालत गर्छ । तेस्रो आयामपछिको लिला लेखन जस्लाई टेकेर कवि कृष्ण बराल, धरावासी , रत्नमणी नेपाल आदिहरु कविता लेख्छन । नेपाली कवितामा प्रगतीवादी कविहरुको वेग्लै साम्राज्य छ ।
तरलवाद, बुटपालिस आन्दोलन, नारीवाद नेपाली कवितामा प्रयोगको अन्य श्रृङ्खलाहरु हुन। त्यस्तै, सृजनशील अराजकता,रङ्गवाद,चक्रव्युह संचेतना, सृजनशील उत्तरवर्ती, मुक्त अभियान, केस्रा आन्दोलन, फरक आयाम र पछिल्लो समयको कुकुर कविता आदि आन्दोलनलाई हेर्दा तपाइँले भन्नुभए झैँ प्रयोगको अनरवत श्रृङखला देखिन्छ ।
पश्चिममा चलेको क्रंकिट कविताको अभ्यास पनि नेपाली कवितामा देखियो । नेपाली कवितामा इको राइटिङको अभ्यासपनि भयो ।
अहिले कवितामा स्थानीयताको चर्चा छ । स्थानीय लेखनको अभ्यास नेपाली कवितामा हुँदैछ । स्थानीय संरचना, सौन्दर्यचेत, मौलिक मिथ आदि यो लेखनीमा देखिन्छ ।
५. हरेक जनआन्दोलनसँग कविता इस्पात भएर उभिन्छ, त्यसैले कविता जनप्रिय छ, के भन्नुहुन्छ ?
– सात सालको क्रान्ति होस या सत्र सालको क्रान्ति, पहिलो जनआन्दोलन होस या दोस्रो जनआन्दोलन कविता र स्रस्टाहरु अग्र मोर्चामा लामबद्घ भएकै हुन । म त भन्छु, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ पछि राणा शासन ढल्नु, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ र कृष्णभुषण बलको ‘काठमाण्डौ एक्लैले काठमाण्डौ बोक्न सक्दैन’ पछि पन्चायत ढल्नु, अनि श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ पछि राजा ज्ञानेन्द्रको सत्ता ढल्नु संयोगमात्र थिएन ।
ती कविताहरुले आन्दोलनलाई सकारात्मक उर्जा र उत्प्रेरणा दिएको कारण निरङकुश सत्तालाई अफठ्यारो पर्यो । फलस्वरुप आन्दोलनको मर्मलाई आत्मसात गर्न शासकहरु बाध्य भए ।
एउटा असल कवि र कविता सदैव लोकतन्त्र र सामाजिक न्यायको पक्षमा हुन्छ । अहिले त झन सिमान्तीकृत, भुइँमान्छे, अल्पसङख्यकहरुलाई पनि अनदेखा गर्नु हुँदैन भनेर समावेशी लोकतन्त्रको मोडल विश्वमै बहसको बिषय बनेको छ ।
आमनागरिकका संबेदनालाई, मुद्घालाई कविताले अभिव्यक्त गरेको कारण हुनुपर्छ कविता जनप्रिय भएको । तर , सबै कवि र कवितालाई एउटै तराजुमा जोखेर हेरियो भने हामी गलत हुन्छौ । नेपालमा ‘निरो’ टाइपका कविहरु प्रशस्तै छन । उनीहरु आत्मरतीमा निमग्न छन।
इतिहासमा कति त प्रतिगमनकै मतियार भएका कविहरु छन। कविता पनि एकात्मकता, एकल संस्कृति, एकल भाषालाई पक्षपोषण गर्ने खालका लेखेका छन।
अचम्म ! फेरि यिनीहरुको आवाज गाइँगुइँ सुनिन थालेको छ । इतिहासले बढारेका यिनीहरुमा फेरि सातो बौरिनु राज्यसत्ताको गलत कदमको कारण भएको हो । फेरि एकपटक प्रतिगमनको बिरुद्घ कविता इस्पात भएर उभिनेबेला आएको छ ।
६. पहिचान साहित्य पछिल्लो शक्तिशाली लेखन हो देखिन्छ ,तर कतिले किन जातीय नजरले हेर्छन ?
– परम्परागत नेपाली साहित्यमा एउटै समुदाय, नश्ल र संस्कृति मात्र लेखिएको कारण यसले नेपालमा विद्यमान वहुल समाज, संस्कृति र सौन्दर्यगत चरित्रलाई सम्बोधन गरेन भनेर पहिचान लेखनको अवधारणा अगाडि आएको हो ।
नेपाली समाजको चरित्र वहुलताले निमार्ण भएको छ । त्यसकारण अबको नेपाली साहित्यमा एकांकी र एकपक्षिय लेखनको अर्थ छैन भनेर पहिचान लेखनको अवधारणा आएको हो ।
प्रष्टै रुपमा भन्नुपर्दा परम्परागत नेपाली साहित्यमा बिशेष एक जातिको संस्कृति र सौन्दर्यगत चेतना र त्यो चेतनासँग समभाव राख्ने भारतीय महाकाव्यका बिम्ब,मिथक र नायकहरु मात्रै क्लिसे भइरहेको सन्दर्भमा आफ्नो मौलिकता,स्थानियता र साँस्कृतिक सौन्दर्यचेतना सहितको साहित्य लेखिनुपर्छ भनेर पहिचान लेखन बोल्छ ।
पहिचान लेखन निषेधको लेखन होइन । तर साहित्यमा एकल जातिको,भाषाको र संस्कृतिको हेजेमोनीलाई प्रतिरोध गर्छ ।
यसर्थ, पहिचान लेखन प्रतिरोधी चेतना पनि हो । पहिचान लेखनसँग किनपनि म सकारात्मक छु भने यसले सामाजिक न्यायको वकालत गर्छ ।
नेपाली समाजमा अझैपनि विभेदका अनेकौं श्रृङ्खलाहरु यथावत छन् । यी विभेद विरुद्व पहिचान लेखन बोलेको छ , बोल्छ ।
परम्परागत साहित्य लेखन कुनै एउटा वर्ग र शक्तिको स्तुति कि स्वान्त सुखाय र प्रकृतिको एकोहारो बखानमा रमाइरहेको बेला साहित्य लेखन जिम्मेवारीबोध पनि हो भनेर पहिचान लेखन अगाडि आएको हो ।
पहिचान लेखनले साहित्यमा विचारको जडतालाई तोड्दै प्रगतिशीलता अगाल्नुपर्छ पनि भन्छ । नेपाली साहित्यमा मात्र पहिचान लेखनको अवधारणा आएको होइन । उहिल्यै देखि विश्व साहित्यमा यो चलिआएको छ ।
बिशेषगरि भारतको मराठी साहित्यबाट चलेको दलित लेखन र अफ्रिकन अमेरिकन ( ब्लाक लिटरेचर ) सँग नेपाली पहिचान लेखनले नजिकको सम्बन्ध राख्छ ।
विश्वमै अहिले इथ्निक लेखन, सवाल्र्टन लेखन र सिमान्तकृत लेखन प्रवाभकारी ढङ्गले आइरहेको सन्दर्भमा नेपालको पहिचान लेखनले खास अर्थ राख्छ । तर यति हुँदाहुँदै पनि एउटा सत्य के हो भने यी लेखनहरुसँग समभाव राख्दाराख्दै पनि नेपाली पहिचान लेखन अलि पृथक छ ।
नेपालको आफ्नै विशिष्ट सामाजिक,सांस्कृतिक संरचना र सौन्दर्यशास्त्रले नेपाली पहिचान लेखनलाई अरु भन्दा पृथक बनाएको छ ।
नेपालमा चलेको पहिचान लेखनलाई जातीय चश्माले हेर्नु दृष्टिदोष हो । जस्ले पहिचान लेखनलाई साम्प्रदायिकता सँग जोडछ तीहरु नै ज्यादा साम्प्रदायिक हुनुपर्छ ।
नेपाली साहित्यमा वहुसौन्दर्यचेत हुनुपर्छ भन्नु साम्प्रदायिकता कि एकल सौन्दर्यचेतलाई मौन सर्मथन गर्नु साम्प्रदायिकता ?
जडतामा रमाउनेहरु, यथास्थितिमा रमाउनेहरु र ज्ञान, सृजनालाई आफ्नो विरासत ठान्नेहरुले मात्र पहिचान लेखनलाई जातीयताको आरोप लगाउँछन ।
प्रगतिशीलहरु, परिवर्तन स्वीकार्नेहरु, नयाँ लेखनलाई स्वागत गर्नेहरुले पहिचान लेखनलाई सकारात्मक रुपले बुझेका छन ।
सत्य त , पहिचान लेखनले नेपाली साहित्यलाई अझ समृद्घ बनाएको छ । म समग्र नेपाली साहित्यको कुरा गरिरहेछु ।
नौलो मिथक, संस्कृति,संरचना र बिबिध सौन्दर्यचेतना नेपाली खस साहित्यमा लेखिनु जातीयता होइन, सहअस्तित्व, समन्वय र योगदान हो ।
७ अहिलेको प्रतिगमन त राजनैतिक मामला हो तर कविता फेरि सडकमा छ ?
– करिब अढाईहजार बर्ष पहिले प्लेटोले भनेका छन् – ‘ सम्वाद ज्ञानको स्रोत हो ’ । लोकतन्त्रमा संसद सम्वादको केन्द्र हो । जहाँ आमनागरिकको भविष्य कसरी उज्जवल बनाउने सम्वाद हुन्छ, विर्मश हुन्छ ।
तर वर्तमान सत्ताले विर्मशको थलोलाई विघटन गरेपछि कविता फेरि सडकमा आएको हो । विश्वकै इतिहासमा जब जब राजनीतिले बाटो बिराउँछ तब कविता सडकमा आएको छ ।
हामीले बुझ्नुपर्ने एउटा सत्य के हो भने कविता जीवन भन्दा पर हुँदैन । समाज भन्दा पर हुँदैन । समाजलाई सही गति दिनु कविताको जिम्मेवारी हो । समाजको समीचिन गतिमा जब राजनीति बाधा बन्न आइपुग्छ, उसलाई खबरदारी गर्नु कविताको काम हो ।
राजनीति भनेको राज्य चलाउने नीति हो । राज्य राजनैतिक दल, नेता र कार्यकर्ताको गठजोड मात्र होइन । राज्य अनेकौँ तह, तप्का र सम्बन्धह्ररुले निर्माण भएको हुन्छ ।
राज्यको काम सबै तह र तप्कासँग सम्बन्धको पुल निर्माण गर्नु पनि हो । तर विडम्बना ! यहाँ राज्य पर्खाल बनाउन कटिबद्घ छ ।
नागरिक नागरिक बीच फाटो ल्याउने जिदमा छ । भर्खरै संस्थागत हुँदैगरेको लोकतन्त्रको आधारहरुलाई ध्वस्त गर्ने कार्यमा तल्लीन छ । यी खराब र प्रतिगमन जिदबिरुद्घ कविता सडकमा फेरि आएको हो ।
कविताको एउटा रचनाधर्मीता छ, त्यो हो शासकहरुलाई सदैव खबरदारी गर्नु । शासकको निरङ्कुश कदम बिरुद्घ खबरदारी गर्न कविता यतिबेला सडकमा छ ।
८. कविता त मानिसहरु कै नजिक छ तर शासकहरु किन कविताको विपरित कित्तामा उभिन्छन् ?
– शाासकलाई प्रश्न मन पर्दैन । कविताले प्रश्न गर्छ । भारतीय अर्थशास्त्री अमर्त्य सेनले भनेका छन् – ‘इथिक्सबाट पोलिटिक्स निर्माण भएको । तसर्थ राजनीतिमा नैतिकता जरुरी हुन्छ ।’
केही अपवादलाई छाड्ने हो भने नैतिकवान राजनीतिज्ञ तपाइँले कहीँ पाउनुभएको छ ? नोवल शान्ति पुरस्कार पाउने राजनेतामाथि जब नैतिकताको प्रश्न उठ्यो उनी निरुत्तर भइन । अर्कोकुरा, शासकलाई चिन्तन,मिमांसा,दृष्टिकोणको बदला चम्चाचिन्तन मनपर्छ । जीहजुरी मनपर्छ । हनुमान, दासहरु मनपर्छ ।
कविता त यी तत्वहरुको सदैव बर्खिलापमा छ ।
त्यसो त विश्वमा कवि शासक नभएका होइनन । त्यसको सिको गर्दै हाम्रो शासकले पनि कविता लेखे । तर असल कविता लेख्न असल नियत हुनुपर्दोरहेछ । नत्र त कविताको नाममा शब्दको डम्पीङसाइट मात्र बन्दोरहेछ । भारतका अटलविहारी वाजपाई असल नियत भएका असल कवि र शासक थिए ।
९. कविताको आयु कति छ जस्तो लाग्छ ?
– कविता साध्य हो । यसको आयु हुँदैन । असल कविता कालजयी हुन्छ । अमर हुन्छ । विश्वमा यस्ता उदाहरणहरु छन्, कवितालाई चिहानबाट निकालेर पढिएको ।
अहिलेपनि क्लासिक कविका कविताहरु हामी उतिकै चाख लिएर पढछौँ । कति कविता त मन्त्र झै आम मानिसको बोलिमा थपक्कै बसेको छ । ती कविताहरु बरु पुस्तान्तरण हुन्छ, मर्दैन ।
१० कविता मानवताको अग्लो र सुन्दर सृजना हो, मान्नुहुन्छ ?
– अवश्य । कवितालाई क्वान्टम फिजिक्सले डिभाइन साउण्ड र वेदले ब्रहंनाद त्यसै भनेको होइन । हाम्रो मुन्धुम काव्यिक हुनु कविताको उच्चता र महत्वले हो ।
अर्को कुरा कविताले सफल होईन सार्थक हुन सिकाउँछ । अहिलेका सफल मानिसहरुको जीवन सार्थक छ ?
उनीहरुले समाजलाई के अंशदान गरे ? राजनीतिमा सफल प्रधानमन्त्रीले देश समाजलाई सार्थक बनाउने कार्यमा अग्रसर भए त ?
तर कविताले जीवनलाई सार्थक बनाउन उत्प्रेरणा दिन्छ । जीवन सार्थक हुनु समाज सार्थक हुनु हो । देश सार्थक हुनु हो ।