काठमाडौं । नेकपा (नेपाल दाहाल पक्ष)की नेतृ रामकुमारी झाँक्री आज फेरि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि खनिएकी छन् ।
पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा बोल्दै नेतृ झाँक्रीले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने भन्दै आफूले गलत नबोलेको दावी गरिन् ।
झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्ग प्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपति माथि बोल्न पाइन्छ ।’
उनले थपिन्, ‘एउटा खलपात्रको विरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।’
झाँक्रीले प्रचण्ड र माधव नेपाललाई आजकै सभाबाट ‘ओली प्रवृत्ति कहिल्यै नदोहोरिने सुनिश्चितताको घोषणा गर्नुहोस् ।’ भन्दै यो संघर्ष एउटा पात्रको विरोधमात्र नभएर लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताइन् ।