-गीता अधिकारी, हङकङ
बिहानको सुर्योदय सगै सुर्य नअस्ताएसम्म र पुनः उज्यालोले पृथ्विलाई नचुमेसम्म ब्यस्त हुने देश भनेको हङकङ हो । मानौ २४ घण्टानै ब्यस्त हुने देश ।
तर हङकङबासी नेपाली दाजुभाइ दिदी बहिनीहरुले अलिकती सोच्नु पर्ने विषय मैले देखेर यो बन्द गरिसकेको कलम फेरि चलाउन बाध्य भए ।
बिहान उठेदेखि रात नपरिन्जेल सम्म काममा ब्यस्त हुने ठाउँ भनेको हङकङ हो । यहाँ कति त घरमा खाना पकाउन र खान नभ्याएर चाईनिज रेष्टुरेन्टको खाना खाएर भोक मेटाउँछन् । कति आफै पकाउछन् हप्ता दिनको लागि र बासी भात बोकेर हिड्छन् । यहाँ सेक्युरिटी गार्डदेखि लिएर कन्स्ट्रक्सन अनि भाडा माझ्ने र फोहोर उठाउने काम ज्यादा गर्ने गर्छन् ।
मनोरञ्जनको लागि डिस्को छ, सिनेमा हल छ, पार्क छ, नभएको केही छैन भनौ भने हङकङ एउटा स्वर्गको एक टुक्रा हो । निकै मनमोहक ठाँउहरु छन् ।
तर यो बिचमा एउटा सिङगो प्रश्न आएर तेर्सिएको छ मेरो दिमागमा, त्यो हो हङकङबासी नेपाली नानीबाबुहरु । यो निक्कै चासोको विषय पनि हो ।
हुन त घरमा हेल्पर राखेका हुन्छन्, सबै कुरा हेल्परले नै गर्छन् सबैलाई थाहा छ ।
के यो कुरा हजुरहरुलाई थाहा छ ?
एउटा सिङ्गो प्रश्न छ मेरो हजुरहरुलाई ?
मैले यति सम्म देखेको छु कि काममा जाने बेलामा छोराछोरी सुति राखेका हुन्छन् र फर्किदा सुतिसकेका हुन्छन् । डर लाग्छ कतै छोराछोरीले आफ्नै आमाबाबालाई पो नचिन्ने हुन कि । यो बढो गम्भीर कुरा हो ।
याद राख्नुहोला, पैसाको पछि भाग्दाभाग्दै जसको लागि पैसा कमाउन चाहनुहुन्छ उनैलाई गुमाउनु होला । बच्चालाई मायाको खाचो हुन्छ हजुर पैसा त हातको मैला हो । के हजुरहरुले जन्मिदै पैसा लिएर आउनु भएको थियो र ? कति कुरा यस्ता छन् मैले यहा भन्न चाहिन ।
आफ्ना कलिला तामाका मुना जस्ता छोराछोरीलाई आफुले पनि समय दिनुहोला । उनिहरु आमाबाको माया नपाएर एकोहोरो हुने, मोबाईल मात्र हेर्ने, बोल्न परे झर्केर बोल्ने, एकान्त मन पराउने, सबैबाट टाढा हुने । यो समस्या हजुरहरुको केटाकेटीमा पक्का छ । म यो छात्ती ठोकेर भन्न सक्छु ।
हजुरहरु ढुक्क हुनुहुन्छ आफ्ना नानीबाबुहरुलाई सबै चिज पुर्याएका छौ, के चाहियो र ?
तर उनिहरुको आवश्यकता पुरा गर्दा–गर्दा हजुरहरुले एउटा सबै भन्दा ठुलो जिम्मेवारी भुल्नु भएको छ, याद गर्नुस् ।
अ याद आयो…?
दिमाग घुम्न सक्छ मेरो प्रश्नले
दिमागमा जोड दिनुस…
पक्का महसुस गर्नु हुनेछ,
आफु अविभावक भएको र अविभावकले गर्नुपर्ने जिम्मेवारीबाट निकै पर पुगिसक्नु भएको छ । खेलौना र गेम मोबाईल भनेको मात्र नानीबाबु बिगार्ने एक साधन हो ।
हजुरका नानीहरुलाई माया दिनुहोस, समय दिनुहोस ।
हजुरहरु के गर्नुहुन्छ म भनुम …?
बाँकी दिन काम गर्नु हुन्छ, यो गर्नै पनि पर्छ किनकी यहाँ आफ्नो स्वदेश झै कसैले पैचो दिन्न । न त उधारो नै चल्छ, आफ्नो गोजीमा पैसा छ त श्वास चल्यो नत्र पानी पनि भन्न पाईदैन ।
र रह्यो बिदाको दिन,
बिहान अबेला सम्म सुत्नु हुन्छ,
नानीहरु कता छन् ? के गर्दै छन् याद हुन्न ।
उठ्ने बेलामा नानीहरु स्कुल गईसकेका हुन्छन् ।
हजुरहरुलाई थाहा हुदैन नानीहरुको दिमागमा के भरिएको छ भनेर । उनिहरु हजुरहरुको माया चाहन्छन् । जन्म दिएर र मनोरञ्जनका समानहरु मात्रै दिएर उनिहरुले पाउनु पर्ने अधिकार त हनन् गर्नु भएको छैन । एक दिन यहि साधनहरु हजुरहरुको लागि श्राप हुन सक्छ महोदय ।
मेरो यो कुरा सामान्य होइन,
मनन् गर्नुहोस र सधैव सजक हुनुहोस ।
त्यसकारण आजैबाट आफ्ना नानीहरुसँग नजिक हुनुहोस ।
हुन त भन्नु होला “हाम्रो नानीहरुलाई के हामी माया गर्दैनौ ?”
अवश्य, गर्नु हुन्छ म मान्छु ।
तर भौतिक सुखसयलमा भुलाएर आफुले दिने आमाको माया, बाबाको मायाबाट बञ्चित नगराउँनुहोस ।
आफ्नो छोराछोरीको भविश्य उज्यालो बनाउछु भनेर आफ्नै नानीहरुसँग टाढा भएर नानीहरुको भविश्य अन्धकारतिर नधकेल्नुुहोस ।
समय दिनुहोस् अनि मात्रै हजुर र हजुरको नानीहरुको भविस्य उज्यालोतिर लम्किन्छ ।
कुनै दिन यस्तो सामाचार नआओसकी, पैसाको लागि आफ्नै नानीले आमाबाबुको हत्या गर्यो ।
साना नानीहरुको भविस्य हजुरको हातमा छ
राम्रो नराम्रो बाटो देखाउने हजुरको बातमा छ
कोपिलालाई फुलाउने जोगाउने काम सुन्नुस
बिहान बेलुकीको पानी सिंचाई गर्ने पातमा छ ।
नोटः मैले हङकङको परिवेस बुझेर लेखेको छु, हुन त कति अविभावकहरुले यो जिम्मेवारी निभाएका होलान् तर यो मेरो अपिल गैरजिम्मेवारी बाबा आमाको लागि हो ।