“लोग्नेसँग यसरी बोल्दैनन् । तरिका हुन्छ लोग्नेसँग बोल्ने । सोध्ने पनि तरिका हुन्छ ।” उम्लिएको रगत उत्रिएको थियो अनुहारभरि ।
“लोग्ने साथी हो । लोग्ने परिवार हो । लोग्ने सहयात्री हो । तिमी मेरो लोग्ने मात्रै कहिलेदेखि भयौ ? तिमीसँग कुरा गर्न पनि तरिका खोज्नुपर्ने मैले ?”
“हो, केही सम्बन्धका कुरा गर्ने शैली निश्चित हुन्छन् । त्यो दायरा ननाघेकै राम्रो ।”
“तिमी मेरो लोग्ने, मैले तिमीसँग नसोधेर कोसँग सोध्न जाऊँ ? मैले सोधेको प्रश्नको सिधा जबाफ देऊ । घुमाउनु जरुरी छैन । अनि यस्ता कुरालाई पहाड बनाउनु आवश्यक पनि छैन ।”
“के सिधा उत्तर ? दिमाग हुनुपरयो नि दिमाग ! दिमागमा गोबर भरिएको छ अनि कताबाट गतिलो कुरा आउछ ? लोग्नेलाई शङ्का गरयो, बस्यो ।” बन्दुकको निसानाजस्तो गरी चोरीऔँलाले मन्दिराको कन्चटमा थिचेर चिच्यायो ।
डरले सातो उड्यो मन्दिराको । कसो कुटाइबाट बँची । आपसी विवाद तिलबाट पहाड बन्दै गइसकेको थियो । उसले सोची ‘विषयको वारपार आजै लगाउनुपर्छ ।’
“शङ्का होइन, म तिम्रो मुखबाट प्रस्ट कुरा सुन्न चाहन्छु । पन्ध्र वर्षअघि मैले छोडेको श्रीपुरुष तिमी छैनौ ।”
“तिमी छौ ? परदेशमा तिमी कति जनासँग सुतेर आयौ पन्ध्र वर्षमा ? मलाई अरूसँग सुत्न गयो भन्ने ?”
अनपेक्षित सवालले मन्दिरा छाँगाबाट खसी । उसको मनमा भुइँचालो गयो ।
उसको पहिलो सोधाइ थियो, “सामरालाई पैसा सापटी दिएको हो ?”
“… … मैले यतिका वर्षसम्म तिमीलाई तिम्रा साथीहरूबारे सोधेँ ? तिम्रो त्यहाँको व्यवहारप्रति चासो राखेँ ? तिमीलाई स्वतन्त्र छाडेको थिएँ । आएको दस दिन हुन पाएको छैन, मेरो खै गर्ने हिम्मत ?” ऊ मैदान उत्रिसकेको थियो ।
“स्वतन्त्रता भनेको स्वच्छन्दता होइन ? जरुर म स्वतन्त्र थिएँ तर कहिल्यै स्वच्छन्द हुन चाहिनँ । तिमी र सम्पूर्ण मेरा आफन्तजनप्रतिको आस्था र विश्वासलाई विचलित हुन दिइनँ ।”
“बकवास ! सब बकवास ! यतिका लामो समयसम्म एउटी आइमाई… त्यो पनि विदेशमा…..।”
“हो, एउटी आइमाई, एउटी स्वास्नी अनि एउटी आमा परिवारप्रति कर्तव्यनिष्ठ र इमानदारीतासाथ आफ्नो सतित्व जोगाएर बस्न सक्छे ।” सिसा फुटेजस्तै भयो लोग्ने प्रतिको आस्था, भरोसा र विश्वास । यतिन्जेल लोग्नेको नाममा उचो भएको शिर निहुरिइसकेको थियो । अब त्यो आस्था र विश्वास फेरि जोरिने अवस्था थिएन । ऊ प्रतिकारमा उत्री “… … … तिमीभित्र यतिका कुत्सित विचार रहेछ र पो हरपल विदेश जानका लागि दबाब दिँदा रहेछौ । स्वास्नीले विदेशमा सुतेर पैसा कमाउँछे भन्ने सोच हुँदाहुँदै त्यसको कमाइमा राजनीति गर्न अलिकति पनि सरम लागेन तिमीलाई ?”
लोग्नेस्वास्नीको झगडा विस्फोट भइसकेको थियो ।
“के रे ? के भनिस् रे ? मैले तेरो पैसाले राजनीति गरेको होइन । म त तेरा छोराछोरीको गोठालो गर्दा राजनीतिमा पछि परेको ! बढ्ता जान्ने…। तेरा छोराछोरीलाई भुसतिघ्रेचाहिँ कसले बनायो ?”
“ए, मेरा छोराछोरीको गोठालो गरयौ तिमीले ? म गएको दसै दिनमा होस्टेल राखेर दिनरात होस्टेल फि तिर्नका लागि पैसाको दबाब दियौ । महिना मर्न नपाउँदै पैसा थाप्न दसऔंली पसारेको बिर्स्यौ ? १५ वर्षको मेरो कमाइ कहाँ गयो ?” यतिन्जेल रोकिएको आँसु भक्कानिएर बग्न थाल्यो मन्दिराको ।

“…राजनीति गर्दैमा छोरीको उपचार गराउनसमेत तिमीलाई फुर्सद भएन । छोरोलाई काँडा पन्छाएजस्तो गरी होस्टेलमा हाल्यौ । उसको अहिलेसम्म अत्तोपत्तो छैन । अझै भन्छौ छोराछोरीको गोठालो गरेँ ? तिमीले कहाँ दायित्व पूरा गरयौ ? मैले विदेश गएर नकमाएको भए कसरी राजनीति गर्थ्यौ ? १८ घण्टा काममा जोतिएर पनि तिम्रो भाषण लेखिदिन छोडिन मैले । साहुको आँखा छलीछली मेल गर्थें तिमीलाई ? सुइँकोसम्म पाएको भए मेरो अवस्था अहिले के हुन्थ्यो । कहिल्यै आफ्नोबाहेक मेरो विषयमा जानकारी लिने समय थियो तिमीलाई ?” वर्षौंदेखि थुप्रिएको आक्रोश र असन्तुष्टि एकसाथ ओकली उसले ।

तराईको मध्यम परिवार । अंशबन्डापछि परिवारको सम्पूर्ण दायित्व थोपरियो । पूरा गर्न नसक्ने भएपछि उसले लोग्नेलाई भनी, “तिमी विदेश जाऊ, म छोराछोरी हुर्काउँदै दुःखजिलो गर्छु ।”
पढ्दापढ्दै छाडेर राजनीतिमा लागेको लन्ठो । नेताको नाम लिएर थर्काएर खान बानी परेको, किन जान्थ्यो विदेश । विदेशमा कामदारलाई पेलेर तेल निकाल्छन् भन्ने सुनेको थियो । उसले ललाइफकाई स्वास्नीलाई विदेश पठायो । पाँच–सात वर्षका कलिला छोराछोरी छोडेर अर्काको भूमिमा जानुपर्दा नै उसको मुटु छियाछिया भएको थियो । सोची… सानो छाप्रो, छोराछोरीको शिक्षा र सुखद दाम्पत्य जीवन ।
वात्सल्यलाई विनिमय गरी जीवन सङ्घर्षसँग ।

त्यही निर्णय आज जीवनकै सबैभन्दा ठूलो भुल भयो ।
१५ वर्षमा सात पटक घर आई । राजनीति गर्दा मै लोग्नेलाई बोल्ने समय हुँदैनथ्यो । छोराछोरी होस्टेलमा । छिमेकीका चाहिने नचाहिने कुरा सुन्थी । फर्कने बेला भइसक्थ्यो । गहभरि आँसु लिएर फर्कन्थी अर्काको मुलुक । उसको समर्पणले न वास बनायो न त छोराछोरीको शिक्षामा सहयोग पुग्यो । दस कक्षा पढ्दापढ्दै होस्टेलबाटै केटी लिएर भागेको छोरो, अहिलेसम्म पत्तो छैन । छोरी ज्वरोले थलिएर दुई वर्षअघि मरी । त्यति बेला नै नेपाल फर्किएपछि विदेश जान मन थिएन उसलाई । अहिलेसम्मको कमाइ, छोराछोरीको पढाइमा खर्च भयो ।

उनीहरू अब रहेनन् ।
आफ्ना लागि पनि त वास चाहियो । पुर्ख्यौली सम्पत्ति पनि सकेर कोठाको वास थियो । तर पार्टीले दिएको भन्दै लोग्ने गाडी चढ्थ्यो । फलानो र चिलानोले दिएको भन्दै महँगा मोबाइल र आइप्याड बोक्थ्यो ।

‘यति महँगो गाडी दिने पार्टीले स्थायी बसोबासका लागि किन केही गरेन ?’ पटकपटक सोची । जबाफ उसको वशको विषय थिएन ।
पतिसुखका लागि सन्तानपीडा दबाएर फेरि विदेश गई । पछिल्लो पटक तराईमा थोरै माटो र सानो घर बनाउन पुग्ने पैसा पठाएकी थिई । त्यो पनि नभएपछि उसले हिम्मतकासाथ बैङ्क खाताको विवरण मागी । लोग्नेले दिन आनाकानी गरयो । आफै बैङ्क पुगी । अनेक तिकडमका साथ खाता विवरण लिई । पटकपटक त्यो खाताबाट सामनाको नाममा पैसा झिकिएको थियो ।

“एक पटक लोग्ने मान्छेको चित्त दुख्यो भने त्यो आइमाईलाई फर्केर हेर्दैन । थाहा छ ? लोग्नेसँग हिसाब खोज्ने ? मेरो चरित्रमाथि शङ्का गर्ने ? हिम्मत कसरी आयो ? प्रमाणित गर्न सक्छेस् ? बस् एक्लै… अब बल्ल थाहा पाउँछेस् तैँले लोग्नेको माया के रहेछ ?” रात निकै छिप्पिइसकेको थियो । ऊ कोठाबाट बाहिरियो । उसैको भनाइमा पार्टीले दिएको गाडी थियो । पैसा थियो । रात त गरिब र निमुखाका लागि न हो ।
सम्बन्धभित्रका बुझाइहरू विचलित भइसकेका थिए । कमजोर बुझाइमा सम्बन्ध सुदृढ कसरी हुन्थ्यो । विच्छेद हुने अवस्थामा पुग्यो ।

‘पैसाको चमकका अगाडि सम्बन्धको मूल्य कैयौँ गुणा बढी हुन्छ ।’ उसको बुझाइ गलत भयो । पैसा र सम्बन्धबीचको सम्बन्धमा आएको खाडल पुर्नु थियो जसरी पनि । त्यही बुझाइले उसलाई नेपाल फर्कायो ।
सुखद दाम्पत्य जीवनको न्यायो उच्छवास मात्रै कल्पनामा !
संसार लुटियो ।
जीवन टुङ्गियो ।
बाँकी छ केवल सङ्घर्ष ।

००

समस्याले पाठ पढायो तर समाधान भएन । घटनाको दस दिनपछि उसको हातमा एउटा पत्र आयो— सम्बन्ध विच्छेद !
दैला ठेलामै पत्र खोली । ढोका जोरले ढप्काई । डाँको छोडेर रोई । रातभर रोई । आँखाको आँसु सुक्यो ।
बिहेको चर्चा चलेदेखिका घटना सम्झी ।

बिहेकै रात उसले भनेकी थिई, ‘जन्मले जोडेका सम्पूर्ण नातागोताको माया तिमीले दिनुपर्छ । तिम्रो मायालाई कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्तिनँ । सानैमा टुहुरी भएकीले पनि हुन सक्छ म मायाकी साह्रै भोकी छु । कुनै पनि सर्तमा मायाको खोट स्विकार्न सक्तिनँ ।’
‘सुखी राख्न नसकुला तर मेरो मायामा खोट कहिल्यै देख्न पाउने छैनौ तिमीले ।’ त्यो मायालु अँगालो !
उफ् !

आफ्नै आँखाअगाडि सबै घटना भइरहँदा पनि यथार्थ स्विकार्न कठिन भयो । सम्बन्ध विच्छेदको कागज डसनामुनि राखी र सोची, ‘म कुनै पनि अवस्थामा सिँदुर मेट्न दिन्नँ ।’
महिनादिन बित्यो । यसबीच ‘डिभोर्स पेपर’ मा हस्ताक्षर गराउन उसका दर्जनौँ कारिन्दा आए ।
गहभरि आँसु पार्दै सबैलाई भनी, “यतिन्जेलसम्म उसले मलाई केही दिएन । बाचुन्जेल उसको नामको सिन्दुर नखोसोस् ।”

००

“महिलाविरुद्धको हिंसामा अनवरत लाग्दै आएका राजनीतिक व्यक्तित्व श्रीपुरुष दाहाललाई यस वर्षको उत्कृष्ट महिला संरक्षण पुरस्कार प्रदान गरिएको छ । दाहाललाई लामो समयदेखि महिला हिंसाविरुद्धको अभियानमा संलग्न रहँदै आएबापत सम्मान गरिएको हो ।”

काट्ताकाट्तैको बन्दा चटक्कै छाडेर जुरुक्क उठी । अचानक श्वासप्रश्वास यसरी बढ्यो कि नियन्त्रण गर्नै सकिन । मस्तिष्कमा सबै स्मृति ताजा भए ।
उसको ध्यान टेलिभिजनको समाचारले तान्यो । सम्मान गर्ने व्यक्ति सामरा थिई ।
माला लगाई, दोसल्ला ओढाई, दह्रोसँग अँगालो हाली, वर्षौंपछि भेट भएका आमाछोरीले जसरी । अनि सम्मान पत्रसाथ फोटो खिचाई । सायद सम्मानको तारिफदारीमा फलाकी होली उहाँ साह्रैै महिलामैत्री पुरुष… … मन्दिराले डसनामुनिको डिभोर्स पेपर निकालेर हस्ताक्षर गरी ।

तपाईको प्रतिक्रिया