श्याम इङनाम
20 Jan 2021 Day #2
बिहान अलिक अबेर मात्र निन्द्राबाट आँखा खुल्यो । मोबाइल हेर्दा बिहानको ८:३० बज्न भ्याईसकेको रहेछ। मोबाइल हेर्न भन्दा पहिला रुमको भित्ता वरिपरी आँखाले भित्ते घडी खोजेकै हो,आफ्नै नारि समेत घडीरहित थियोे । सोचें ! समय धेरै परिवर्तन भैसक्यो, तेही परिवर्तित समय हेर्न अब घडी पुरातन भैसेकेको भान भयो।
कस्तो समय आयो ? घडीको के कुरा ? मान्छे देखि मान्छे डराउँदै हिंड्नु पर्ने । ओहो ! सम्झंदै अवाक हुने! आजभोलि प्रायजसो कुनै न कुनै क्षण दिमाग यस्तै सोचले व्याप्त हुन्छन। अहिले यो पढ्दै गर्दा पुनः येही सोच तपाइको दिमागमा पनि सल्वलाई रहेको हुनसक्छ। कि कहिले अन्त हुन्छ यो दुखद समय? उफ! कहिले अन्त हुनेहो यो कोरोना कहर?
मोबाइलमा समय हेर्नु त एउटा वहाना मात्र थियो । खासमा मैले उठ्ने बितिक्कै सायद सामाजिक संजालमा नै आँखा डुलाउनुथ्यो। आजभोलि धेरैको यस्तै आदत बसेकोछ।
हेर्दै गएँ नेपाल देखि विश्वभरिका साथीहरुले आफ्नो अपडेट राखेका थिए। राजनीतिक, सामाजिक आदि। यतिकैमा “हिमालयन यात्राको” ( हिमायन ट्राभल्सका संचालक) अपडेटमा आँखा रोकिए, “१८ तारिख नेपालबाट आउने प्लेनमा ३ जना संक्रमित” भन्ने अपडेट थियो। कता कता चीसो पस्यो, सँगै आएका मध्ये को को संक्रमति भए भन्ने कुराले मन स्थीर हुन सकेन। हिमालयन यात्राको प्राय जसो अपडेट फ्लाइट सम्बन्धि भएकोले यो माहामारीको बेलामा हङकङ ओहोर दोहोर गर्ने व्यक्तिहरुको लागी सहि सूचनाको माध्यम बनेको छ।
आज क्वारेन्टिनको दोस्रो दिन मात्र भएकोले नियमित रुटिन केहि बनेको थिएन। उठें, झ्यालको पर्दा खोलें, खास घाम नलागेको कारण उत्ति उज्यालो देखिएन बाहिर। साधारण नित्य कर्म पश्चात साथी भाई, सुभ चिन्तकहरुको फोन आउन थाल्यो । सबैले २१ दिने क्वारेन्टिन सफल र आरामदायी रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो। वहाँहरु सम्पुर्णमा आभार व्यक्त गर्दछु। त्यो मध्ये लेखक तथा पत्रकार क्रान्ति सुब्बा ज्युको कन्सर्न म्यासेज सहित क्वारेन्टिन डाईरी लेख्न सुझाउनुभो। मेरो अनुभव/सुचना हरुले आगामी दिनहरुमा अन्य व्यक्तिहरुलाई केहि न केहि काम लाग्न सक्छ भने म प्रयास गर्छु भनी सहमति जनाएँ।
र क्रान्ति सर प्रति विशेषज आभारी हुनेछु किनकी म पहिलो पटक औपचारीक रुपमा केहि लेख्ने दुस्प्रयास गर्दैछु।
होटलको नियम अनुसार ९:०० -१०:०० बजे भित्र ब्रेकफास्ट आउने समय हो। नभन्दै ९:१५ तिर कोठा बाहिरबाट ढक ढक गरेको आवाज दिइयो ब्रेक फास्ट आएको सिग्नल।
ब्रेकफास्टमा मनले रुचाएको खासै परिकार थिएन। पिक अप गरें , तेसै राखें टेबलमा। चिया ,कफी र चिनी अनि हिटिङ केटल टेबलमै भएकोले कफी मात्र पिउने निधो गरें।
फोनमा साथी भाई सँग गफ गर्दा गर्दै लगभग बिहानको ११:३० बजी सकेको थियो। घरमा हेमा र नानिहरुसँग पुन: एक पटक कुरा गरें।
केहि पुस्तकहरु बोकेर आएको थिएँ, ति मध्ये मनिषा कोइरालाको ” जिजिविषा – क्यान्सरले दिएको नयाँ जीवन” एयरपोर्टको होल्डिंग सेन्टरमै पढ्न शुरु गरेको थिएँ। त्यही पुस्तक केहि समय पढें। र एउटा लाइनले मन छोयो। ” म पलपललाई आत्मसात गरेर जीवनले दिएको हरेक खण्डलाई सम्मान गर्ने व्यक्तिमा रुपान्तरित भएँ।”
सोचें ! वास्तवमा हाम्रो जीवनमा यस्ता धेरै पलहरु हुन्छ्न, जसलाई आत्मसात गर्न नसक्दा या नजान्दा कयौं दुर्घटनाका शीकार भइन्छ सायद । मन लाई सम्हाल्दै हरक्षण जिउन सक्नु सायद जीवन हो।
केहि समय पुस्तक पढ्दै, केहि समय फोनमा कुरा गर्दै र केहि समय मोवाईल तिर केन्द्रित हुदै आजको दिन बित्यो। साझँ हेमाले घर बाट ल्याइदिने समान रिसिभ गर्न व्यग्र प्रतिक्षाम बसें।
हेमाले बेलुका ५ बजे तल रिसेप्सनमा छोडेको समानहरु रुम सम्म डेलिभर हुन धेरै समय लगाए होटलका कर्मचारीले। कि मलाई त्यस्तो लागेको मात्र हो? रिसेप्सनमा कल गर्दा कर्मचारीको कमीको कारण ढिलो भाको जानकारी गराए।
नभन्दै बेलुका ९:१५ मा मात्र उक्त समानहरु कोठा बाहिर छोडियो। रिसिभ गरे पछि सुकुटि र हेनेसिको संयोजनमा आजको दिनलाई बिसर्जन गरें।
“जय जिन्दगी- अब १९ दिन बाँकी”
21 Jan 2021 Day#3
—————————
आज बिहान ७:३० तिर निन्द्रा खुल्यो। उठेर झ्यालको पर्दा खोलें। आकाश मज्जाले खुलेको थियो। एक लप्को घाम स्वाट्टै कोठामा छिर्यो। बाहिर हेरें, काइटक निर्माण साइटमा काम शुरुभैसकेको थिएन। ५० थान जति टावर क्रेन गिङ्ग्रिङ्ग ठडिरहेका थिए, उतिनै संख्यामा अन्य मेसिनहरु पनि भर्खर निन्द्रा बाट ब्युझिए झैँ कर्यांङ कुरुङ यताउता ठडीरहेका, बिना मालिकका घोडा जस्ता, बिना मालीका फूल जस्ता।
काम गर्ने निर्माण साइटहरु पनि सेतो टोपी ओड्ने इन्जिनियरहरु, सुपरभाइजरहरु र कामदारहरुले भरिपुर्ण हुदाँ मात्र सुन्दर देखिने रहेछ । नत्र त हिउँ नहुदाको हिमाल, ओइलिएको फूलहरुले भरिएको निस्सार बगैंचा जस्तो मात्र लाग्ने ।
अनि मनमनै सोचें, सेफ्टी बुट र हेल्मेट लगाएर निर्माण साइट छिर्दा मिल्ने त्यो माधुर्यता सँग अलग भएको पनि सात,सात महिना भएछ। लाग्छ यतिन्जेलमा समुन्द्रमा धेरै जहाजहरुले आफ्नो गन्तव्य पार गरिसकेछ्न।
कोठाबाट त्यो निर्माण साइटको दूरी लगभग १०० कोष भन्दा ज्यादा नहोला तर तेती नजिकै देखिने क्रेनहरु, एक्स्काभेटरहरु, कामदाहरू कमिला जस्ता मात्र देखिन्छन्। तर तिनै कमिला जस्ता देखिने जीवहरुबाट निर्माण हुने संरचनाहरु कति भीमकाय र सुन्दर हुन्छन हगि ! साँचै बिज्ञानको यो देन अतुलनिय छ।
हङकङ जस्तो ठाउँमा कोठा भित्रै घाम ताप्न कमै अवसर मिल्छ। यो अवसरलाइ सदुपयोग गर्दै झ्यालसंगै राखेको सोफामा बसें। पुस्तक पढें। बेडमा ढल्केर पढें, भुइँमा बसें। उठें। पानि पिएँ। पिसाव फेरें।
दिन काट्दैछु।
22 Jan 2021 Day #4
—————————
नियमित झैं बिहान उठीसकेपछि नित्यकर्म सम्पन्न गरियो। न्युज र छापाहरु कोरोनामय छ।
हङकङको नेपाली समाज अहिले त्रसित छ। कोरोना सुरू भएयता केहि एकाध बाहेक नेपाली कम्युनिटी भित्रै यो स्तरमा फैलिएको थिएन। अहिले भुसको आगो सरी फैलिएको कोरोना विशेषगरी नेपालीहरुको घना वस्ती रहेको जोर्डन यामाताई क्षेत्र पर्दछ।
कन्स्ट्रक्सनमा काम गर्ने व्यक्तिहरु बढी सङ्क्रमित भेटिरहेको पाइएकोछ। हुन पनि नेपालीहरुको जनसंख्याको लगभग मेजरिटी मानिसहरु निर्माण क्षेत्र सँग आबद्ध छन्।
यदाकदा मिडियाहरुमा भोलिबाट जोर्डन यामाताई क्षेत्रमा कोरोना रोकथामको लागि लकडाउ गर्ने हल्ला आइरहेकोछ। यी हल्लाहरुले मानिसहरु अझ तनावमा छन्।
एउटा अनिश्चितताले मानिसहरु छटपटीन थालेको महसुस हुदैछ।मैले पनि घर देखि केहि समानहरु मगाएको थिएँ। लकडाउनको भयले ति सामानहरु जोरजाम र यहाँ सम्म पुर्याउन हेमा हतारोमा दौडी रहेकीथिइन्। जेन तेन गरेर भनेका सबै समानहरु होटलको रिसेप्सनमा छोडेर फर्केको जानकारी गराइन्। तेस्तै हिम दाइले पनि केहि समानहरु तेही साँझ पुर्याएर जानुभो।
आजको दिनहरु यसरी नै बिते।
जय जिन्दगी !