युवा कवि नारायण सापकोटा जीवन र समयको मूल्य बोध गर्ने एक सशक्त कवि हुन् ।हालै नेपाली लेखक संघको उप महासचिवमा निर्वाचित कवि सापकोटा विगत दुई दशक देखि निरन्तर कविता लेखनमा सक्रिय छन्।उनका कवितामा समाजका विसङ्गत पक्ष माथि गतिलो जवाफ पाइन्छ । मानव सभ्यताको विकाससँगै जीवनका बहुआयामिक संघर्ष कथाहरू कविताका विषय बन्ने गरेका छन् ।प्रस्तुत छ साताको तीन कविता ।

शुन्य निरन्तर शुन्य

नदी निरन्तर बगिरहेको छ
हावा निरन्तर चलिरहेको छ
मिठो संगीत निरन्तर बजिरहेको  छ
तर हामी किन निरन्तर हुन सकेनौ ?

इतिहास उत्खनन गरेर
मानव मनको अन्तरसंवाद
वर्तमानसँग जोडीन आएपछि
फेरी पनि प्रारम्भ भयो हाम्रो यात्रा
कुनै शून्य समयमा हाम्रो मिलन भएको थियो
कुनै शून्य समयमा हाम्रो विछोड पनि भएको थियो
त्यही शून्य महाशुन्यलाई चिर्न
सडक सडकमा हुलका हुल कविहरु
चिच्याइरहेका थिए
कराइरहेका थिए
जीवन उत्सर्ग गर्नेहरु
शुन्यतामा नै शुन्य भए
धमिलो इतिहास भुल्ने पनि
यही शून्य हो
धमिलो इतिहास सम्झने पनि
यही शून्य हो ।
शून्यताको बहीखाताको अभिलेखको पहिलो पृष्ठ पल्टाउदा
गमलामा फूल रोपेर
फूल नफूल्दै युरोप भासिएका भाग्यमानीहरु
अमेरिका छिरेका सौभाग्यमानीहरु
यही शून्यमा फेसबुकबाटै
मेरो देश र फूलको बोटलाई हेरीरहेका छन् ।
बही खाताको पृष्ठ पल्टाउदै गर्दा
यही शून्यमा लाखौ अभागीहरु भाग्य खोज्दै
पुगीहरेका छन खाडीमा
फर्किरहेकाछन आर्यघाट
सपना धुवा बनेर उडीरहकोछ
आकाश माथीमाथी निरन्तर शून्यमा

बही खाताको मध्यपृष्ठमा यस्तो पनि लेखिएको छ
देशमा गणतन्त्र आयो
सहयात्रीहरु मन्त्रीसम्म भए
सहयात्रीहरु साँसदसम्म भए
धेरै सहयात्रीहरु त
जीवनको गुजाराका लागि विकल्पको बाटो खाजिरहेका छन ।

शून्यमा शून्यले प्रश्न गर्दछ
इतिहास विजेता योद्धाहरु
इतिहासका साँक्षी, दशी प्रमाणहरु
कता हराए र किन कता विलाए आज ?

अब खोजियोस्‌
उपस्थित गराइयोस् यही शून्य सभामा
यही शून्यका महाशून्यलाई
किन चिन्दैन शितल निवासले
किन देख्दैन सिंहदबारले
झनै बुझ्‌दैन लोकतन्त्रको मनले
तर
उनीहरुको रगत र पसिनाले
यो देशको माटो मुछिएको छ ।

बही खाता अन्तिम पृष्ठमा लेखिएकोछ
जीवनको सम्पूर्णताको व्याख्या गर्न
काइलालाई हामीसँगै छाडेर
ईश्वर वल्भवलाई भेट्न गएका हुन राई बुढा
समयको इतिहासको मापन गर्न
ब्ल्याक होल भित्र पनि विकिरण खोज्न
आकाश गंगाको लम्बाई नाप्न
भखरै निश्किएका छन स्टीफन पनि
कुनै दिन चन्द्रमामा मानव बस्ती बसालेर
हामीलाई पनि बोलाउने छन ।

अस्तित्व

जीवनको विहानीमा
सपनाको सहरमा
महत्वकाँक्षाको यान चढेर ओर्लिन आइपुगे
जीवनकै भरिया बनेर
सपना सपनानै रहे विपना पनि सपना भयो ।

जीवन पढ्दैछु अर्थ बुझ्‌दैछु
अभावमा, भोकमा ,शोकमा
दुखमा, कष्टमा, यातानामा,आँशुमा ,वेदनामा
छट्पट्टि र बिसंगतीमा
शून्य देखि शून्यसम्मको यात्रा गर्न
समयले खनेको गोरेटोमा नियतिले डोराइरहेछ
म हुनुको अस्तित्व नहुनु समान छ ।

नदी र समय

नदी के हो ?
जीवन के हो ?
नदी र जीवनको के सम्बन्ध छ ?
बुझ्‌दैन नदी किनारको एक्लो मान्छे

जीवन नदी हो
तर,
समयको कालखण्डमा
विभाजित जीवनको भ्रममा रुमलिदै
नदीको किनारै किनार
चिप्लिसकेछ वर्तमान
आदिम सभ्यताको जिउदो इतिहास
पढेको छैन उसले इतिहास सँगै मिथक बन्दैछ

समय गति प्रगतिको उडान भर्छ
ऊ जीवनमा तिर्खा मेट्न अञ्जुलीभरि पानी उठाउछ
ऊ नदीमा छाल बढेर आउदा चट्टानमा बज्रिन्छ
ऊ भेल बाडी आउदा भेलमै मडारिन्छ
थाहा छैन उसलाई
सुसेला हाल्दै नदीको संगीतसँगै जीवनको गीत गाइरहेको छ ।

तपाईको प्रतिक्रिया