तीसको दशकको शक्तीशाली कवि विष्णुविभू घिमिरे नेपाली साहित्यको कविता लेखनमा एक अग्रस्थानमा रहेको कवि हुनुहुन्छ । लोकतन्त्र, समाजवाद र समानता उहाँको कविताको प्रमूख चिन्तन हो । नेपाल प्रज्ञाप्रतिष्ठानको पुर्व उपकुलपति समेत रहनु भएका घिमिरेका कविताले उबेला पञ्चायत फ्याली प्रजातन्त्र ल्याउनमा महत्वपुर्ण भुमिका निभाएको थियोे । प्रस्तुत छ साताको तीन कविता ।
तिमीलाई मेरो सलाम
समयले बालेको छ
डढेलो दन्दनाएको छ
समयले गीत गाएको छ
समयले बाढी पहिरो रोपेको छ
सुनामी , भुकम्पले सर्वत्र हल्लाएको छ ।
खबरदार
यो आगो निभ्नु हुन्न
यो हुरी थामिनुहुन्न
यो सुनामी , भुकम्प रोकिनुहुन्न ।
कायरहरु अब यही डढेलोमा पर्नु्पर्छ
दासहरु अब यही आँधीमा मर्नुपर्छ
शकुनि षड्यन्त्रकारीहरु
अब यही सुनामी, भूकम्पमा झर्नुपर्छ
अब बहादुरहरु …..
च्यात्नैपर्छ युगयुगको कालो जालो
अब साहसीहरु सामना गर्दै जुर्मुराउने तिम्रो पालो ।
पलय श्राप होईन
वरदान हो वरदान ….
एक युगमा एकपल्ट आएको
उथुलपुथुल हो प्रलय
युगभरि लागेको फोहोरमैला
युगभरि भरिएको अभिमान र अहङ्कार
धुन्छ पखाल्छ र चम्काउछ
निरङ्कुश उचाइलाई सतहमा झार्छ
सतहमा जमिरहेकालाई माथि उतार्छ
प्रलय आँधीमा सुसेल्छ
प्रलय डढेलोमा मुस्कुराउँँ
प्रलय चेतनामा सुनामी छालसँग रमाउँछ
प्रलय भूकम्पको खुट्टाले हिँड्न मन पराउँछ
प्रलय ज्वालामुखीको भाषामा संवाद गर्न रुचाउछ
प्रलय नआई परिवर्तन हुँदैन
प्रलय नआई यहाँ केही हुदैन
एक युगमा एकपल्ट प्रलय तिमीलाई मेरो सलाम छ ।
बेकार छ
आँखा राम्रा भएर मात्र के गर्नु ?
जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने
ओठ सुन्दर भएर मात्र के गर्नु
जब ती ओठले अरुको खुशीमा आनन्द मुसुकुराउदैन भने ।
सलक्क मिलेको नाक भएर मात्र के गर्नु ?
जब त्यो नाकले
आत्मीयताको बास्ना थाहा पाउन सक्तैन भने ।
मुटु मात्र भएर के गर्नु ?
जब त्यो मुटु पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने
फोक्सो मात्र भएर के गर्नु ?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै
स्वासप्रस्वास भइरहन्छ भने ।
मन मात्र भएर के गर्नु ?
जब त्यो मन नदि सुकेपछि बगर जस्तो छ भने
आँसु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेको नाउँमा मान्छे बाँच्नु बेकार छ ।
फरक के ?
तिमीले लेख्यौ
म मनबाट दिमागमा सर्दैछु
खै के भनुँ
दिमाग तर्क हो
मलाई तर्क मन पर्दैन ।
मन दिमागमा सरेपछि
फुल पनि काँडामा झर्छ
नदि पनि बगरमा मर्छ
जुन पनि बादलभित्र पर्छ ।
मन दिमागमा सरेपछि
संवेदनाको ईन्द्रेणी हराउँँछ
भावनाको वसन्त ओइलाउँछ
कल्पनाको तरङ्ग धर्मराउँँछ
बुझ्छयौ यसबेला मान्छे र मरुभूमि उस्तै हुन्छ ।
त्यसबेला
एउटा रोबोट र एउटा मानिसमा के फरक ?
एउटा फलाम र एउटा मनमा के फरक ?
एउटा ढुङ्गा र फुलमा के फरक ?
मानिस भइसकेर पनि सधैं मानिस हुन सक्दैन
मानिस भइराख्ने कुरा मानिसको आफ्नै मन हो
मन बिनाको मान्छे त
रोबोट फलाम र ढुुङ्गा नै हो
कृपया बिन्ती छ मेरो
मनलाई मनकै ठाउँमा राख
मनलाई कहिले दिमागमा नसार ।