लेखक अभागी थेगुबा नेपाली साहित्य लेखनमा पचासको दशकमा उदाएको एक शक्तीशाली लेखक हुनुहुन्छ उहाँको लेखनीमा आम मान्छेको सरोकारका बिषयहरु शुक्ष्मरुपमा आएका हुन्छन् । कतिपय अवस्थामा आम पाठकले थेगुबाको कवितालाई बुझ्न , छाम्न गाह्रो हुन्छ भन्छन् । तर कविताको भिडमा उहाँको लेखनको मौलिक बिशेषता भनेको नेपाली समाजको रैथानेपन र त्यसको सामाजिक तथा मनोवैज्ञानिक अवस्थाको शसक्त प्रस्तुति हो । कहीं बिद्रोह , कहीं सहिष्णुता उहाँको लेखनीको अर्को सुन्दर पक्ष हो । प्रस्तुत छ साताको तीन कविता ।
काठमाण्डौलाई खबर
काठमाण्डौ …. !
आखिर,
काठमाण्डौ नै रहेछ
ऊसङ्ग एकपल्ट भेट्ने रहर
दोहोरो चिनजान गर्ने इच्छा
मसङ्ग नभएको कहॉ हो र ?
तर, गुनासोको बिस्कुन लगाउन
वर्षौदेखि उसैको भारी बोक्दाबोक्दै
थलिएका मेरा खुट्टाहरू घिसार्दैघिसार्दै
चारभञ्ज्याङ् कट्नै पो सकिएन
उसले पक्कै चिन्दैन होला
नचिनोस्….. नचिने पनि
त्यो काठमाण्डौलाई
प्रश्न राख्न मन लागेको छ
साँच्चै लुङा….
यो खबर सुनाइ दिनुहोला ।
लखन थापा र काङसोरेहरूलाई
इतिहासको पानाभित्र किन नभेटिएको ?
भगत शर्वजित र बिशेनगर्चीहरूले
शीरसम्म उठाउन किन नपाएको ?
इतिहास जित्नेहरू कै लेख्नेहरूले
जिताउनेहरू नविर्सदा के हुन्थ्यो र !
यता उभिएको फक्ताङलुङसॅगै
उता दोधारा र चादनी पनि त
उसले आफ्नै मान्दा के जान्थ्यो र !
तर, चार घेराभित्र हराएर
आफूले थाहा पाएको – धरहरा
मात्र, अन्तिम उचाइ हो ठानेर
सधैसधै छातीमा टेकिरहने
त्यो काठमाण्डौलाई
-प्रश्न गर्ने इच्छा जागेको छ,
पक्कै लुङा !
-सम्झेर सुनाइ दिनुहोला ।
रोदी र बालनसॅगै-
पालम र घाटुसरी गाउदाको लय
हुर्रा र देउडासॅगै-
साकेला र झिझिया नाचिदाको ताल
के, सबैले मिलाउदा मिल्दैन र ?
बलेकै आगो ताप्नेहरूले
के, चुलामा पानी नछर्किदा हुदैन र ?
सगरमाथाको उचाइसॅगै
-केचनाको गहिराइले
पशुपतिको आरतीसॅगै
-सिलौतीको एकतारेले
के, दाजिन खोज्नु गल्तिनै हुन्छ र ?
तर, संकिर्णताको बर्को ओढेर
आफू माथि देखिएको
एक फोक्टा -खुल्ला भाग
मात्र पो आकास हो -ठानेर
उसले चारभञ्ज्याङ बाहिर त
आकास नै छैन -भन्ने, मान्ने गर्छ
तब त, प्रश्नै प्रश्न ठडिन्ने गर्छ ।
खाल्टो बाहिरको आकासलाई
आफ्नै आकास-मानेन भने
चारभञ्ज्याङ बाहिरको मान्छेलाई
आफू जस्तै मान्छे ठानेन भने
फेरि, यहीबाट अर्को एउटा
के, बिद्रोहको सुरूवात हुदैन र ?
साँच्चै लुङा …. !
नबिर्सी सुनाइ दिनु होला ।
सदियौं सदीदेखि – म
यीनै प्रश्नले थिचिएर
अभेग-अभेग बॉचिरहेको छु
आफ्नै पो ठानेर, लुङा …. !
यो खबर सुनाइ दिनु होला।
युद्ध, रगत र रङ्गहरू
नस्लगत चेतना
‘+’
क्षेत्रगत अस्तित्व
‘=’… युद्ध छरिदैछ
थोरै स्वाभिमान थपिदा
लुङा….. ! रगत बग्दैछ ।
#
दर्सन मेट्नलाई
‘+’
भूगोल भेट्नलाई ‘=’..युद्ध हुर्किदैछ
अलिकती घमण्ड थपिदा
लुङ्गा ….. ! रगत बग्दैछ ।
#
स्वाभिमानको सागर उम्लिएपछि
घमण्डको चुचुरोले सगर छोएपछि
आखिर,
युद्धको साम्राज्य रहन्छ
युद्ध ….. ! युद्ध नै हुन्छ
धरोधर्म, लुङ्गा ….. !
युद्धले सबैलाई रगत माग्छ ।
#
जसको जहॉसुकै बगे पनि
जसले जति नै बगाए पनि
रगत ….. ! रगत नै हुन्छ
सत्तेहोला, लुङ्गा …. !
रगत सबैको रातो हुन्छ ।
#
तर, मेरो नशामा-
नीलो रगत बगिरहेको हुन्छ।
# # #
[ नोट: कवितामा प्रयोग भएका गणितिय संकेतहरू:- ‘+’ (जोड) / ‘=’ (बराबर)]
नयॉ नेपाल
सानो नातिले सोध्छ
हजुर बा …. !
नयॉ नेपाल कस्तो हुन्छ ?
उसले नयॉ नाना
-अनेकौ पल्ट फेरेको छ
अनि, नयॉ किताब पनि
-धेरै पटक च्यातेको छ
तर, नयॉ नेपाल
मात्र, जताततै सुनेको छ
कलिलो मस्तिष्कले बुझ्दैन
यसैले मलाई सोध्छ
हजुर बा ….. !
नयॉ नेपाल कस्तो हुन्छ ?
बुढ्यौलीको धुमिल दृष्टिले भ्याएसम्म
अल्जाइमर ग्रस्त टाउकाले सम्झेसम्म
उसलाई सम्झाउने गर्छु
नाति …. !
चौठोको रक्सीलाई
बियरको बोतलमा राखिएको छ
रक्सी उही हो
कैयौॅपल्ट चाखिएको छ
मात्र, मिठो नारा लाएर
संस्कार, संयन्त्र अनि अनुहार
पुरानो नै पो भेटिएको छ
आखिर,
नेपाली जस्तो हुन्छौं
नेपाल त्यस्तै हुन्छ
यसैले,
हामीमा परिवर्तन नआए
कल्पनामा कोरीएको-नयॉ नेपाल
भाषणमा बोलिएको-नयॉ नेपाल
सुलिसलाई सुनको जलब लाएर
सोकेसमा बेच्न राखेको जस्तो हुन्छ।