शनिबार व्यक्तित्व-
पत्रकारिता र सामाजिक परिवर्तनको निम्ति समकालीन समयमा एक सम्मानित नाम हो अनिता गुरुङ । महिला अधिकार र समानताको निम्ति क्रियाशील वर्तमान समयमा उहाँको नाम अग्रस्थानमा आउँछ । चितवनको सूर्यनगरमा जन्मनु भएकी गुरुङ दुई दशक भन्दा लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील उहाँ हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति सदस्यमा नियुक्त हुनु भएको छ । यस संस्था सरकारी सञ्चार माध्यमहरू, रेडियो नेपाल र नेपाल टेलीभिजन एकिकृत भएर हालमा सार्वजनिक सेवा प्रसारण नेपाल भएको छ । यो संस्थाको प्रमूख दायीत्व नागरिक केन्द्रीत रहेर बिभिन्न कार्यक्रमहरु प्रशारण गर्नु हो ।
श्रीमान् टेकबहादुर गुरुङको जागीर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा भएपछि गुरुङले पनि वि.सं. २०५७ देखि २०७० साल जेठ सम्म उहाँ सेन्टमेरिज हाइस्कुल, जाउलाखेलमा पढाउनु भयो । यो उहाँको नदेखिएको भित्री पाटो हो । जीवनको महत्वपूर्ण २२ वर्ष शिक्षण पेशा र शिक्षण व्यवस्थापनमा बिताउनु भएको गुरुङले नेपाली समाजको शैक्षिक समस्यालाई निक्कै नजिकबाट बुझ्नु भएको छ ।
गुरुङ पूर्व प्रधान सेनापति छत्रमान सिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार , राष्ट्रिय आदिवासी जनजाति पत्रकारिता पुरस्कार लगायत पुरस्कार र सम्मानद्धारा सम्मानित हुनुहुन्छ । आफ्नो पत्रकारिताको क्यारियरमा बिशेष गरी समाजको तल्लो तहमा रहेका नागरिकहरुको आवाजलाई उजागर गर्न उहाँको पहल उल्लेखनीय छ । उहाँका यी योगदानले नेपाली सञ्चार क्षेत्रमा मात्र नभई, महिला सशक्तिकरण र गुरुङ समुदायको पहिचानमा पनि महत्वपूर्ण प्रभाव पारेको छ ।
स्पष्ट र आकर्षक आवाजकी धनी हकि स्वभाव र पछिल्लो पुस्तालाई सहयोग गर्नु उहाँको व्यक्तित्व हो । केही समय बीबीसीको च्यानल फोरका लागि २०५६ मा एउटा वृत्तचित्र निर्माण गर्दा पनि उहाँले नेपाली समाजको समस्या कहाँ छ भन्ने बिषयलाई नजिकबाट बुझनु भएको छ । च्यानल फोरका लागि विन्डफल फिल्म कम्पनीले विश्वमा औद्योगिक क्रान्ति कसरी भयो भन्नेबारे वृत्तचित्र बनाउँदा उहाँले स्थानीय संयोजकको काम गर्नुभएको थियो । त्यसरी वृत्तचित्र तयार पार्ने सन्दर्भले उहाँलाई अझ जिम्मेवार बन्न सिकायो अनि मिडियाप्रति आकर्षण बढाउनुको साथै यो क्षेत्रमा रहिरहन रुझान बढायो ।
केही समय उहाँ दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगमाथामा अजम्बरी गीत–संगीत कार्यक्रमका प्रस्तोता प्रकाश सायमीसँग सह–प्रस्तोता भएर काम गरेको अनुभव समेत छ । पछि उहाँले करिब दुई वर्ष चलचित्र नगरी भन्ने छुट्टै कार्यक्रम सञ्चालन गर्नुभयो । यसले उहाँमा आत्मासम्मानको बिकास गर्नुको साथै बिषय पहिचान गर्ने क्षमताको विकास गर्यो । त्यसपछि केही समयपछि बीबीसी वर्ल्ड सर्भिस ट्रष्टले आँखामा लाग्ने ट्रकोमा रोगका लागि गरेको सचेतना अभियान अन्तर्गतको रेडियो कार्यक्रममा भ्वाइस आर्टिस्टको रूपमा काम गरेको अनुभव छ ।
गुरुङ भाषा सँस्कृति संरक्षणको निम्ति पनि उहाँको योगदान त्यतिकै महत्वपूर्ण छ । १ सय ८ बर्षपछि गोरखापत्रमा गुरूङ भाषाको पृष्ठ संयोजकको रुपमा करिव १७ बर्ष काम गरेको अनुभव छ उहाँ सँग । पृष्ठलाई अहिलेसम्म निरन्तर राख्न रविन गुरुङको भूमिका विशेष स्मरणीय रहेको भन्दै उहाँ रविन प्रति आभार व्यक्त गर्नुहुन्छ । हरेक महिलाले समस्या र चुनौतीलाई आफ्नो क्षमता जाँच्ने अवसरको रूपमा लिनुपर्ने बताउनुहुन्छ अनिता गुरुङ । कुनै पनि काम सम्पन्न गर्न लगनशील हुनु, सिस्टम्याटिक हुनु, समयको सधै कदर गर्नु र आफ्नो कामको सम्मान गर्नु नै सफलताका कडी भएको उहाँको बुझाई छ ।
जागिर खाँदै विभिन्न संघ संस्थामा आबद्धता जनाउदै ,समाजसेवा गर्दै, यी सबै कुरा सँगसँगै लिएर जानको निम्ति समय व्यवस्थापन गर्न उहाँ कुशल हुनुहुन्छ । बुवा बुद्धिमान गुरूङ र आमा धनमाया गुरूङका जेठी छोरी अनिता गुरूङका दुई बहिनी र एक भाइ छन् । २०४८ सालमा टेकबहादुर गुरुङसँग विवाह भएपछि पनि उहालेँ आफ्ना लक्ष्य र सपनालाई निरन्तर अगाडि बढाउनु भयो । उहाँको हरेक पाइलामा श्रीमानको माया र हौसला सधैं प्रेरणाका स्रोत बनिरह्यो । दुई छोरा अपिल र अभिन्न छन् र बुहारी योयो छिन् ।
उहाँको सफलतामा परिवारका सम्पूर्ण सदस्यको सधै साथ रह्यो । सिङ्गापुर, चाइना, इन्डोनेसिया, बेलायत , अमेरिका, थाइल्याण्ड र भारत लगायतको देश भ्रमणले उहाँलाई एउटै कुरा सिकायो कडा मेहनत गर्नुपर्छ । कुनै पनि देश बन्नुमा नागरिकको कडा मेहनत, इमान्दार नेता र विकास सम्बन्धी योजनामा चुस्तदुरुस्त शैली भए नेपाल पनि संसारकै सुन्दर देश बन्ने कुरामा दुईमत नहुने उहाँको दाबी छ । लैंगिक समानता र सामाजिक समावेशीता पक्षधर अनिता गुरुङ सूचना पाउने अधिकारबाट कोही पनि वञ्चित हुन नहुने बताउनुहुन्छ । महिलालाई आत्मनिर्भर बनाउन शिक्षामा जोड दिनुपर्ने र महिला आफै पनि अग्रसर हुनुपर्ने उहाँको बुझाई छ ।
गुरुङ डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसकी पूर्व अध्यक्ष पनि हुनुहुन्छ । यो संस्था समाजमा सकारात्मक परिवर्तनका लागि कम्युनिकेशन फर डेभलपमेन्ट दृष्टिकोण प्रयोग गरेर महत्वपूर्ण जानकारी प्रदान गर्ने एक गैर–सरकारी संस्था हो । रचनात्मकता, प्रविधि र आमसञ्चारमा वैज्ञानिक अनुसन्धान जस्ता अवधारणाप्रति गहिरो रूचि राख्ने गुरुङले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्नु भएको छ । पछिल्लो समय सञ्चार माध्यममा आएको प्रविधि परिर्वतनसँग अध्यावधिक हुदै हरेकले जोडिन जरुरी छ भन्ने उहाँको जोड रहेको छ । अनुभव, बुझाई र सङ्घर्षले निखारिएकी गुरुङ केही गर्छु भनेर सपना देख्ने युवाहरुको निम्ति एक सफल नाम हो ।