समदर्शी काइँला नेपाली साहित्यको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर क्रियाशील एक सचेत कवि हुनुहुन्छ । दर्शन र अस्तित्ववादको नजिक हुदै लेखिएको उहाँको कविताहरु वास्तवमै एक मानवीय चिन्तनको शालिन  र भव्य  रुप हुन् । प्रस्तुत छ साताको तीन कविता ।

मृत्युको रङ्ग हुन्छ, रङ्गको मृत्यु हुँदैन

“It is not death, but dying which is terrible”


जीवनको सबैभन्दा लामो यात्रामा निस्किरहेको छु बूढो पराहम् मनसित
आँसुको महासागर तर्न
पानी डुङ्गामा ।

गृष्मकालिन रात
राती फुल्ने र राती नै झर्ने
पारीजात फूलजस्तो जीवन
आफ्नो भागबण्डामा अलिकति स्वर्णिम बिहान नपर्दै यसपल्ट झरिरहेछ
कृष्णपक्षको सबैभन्दा लामो रातमा
सम्पूर्ण सौरभ हराएर विस्मृतिको महागर्ततिर ।

थैसिस, एन्टिथेसिस र सिन्थेसिसको सिलौटी डाँडामा
जून ओर्लैर बास बसेको रात
अचानक हिउँआँधी आएर बुकीफूल ‘म’ लाई
मार हानेर छ्याक्कै छिनाएर लादैछ
जीवन जी -वन भएर वनतिर जादैछ

मुमूर्षाको मफलर बेरेर जीवनले घाटीमा
न्यानो मान्छ कुहिरोको पहाडमुन्तिर हत्या गरेर इन्द्रेणी सपनाको
अनि म सेरामिक मनसित जादैंछु डेराबाट घरतिर छिचोल्दै जीवनका अनेकौं पच्याङ्हरु, घुम्तिहरु,देउरालीहरु ।

म नार्सिसस् हुँ
हामी नार्सिसस् हौं
नार्सिसस् पनि अब मृत्यु हो
मृत्यु पनि अब नार्सिसस् हो ।

मृत्‍युको रङ्ग हुन्छ,रङ्गको मृत्‍यु हुँदैन

ईश्वरको लासमाथि टेकेर ‘म’ को प्याराडाइम सिफ्ट खुट्टा हिड्छ……. हिडिबस्छ………
भू- गोल, भूगोल, भौतिकभूगोळ, मानवभूगोल, उत्तरभूगोल !

यी ‘गोल’हरु टेकेर
‘म’ सगरमाथा शिखरतिर हिंडेको
केचनाकलन फेदीमा पुग्दै-
झमक्क साँझ पर्‍यो
र, आज यही वास बसें ।

त्यसपछि, हृदयको बाकसमा जिजीविषाको लास बोकेर
जीवन केचनाकलनबाट फर्किरहेछ-
डिस्कोर्सको दुइदिने हाटबजार भरेर उत्तरभूगोलको चिहानघारीतिर !

अभिसारिका उर्फ काइँली सोल्टिनी  !
तिमी पनि फर्कनू है
जीवन खगर लेकबाट-
हृदयको लास बोकेर
मुमूर्षाको बाकसमा
उही उत्तरभूगोलको चिहानघारीतिर  !

उ पर सप्तरङ्गी इन्द्रेनी लागेको छ तिम्रो आगमनको स्वागत !
उ पर नौरङ्गी डाफे नाचेको छ तिम्रो आगमनको स्वागत  !
हाम्रो भेट तेही हुनेछ उत्तरभूगोलको चिहानघारीमा
-जहाँ मृत्‍युको रङ्ग हुनेछ तर रङ्गको मृत्‍यु हुने छैन :अधिडिस्कोर्स

ग्लोकलको टेबुलमा एक गिलास तातो चिया पिउँ र ग्लोबलको घोषणापत्र च्यातेर
पृथ्वीको व्याकरण भूगोलको अवसान उत्सव मनाऔं
प्रबोधन कृयाकलाप भ्यागुतो उफ्रन्छ……उफ्रिबस्छ…… डिलमुनिको मुनि
अनि डाँडामाथि उत्तरभूगोलको चिहानघारीमा ‘म’को बासी लास पुर्छु ।

ईश्वरको लासमाथि टेकेर ‘म’ को प्याराडाइम सिफ्ट खुट्टा हिड्छ…….. हिडिबस्छ………
भू-गोल्,भूगोल्, भौतिकभूगोल, मानवभूगोल , उत्तरभूगोल

 अर्थको अर्थ

जीवन दुइदिने हाट हो
हामी फगत् हटारु मात्र हौं,
हाट भरेर
फर्किने बेलामा तिमीले भन्यो
ए काइँला, तमोर खोला बग्यो सललल
तिम्रो माया घामको सेतो किरणझैं टललल

कस्तो सिल्ली सोल्टिनी !
तमोर खोला पनि कहीँ बग्छ र ?
कत्ति जुग भो, त्यो खोला त्यहीँ छ,
बगेको चाँहि पानी मात्रै हो
एक हदसम्म
पानी पनि त्यहीँ छ, बगेको चाँहि सिमेलुक्रा मात्रै हो अन्तिम हदसम्म ।

कस्तो चम्बू सोल्टिनी !
घामको पनि सेतो किरण हुन्छ र ?
घाममा वर्णपट हुन्छ तर सेतो रङ्ग हुँदैन
घाममा सातरङ्ग हुन्छ तर सेतो रङ्ग हुँदैन ।

तालघारीमा लटरम्म फलेको जून देखाएर भन्यो
यो मेरो अनुहार हो
मीठो लाजको स्पर्शले मेरो इदम् मन छोएर भन्यो
यो मेरो प्रेमको आकार हो
तिमी परम्परित सजिलो बाटो हिफ्यौ
म बहुरङ्गिक अप्ठ्यारो बाटो हिडें
तिमी फिनिक्स भएर पश्चगामी भ्रान्तिको बाटो हिड्यौ
म कोलम्बस भएर अग्रगामी क्रान्तिको बाटो हिडें ।

त्यसो र,
हामी यहीबाट फरक भयौं
हामी यहीबाट छुट्टियौं
हामी यहीबाट बेमेल भयौं
र आ-आफ्नो बाटो लाग्यौं ।

 अन्तरिम प्रेम बैला-काठमाण्डौसित !

 

सर्वोत्तम सुन्दर नेपाल नै तिमी हौ भनेर सुनेको थिएँ
क्या राम्री कान्तिपुरी नगरी
तिमीलाई भनेको सुनेको थिएँ
तेसो र,
म तिमीसित एकतर्फी प्रेममा चुर्लुम्म डुबेको थिएँ ।

आबुइ नी !
तिमी ता
चार भञ्ज्याङ खाल्टो
गोलघरझैं कङ्क्रिट कारागार पो रहेछौ
जसभित्र नक्कली ईश्वरले
थुनिइरहेको छ मेरो देश
आजीवन कारावासको सजाय दिलाएर ।

भूपि शेरचनको’ चिसो एष्ट्रे’ मा
चुरोट जस्तै वेवारिसे बासी लासहरु
डङ्डङ्ती गनाइरहेछन् सडक किनारमा
मलामी पर्खेर
तथापि, “शुभ्र,शान्त र स्निग्ध
शिखा मैनबत्तीको” निभि नै सक्यो ।

संवि-धानको खेती गरेर
धान फलाउने भुस प्रतिलोम मानिसहरु
शुरुमा का-नूनको कुरा गर्छन्
र,अन्त्यमा नुनको कुरा गर्छन्
फटाहा बेइमानी काठमाण्डौ !

सिँहदरबारभित्र मानिसहरु बस्दैनन्
सिँह बस्छ अचेल
टाउको केटीको शरिर सिँहको भएको
कुरुप स्फिङ्स जस्तै
जसले सबै मानिसहरुलाई
पहेलीले च्याप्प-च्याप्प पक्रेर
क्वाप्लक्क खाइपठाएछ ।
र, बैला काठमाण्डौ !
यौटा मान्छे जन्माउन नसकेर
खोक्रो खप्परमुन्तिर
प्यारालाइसिस कंकालहरु बोकेर
निदाइरहेको छ बूढानिलकण्ठसित ।

नौतले धरहराको असामयिक अवसानपछि
संसारको सबैभन्दा अग्लो
विसङ्गतिको सर्वोच्च धरहरा
विनिर्माण गरेर
सङ्गतिको गति ठप्प रोकेपछि
घण्टाघरको घडीले सधैं बाह्र बजेको देखाउँछ
यही हो काठमाण्डौ
र,चक्रपथभित्र बसेर बैरागी काइँलाहरु लेख्छन्-
हिडेर कत्तै पुगिनछु ।

काठमाण्डौ सोल्टिनी !
म पर गाउँबाट
हराएको मेरो देश खोज्दै
एक मन मायाको कोसेली लिएर
तिमीलाई भेट्न उत्कट अभिलाषामा आएको थिएँ
तिमीलाई आफ्नो बनाउन आँसुको लामो समुन्द्र तरेर आएको थिएँ
कत्ति हर्षले के के कल्पेर आएको थिएँ
तर तिमी ता खोक्रो र छोक्रिलो भइसकेछ्यौ
रस र गुदी जति चुसेर दिनदहाडै
युक्लिप्टसको रुखझैं नाङ्गो
एकहूल तिम्रा भम्पायर सोल्टिहरुले
राजधानी नामक तिम्रो ‘पेन्टी’ पनि फुकालिरहेछन्
किनकि
उहिले-उहिले
मानिसहरुले लुगा लगाउँदैनथे ।

अन्ततः
अस्तित्वको दाबीमा साबातको बैला उत्सव गरिरहेको बाँझि काठमाण्डौ
तुहेर खेरो गएका थाकथाक सपनाहरुसित
ओइलेर गएका फुस्रो बैंश
र अवशेष जीवनसित
चुपचाप रोइरहेकी छिन्
आँसुको बाग्मती बगाएर अविरल……
अविरल…..
अ…वि…र….ल….

लु, म फर्कें है काठमाण्डौ सोल्टिनी !
मेरै बहुरङ्गीन इन्द्रेणीको माला लगाएर सजिएको गाउँतिर
स्वर्गको एकटुक्रा धर्तीमा खसेर बसेको मनोहर ठाउँतिर
चारभञ्ज्याङ बाहिर राँकेभञ्ज्याङतिर
कि तिम्रो मायाले हृदयको घरमा मलाई बास दिन सकेन
कि तिमीसितको मायाको फिनिक्स चरोले मेरो मनमुटुमा न्यानो गुँड लगाउन सकेन
यसपाली यस्तै भयो मन नदुखाउनु है,
गुडबाइ काठमाण्डौ !

थानकोट नकाटेसम्म
फर्केर घरिघरि हेरिरहें काठमाण्डौलाई !
उनी विसङ्गत भूइकुहिरोले मुख छोपेर
रोइरहेकी थिइन् अधकल्चो प्रेममा
अन्तरिम मायामा
त्यसपछि,
जीवन केवल ईश्वरको पानफूल !
-सम्झन्दै
नाग्बेली बाटोहरु, घुम्तिहरु छिचोल्दै(छिचोल्दै
म पनि लागें आँसुको धमिलो त्रिशुली बगाउँदै
बगाउँदै जीवनलाई !
बगाउँदै यो मनलाई !
बगाउँदै ‘म’ लाई

 

तपाईको प्रतिक्रिया