पचासको दशकदेखि निरन्तर कविता लेखीरहेकी कवि ईश्वरी कार्की बर्षा पचासको दशकमा चलेको कविमध्ये पर्नुहुन्छ । हाल अमेरिकामा बसोबास गर्दै आएकी कवि कार्कीका कविताहरु प्रेम र अध्यात्मीक दर्शनबाट प्रभावित हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।
करूणा
करूणाले जन्माउदो रहेछ
आनन्द
इगोले फुलेको
बेलुन नफुटेसम्म
इर्ष्याको आगो ननिभेसम्म
कसरी जन्मिछ करूणा
अनि
करूणामय हुन्छ आत्मा ?
र-
मुस्कुराउछ
दया , मायारूपी
कमल फैल्याउदै मनको
सरोवरभरी सुवास ?
मन
मौन छ समय
हल्ला मचाउदैछ मन
हेलो मन !
कहिले सिक्छस
चुपचाप चुपचाप
रमाउन
जे जसो गर्दा पनि सक्दैन रहेछ मान्छे
मनलाई कजाउन
बरू सक्छ अरूलाई बिजाउन
मैले छेडे युद्ध आफ्नै मनसँग !
संवाद
अचेल-
गर्दैछ समय मौन संवाद
जबदेखी हुन थाल्यो आफैसँग संवाद
दुनियाँले जति नै विथोले पनि चिथोरे पनि
शब्दले जति गरे पनि प्रहार
अहँ !
असर पर्नै छाड्यो
झनै उर्जा पो थपिन थाल्यो
पुलकित मन पुतली भयो
हेर्नुहोस न नाँचेको !
बर्षौ लागेछ यति कुरा ज्ञात हुन
खुसी भन्नु त आफैभित्र रहेछ
उर्जावान समय
गर्दैछ मौनतासँग संवाद ।