शनिबार व्यक्तित्व-

नेपाली साहित्यको समकालीन कविता लेखनमा निक्कै शसक्त र हस्तक्षेपकारी कविता लेखीरहेकी कवि कविता राई लेखनमा आफ्नो व्यक्तित्व निर्माण गर्न चाहनेहरुको पछिल्लो पुस्ताको निम्ति एक दर्बिलो नाम हो ।

निरन्तर, दशकभन्दा लामो समयदेखि सकृय उहाँको लेखनले समाजको यथार्थ, मानव संवेदना, प्रकृति, संस्कृति र जीवनका विविध आयामलाई अभिव्यक्त गर्छन्। विशेषगरी नेपाली जनजीवनका संघर्ष, सामुदायिक भावना र सामाजिक न्याय, महिला शसक्तीकरण र बिद्रोह उहाँको कविताको प्रमुख चेतना हो । कविताले गरेको बिद्रोह खासमा आम नेपाली महिलाले बाँचिरहेको यथार्थ पनि हो जसको अनुभव उहाँ सँगैको समकालीन नेपाली महिलाहररूले निरन्तर आफ्नो जीवनकालमा जीवन भोग्ने क्रममा गरिरहेका छन् । एउटा हतास र अनुरागका साथ मध्य हिउँदमा हिडीरहेको बटुवा जस्तो उहाँको लेखनले गरेको अनुरोध र आग्रह सुन्दर कविताको निम्ति अनिवार्य अवस्थाहरु हुन् जुन मीठो कविता निर्माणको आधरभूत जग हुन् ।


भोजपुरमै बाल्यकाल बिताएकी र हाल बसोबास पनि भोजपुरमै गरिरहेकी राई उपन्यास लेखनमा पनि पछिल्लो पुस्तामा एक सिद्धहस्त नाम हो । पात्रहरूको माध्यबाट बिषयबस्तु र मुद्दालाई जीवन्तरुपमा प्रस्तुत गर्न सक्नु उहाँको लेखनको अर्को सबल पक्ष हो उहाँको लेखनीमा आधुनिक चेतना र परम्परागत सौन्दर्यको समिश्रण पाइन्छ । कविता लेखीरहेका नयाँ पुस्ताका लागि राई एक लोकप्रिय नाम हो ।

उहाँको जन्म २०३८ साउन ४ गते पिता तिलक बहादुर किराँत र माता राजमाया किराँतको कोखबाट कान्छो सन्तानको रुपमा भएको हो । सावाँ अक्षर बुबाले घरमै चिनाए , अक्षर चिन्नु सकस हुन्थ्यो त्यो भन्दा अप्ठ्यारो त छोरी भएर जन्मिएपछि निर्वाह गर्नु पर्ने अनेक सँस्कार र सस्कृतिले पारेका अप्ठ्यारा जटिल थिए । तर पनि अनेक व्यवधानहरूलाई एकपछि अर्को गर्दै छिचोलेर भोजपुर क्याम्पसबाटै नेपाली बिषयमा एमए सम्म पढ्नु, दुधे छोरी काखमा राखेर डिग्रीको परीक्षा लेख्नु एउटा सँघर्षशील महिलाको लागि मात्र सम्भव छ । तर जनजाति समुदायमा उहाँको जन्म हुनु केही खुकुलो र सहज अवस्था थियो उहाँको निम्ति । उहाँको जन्मको संजोग पनि पृथक छ जस्तोकि मर्यो भनेर परिवारले अन्तिम संस्कार गर्न लाग्दा जालोभित्र नै रोएपछि धन्न बाँच्न पाउनु भएकी राई वर्तमान समयमा आफू स्थापित हुनुको साथै आफ्नो खानदानलाई समाजमा सम्मानित रुपमा रहनको निम्ति उहाँको नामले सकारात्मक भुमिका खेलेको छ ।

पहिलो कविता कक्षा ६ मा पढ्दा लेखेको उहाँलाई सम्झना छ तर २०५२ सालमा कक्षा आठमा पढ्दा रेडियो नेपालको बाल कार्यक्रममा कथा प्रथम भएपछि भने उहाँको साहित्य लेखन र नाम दुवै जिल्लामा स्थापित भयो । त्यही साल भोजपुर जिल्लाको विरेन्द्र शिल्ड प्रतियोगितामा राईले लेखेको गीत पहिलो भएपछि भने जिल्लाभरि उहाँलाई सम्मानित रुपमा हेर्न थालियो । यो गीतको बोल ‘देउरालीको डाँडामा हजुर बरपीपलको छायाँ, टाढा जान्छौँ झनै गाढा हुन्छ माया’ भन्ने थियो । जसलाई हालका ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्ताम्छालीले सङगीत भर्नु भएको थियो ।
२०५३ सालमा अर्को गीत ‘रामनवमीको मेलामा लै लै हाम्ले तिम्लाई देखेको, माया लाउन भनेर लै लै सोध्दै खोज्दै हिडेको’ बोलको गीतले नृत्य तर्फ प्रथम स्थान हासिल गरेको थियो । पछि हार्ताम्छालीले आफ्नो किताब कलाङमा ती गीतको रचनाआधार भनेर आफ्नो नाम राखेकोमा दुख लागेको राई बताउँछिन् । त्यस गीतको सङ्गीत पनि हार्ताम्छालीले नै गर्नु भएको थियो । त्यसपछि विभिन्न स्थानमा भएका कविता प्रतियोगिताहरूमा कयौं पटक प्रथम हुनु, उहाँको साहित्य प्रतिको समर्पणको प्रतिफल थियो । तर एउटा समय यस्तो पनि आयो उहाँ भन्नुहुन्छ ‘म एउटा मुक्तक पनि पूरा गर्न सक्दिनथेँ।’ प्रतिकुल समयका कारण करिब बाह्र वर्ष लेख्नु भएन ।
२०७२ को भूकम्प पछि नेपाल एकेडेमीले भोजपुर जिल्लामा एउटा कार्यक्रम गर्यो । त्यसबेला उनको दोस्रो सन्तान छोरी काखमै थिइन् । कार्यक्रममा चर्चित साहित्यकारहरू श्रवण मुकारुङ, राजन मुकारुङ , शशी लुमुम्बु जस्ता अग्रस्थानमा रहेका लेखकहरु भोजपुर पुगेका थिए । गजलकार राजन समिपको निम्तो आएपछि दिनभरि कोक्रोमा छोरी बोकेर एउटा कविता भन्न भोजपुर सदरमुम पुग्नु नै फेरि उहाँ भित्रको लेखनी सशक्त हुनु थियो । उहाँ भन्नुहुन्छ  `त्यो बेला म नानी च्यापेरै बसेँ, नानी बोकेर कविता भनेँ । आज साँच्चिकै मलाई ती दिन सम्झँदा आँखा रसाउँछ । त्यस दिनबाट फेरि मेरो साहित्य लेखनको पूनर्जन्म भएको हो ।´

हो ! त्यसदिन देखि आजसम्म लेखक शशी लुमुम्बू र राजन समिप दुवैको सल्लाह,सुझाब र साथले उहाँको साहित्यिक व्यक्तित्व मजबुत हुनुमा महत्त्वपूर्ण भूमिका रहेको उहाको स्विकारोक्ती छ । २०७४ मा काठमाडौँमा शशी लुबुम्बुकै पहलमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । यो कार्यक्रम मार्फत काठमाडौंका स्थापित साहित्यकारहरुले राईको लेखनीलाई चिन्ने नजिकबाट मौका पाए । २०७५ मा उनले आमा र जून कविता सँग्रह प्रकाशित गरिन् । वास्तवमा राई निरन्तरको मेहनतले बनेको एक मजुबत ढुङ्गा सरह हो जसले गर्दा आज समकालीन नेपाली साहित्य र महिला हस्ताक्षरहरूबीच उहाँ परिचित र स्थापित हुनुहुन्छ ।

बाल्यकालमा पहाडको उकाली ओराली गर्दै कहिले गोठाला, मेलापातहरू त कहिले सालको पातमा विरह पोख्दै, पात्लेका हाँगामा हाक्पारे र गोठाले गीतको सुमधुर लयका सुस्केराहरुसँग लुकामारी गर्दै हुर्कनु पाउनु उहाँभित्रको सृजनाले अझै शसक्त हुने मौका पाएको हो । बाको घुँडा समाएर सुनेका श्लोक, आमाले ओच्छ्यानमा बजाएको मुर्चुङ्गा उनका सिर्जनाका प्रमुख स्रोत हुन् । उनीसँग छोरी भएकै कारण घरभित्रै अपमानित हुनु परेको दुखान्त संस्मरण छैन बरु धेरै आत्मसम्मानपूर्ण स्मृतिहरु छन् ।
जन्मेको डेढ वर्षमै उहाँको आमालाई क्यान्सर भयो । बुबाको राजनीति कर्मको कारण घरमा आर्थिक समस्या थियो तर उबेला गाउँमा प्रधानपञ्च हुनु भनेको राजा महाराजा झैँ गर्विलो रवाफ र सम्मान पाउनु थियो । यहीँ कारणले पनि उहाँले घर र गाउँसमाजबाट सम्मान माया समानरुपमा पाउनुभयो । यो हुनु कुनै पनि छोरीको निम्ति नेपाली समाजमा दुर्लभ संजोग हो ।

साहित्य बाहेक भ्रमण र अभिनयमा रहर पालेकी राईले समय मिले कुनै समय  आफ्नो  देश पुरै घुम्ने बिचार रहेको बताउनुभयो । प्रत्येक मानिसको जीवनमा संघर्षको आआफ्नै  कथाहरु हुन्छन् । कुरै कुराको शिलशिलामा उहाँले  भन्नुभयो `एक समय मलाई मरुँ मरुँ जस्तो लाग्थ्यो  तर त्यो डिप्रेसन थिएछ । त्यस्तो खतरनाक डिप्रेसन औषधी नखाइ पचाएँ ।´ अगाडि थप्नु हुन्छ – `कहिले भातसँगको लडाइँ, कहिले स्वाभिमानसँगको लडाइँ, कहिले शिक्षा, स्वास्थ्य र रोजगारीसँगको लडाइँ  बेस्सरी लडेँ जस्तो लाग्छ ।´
जति तरुनी हुँदै गयो उती सँघर्षका आयामहरूको खात थपिँदै जाने उहाँक अनुभव छ। धेरै महिलाहरुले आफ्नो  कुरा लुकाउनुहुन्छ, लोकले के भन्छ भनेर डराउनु हुन्छ । तर उहाँले आफ्ना अनुभव र दुखहरुलाई सहजरुपमा स्वीकार गर्नुभयो । यसो भनौं जीवनमा भैपरि आउने सबै परिस्थितिलाई सहजरुपमा स्वीकार गर्नुभयो,हरेस खानु भएन जीवनमा भैपरि आउने हरेक अवस्थाले एक नयाँ कुरा सिकाएर गयो, मन मजबुत हुँदै गयो। समग्रमा यो समाज,आफन्त र पितृसत्तात्मक संरचनासँग लड्न  सिकायो र एक जब्बर व्याक्तित्व निर्माण गर्यो । 
२०६३ मा छाेरा जन्मियो । त्यसपछि पोष्टनटल डिप्रेसन भएको रहेछ । साह्रै विरामी हुँदा पनि आफ्नो सपना बिर्सनु भएन । डेढ घण्टा उकालो हिडेपछि उहाँले पढाउने स्कुल पुग्नुहुन्थ्यो । त्यो बेलाको मानसिक अवस्था र एक महिला लेखकको निम्ति यी सबै सामाजिक  र प्राकृतिक  अवस्थाहरु पार गरेर  साहित्यमा लाग्नु वास्तवमै चुनौतीपुर्ण थियो र छ  । छोरा र छोरी दुबैलाई एकातिर च्याप्दै अर्कोतिर साहित्य साधनामा लाग्दै गरेका उहाँको  निम्ति ती दिनहरु निकै  सङ्घर्षमय थियो । त्यतिबेला उहाँले कक्षा बाह्रसम्म पढाउनु पर्थ्यो । यसरी उहाँका कयौं  दिन महिना र बर्षहरु बितेका थिए र छन् । उहाँ  भन्नुहुन्छ  ” पछाडि  बोकेर पढाइरहँदा छोराछोरीलाई दिक्क लाग्थेछ मलाई बेस्सरी भुतल्थे, चिमोट्थे, लात्तीले हिर्काउँथे तर म पढाइरहन्थेँ ।”
राईको हालसम्म “आमा र जून” कविताकृति , उपन्यास  “गुरु”  बाल चित्र कथा “खरानीको बादल” प्रकाशित छ जसले नेपाली कविता , कथा र आख्यानमा दह्रो  उपस्थिति  जनाएको छ ।

हाल एक कविता सँग्रह प्रकाशोन्मुख छ भने नयाँ उपन्यास लेखिरहेको बताउनु भएको छ। नेपाली समाजको मनोविज्ञान सामाजिक संरचना, चुनौतीहरू भनी साध्य छैन जसले उनीहरूको व्यक्तिगत, सामाजिक, आर्थिक, र राजनैतिक जीवनमा सदियौंदेखि नकारात्मक प्रभाव परिहेको छ। धेरै कम मात्रै महिलाहरुले ती अबरोधहरुलाई पार गरेर अगाडि आउन सकेका छन् । छोरी बने अरुकै घरको निम्ति बन्ने हो भन्ने मानसिकताबाट समाज अझै माथि उठ्न सकेको छैन जसको कारण महिलाको शिक्षामा पहुँचको कमी छ । समाजमा व्याप्त लैंगिक हिंसाबाट माथि उठ्न सकेको छैन । राईको लेखनीमा यीनै बिषयहरू ज्वलन्तरुपमा आएका छन् ।
आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिताको कमी छ । यी सबै अप्ठ्यारो परिस्थितिहरू नेपाली महिला लेखकहरूले पार गरेर आउनुपर्ने अवस्था छ । लैंगिक असमानता परिवारदेखि समाजसम्म पुरुषलाई प्राथमिकता दिने प्रवृत्तिले महिला लेखक दोहोरो मारमा परेका छन् । बालविवाह र बालगर्भधारण तथा अझै पनि ग्रामीण क्षेत्रका बालिकाहरूको बालविवाह गरिन्छ। यसले उनीहरूको शिक्षा, स्वास्थ्य, र व्यक्तिगत विकासमा नकारात्मक प्रभाव पार्छ।

असमान सांस्कृतिक र धार्मिक परम्पराहरूले महिला लेखकलाई लेखक बन्न धेरै गाह्रो अवस्था छ । यी बिषयमाथि राईको लेखनी जब्बररुपमा आईरहेको छ । आफूले भोगेको युगको विषम अनुभूतिहरू उहाँले आफ्ना सिर्जनामा पोख्नु भएको छ । सायद उहाँले बाँचेको जीवनका अनुभवहरू लेख्दा लेख्दै उहाँ कुनबेला लेखकको रुपमा स्थापित हुनुभयो उहाँलाई पत्तै भएन तर नेपाल एकेडेमीको २०७८ को राष्ट्रिय कविता महोत्सवमा प्रथम भएपछि भने उहाँले कवितामा पनि जवरजस्त उचाई निर्माण गरिसक्नु भएको छ । पहिचान पुरस्कार २०७९बाट पुरस्कृत दर्जनौं अन्य पुरस्कार र सम्मानबाट सम्मानित आजको समयमा कविता राई नेपाली साहित्य लेखनमा एक हस्तक्षेपकारी व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया