न्यूयोर्क। नेपाली अमेरिकन कलाकार संघ (NAAA) द्वारा आयोजित वार्षिक सांस्कृतिक कार्यक्रम “रमझम साँझ-२०२४” गुल्सन टेरेश हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली कला , संस्कृतिको बेजोड प्रस्तुति रहेको यस कार्यक्रमले न्युयोर्कवासी नेपालीलाई एककृत गर्न बल पुर्याएको कुरा आयोजक बताएकाछन् ।
दर्शकको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रमको सन्चालन सँगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए ।
कार्यक्रमको औपचारिक उदघाटन प्रमुख अतिथि सपना श्रीको उपस्थितिमा गरिएको थियो । स्वागत मन्तव्यको क्रममा नेपाली अमेरिकन कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले कार्यक्रमको उद्देश्य र महत्व माथी प्रकाश पारेका थिए । संरक्षक निसा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले निभाएको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरिन्। संघकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन्।
कार्यक्रममा न्यूयोर्कका मेयर एरिक आडम्सको कार्यालयको तर्फबाट महागायक राजेश पायल राई र अध्यक्ष बसन्ती राईलाई संगीत तथा समाजसेवामा पुर्याएको अतुलनीय योगदानलाई कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो ।
सांगीतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ विशेष र रंगीन बनाएको थियो । प्रेम सेन्चुरीको “हे जननी अब बुद्ध जन्माईदेऊ” र दिनेश सुनारको “पार्कर” प्रस्तुतिले कार्यक्रमको शुरुवातलाई अत्यन्तै भावुक र प्रेरणादायक बनाएको थियो । राजन ठकुरीको एकल गायनले सारा हलमा भावनात्मक वातावरण सिर्जना गराएको थियो । युनाइटेड किराँत राई अर्गनाइजेशनको परम्परागत नृत्य र मगर संघ न्यूयोर्क च्याप्टरको सांस्कृतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध तुल्याएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण राजेश पायल राईको विशेष प्रस्तुति रहेको थियो। आफ्नो सदावहार आवाजमा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरु नाच्न र गाउनमा रमाएका थिए ।
शंकर बिसी र पार्वती राईको जोडी नृत्यमा खुब जमेको थियो । त्यसैगरी, शिव विक र ऊषा लामाको जोडीको नृत्यले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियोे ।
सृजना बिरही थापाको गीत र रश्मी तामाङको नृत्यले कार्यक्रमलाई थप सजीव बनाएको थियो ।
अभय ढुंगेल र संगीता मुखियालाई नेपाली संगीत र समाजसेवामा पुर्याएको योगदान बापत कदर स्वरुप सम्मानपत्र, प्रशंसा चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा डीजे राजाले पस्किएको संगीतमा दर्शकहरु आनन्दित भएका थिए ।