भोजपुर नगरपालिका-४, दावा मान्द्रेमा बसेर कविता लेखीरहेकी कवि  कमला  प्रधान शिक्षण पेशामा आवद्व हुनुहुन्छ । उहाँको कविता कोमलता , प्रेम र अनुरागहरुको मीठो संयोग हुन् ।प्रस्तुत छ साताको तीन कविता ।

एक-अर्काको पर्याय भएर रहीरहे ।

हिक्क बाडुली लाग्दा सम्झन्छु
तिमीले नै सम्झियौ
सन्ध्यामा सूर्य नअस्ताए सम्म
प्रभातले अँध्यारो सप्को खोल्नासाथ पहिलो पटक
यो –
हृदय वरिपरि मडारिने याद केवल तिम्रै हुनुपर्छ ।

पहाड तिम्रै बिश्वासमा उभिएको छ
हिमाल तिम्रै भरोसामा हाँसेको छ
जूनतारा तिम्रै सम्झनामा मुस्कुराएका छन् ।
जीवनमृत्युको दोसाँधमा उभिइरहँदा
मृत्यू सञ्जिवनीको बुटी बनेर आइदिन्छौ
सायद त्यो तिमी नै हुनुपर्छ ।
छुटिगए आफ्ना जस्ता लाग्ने अनुहारहरू
छुटेर गए सँगै टेकेका पाइतालाहरु म
तर
तिम्रो सम्झनामा फक्राएका यूगिन बसन्तहरू
स्वतन्त्र उडान भर्दै एक अर्काको पर्याय भएर रहे ।

तिमी –
इन्द्रेणी बन्यौ मेरो सौभाग्यको मलम बन्यौ
अनेकौ दर्द र पीडाहरुको ,धड्कन बन्यौ
अनेक रङ्गमा पोखियौ…..

सुखानुभूतिको आभास दिएर छताछुल्ल हुनेगरी मेरो हृदयको क्यानभासमा
त्यसैले प्रेम छ तिमीसँग तिम्रो उपस्थिति र पदचापसँग ……।

माटोबाट उम्रीएको मुस्कान

यहीँ तिम्रै पैतला मुनी छन् धर्तीका सुगन्धहरु
मात्रै खोज्ने कोसिस गर्नुछ तिमीले
तिमीसँगै गुञ्जिरहेछन् सपनाका सुमधुर संगीतहरु
तिमीले सुन्न जान्नुपर्छ ।

यहि माटोमा मुस्कुराएका छन्
बैँशका सुगन्धित बेली चमेलीहरू
आफ्नै शिरको अक्करमा सजाउन जान्नुपर्छ
हर बिहान –
अनगिन्ती सपनाहरुसँग ब्यूझ तिमी तिमीले खोजेको स्वर्ग यहीँ छ ।

अनन्त अनुभूतिको आकासमा स्वतन्त्र उडान भर्दै
हृदयमा मेची महाकाली सजाएर
सप्तरङ्गी इन्द्रेणी रङ्ग भरी देऊ
तिम्रो अभावमा दुखेको छ देश तिम्रै लागि रोइरहेछ ।

हाम्रै छातीमा डोजर चलाएर
भुकम्प चलाउने परचक्री माथि
देश प्रेमका ज्वालाहरू आँखा भरी छछल्काउँदै पोख
त्याग र समर्पण बस् तिमीले खोजेको सुख यहीँ छ ।

प्रतिबिम्ब

तिम्रो सम्झनामा आँशुको नायल रोकेर
यादका उत्सवहरूले थोरै रङ्गाएको छु जीवन
अनि लगाएको छु प्रीत तिम्रै निर्जीव तस्बिरहरूसँग ।

कुन फुर्सदमा जोडियो तिमीसँग यो नाता ?
आफै भित्र रित्तिएर पनि तिमीलाई प्रेम गरिरहन पर्ने
निचोरिन मन लाग्छ ,निथारिन मन लाग्छ
एकै थोपा नरहने गरि तिम्रै समर्पणमा

सिसा जस्तै चर्किएको मन सम्झनाले दुखेको छ
तिम्रो अभावले चिमोटेको मौनतासँग
नजानिदो पारामा हेमन्तकालीन चिस्यानमा जमेका हिमकणहरू
ग्रिष्मकालीन उष्णतासँगै पग्लिए सरी पग्लिदै बगेको छु।

तिम्रो सम्झनाको निर्जीव प्रतिबिम्ब बोकेर
अहिले म त्यही सम्झनाको शिखरमा छु
जहाँबाट म तिमीलाई नियाल्न सकुँ मेरा निर्दोष निर्मल आँखाहरूले
जेलिएकोछु फनफनी धागो जेलिए सरी अज्ञात त्यो मृगतृष्णामा
अहिले तिम्रो क्षितिजको पल्लो बस्ती चिहाउँदै बोकेर हातमा तिम्रै निर्जीव प्रतिबिम्ब ।

तपाईको प्रतिक्रिया