पछिल्लो समय युवा पुस्ताबिच सुन्दर कविता लेखीरहेका कवि ऋतेश एक राम्रो सम्भावना भएका कवि हुन । उनका कविताहरुले मानवीय समवेदनालाई शसक्त रुपमा प्रस्तुत गरेका हुन्छन् । निक्कै कोमल यी कविताहरु नेपाली साहित्यको क्षेत्रमा चाँपका फुलहरु झैँ रहनेछन् भन्न सकिन्छ । प्रस्तुत छ साताको तीन कविता ।

जरा 

एक गाँस काँचो पृथ्वी निलेर

एक घुड्को अमिलो समुन्द्र पिएर

आकाशको धरातल खोजिरहेका मरुभूमि आँखाहरू

विस्मृत हुँदै गइरहेका स्मृतिहरू

विकृत बन्दै गइरहेका आवेगहरू

निस्तेज हुँदै गइरहेका संवेदनाहरू

टिलपिल-टिलपिल गर्दै नृत्यमग्न अभिमानको

गहि…रो दलदलमा आज सन्नाटालाई च्यापेर गुमनाम हुँदै छन्…..

उम्लिएर पोखिएको हृदय

आगोका लप्का झैँ तप्प.. तप्प…

आफ्नै शहनशिलतामा,

आफ्नै शालिनतामा,

आफ्नै निर्जन शालिकमा

बेरङ्गको अमिट दाग बनेर तप्किरहेको छ…

त्यसैले-

झुठो अस्मिताको मुखौटा लगाएर

धुमिलिदै गइरहेको अनुहारलाई लुकाएर

बाँचिरहेको… बाँकी रहेको… एउटा निरीह परिचय

हांगाको काँपमा अल्झिएको पात झैँ,

उडानको निमित्त प्वाँख खोजिरहेको बचेरा झैँ

नूतन पहिचानको ओथारोमा

लालसा बोकेर बसिरहेको छ….

सायद ऊ हावामा लहराउने फूल होइन,

माटोमा हराउने कन्दमूल हो….

देवता-दैत्य 

भोकले ब्युँझिएको रात

भोग खोज्ने देवताहरूलाई सम्झिदै,

पग्लिरहेका अनिदा.. अचेत आँखाहरूलाई खोज्दै,

कोल्टे फेरिरहेका सपनाहरूले

सायद आफ्नै दुर्भाग्यलाई सराप्दा हुन्….

रित्तो पेटमा उम्रिएका अन्नाका दानाहरू

टिप्दै गरिरहेका बुख्याँचाहरू, कहिले अघाउँछन् भनी

उकालो चढ्दै गरेका खुड्किलाहरूले

सायद कुनै अनाम अन्जान श्रद्धामा आफ्ना मस्तक राख्दा हुन्

आफूले बगाएको पसिना तेजाब बनेपछि

तिर्खाबाट निस्किएको पानी

उषर कोखतिर बग्न नमानेपछि

आफ्नै रगत पिउँदै।। बटारिदै बसेका नसाहरू

सायद सुन्निएर फुट्ने तरखरमा छन्…

एउटा स्थावर पत्थरले

आफूभित्र देवता जन्माएको दिन,

सायद मभित्र पनि दैत्य जन्मिएको हो….

पदयात्रा 

चट्टानमा अडिएको बाटो

पैतालाहरूमा टेकेर आदिम कालदेखि

अबिराम हिंडिरहेको छ,

खोइ कुन्नि कस्तो आस्थालाई लिएर

यहीँ बाटोमा भेटिन्छन् –

भोक र विवशता बोकेर हिंड्ने भरियाहरू,

सुबिधा बोकेर हिंडिरहेका घोडा-खच्चडहरू,

रहर र उत्साह बोकेर हिंड्ने पदयात्रीहरू,

जिम्मेवारी बोकेर हिंडिरहेका पथ प्रदर्शकहरू

हिंड्दै गर्दा कहिलेकाहीँ भेटिन्छन्

नवीन सम्बन्धहरू, पुराना सम्झनाहरू,

ठेस बनेर ठोक्किन आउने गल्तीहरू, ग्लानीहरू

भेटिन्छन् – केही चौतारीहरू, थकाइलाई कुरिरहेका

कसैले भेट्छन् – आफ्नै पदचापहरू, आफैंलाई खोज्न जाँदा

र त्यहीँ बाटोमा भेटिन्छु, म पनि

एउटा कहानी बोकेर…भएर… हिंडिरहेको….बाँचिरहेको

यदि भेट्यौं भने भन्दिनू मैले आफूलाई सम्झिरहेको छु….

 

 

तपाईको प्रतिक्रिया