कोरियामा बसेर साहित्य साधना गरिरहेका बर्तमान समयको शक्तीशाली कवि केरुङ हाङ्सेमको लेखनमा सिमान्तकृत बिषयहरु जबरजस्त रुपमा उठान भएका हुन्छन् । लोकतन्त्र , समावेशीता, मानव अधिकारको स्वर उनको कविताको प्रमूख मुद्दा हुन् । कविताका हरेक शब्दहरु एक गहकिलो ढुङ्गा जस्तो यी कविताहरुले तिखो प्रश्न गरिरहेका छन् । प्रस्तुत छ साताको तीन कविता ।
म सपना सित यात्रा गर्छु
भर्खरै,
समय गोजीमा
फक्ताङलुङ के चढिरहेको मात्र थिएँ
पुरै आकाश समुद्रको बिचमा खस्यो ।
माझीहरू डुङ्गा चडेर घाम टिप्न दौडिरहेका थिए
समुन्द्रको किनारमा नुहाई रहेका युवतीहरू
पेन्टी र ब्रा बोकेर तारा टिप्न हतारमा थिए
कुहिरो फुलको आकृती बोकेर
मान्छेहरुको भिँडमा मिसिदै थियो।
मजदुरहरु लुगा फुकाएर
सडकमा जिन्दगी बिच्छ्याएर सुतिरहेका थिए।
बच्चाहरु झ्याँउकिरिको गीतमा नाचिरहेका थिए।
कविहरु ल्याम्पपोस्टको फेदमा उभेर
कविताको लिलामी पत्रमा हस्ताक्षर गर्दै थिए।
खस्यो
खस्यो
आकास समुद्रको बिचमा खस्यो !
समयको भालाले मेरो मुटु घोचिरहेको रहेछ।
अलराम बज्यो फगत यो, सपना न थियो।
घामको पाईला पछ्याउदै
सपनाको महासम्मेलनमा जब म हाजिर छु
आफ्नै मुटु हत्केलामा बोकेर
आयुको अन्तिम विन्दु भेट्न
सुदुर यात्रामा पो रहेछु।
हो,म सपना सित यात्रा गर्छु !
कुहिरोको थाङ्ना जस्तो जिन्दगी
रमिताहरुको सम्मेलन होकि ?
सपनाहरुको बैठक ?
या त अनुभुतिहरुको भेटघाट ?
भर्खरै,
काँधभरी आयु बोकेर
विश्व यात्रामा दगुरिरहेको थिएँ
मेरो पछि पछि
तान्त्रिक युग आउदै थियो।
अचानक आगो सल्कियो….!
पुरै संसार अँध्यारो थियो
राँके भुतहरुले ढुङ्गा बालेर
समुन्द्रमा डडेलो लगाई रहेका थिए
माझिहरु सुरुवाल सुर्केर माछा बटुल्दै थिए।
सुन्दरीहरु डाइमन्ड खोजिरहेका थिए।
मजदुरहरु समुन्द्रको किनारमा गारो लगाइ रहेका थिए।
सल्कियो…..!
पुरै सल्कियो……!
सिर्फ यो सपना न थियो ।
युगको छातीमा टेकेर
समयको नालबाट जब बर्सिन्छ गोला बारुद
जिन्दगी तेसै तेसै लगाई दिन्छ
सपनाको बाक्लो लुगा
जिन्दगी भन्नू सपनाको बजार जस्तै जस्तै
जिन्दगी भन्नू अनुभुतिको महाउत्सव हो!
म पटाका पड्काउछु पड्काउछु
ड्याम्म……!
ड्याम्म……..!
भर्खरै ,
जमिन ओछ्याएर म प्रेममा थिएँ
उनले आकाश ओडेर मलाई चुम्यो
बिस्तारै छामें मैले उस्को मुटु
उस्ले छाम्यो मेरो समय
अचानक उस्को मुटु टुक्रा-टुक्रा भएर पड्क्यो।
पहाड पड्क्यो !
हिमाल पड्क्यो !
आकास भरी छरियो उस्को मुटुको टुक्रा
जन्मियो लाखौं तारा।
आखिर अन्तिम सपना न थियो !
मार्क्सले युग चपाएर
समयको च्याँख्ला छादे पछि
मान्छेहरुको गिदि अचेल भ्रममा छ।
सुकरातको सालिक अझै व्यापार गर्छ
उराठ लाग्दो हटियामा,
फ्रायडले जब सम्म आफ्नो लिङ्ग
प्रेमिकाहरुलाई उपहार बाँड्छ,
पृथ्वी आफै सित संभोग गरिरहन्छ।
हकिङले आँखा तन्काएर
जब एलियन संग संवाद गर्छ,
ब्ल्याकहोलमा मान्छेहरु प्लटिङ सुरु गर्नेछन।
नित्सेले ईश्वरको मुटु ,कलेजो सेक्वा बनाएर
रक्सी संग चपाउन थाले पछि
महामानवहरु सवार हुनेछन तेज गतिमा
धर्म गुरुहरु धर्मग्रन्थको आगो तापेर
तरुनीको काखमा बसेर प्रवचन दिदैहुनेछन।
वाह ! वैरागी काईला,
मध्यरात पछि
गणतन्त्र चोकमा मुन्धुम फलाक्दै
जोखना हेरिरहेछ।
-हो म,
विशाल अनुभुतिको पहाड बोकेर
आयुको ईन्जारले समय तान्दै
सपनाहरु सित यात्रा गरिरेहेछु ।
बिद्रोह नम्बर १
मेरो टाउको चिरा चिरा पार
गिदि सितन बनाएर चपाउ
हड्डी टुक्रा टुक्रा पारेर फालिदेउ
आँखा,कान,नाक झिरमा उनेर सुकाउ
छाती चाल्नो हुने गरि गोलि बर्साई देउ
आन्द्रा ,भुँडी केलाएर फुर्लुङमा राख
छाला काडेर जुत्ता सिलाउ
तर ,
नसाहरुमा रगत
भक -भक उम्लिरहन्छ।
मुटुले ढुक-ढुक
धड्कन दिई रहन्छ ।
विद्रोह नम्बर २
आँधी आउनु भन्दा केहि छिन अघिको समय
ज्वालामुखी विष्फोट हुनु भन्दा
ठिक अघिको विशाल पहाड
बाढी आउनु भन्दा पहिलेको बगर
आगो सल्किनु भन्दा
अलिकति पहिलेको सुक्का झाडी
चट्याङ पर्नु भन्दा पहिलेको शान्त आकाश
‘‘‘‘‘‘‘‘‘‘‘‘‘ज्ञ
जस्तो भएर,
समयको एउटा विन्दुमा
मौन जुलुस लिएर उभिरहेको छु।