नेपाली साहित्यको कविता र आख्यान लेखनमा दुई दशकदेखि हस्ताक्षेपकारी रुपमा उपस्थिति जनाईरहेकी लेखक मनिषा गौचन नेपाली साहित्यमा अग्रपङ्तीमा रहेकी लेखक हुन् । उनका लेखनले समाजमा पीँधमा रहेका मानिसका आवाजलाई मुखरित गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
तिमी नदी
साँझ गहिरिएर रात हुदै गयो
म पर्खाइमा रुझ्दै थिएँ
झरी म माथि निरन्तर झरिरहेथ्यो
रात सर्प हुँदै मलाई डस्न आत्तुर थियो
यो छटपटी
ज्वारभाटाको राप जस्तै
यो तड्पाई फलामे सिक्रीको कोर्रा जस्तै
एकैछिन तिमीले महसुस गर्न खोजेको भए
तिमी बुझ्थ्यौ ! तिमी जाने थिएनौ !
तिमी त नीलो सागर तरेर
पारीको जुन छुन गयौ
भिजेका मेरा परेलीहरुमा
आसु थपेर गयौ
मैले तिमी हिडेको बाटो हेरें
तिम्रो डुंगाले बनाएको छाल नियालें
मलाइ एक्कासी लाग्न थाल्यो
म सागर हुन सक्दिन नदीहरु पर्खिरहने
तिमी वास्तवमा नदी थियौ किनारा भत्काउँदै बग्ने ।
पर्दा
झारिदिए हुन्छ पर्दा
मेरो अभिनय अब सकिनै लाग्यो
तिमी अन्जान प्रेमी
मेरो मन र मष्तिस्कको शासक बनिरह्यौ
तिम्रो इशारामा
मेरो मन सधै पग्लिरह्यो
मेरो मष्तिस्क सधै अलमलिरह्यो
म ठान्छु एउटा नाटक थियो यो
साँच्ची, एउटी प्रेमिकाको अभिनय
कति कठिन हुँदोरहेछ
यतिबेला अभिनय सकिनुको मजा लिदै
म अन्तिम अभिनय गर्दैछु
उन्मुक्तिको प्याला घटघट पिउँदै
अहो !
झर्दै गरेको पर्दाको फाल
कति सुन्दर मानौँ एउटा सेतो झरना
कालो नदी
हे प्रिय !
यो कालो नदीको बगाइसँगै
तिमी बगिरहेछौ
कसरी थुनुँ म
यो नदीको मुहान ?
तब समात्न सकुँ तिम्रो सुकोमल हात
र पुछ्न सकुँ भिजेका तिम्रा ती आँखाहरु।।।
यो कालो नदी
एउटा भीमकाय घडी बोकेर
बगिरहेछ
यतिखेर घडी पनि कालै छ
मलाई डर लागिरहेछ
कतै तिमी-
यही कालो घडीको काँटीमा अल्झिएर सकिने त हैन ?
त्यो भन्दा अघि सुकाउन सके
यो कालो नदीको मुहान
म सक्ने थिएँ मेरै अङ्गालोमा तिमीलाई अल्झाउन ।